+
+
अष्टावक्र दृष्टि :

अष्टावक्र दृष्टिको सुरुवात अष्टावक्रबाटै

‘सिमेन्टेड माइन्डसेट’ भएका पुराना पुस्तालाई बेवास्ता गरेर नयाँ पुस्तलाई आलोचनात्मक चेतसहितको वस्तुनिष्ठ दृष्टिकोण निर्माण गर्न सघाउनुपर्छ। उनीहरूले नै कुनैदिन पुरानो पुस्तालाई यथोचित बिदाइ गर्नेछन्।

डा. कमल ढकाल डा. कमल ढकाल
२०७९ असोज २८ गते १३:२८
पौराणिक पात्र अष्टावक्र

म कुनै लेखक वा अनुभवी पत्रकार होइन, जसले शब्दहरूलाई तुलोमा जोखी–जोखी शब्दकै व्यापार गर्न सक्छन्। तर पनि यसअघिका लेखहरूमा मैले जानी नजानी आफ्नो जीवनका अनुभव र आफूले जानेका वा रहर भएका तर आम मानिसलाई खासै चासो नभएका विषयमा कलम चलाएँ। सामान्यतः नलेखिने विज्ञान, दर्शन र अध्यात्म सम्बन्धी केही लेखें। आफ्नो मस्तिष्कमा चलेको हुटहुटी र मनमा चलेको छटपटीलाई शब्दमा आकार दिन प्रयास गरें।

आमा उपन्यास लेखेर साहित्यमा नोबेल पुरस्कार समेत पाएका रसियन लेखक म्याक्सिम गोर्कीको निबन्ध ‘मैले कसरी लेख्न सिकें’ ले उत्प्रेरकको काम भने गरेको छ।
मलाई विश्वास छ- सानो संख्यामा रामायणको उत्तरकाण्ड वा महाभारतको भीष्म पर्व बुझ्न खोज्ने मुमुक्षुहरूका लागि केही रुचि भए पनि उपलब्धिमूलक हुनेछ।

भोट हाल्दा छाप कहिल्यै नफेर्ने तर देश फेरिएन भनेर सामाजिक सञ्जालतिर राजनीतिक पार्टीका नेतालाई अर्ति–उपदेश दिंदै हिंड्ने मेरा क्रान्तिकारी विद्वान मित्रहरू पनि छन्। उनीहरूका लागि त मेरा लेख रोजा लक्जेमबर्गको विचार जस्तै नै लाग्न सक्ला जसले कम्युनिस्ट भएर पनि सधैं क्रान्तिको नाममा गरिने युद्धको विरोध गरिरहिन्।

व्यस्त समयको बावजुद पनि मैले आफूले जानेका ज्ञान वा अझ नढाँटी भन्दा किताबप्रतिको मेरो मोह हुनाले आफूले पढेका विश्वभरि चर्चित पुस्तकहरूको सारसंक्षेप नेपाली पाठकसामु पस्कनेछु। यसबाट विश्वबजारमा पहुँच नभएका कैयौं नेपाली पाठक लाभान्वित हुनेछन् जसले भाषाको सीमितताले रहर हुँदाहुँदै पनि पढ्न पाउनुभएको छैन। तिनै पाठकप्रति मेरो मिहिनेत समर्पित गर्न चाहन्छु। भाग्य वा संयोगले यी दुवैमा मेरो पहुँच छ।

यही पृष्ठभूमिमा मैले ‘अष्टावक्र दृष्टि’ स्तम्भ सुरु गर्दैछु। स्तम्भमा केही व्यक्तिगत विचार र अनुभूति पनि अलि अनौपचारिक तरिकाले लेख्न पाइन्छ भन्ने मात्र सुनेको छु। कुनै बेला मानिस सूचना नपाएर पछि पर्थे। अहिले सूचना बढी भएर र मिथ्या समाचारको बाढीले बगाउने अवस्था छ। मिथ्य समाचार यति सशक्त बनिरहेको छ कि संसारका ठूला–ठूला सञ्चारमाध्यमहरू पनि यसलाई चिर्न असमर्थ भइरहेका छन्।

