+
+

बार्सिलोनामा मिनी नेपालको झल्को

वसन्त रानाभाट वसन्त रानाभाट
२०७९ कात्तिक १ गते १३:२४

बार्सिलोना । बहुसांस्कृतिक पहिचानसहित स्पेनका नेपालीहरुले आइतबार पर्यटकीय सहर बार्सिलोनामा मिनी नेपालको झझल्को दिएका छन् । विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर अगाडि नेपाली पञ्चेबाजाको धुनसहित विभिन्न भेषभूषामा सजिएका नेपालीहरुको नृत्यले विदेशीहरुको समेत ध्यान तान्यो ।

१ सय ४० वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको ‘सग्रादा फैमिलिया’ नामको चर्च हेर्न बर्सेनि पर्यटकहरुको भीड लाग्ने गर्छ । चर्च हेर्न पुगेका तिनै विदेशी पर्यटकहरु आइतबार नेपाली पञ्चेबाजाको धुनमा रमाए । भूमिगत रेलमार्ग हुँदै चर्च पुगेका पर्यटकहरुलाई नेपाली पञ्चेबाजाको धुनले लोभ्याएको थियो ।

सामुदायिक विकास योजना (प्ला कमुन्तारी) सग्रादा फैमिलियाको अन्तर साँस्कृतिक कार्यक्रमअन्तर्गत एनआरएनए स्पेन र जनप्रगतिशील मञ्च स्पेनको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

फ्रान्सको पेरिस सहरबाट बार्सिलोना घुम्न आएका २८ वर्षीय जादे मार्टिनलाई पञ्चेबाजा अनौठो लाग्यो । तीन दिनका लागि बार्सिलोना घुम्न आएका मार्टिनले पञ्चेबाजाको तालले आफ्नो दिन नै रमाइलो बनेको सुनाए ।

‘बार्सिलोना बसाइँको आज अन्तिम दिन हो । मैले नसोचेको रमाइलो गरें,’ उनले अनलाइनखबरलाई भने, ‘खासमा चर्च हेर्न यहाँ आएको हुँ । नेपाली बाजाको धुनले मेरो मन नै छोयो । आधा घण्टादेखि यही हेरिरहेको छु ।’ उनले भविष्यमा कुनै दिन अवसर मिलेमा नेपालको भम्रण गर्ने पनि बताए ।

चर्च हेर्न आएका विदेशी पर्यटकहरु मात्रै नभई स्थानीय स्पेनिस समुदायको पनि कार्यक्रममा बाक्लो उपस्थिति थियो । ह्वीलचियरमा बसेर कार्यक्रम हेरिरहेका स्थानीय ६१ वर्षीय इनरिक गोमेजले पनि नेपाली गीत संगीत असाध्यै मन परेको सुनाए । विभिन्न नृत्यमा भिन्न–भिन्न पोशाक देखेका उनले नेपाली भेषभूषाबारे जिज्ञासा राखे । ‘नेपालका हिमालहरुको बारेमा चर्चा सुनेको थिएँ, आज नेपाली गीत संगीत र भेषभूषा देख्न पाएँ,’ उनले भने, ‘बालबालिकाहरुले लगाएको पोशाक असाध्यै मन पर्यो ।’

दुई दशकदेखि स्पेनमा बस्दै आएका कोलोम्बियाका ४१ वर्षीय जुवान डेभिडलाई भने नेपालको झण्डा अनौठौ र पृथक लाग्यो । ‘मैले यसअघि नेपालको झण्डा देखेको थिइनँ । अरु देशको भन्दा फरक र आकर्षक लाग्यो,’ डेभिडले भने ।

‘नेपाली लोक बाजाहरु यति धेरै किसिमका हुने रहेछन् । एकै साथ बजाएको सुन्दा निकै रमाइलो लाग्यो,’ उनले भने, ‘अझ एकै पटक महिला र पुरुष सयौंको संख्यामा नाचेको देख्दा अचम्म लाग्यो ।’

पोर्चुगलदेखि पञ्चेबाजा बजाउन स्पेन आएका कलाकार पूर्ण अर्यालले नेपाल चिनाउन पाएकोमा खुशी ब्यक्त गरे । गोरखा मूल घर भई विगत ८ वर्षदेखि पोर्चुगल बस्दै आएका अर्यालले भने, ‘हामी ६ जनाको टोली पोर्चुगलदेखि स्पेन आएका हौं । यस्तो ऐतिहासिक ठाउँमा आएर आफ्नो साँस्कृतिक बाजा बजाउन पाउँदा गौरव लागेको छ ।’

विदेशी पर्यटकहरु लगायत स्पेनिसहरुले उभिएर लामो समयसम्म कौतुहलतापूर्वक आफ्नो प्रस्तुति हेरेको उनले सुनाए । ‘स्पेनमा लामो समयदेखि बस्दै आएकादेखि नयाँ नेपालीहरुलाई पनि पञ्चेबाजामा नचाउन पाउँदा एउटा छुट्टै किसिमको ऊर्जा मिलेको छ,’ अर्यालले थपे ।

एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले नेपालीहरुले गर्व गर्ने कार्यक्रम भएकोमा खुशी व्यक्त गरे । ‘विभिन्न जातीय संघसंस्थाहरुले आ–आफ्नो भेषभूषामा प्रस्तुति राख्दा झन् कार्यक्रमको आकर्षण बढेको देखियो । गुरुङ, मगर, नेवार, शेर्पा जुनसुकै जाति भए पनि आखिर हामी सबै एउटै मञ्चमा उभिएर पहिले नेपाली भएको सन्देश दिएका छौं,’ डुम्रेले भने ।

आयोजक संस्था मध्येका एक नेपाली जनप्रगतीशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले ठूलो संख्यामा विदेशीहरुले कार्यक्रमको अवलोकन गरेको बताए । ‘दिउँसोदेखि रातिसम्म करिब ३–४ हजारले नेपाल चिनाउने कार्यक्रम अवलोकन गरेको मेरो अनुमान छ,’ उनले थपे, ‘तीन दिनसम्म हामीले नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्रीहरु सहित स्टलहरु  राख्यौं । त्यहाँ पनि थुप्रै विदेशीहरुले नेपालबारे चासो राखेका थिए ।’

नेपाली राजदूतावास म्याड्रिडले नेपाल पर्यटन बोर्डसँग समन्वय गरेर पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्रीहरु उपलब्ध गराएको अध्यक्ष ढुंगानाले बताए । ‘दूतावासबाट कार्यक्रमका लागि आर्थिक सहयोग भने मिलेन । तर पर्यटन प्रवर्द्धनका सामग्रीहरु उपलब्ध गराउन दूतावासले भूमिका खेलेको छ,’ उनले भने ।

यसअघि स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उदघाटन गर्दै नेपाली समुदायलाई बधाइ दिएकी थिइन् । उनले पर्यटकीय सहर बार्सिलोनाको मुटुमा नेपाल चिनाउने उत्कृष्ट कार्यक्रम गरेको बताउँदै मातृभूमिका लागि सबैले आ–आफ्नो ठाउँबाट यसरी नै सहयोग गर्नुपर्ने बताइन् । उनले कार्यक्रममा उपस्थित विदेशीहरुलाई नेपाल भम्रणको निम्तो समेत दिइन् ।

नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बालबालिकासहित स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुतिहरु राखेका थिए । सधैं हलभित्र आसन र भाषणमा सीमित रहनुभन्दा नेपाल चिनाउने यस्ता गतिविधिले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास सहभागीहरुले राखेका थिए ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?