+
+

दीपक मनाङेको शक्ति : पालैपालो मन्त्री, चुनावमा निर्विरोध

अमृत सुवेदी अमृत सुवेदी
२०७९ असोज २६ गते २०:३५

२६ असोज, पोखरा । चुनाव जितेको एक वर्षपछि मात्र प्रदेशसभामा प्रवेश पाएका राजीव गुरुङ ऊर्फ दीपक मनाङे चर्चामा मात्रै रहेनन्, गण्डकी प्रदेश सरकार बनाउने र ढलाउने खेलमा निर्णायक बने ।

गुण्डागर्दी पृष्ठभूमिबाट आएका मनाङेले २०७४ मा मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेले समर्थन गरेपछि कांग्रेसका कर्म गुरुङलाई हराएर प्रदेशसभा सदस्य चुनिएका उनी पछिल्लो डेढ वर्षमा नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको दुबै सरकारको युवा तथा खेलकुदमन्त्री बने । मन्त्री भएपछि पनि विवादमा परिरहे । तर तिनै दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

४ मंसिर २०७९ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २३ असोजमा उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

अन्यत्र गठबन्धन गरेको कांग्रेस र एमाले आफ्नो उम्मेदवार उठाउने भन्दा मनाङेलाई समर्थन गर्ने होडमा लागे । मनाङेले सुरुमा सत्तारुढ गठबन्धनको समर्थनमा उठ्ने बताएका थिए । तर उम्मेदवारी दर्ताको दिन गठबन्धन छाडेको बताए र एमालेको पनि समर्थन लिन सफल भए । अर्थात दुबै गठबन्धनले मनाङ (ख) मा उम्मेदवार खडा गरेन । मनाङेले भने स्वतन्त्र उम्मेदवारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनाङेसँगै दोर्जे लामा गुरुङले स्वतन्त्र उम्मेदवारी हालेका थिए । तर उनलाई पनि आफ्नो उम्मेदवारी फिर्ता गर्न लगाएर मनाङे निर्विरोध मात्र भएनन्, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन २०७९ को निर्वाचित हुने पहिलो सांसद बनेका छन् ।

कसरी भए सर्वसम्मत ?

सत्ता गठबन्धनको भागवण्डामा कांग्रेसकै भागमा परेको थियो यो क्षेत्र । ‘भागबण्डामा कांग्रेसलाई परेको हो, किन उम्मेदवार नउठाइ छोड्यो, त्यो उसकै कुरा भयो,’ माओवादीका महासचिव देव गुरुङले भने ।

कांग्रेस मनाङका सभापति शंकर गुरुङले सबैको सहमतिमै मनाङेलाई समर्थन गरिएको बताए । ‘हामीले उम्मेदवार उठाएको भए सक्थ्यौं तर गठबन्धनको सरकारमै मन्त्री भएको व्यक्तिसँग के चुनाव लडाउनु भएर खडा गरेनौं,’ गुरुङले भने, ‘उसले विकास पनि गरेको छ, त्यसैले निर्विरोध गराएका हौं ।’

आफैं समर्थनमा जितेको र मन्त्री बनाउँदा पनि आफ्नै सरकार ढाल्ने मनाङेलाई समर्थन गरेको एमालेको पनि आफ्नै तर्क छ । एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी भन्छन्, ‘मनाङेले नै एमालेलाई गण्डकी प्रदेशमा सघाउने वचन दिए । आफूले गठबन्धन छोडेको र एमालेमा रहने बताएपछि समर्थन गर्‍यौं ।’

मनाङले २०७५ मा प्रदेशसभा सदस्यको सपथ लिने बेला पनि उनले यस्तै जुक्ति लगाएका थिए । प्रदेशसभा सदस्य जितेपनि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाका कारण उनले सपथ लिन पाएनन् ।

बरु करिव ८ महिना जेल बसे । थुनामुक्त भएपछि प्रदेशसभाको सपथ लिन चाहे । सपथ खुवाउन माग गर्दै सभामुख र मुख्यमन्त्रीलाई २१ पुस २०७५ मा भेटेका मनाङेले भनेका थिए, ‘यो प्रदेशमा कानुन बुझेको कोही रहेनछ, सभामुखले त झन् केही जान्दो रहेनछ । कानुन र राजनीति के हो भन्ने अब म सिकाउँछु ।’