सन् १०१८ मा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाले फेसबुक र ट्वीटरबाट मिथ्या समाचार प्रसारण गरेकोले चुनावी नतिजा पनि तल-माथि परेको निष्कर्ष अमेरिकी खुफिया संस्थाहरूले निकाले। भर्खरै सार्वजनिक एक नतिजा अनुसार ८० प्रतिशत अमेरिकन युवाहरूले फेक न्यूज हेर्छन् र ४० प्रतिशतले फेक न्यूज शेयर गर्छन्।

यो तथ्यांक लगभग सबै देशसँग मिल्दोजुल्दो छ। फेक न्यूजलाई पूरै निस्तेज पार्न त सम्भव छैन तर, समाचार पढ्दा वा कुनै लिंक सामाजिक सञ्जालमा शेयर गर्दा तथ्य–सत्य हो कि होइन र यो कुनै आधिकारिक व्यक्ति वा संस्थाको हो कि होइन भनेर जाँच गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं।

के हो अष्टावक्र दृष्टि ?

अष्टावक्र दृष्टिले कुनै पनि विषयभित्र अन्तर्निहित सत्यलाई देख्न सक्छ। साधारणतया सत्य दुई प्रकारका हुन्छन्- सतही र अन्तर्निहित। सतहीलाई व्यावहारिक सत्य पनि भनिन्छ भने अन्तर्निहितलाई परमार्थिक सत्य।

जस्तो कि हरेक बिहान सूर्य उदाउँछ। सतहमा यो सत्य देखिन्छ र यसबाट हाम्रा दैनिक जीवनका धेरै व्यवहार चल्छन्। तर वास्तवमा सूर्य न त उदाउँछ न त अस्ताउँछ। यो त एक तारा हो जुन हाम्रो सौर्यमण्डलको केन्द्रमा छ। अस्ताउने र उदाउने कुरा त पृथ्वीले सूर्यको परिक्रमा गर्दा उत्पन्न हुने घटना हो।

त्यस्तै अर्को उदाहरण हो इन्द्रेणी। इन्द्रेणीमा देखिने सात रंग वास्तवमा दिनको समयमा जतिसुकै बेला विद्यमान हुन्छन्। सूर्यको हरेक एक किरणमा सातै रंग हुन्छन् तर, हामीले देख्दैनौं। पानीको कण वा सिसाको टुक्राले ती पहिले नै विद्यमान भएका रंगहरूलाई विच्छेदन मात्र गरिदिन्छ, व्युत्पन्न होइन। यस्तो अन्तर्निहित सत्यलाई देख्ने काम वा दृष्टि हो- अष्टावक्र दृष्टि।

हामीलाई लाग्न सक्छ- यस्तो अष्टावक्र दृष्टि नै किन चाहियो ? आखिर हाम्रा दैनिक जीवनमा त खासै काम गर्ने रहेनछ। झन् सूर्य होइन पृथ्वी उदाउँछ भन्ने हो भने त हाम्रा गीत, कविता, साहित्य सबै फेर्नुपर्यो। घामकै किरणमा सात रंग हुन्छ इन्द्रेणीमा हुँदैन भन्यो भने उल्टो गाली खाइएला भन्ने डर हुन्छ।

तर, हामीले सतही सत्यलाई मात्र बुझ्यौं र त्यसको अन्तर्निहित सत्यलाई बुझेनौं भने जीवन त चल्छ तर हामी सजिलै अर्काको गोटी बन्न सक्छौं। त्यही अज्ञानताको फाइदा उठाउँदै हामी धेरैको पिछलग्गु बन्छौं। इन्द्रेणीलाई भूतले आगो बालेको भनिन्छ र हामीलाई खोल्साखोल्सीमा गएर भूतको पूजा गर्न लगाइन्छ। यस्तोमा अष्टावक्र दृष्टि निर्माण गर्न सके कुन चाहिं फेक न्यूज हो, कुन चाहिं होइन भनेर छुट्याउन पनि सजिलो पर्छ।

कसैलाई लाग्ला यो त विज्ञानको कुरा, दैनिक जीवनमा के काम लाग्छ ? अहिलेको फेक न्यूजको दुनियाँ र गोयबल्स शैलीको राजनीतिक खिचातानीमा त झन् अष्टावक्र दृष्टि अत्यन्त महत्वपूर्ण हुन्छ। हामीलाई थाहै छ, जोसेफ गोयबल्स नाजी पार्टीको नेता थिए जसले समाजमा प्रोपोगान्डा, डर र त्रासयुक्त समाचार तयार पारेर प्रसारण गर्दै झुटमा आधारित सत्ता टिकाउन सघाउँथ्यो।

