+
+

काठमाडौंको प्रदेशसभामा कांग्रेस-माओवादी गठबन्धन तोडियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १८:२३

२६ असोज, काठमाडौं । सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले काठमाडौंका प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सत्ता गठबन्धनमा भएको सहमति विपरीत केही क्षेत्रमा दुबै दलले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले आफूहरुले पाउने सहमति भएको केही क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुन लागेको बताए ।

उनका अनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १, ३, ४, ५, ६ र १०, माओवादी केन्द्रले २, ७ र ९ तथा नेकपा एकीकृत समाजवादीले काठमाडौं–८ लिने सहमति भएको थियो । प्रतिनिधिसभाका अधिकांश क्षेत्रमा गठबन्धन कायम छ । तर प्रदेशसभामा सत्ता गठबन्धनकै एक भन्दा बढी दलको उम्मेदवारी परेपछि गठबन्धन तोडिएको छ ।

सत्ता गठबन्धनमा प्रदेशसभातर्फ काठमाडौं–३ (ख), काठमाडौं–६ (ख) र काठमाडौं–१० (क) आफूहरुले लिने सहमति भएको माओवादीको भनाइ छ ।

‘हामीले लिने भनिएका क्षेत्रमा समेत कांग्रेसले उम्मेदवारी दिएपछि प्रदेशसभामा गठबन्धन रहेन’, शर्माले भने, ‘कांग्रेस सहमतिमा नअडिएपछि हामीले सबै ठाउँमा उम्मेदवारी दियौं ।’

काठमाडौं– ३ (ख) मा नेपाली कांग्रेसका बिमल ठकुरीले उम्मेदवारी दिएका छन् । नेकपा माओवादीका महेश्वर फुँयाले पनि त्यहाँ उम्मेदवारी दिएका छन् ।

त्यस्तै काठमाडौं–६ (ख) मा कांग्रेसका विष्णुभक्त तिमिल्सेनाले उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रका प्रकाश फुयाँलको पनि उम्मेदवारी परेको छ ।

माओवादीले लिने सहमति भएको काठमाडौं–१० (क) नेपाली कांग्रेसका पुकार मर्हजनले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका उम्मेदवार भने दिलिप मर्हजन छन् ।

काठमाडौं–१० मा कांग्रेसका राजन केसी सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार भए पनि माओवादी केन्द्रकी अञ्जना विशंखेले उम्मेदवारी दिएकी छिन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति सबुज बानियाँले भने उम्मेदवारलाई पार्टी केन्द्रको निर्णय अनुसार नै टिकट दिइएको बताए र जिल्ला समितिको भूमिका नहुने बताए ।

‘केन्द्रबाटै गठबन्धन गर्ने र केन्द्रले टिकट दिने हुनाले गठबन्धन तोडिएको र जोडिएको आधिकारिक रुपमा केन्द्रलाई नै थाहा हुन्छ’ उनले भने, ‘पार्टी सभापतिले टिकट नदिइकन उम्मेदवारी नै दिन पाइदैन । गठबन्धन गर्ने ठाउँले नै टिकट दिएको हो भने मैले त्यसलाई के भनेर परिभाषित गरौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?