
३० असोज, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका पहिलो रोजाइका गोलरक्षक थिवाउट कोर्तुवाले स्पेनिस ला लिगाको एल क्लासिको गुमाउने भएका छन् ।
यस सिजनको पहिलो क्लासिको आइतबार राति ८ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबउमा हुँदैछ ।
रियल मड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोटीले प्रिम्याच कन्फ्रेन्समा बेल्जियन गोलरक्षक कोर्तुवाले एल क्लासिको गुमाउने जानकारी दिएका हुन् ।
‘कोर्तुवा अहिले ठिक छन् । केही हप्तायता उनले राम्रोसँग प्रशिक्षण पनि गरिरहेका छैनन् । उनले स्वस्थ महसुस भने गरिरहेका छैनन्, त्यसैले उनले एल क्लासिकोमा भाग लिँदैनन्’, उनले भने, ‘उनी बुधबार वा आइतबार हुने अर्को खेलमा मात्रै मैदानमा उत्रिनेछन् ।’
चोटका कारण ३० वर्षीय कोर्टुवाले गत महिनादेखि खेलेका छैनन् । चोटका कारण उनले रियलको टोलीसँग प्रशिक्षण पनि राम्रोसँग नगरिरहेको प्रशिक्षक एन्सेलोटीले बताए ।
सन् २०१८ मा रियलमा आएका कोर्तुवाले त्यसपछि क्लबको पहिलो रोजाइमा पोस्ट सम्हालिरहेका छन् । उनले रियलका लागि जम्मा १९० खेल खेलेका छन् ।
कोर्तुवाको चोट अपेक्षाकृत रुपमा निको हुन नसकेको कारण उनको पुनरागमनलाई हतार नगरिएको क्लबले जनाएको छ ।
कोर्तुुवाको चोटसँगै यो सिजनको पहिलो क्लासिकोमा रियलको पोस्ट एन्ड्री लुनिनले सम्हाल्ने छन् । लुनिनले रियलको सबै पछिल्लो चार खेलमा पोस्ट सम्हालिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4