‘अष्टावक्र दृष्टि’ तथ्यहरूद्वारा सत्य खोज्ने प्रयास हुनेछ। नेपाली राजनीतिमा विभिन्न माध्यमबाट हुने आलोचना, विश्लेषण, सल्लाह र सुझावहरू ग्रहण गर्ने अभ्यास कमजोर छ। यहाँ त आलोचना गर्नेहरूलाई लखेट्ने र कमजोर बनाउने अभ्यास संस्कृति नै बनेको छ। आम सञ्चारमाध्यम पनि बौद्धिक विमर्श र छलफलभन्दा बुद्धिविलासको सर्कसमा रुपान्तरण भएका छन्।

यसर्थ, ‘सिमेन्टेड माइन्डसेट’ भएका पुराना पुस्तालाई बेवास्ता गरेर नयाँ पुस्तलाई आलोचनात्मक चेतसहितको वस्तुनिष्ठ दृष्टिकोण निर्माण गर्न सघाउनुपर्छ। उनीहरूले नै कुनैदिन पुरानो पुस्तालाई यथोचित बिदाइ गर्नेछन्।

राजनीतिमा अष्टावक्र दृष्टि

अष्टावक्र दृष्टि निर्माण गर्न सके सबैभन्दा धेरै फाइदा राजनीति सुधार्न हुनेछ। किनकि हाम्रो देशको राजनीतिमा जसले जे भने पनि परर्र ताली पिट्ने काम हुन्छ। ताली पड्काउने हातहरूले औंला तेर्स्याएर प्रश्न गर्न सक्दैनन्। कम्युनिष्टले शासन गर्दा समाजवाद र साम्यवादको बाटोमा देश किन हिंडेन ?

कांग्रेसले शासन गर्दा बीपीको समाजवाद ल्याउन के कति काम भए ? हामी किन दलको पिछलग्गु बनिरहेका छौं ? किनकि हामीले सत्यको उत्खनन गर्न सकिरहेका छैनौं। हामी एल (आँखाको दुवै साइडमा लगाएर ठीक अगाडिको भाग मात्र देखिने, दायाँ–बायाँ नदेखिने गरिको पट्टी) लगाएका घोडाजस्ता भएका छौं। सत्यलाई कसरी चिन्ने ? यसका लागि दुइटा कसी छन्- प्रत्यक्ष प्रमाण र अनुमान प्रमाण ।

प्रत्यक्ष प्रमाण हाम्रो इन्द्रियगोचर प्रमाण हो। हामीले देखेर, सुनेर वा अनुभव गरेर प्राप्त प्रमाण हो। माथिकै उदाहरण लिने हो भने के साँच्चै साम्यवाद वा समाजवाद नभई देशको विकास हुँदै हुँदैन त ? हामीले देखेका छौं, ब्रिटेन, नर्वे, स्वीडेनलगायत विश्वका धेरै देशमा राजतन्त्र भएर पनि विकास भएकै छ।

फेरि सम्यवाद वा कम्युनिज्म विचारधारा अपनाउने देश जस्तै रुस र छिमेकी देश चीनले पनि उस्तै विकास गरेका छन्। भारत र अमेरिका गणतन्त्रका हिमायती हुन्, उनीहरूले उत्तिकै विकास गरेका छन्। प्रत्यक्ष प्रमाण हेर्दा हो पनि होइन पनि जस्तो भयो।

अब यस्तो अवस्था आयो भने अर्को एउटा कसी छ- त्यो हो सत्यको सार्वभौमिकता अर्थात् केही कुरा सधैं र सबैतिर लागू हुन्छन् त ? यो कसी लगाउँदा उत्तर आउँछ- हुँदैन। त्यसैले माथि भनिएका कुरा व्यावहारिक सत्य मात्र हुन्, अन्तर्निहित सत्य होइनन्। कहिलेकाहीं प्रत्यक्ष प्रमाण नभए अनुमान प्रमाण पनि लगाउन सकिन्छ। जस्तो कि जहाँ जहाँ धुवाँ हुन्छ, त्यहाँ आगो हुन्छ। भनेको अर्थ आगो नदेखेर पनि आगोको सत्य स्थापना हुन्छ यदि धुवाँ देखियो भने।