उनले सपथका लागि पार्टी प्रवेशको अस्त्र प्रयोग गरे । प्रदेशसभामा दुई तिहाई देखाउन लोभमा नेकपाले पनि उनलाई सुरुमा सपथको वातावरण बनायो, १९ असार २०७६ मा पार्टी प्रवेश गरायो ।

सर्वोच्च अदालतले २३ फागुन २०७७ मा एमाले र माओवादी ब्यूँताइदिएपछि मनाङेले सत्ता खेलको राजनीति देखाए पनि । माओवादीले समर्थन फिर्ता लिँदा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार संकटमा गर्दा उनले मन्त्री बनाउनुपर्ने शर्त राखे । सरकार जोगिने आशमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुदमन्त्री बनाए ।

राष्ट्रिय जनमोर्चाले पनि समर्थन फिर्ता लिँदा सरकार ढल्ने भएपछि मनाङे फेरि नयाँ सरकार बनाउन प्रयासरत कांग्रेस र माओवादीतिर लागे । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकारमा पनि खेलकुदमन्त्री भए ।

२२ चैत २०७८ मा मन्त्रालयका कर्मचारीलाई झापड हानेका उनले हुँदै नभएको अधिकार प्रयोग गरेर स्वकीय सचिवलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिए । विवादै विवादले घेरिएका मनाङेलाई हिजो पालैपालो मन्त्री बनाएका कांग्रेस र एमालेले अहिले प्रदेशसभा सदस्य बनाउन पालैपालो समर्थन गरे । निसाङ गाउँपालिकामा होटल व्यवसाय गर्दै आएका दोर्जे लामा गुरुङले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध बनेका छन् ।

मनाङेको शक्ति

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा चार हजार १५५ मतादाता छन् । एमाले गण्डकी सचिव दवाडीका अनुसार मनाङ अहिले पनि त्यस्तो क्षेत्र हो, जहाँ जसको बढी आफन्त छ, उसले चुनाव जित्छ । उनी भन्छन्, ‘मनाङेको जन्मठाउँ नार्पाभूमि र आसपासमा उनकै आफन्तको वर्चश्व छ ।’

मनाङका एक नेताका अनुसार त्यहाँ अहिले मुखिया प्रथाजस्तै जुनसुकै पार्टीमा आवद्ध हुन्, उनीहरुले आफ्नो नेता आफैं छान्छन् । ‘चाहे एमाले हुन्, चाहे कांग्रेसले उनीहरुले सकेसम्म निर्विरोध गराउने अर्थात् सकेसम्म मुखिया आफैं चुन्छन्,’ उनले भने, ‘एमाले नेता तथा प्रतिनिधि सभा सांस्द पााल्देन छोपाङ (जो अहिले पनि प्रतिनिधि सभाका उम्मेदवार छन्) उनले पनि मनाङे नै होस् भन्ने चाहे, कांग्रेस सभापति शंकर गुरुङले पनि त्यही चाहे, त्यसैले उम्मेदवारी नै परेन ।’

स्थानीय वासिन्दाका अनुसार प्रदेशसभा सदस्य भएदेखि नै उनी मनाङ उक्लिँदा रित्तो हात जाँदैनथे । कहिले नुन, तेल, चामल त कहिले लत्ता कपडा लिएर पुग्थे र गरिब स्थानीयलाई बाँड्थे । बाढी पहिरोले मनाङमा बितण्डा मच्चाएका बेला उनले हेलिकप्टरमा राहत सामग्री लिएर पुगेका थिए ।

स्थानीय राजु गुरुङ भन्छन्, ‘उनले पार्टी नहेरी विकास बजेट हालेका छन् । खेल मैदान र खेलकुदका कार्यक्रम दिएका छन् । मनाङ पुग्ने धेरै बाटोहरुमा बजेट हालेका छन् र ढलान भएका छन् ।’ अहिले नवौं राष्ट्रिय खेलकुदमा हाइअल्टिच्युटका खेल प्रतियोगिता मनाङ भइरहेको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?