+
+

सत्यमोहनकै कारण पीएचडी गर्न कर्णाली रोजें

उहाँको टिमले कर्णालीको लोकसंस्कृतिको विषयमा गरेको अध्ययनकै कारण म पनि कर्णालीप्रति आकर्षित भएँ । नेपालको जैविक विविधता र जैविक प्रणालीका विषयमा विद्यावारिधि गर्ने अवसर पाउनासाथ मैले कर्णाली नै रोजें।

डा. तीर्थबहादुर श्रेष्ठ डा. तीर्थबहादुर श्रेष्ठ
२०७९ असोज ३० गते १९:५२

सत्यमोहन जोशी बित्नुभएको खबर सुनेपछि मेरो मनमा विगतका अनेक कुरा याद आइरहेका छन् । हामी दुवैजना नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य हौं ।

उहाँसँग मैले प्रतिष्ठानमा रहँदा दुई/चारवटा समितिमा सँगै बसेर काम गरेको अनुभव छ । हामी सम्पर्कमा रहिरह्यौं । हाम्रो आउजाउ भइरह्यो । उहाँले पछिल्लो समय एउटा सम्झनाको त्यान्द्रो छोडेर जानुभयो ।

लुम्बिनीमा २०५६/०५७ सालतिर पुरातात्विक सम्पदाको उत्खनन गर्ने नाममा पीपलका धेरै रुखहरु काटिए । रुखको काठ काटेर जापानीहरुले प्रसाद भन्दै जताततै बाँड्न थाले, हारालुछ भयो । पछि जो आएपनि त्यो रुखको काठ लिएर जाने चाहना राख्न थाले ।

उत्खनन गर्नैपर्ने भए पनि रुख बचाउनुपर्ने मेरो धारणा थियो । यस विषयमा चासो दिँदा त्यहाँका एकजना व्यक्तिले पीपलको रुखको हाँगा जोगाएका रहेछन् । त्यो हाँगा ल्याएर मैले टिस्यूकल्चर गराएँ । करिव एक हजार वटा जति विरुवा बनाएर धेरैलाई बाडेँ । त्यसमध्ये पाँचवटा विरुवा मैले सत्यमोहन दाइलाई दिएको थिएँ ।

उहाँले त्यो बिरुवा नेपाल भाषा एकेडेमीमा लगेर रोप्नुभएछ । केही दिनअघि उहाँको अन्तर्वार्ता आएको थियो । उहाँले त्यही बोट देखाउदै ‘यो रुख मलाई तीर्थबहादुरले दिनुभएको हो’ भन्नुभयो । उहाँले आफ्नो घरको अगाडि बडो माया गरेर एउटा पीपलको विरुवा हुर्काउनुभयो ।

मैले विरुवा दिएकामध्ये त्यति माया गरेर हुर्काएको अरु घटना याद छैन । उहाँले त्यो पीपलको बोटमुनि मायादेवीको मन्दिर स्थापना गर्नुभयो । अहिले त्यहाँ जो गएपनि त्यही रुखमुनि बस्छन् । उहाँले म शान्तिपूर्ण जीवन बिताएर गएँ भन्ने सन्देश दिनुभएझैं लाग्छ । उहाँको निधन भएको थाहा पाएपछि म तिनै कुरा सम्झेर टोलाएँ ।

उहाँले लोक भन्ने शब्दलाई नेपाली समाजमा पुर्‍याइदिनुभयो । उहाँकै कारण नेपाली समाजले लोकसंस्कृति, लोकपरम्परा के हो भन्ने बुझ्यो र त्यसको महत्व थाहा पायो ।

पहिलो भेट

मैले पहिलो पटक सत्यमोहन जोशीलाई २०३६ तिर भेटेको हुँ । प्रज्ञा प्रतिष्ठानमा उहाँ सूर्यबिक्रम ज्ञवालीको टिममा हुनुहुन्थ्यो । उहाँहरुको टिमले छाडेपछि लैनसिंह वाङ्देलको टिम प्रज्ञा प्रतिष्ठानमा पुग्यो । म वाङ्देलको टिममा थिएँ । उहाँहरुले भर्खरै छाड्नुभएको अनि हामी भर्खरै आएकाले हरेकजस्तो बैठकमा हामीले उहाँलाई बोलाउथ्यौं र संस्कृति, परम्परा, भाषा लगायतका विषयमा कुरा गर्थ्यौं ।