जस्तो कि साम्यवादमा सबै बराबर हुन्छन् अर्थात् त्यहाँ कुनै वर्ग हुँदैनन्। यो वाक्य सत्य हो कि होइन भनेर कम्युनिस्ट र कांग्रेसलाई सोध्दा फरक–फरक जवाफ आउन सक्छ। अब तपाईं हामी कुनै पनि विचारको चश्मा नलाएकाले के भनेर जान्ने ? किनकि यसको प्रत्यक्ष प्रमाण छैन।

अहिलेसम्म वर्गविहीन समाजको निर्माण भैसकेको छैन तर मार्क्सले यो नियम डार्बिनको क्रमविकास सिद्धान्तअनुसार संश्लेषण गरे। मानिस बाँदरबाट विकास भएको भन्ने तथ्यलाई आधार मानेर उनले अनुमान प्रमाणको आधारमा यस्तो सिद्धान्तको वकालत गरे। तर अनुमान प्रमाणमा व्याप्ति सम्बन्ध अनिवार्य हुनुपर्दछ।

व्याप्ति सम्बन्ध आगो र धुँवाको सम्बन्ध जस्तै हो। यदि कतै संसारको एक ठाउँमा पनि धुवाँ विना आगो बल्छ भने यो नियम मान्य हुँदैन। यसरी हेर्दा साम्यवादको व्याप्ति सम्बन्ध कतै बनेको देखिंदैन। त्यसैले यसलाई पनि अन्तर्निहित सत्य मान्न सकिंदैन र यो व्यावहारिक सत्य मात्र हुन आउँछ। यस्तै गहन विषयको उठान अष्टावक्र दृष्टि स्तम्भमा हुनेछ।

जीवनयापनमा अष्टावक्र दृष्टि

हाम्रो जीवनको सार्थकता भनेकै महत्त्वपूर्ण र अर्थपूर्ण कुराहरू खोज्नु हो चाहे त्यो सम्बन्ध होस् वा सम्पत्ति। धेरै मानिसको जीवनको मुख्य समस्या आफूलाई कुन चिज महत्त्वपूर्ण र अर्थपूर्ण छ भनेर नबुझ्नु हो। कहिलेकाहीं महत्वपूर्ण भनेर खोजेको वस्तु अर्थपूर्ण नहुँदा जीवन खल्लो हुन्छ, जस्तो कि वैवाहिक सम्बन्ध।

जीवनको ज्यादै नै महत्वपूर्ण ठानिएको वैवाहिक सम्बन्ध कुनै एक पक्षले अर्थ बुझेन भने महत्व हुँदाहुँदै पनि यसले ठूलै दुःख निम्त्याउँछ। त्यस्तै, धनले जीवनमा धेरै ठूलो अर्थ राख्छ यदि यसलाई सही सदुपयोग गर्ने हो भने। तर, यही धन कति महत्वहीन छ भन्ने बुझ्न काठमाडौंमा तीन चारवटा घरसहित र सात पुस्तालाई पुग्ने सम्पत्ति भएका तर छोराछोरी जति विदेश भएका आमाबाबुलाई सोध्दा थाहा हुन्छ।

त्यसैले सुखी जीवन जिउनका लागि पनि अष्टावक्र दृष्टिको निर्माण गर्ने हो भने हाम्रो समय र शक्ति जीवनमा अर्थपूर्णको साथसाथै महत्वपूर्ण कुरा खोज्नमा व्यतित हुन्छ। कतिपयलाई अहिलेको शिक्षा वा कलेजको डिग्री गधाले बोकेको श्रीखण्डको भारी जस्तै भइरहेछ। जतिसुकै महत्वपूर्ण भए पनि गधालाई त्यसको के काम।

हामीलाई लाग्छ कि हाम्रा दुःख भनेको हामीसँग भौतिक वस्तुहरूको अभाव हुनु हो। राम्रो घर,गाडी, प्रेमी–प्रेमिका, आइफोन आदि आदि। बाहिर हेर्दा लाग्छ पनि त्यस्तै। सबै यिनैका पछि दौडिरहेका छन्।

