+
+

‘महापुरुष’को ट्रेलरमा एकल पिताको अव्यक्त कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १६:५०

काठमाडौं । ‘आमा पनि बा, बा पनि बा’ ।

हास्य-विनोद भरिपूर्ण यो संवादसँगै समाजको कुनै अँध्यारो कुनामा विलुप्त एकल पिताको कथा, जसको संवेदनाले मनलाई ऐंठन पार्छ ।

आफ्ना लालाबालाको सुरक्षित, सुखी र सुन्दर जीवनका लागि आफूलाई रित्याइरहेका पिताले जिन्दगीको उत्तराद्र्धमा पुगेपछि किन सम्बन्धका नयाँ आयाम खोज्छन् ? कठिनतापूर्वक गुज्रिने चिसा रातहरुमा किन न्यानोपनको चाह राख्छन् ? यिनै सेरोफेरोमा बुनिएको कथासँगै ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पूर्ववत् रसिलो-चोटिलो लुकामारीबाट सुरु यसको कथानक मोडहरुले पक्कै स्थिर रहन दिनेछैन । हाँसोठट्टामा बहकिंदा बहकिंदै मानवीय संवेदनाको गहिराइमा पुगेर हृदयलाई स्पर्श गर्न सक्छ । अनि झरी र आँसुको संयोजनले सिनेम्याटिक विम्ब थप बलियो बनाउन सक्छ ।

आवरणमा ‘कमेडी’ सिनेमा झैं लाग्छ । पात्र र परिवेश हास्यप्रधान देखिन्छन् । तर हाँसोको यो खोलभित्र जीवनको निस्सासिंदो कथा लुकेको छ । यस्तो कथा, जसको अन्तर्यमा एकल पुरुष (वा महिला पनि)को रहर र विवशताको आँधी मडारिएको छ ।

अक्सर सिनेमा, साहित्यमा युवा-प्रेमको कथा विकाउ मानिन्छ । प्रेम र रोमान्स, यौन र सम्बन्ध, आकांक्षा र परिबन्ध, मित्रता र धोकाधडी आदिले सिर्जना गर्ने अन्र्तद्वन्द्वलाई केन्द्रमा राखेर घटनाक्रम बुनिन्छ । किनभने रसरंगको बजारमा रंगीन जीवनकै कथाले प्रधानता पाउँछ । रसरंग निख्रिंदै गएका, बुढ्यौलीले छोप्दै लगेका खस्रा पात्रको अँध्यारा कथाहरु बिरलै समेट्ने गरिन्छ । यद्यपि प्रदीप भट्टराईले भने त्यही पात्र र कथालाई उधिन्ने यत्न गरेका छन् ।

प्रदीप भट्टराई, जो हास्यरसको लेपन लगाएर समाजका दुःखी पात्रहरुको कथा पस्किन माहिर छन् । चाहे ‘जात्रा’को कुरा गरौं वा ‘शत्रुगते’को । उनी ‘चल्तापूर्जा’ भन्दा फरक पात्र र मुद्दाहरु उठाउने गर्छन् । महापुरुषको ट्रेलरमा पनि त्यसको सिलसिला जारी रहेको छनक मिल्छ ।

श्रीमती वा श्रीमान् गुमाइसकेका व्यक्ति, जो जीवनको उत्तराद्र्धमा छन् । के उनीहरुको अब कुनै रहर बाँकी नहोला ? के उनीहरुसँग खुसी र उमंग बाँकी नहोला ? के उनीहरुसँग जीवन बाँकी नहोला ?

नेपालीमा एउटा उखान छ, ‘बलेको आगो नै ताप्छन् ।’ अतः बुढ्यौलीले गाँज्दै गएको जिन्दगीमा त्यस्तो राप र ताप बाँकी नहोला, जसको वरिपरि सबैजना झुम्मिएका हुन् । समाज, समुदाय, घरपरिवार, आफन्त, नातागोता, साथीभाइ सबैबाट एक्लिंदै गएका उनीहरुको जीवन कति पट्यारलाग्दो होला ?

तर उनको मर्म कसले बुझ्ने ? उनको मुटु कसले छाम्ने ?

पिताको भूमिकामा रहेर छोराछोरीको पालनपोषण गरिरहेका एक बुढो मान्छे, जसको अन्तर्निहित जिजीविषालाई उनै सन्तानले अनुभूत गरिदिंदैनन् । त्यो बुढो मान्छे पनि आफ्नो जीवनको मूल्य यसै गुमाउन चाहँदैनन् । बाँकी जीवनमा प्रेम, सामीप्य र साथ खोज्छन् । तर समाज र सन्ततिले उनलाई एक आदर्श पिताबाट ‘चरित्रहीन’ पात्रको कोटीमा झार्छन् । तब एउटा विवश पात्रसँग जीवन अभिव्यक्तिको एउटै कुरा बाँकी रहन्छ, आँसु ।

हाँसोको आवरणमा तयार पारिएको आँसुको कथा लाग्छ, महापुरुष । हरिवंश आचार्यले ‘बुढो पात्र’ मा आफूलाई सम्पूर्ण रुपले रुपान्तरण गरेका छन् । त्यो पात्रमा हरिवंश कहींकतै छैनन्, कस्तो जीवन्त रुपान्तरण । त्यसबाहेक अरु थुप्रै पात्र देखिन्छन्, जसको अभिनय एकदमै गज्जब नलागे पनि स्वभाविक लाग्छ । संवाद र प्रस्तुतिमा महकै यसअघिका टेलिशृंखला वा प्रदीपको शत्रुगतेको धङ्धङी मिसिएको छ ।

ट्रेलरमा मोटामोटी कथाको खाका भेटिन्छ । धेरैलाई लाग्न सक्छ, ट्रेलरमा नै कथाको रहस्य खुलाएपछि बाँकी के रहला ? यसको जवाफ चाहिं फिल्म सार्वजनिक भएपछि नै पाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?