उहाँसँग मेरो अर्को साइनो पनि छ । उहाँले कर्णालीको लोकसंस्कृतिका विषयमा अध्ययन अनुसन्धान गर्नुभयो । उहाँको टिमले कर्णालीको लोकसंस्कृतिको विषयमा गरेको अध्ययनकै कारण म पनि कर्णालीप्रति आकर्षित भएँ । नेपालको जैविक विविधता र जैविक प्रणालीका विषयमा विद्यावारिधि गर्ने अवसर पाउनासाथ मैले कर्णाली नै रोजेँ । मैले जोशीकै कारण विद्यावारिधिका लागि कर्णाली क्षेत्र रोजेको हुँ ।

उहाँले त्यो क्षेत्रको भाषा, संस्कृति, परम्परा, इतिहासका विषयमा धेरै जानकारी हासिल गर्नुभएको रहेछ । तर वनस्पति र इकोलोजी (पारिस्थितिक प्रणाली) को विषयमा अलि ‘ग्याप’ रहेछ, त्यही कारणले म त्यता केन्द्रित हुन प्रेरित भएँ ।

त्यतिबेला काठमाडौंदेखि जुम्लासम्म हिँडेर नै पुगेको थिएँ । मैले सैपालदेखि जुम्लासँगको वानस्पतिक प्रणालीका विषयमा विद्यावारिधि गरेँ ।

पछि सत्यमोहन जोशीसँग कयौं संस्थाहरुमा सँगै बसेर काम गरेँ । उहाँले नेपाल भाषा एकेडेमीमा काम सुरु गर्नुभयो । आफूले लेखेका किताब दिनुभयो, हामीले लेखेका किताब पनि माग्नुभयो ।

नेवार समुदायमा चौथो जंकुका क्रममा ९९ वर्ष ९ महिना, ९ दिन, ९ घडी, ९ पलामा ज्येष्ठ नागरिलाई पुनर्जन्म गराइन्छ । त्यसक्रममा जेष्ठ नागरिकलाई पुनर्जन्म पाएको भन्ने धार्मिक संस्कार गरिन्छ ।

उहाँको १०० वर्षको अवसरमा ललितपुर महानगरपालिकाले धुमधामसँग शतवार्षिकी मनायो । उहाँका ग्रन्थ प्रकाशित भयो । महानगरपालिकाले सम्मान गर्‍यो ।

आज सत्यमोहन जोशी पनि १०३ वर्षमा हामीबाट विदावारी हुनुभयो । जोशीको यति ठूलो योगदान छ कि नेपाली समाजले बिर्सनै सक्दैन । उहाँलाई नेपाली समाजले वर्षौ सम्झनुपर्ने धेरै कारणहरु छन् । लोकसंस्कृतिमा उहाँले ठूलो योगदान गर्नुभएको छ । नेवार समुदाय र बौद्ध धर्मको सम्बन्धका विषयमा उहाँले गहिराइमा पुगेर अध्ययन गरेर तथ्यहरु बाहिर ल्याइदिने काम गर्नुभयो ।

जोशीले नेपाल र चीनको सांस्कृतिक सम्बन्धका बारेमा लेख्नुभयो । अरनिकोलाई नेपालमा चिनाउने मानिस उहाँ नै हो । नेपाल र चीनको सांस्कृतिक र कलाको पाटो चिनाउन उहाँको योगदान छ ।

उहाँले लोक भन्ने शब्दलाई नेपाली समाजमा पुर्‍याइदिनुभयो । उहाँकै कारण नेपाली समाजले लोकसंस्कृति, लोकपरम्परा के हो भन्ने बुझ्यो र त्यसको महत्व थाहा पायो ।

आम मानिसमाझ भिजेका र चलेका संस्कृतिलाई जोशीले अभिलेखिकृत गरिदिनुभयो । उहाँले आफूलाई खटाएको क्षेत्रमा गएर काम त गर्नुभयो साथै, गाउँगाउँमा गएर लोकसंस्कृतिलाई टपक्कै टिपेर ल्याउनुभयो र हामीलाई बाँड्नुभयो ।

उहाँले नेपालका धेरै भेगको गीतको संकलन पनि गर्नुभयो । उहाँले लोकसंस्कृतिका बारेमा लेखेको किताबको आधारमा पुरातत्व विभागले निर्देशकको जिम्मेवारी नै दिएको थियो ।

नेपालको सबै संस्कृति र चलनलाई एकै ठाउँमा राखेर उहाँले सिंगो नेपालको भावनात्मक एकतालाई जगाइदिने काम गर्नुभयो । उहाँका धेरै योगदान हामीले छलफल गर्नुपर्ने, भन्नुपर्ने, सम्झनुपर्ने छन् । उहाँलाई हार्दिक श्रद्धाञ्जली ।

(वनस्पतिविद् डा. श्रेष्ठसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?