रेडियो सुन्यो- सुनकै विज्ञापन, टिभी हेर्यो- महँगो टिभीकै विज्ञापन, फेसबुक हेर्यो- हिरो हिरोइनीहरू कालो चश्मा लगाउँदै थाइल्याण्डको समुद्री किनारमा बिदा मनाइरहेका। टिकटक हेर्यो- प्रयोग गरेको १५ दिनमा मुहारै उज्यालो बनाउने क्रिमको विज्ञापन। यो हेर्दाहेर्दा थाकेर यसो बेलुकातिर घुम्न निस्क्यो- फलानो साबुनले नुहाए दिनभरि ताजै रहने भन्ने विज्ञापन।

कुनै साइन बोर्ड हेर्दिनँ भन्दा पनि नहेरी नहुने ठाउँमा राखेको। अनि कसलाई रहर लाग्दैन त्यस्ता साबुनले नुहाई त्यस्तै क्रिम लगाई अनुहार चम्किलो पारेर समुद्रको किनारमा गएर विपरीत लिङ्गी साथीसँग आइफोनबाट कुरा गर्न।

अब यी कुराहरूलाई अष्टावक्र दृष्टिबाट हेरौं। हामीलाई यी कुनै कुराको वास्तवमा आवश्यकता पर्दैन सुखी जीवन जिउनका लागि। अहिले हाम्रो दुःख भनेको उपभोग्य वस्तुहरू धेरै हुनु हो। जसले हाम्रो जीवन मात्र होइन वातावरणलाई समेत नकारात्मक असर पुर्याइरहेको छ।

प्राय:जसो विज्ञापनमा देखाइएका कुरा साँचो हुँदैनन्। सेलिब्रेटीहरूले गर्ने कुनै वस्तुको विज्ञापन उनीहरू आफैंले पनि प्रयोग गर्दैनन्। यदि गरिहाले भने पनि सम्बन्धित कम्पनीले उनीहरूलाई निःशुल्क प्रदान गरेका हुन्छन्।

फ्रान्सको प्रख्यात अत्तर कम्पनी डायर होमको विज्ञापनमा देखिने हिरो रोबर्ट प्याट्टिन्सनले भनेका थिए- डायर होमको विज्ञापन गरे पनि म कुनै पनि अत्तरको प्रयोग गर्दिनँ। किनकि अत्तरमा प्रयोग हुने रसायनहरू शरीरको लागि हानिकारक हुन्छन्।

त्यस्तै हाम्रो शरीरको लागि साबुनको कुनै जरुरत नै पर्दैन। कोभिड वा त्यस्तै अरु रोगको लागि साबुनपानीले हात धुन आवश्यक भएतापनि छालाको लागि साबुन निकै नराम्रो मानिन्छ। यो कुनै छालाको डाक्टरलाई सोधे थाहा हुन्छ। छालामा प्राकृतिक रूपमै सेबेम भन्ने एक तैलीय पदार्थ हुन्छ जसले छालालाई नरम र फुस्रो हुनबाट जोगाउँछ। तर बजारमा पाइने साबुनले शरीरको तेल नष्ट गरिदिन्छ। त्यसैले नुहाइसकेपछि छालामा फुस्रो र सेतो खरानी देखापर्छ।

अझै पनि हामी तिनै विज्ञापनको भर परेर विभिन्न ब्रान्डका तेल किन्न जान्छौं। फेरि ती तेलको वासनाका लागि त्यस्तै हानिकारक रसायनहरूको प्रयोग हुन्छ जसले क्यान्सर समेत हुनसक्ने अध्ययनले देखाएको छ।

हाम्रो छालाको सतहमा आँखाले देख्न नसकिने स–साना ब्याक्टेरिया (माइक्रो बयोम) हरूको पनि नाश हुन्छ। यी माइक्रो बयोमहरू हानिकारक नभई फाइदाजनक हुन्छन्। यिनीहरूले हाम्रो रोगसँग प्रतिरक्षा गर्ने प्रणालीलाई सहयोग गर्छन्। अब लगातार साबुनको प्रयोगले तपाईं बिरामी समेत हुनसक्ने सम्भावना हुन्छ। यसरी बिरामी भएर अस्पताल जाँदा कति खर्च लाग्छ भनिरहन नपर्ला।

यदि साबुन मात्र प्रयोग गर्न छोडिदिने हो भने कति कुराको खर्च काम हुँदोरहेछ भन्ने बुझाइ बलियो बनिरहेको छ। यहाँनेर सफा नगर्ने वा ननुहाउने भनिएको होइन। मात्र पानी र घिरौंलाको जालो जस्तो वस्तु भए पुग्छ। साबुनले पैसाको खर्च मात्र होइन, स्वास्थ्यको पनि नाश गर्छ। यो पंक्तिकार पनि हरेक दिन स्नान गर्दा साबुन वा अरु कुनै कृत्रिम रसायनको प्रयोग गर्दैन र धेरै मानिसले अहिले यस्ता कृत्रिम रसायनको प्रयोग भएका सामान वा वस्तु प्रयोग गर्दैनन्।

हामीले थाहै नपाई एउटा ५० रुपैयाँको साबुनले हाम्रो कति धेरै खर्च गराइरहेको हुन्छ। यस्ता वस्तुहरू प्रयोग गरेर फाइदा हुने भनेको मात्र उक्त वस्तु उत्पादन गर्ने कम्पनीको मालिकलाई हो। अहिलेको पूँजीवादी व्यवस्थामा साधारण मानिस ठूला कम्पनीका लागि पैसा छाप्ने मेसिन मात्र हो। यसैमा पूँजीपतिहरूको भलो हुन्छ। यसकै लागि विज्ञापनको नाममा यिनीहरूले भएभरको बुद्धि र पैसा लगाएका हुन्छन्।

सुन लगाएर शोभा बढ्ने भनेको सुन पसलका मालिकको घरमा मात्र हो। हामीलाई सुन लगाए राम्रो देखिन्छ भनेर त तिनै सुन व्यापारीले समाजमा फैलाएको हौवा मात्रै हो। कण्ठको शोभा मधुर बोली र हातको शोभा दान वा अरुलाई गरेको परोपकारमा हुन्छ। यस्तै सिलसिला अरु धेरै वस्तुसँग जोडिएको हुन्छ।

सन् २०२१ युरो कपको प्रेस कन्फेरेन्समा क्रिस्टियानो रोनाल्डोले विज्ञापनको लागि राखेको कोकको बोतल हटाएर पानीको बोतल लिएको भिडियो सार्वजनिक हुने बित्तिकै कोकको बजार ४ खर्बले घटेको थियो। यसले मिडिया, व्यापारी र केही सेलिब्रेटीहरू मिलेर कसरी समाजलाई व्यापारीकरण गरेका छन् भन्ने दर्शाउँछ।

यदि हामीले जीवनमा पनि अष्टावक्र दृष्टिको निर्माण गर्यौं भने अति साधारण कुरासहित पनि असाधारण जीवन जिउन सक्छौं। वा कम्तीमा हामीलाई अरुले सजिलै शोषण गर्न सक्दैनन्।

को हुन् अष्टावक्र ?

अन्त्यमा यो अष्टावक्र दृष्टिमा प्रयोग भएको अर्को शब्द अष्टावक्र बारे छलफल गरौं। अरुण उद्धलक एक महान् ऋषि थिए। उनकी छोरी सुजाताको एक कहोडा नामको पण्डितसँग विवाह भएको थियो।

उनै कहोडा र सुजाताको छोराको रूपमा ऋषि अष्टावक्रको जन्म भएको थियो। उनी जन्मँदै शरीर आठ ठाउँमा बाङ्गो र टेडो भएकाले उनको नाम नै अष्टावक्र (अष्ट- आठ, वक्र- बाङ्गिएको) राखियो । उनी किन जन्मँदै आठ ठाउँमा कुँजो भएर जन्मे भन्ने कुरा बडो रोचक छ।

एक दिन अष्टावक्र गर्भमै भएको बेला उनका बाबुले वैदिक श्लोक र सूत्रहरूको उच्चारणमा धेरै गल्ती गरेको सुने। उनले गर्भैबाट उनका बाबुलाई श्लोक सच्याइदिन थाले। कहोडालाई जन्मँदै नजन्मेको बच्चाले अर्ति दिएको मन परेन र उनलाई रिस उठ्यो। रिसाएका ऋषिले श्राप दिंदै भने- ‘तेरो शरीर आठ ठाउँमा बाङ्गो होस्।’

यसै श्रापले उनी जन्मँदै शरीर टेडोमेडो भएर जन्मे। तर पनि अष्टावक्रले गर्भमै सबै वेद र सारा ज्ञान जानेर आएका थिए। यो रोचक कथाको अर्थ के हो भने गर्भमा पनि बाहिरी वातावरणले प्रभाव पार्छ।

अष्टावक्र जन्मेको आठ दश वर्षपछि मिथिलाका राजा जनकका दरबारमा आत्मा र परमात्माको बारेमा शास्त्रार्थ हुनेभयो र यसमा कहोडलाई पनि निम्तो गयो। कहोडले यसलाई आफ्नो विद्वत्ता प्रमाणित गर्ने अवसरका रूपमा लिए। प्रतियोगिता जिते धेरै धनराशि प्राप्त हुनेथियो भने हारेमा दास बन्नुपर्ने शर्त थियो। १० वर्षका बालक अष्टावक्रले आफ्ना बुवा हार्दैछन् भन्ने आभास पाए। उनी लौरो टेक्दै घिस्रिंदै घिस्रिंदै राजदरबार गए। उनको उद्देश्य थियो आफ्नो बाबुलाई जिताउनु।

जनकको दरबारमा सभा चल्दै थियो। एक्कासी एक कुँजो, शरीर पनि विरूप, आठ-आठ ठाउँमा टेडोमेडो बालक देखेर सबै गलल्ल हाँसे। अक्सर हामी पनि कुनै बौलाहा, झुत्रेझाम्रे देख्यौं भने जसरी हाँस्छौं। धर्मसभामा जम्मा भएका पण्डितलगायत पनि सबै हाँसे। यो देखेर बालक अष्टावक्र पनि हाँसे।

बालक हाँसेको देखेर राजा जनकले अचम्म मान्दै सोधे, ‘बालक! अरु त सबै तिम्रो शरीर देखेर हाँसे, तिमी किन हाँस्यौ ?’ अष्टावक्रले भने, ‘राजन ! यी मूर्खहरूको सभामा आत्मा र परमात्मा जस्तो गहन विषयको बारेमा चर्चा भएको देखेर मलाई हाँस उठ्यो। जसले मेरो बाहिरको छाला मात्र देखे, मभित्रको आत्मालाई देखेन, यस्ता मूर्खहरूले तपाईंलाई आत्माको ज्ञान दिन सक्छन् ? यिनीहरूसँग छाला बाहेक अरु कुनै कुराको ज्ञान छैन।’

बालकका कुरा सुनेर राजा जनक मन्त्रमुग्ध भए र उनै दश वर्षका बालक अष्टावक्रलाई गुरु मानेर ज्ञान लिन थाले। राजा जनक र अष्टावक्रको संवाद भएको किताब अष्टावक्र गीताको नामले प्रचलित छ। धेरै विद्वानहरूले यसलाई महागीता पनि भन्दछन्। किनकि यो भागवतगीताको पनि सार हो।

भारतमा वेदान्त दर्शन मान्नेहरूले यसलाई प्रमुख ग्रन्थको रूपमा लिन्छन् भने शंकराचार्यले अष्टावक्र गीतालाई नै अद्वैत वेदान्त प्रमुख ग्रन्थ मानेका छन्। ओशोले अष्टावक्र महागीता धेरै माथिको ग्रन्थ हो। उनले अष्टावक्र महागीताको ज्यादै सुन्दर व्याख्या गरेका छन्।

उनले त यतिसम्म भनेका छन् कि मैले जानी बुझी पहिला गीताको व्याख्या गरें र अष्टावक्र महागीतालाई अन्तिममा राखें। किनकि पहिला पहिला मेरो आश्रममा मानिसहरूको भीड थियो। गीता भीडका लागि काम लाग्छ। अब थोरै ज्ञानी मानिस मात्र बचेखुचेका छन्, यिनीहरूको लागि मात्रै अष्टावक्र गीताको काम छ।

यी अष्टावक्रले राजा जनकलाई ज्ञान दिएका र उनी हिंड्नै नसक्ने कुँजो भएकाले उनको जन्म पनि नेपालको जनकपुरको आसपास नै भएको हुनुपर्दछ। उनी जन्मेको स्थान पत्ता लगाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने र अष्टावक्र गीतालाई विश्वसामु प्रचार गर्नुपर्छ। यो लुम्बिनीपछिको अर्को धार्मिक पर्यटनको केन्द्र पनि बन्न सक्छ।

लेखकको बारेमा
डा. कमल ढकाल

भौतिकशास्त्रमा विद्यावारिधि गरेका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् । उनी विज्ञान र दर्शनमा गहिरो रुचि राख्छन् । यहाँ व्यक्त विचारले उनी कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?