+
+

उदयपुर सिमेन्ट उद्योगमा थप ५६ करोड ७२ लाख लगानी गर्न सरकारलाई प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १७:१६

१ कात्तिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा थप ५६ करोड ७२ लाख रुपैयाँ ऋण लगानी गर्न व्यवस्थापन पक्षले सरकारलाई प्रस्ताव गरेको छ । यदि सरकारले थप लगानी गरे उद्योग पूर्णक्षमतामा सञ्चालनमा आउने र नाफामा जाने व्यवस्थापन पक्षको दाबी छ ।

नेपाल सरकारले २०४४ साल जेठ ३१ गते उदयपुरको जलजलेमा उदयपुर सिमेन्ट उद्योग स्थापना गरेको थियो । यो उद्योगले अब्बल ग्रेडको गुणस्तरयुक्त गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता यो उद्योगको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा २१ लाख ७२ हजार ४१९ बोरा सिमेन्ट बिक्री गरेको उद्योगले चालू आर्थिक वर्ष २०७९/८० मा २५ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको छ । ‘उक्त लक्ष्य हासिल गर्न गत आर्थिक वर्षको उत्पादन उपलब्धि ४१ प्रतिशतलाई वृद्धि गर्न र उद्योगको कूल क्षमता ८ सय मेट्रिक टन पुर्‍याउन उद्योग व्यवस्थापनले प्राविधिक अध्ययन गराएर फेर्नुपर्ने मेसिनहरुको अनुमानित मूल्य सहित नेपाल सरकारलाई ऋण लगानीका लागि अनुरोध गरिसकेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।

‘५६ करोड ७२ लाख रुपैयाँ थप लगानी गर्न सके यो उद्योगको पुनर्निर्माण भई तीन वर्ष भित्रै नेपाल सरकारबाट लिएको ऋणको सावाँ ब्याज फिर्ता गरिसक्छौं’ न्यौपानेले भने ।

उद्योग व्यवस्थापन पक्षको थप लगानी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिससहित अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयमा यो प्रस्ताव विचाराधीन अवस्थामा छ ।

‘थप लगानी गर्नैपर्ने बाध्यता’

गत वर्षसम्म उद्योग ३० करोड नोक्सानमा थियो । आर्थिक वर्ष २०७७/७८ मा उद्योग बीईपी (नाफा नोक्सान बराबरी) मा गइसकेको छ । अहिलेको परिस्थितिमा डिजेल, कोइला तथा अन्य कच्चा पदार्थको भाउ अत्यधिक बढेको कारण र कर्मचारीको सेवा सुविधा वृद्धि भएको कारण लागत बढेर फेरि नोक्सानीमा जान सक्ने चिन्ता उद्योग व्यवस्थापनलाई छ ।

यो अवस्थालाई रोक्न उद्योगको ब्रेकडाउन कम गरी उत्पादन वृद्धि गर्न र नयाँ प्रविधि जडान गरी कोइलाको खपत कम गर्न थप लगानी गर्नैपर्ने बाध्यता रहेको उदयपुर सिमेन्ट उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल बताउँछन् । ‘अधिकांश कर्मचारी अबको चार/पाँच वर्ष भित्र अवकाश हुँदै गर्दा अवकाश हुँदा पाउने अर्बौंको सुविधाको सरकारी दायित्व समेत उद्योगको क्षमता विस्तार भएमात्रै पाइने अवस्था छ, होइन भने अर्थ मन्त्रालय धाउनुपर्ने अवस्था आउनसक्छ’ प्रवक्ता पोखरेल भन्छन् ।

प्रवक्ता पोखरेलका अनुसार उदयपुर सिमेन्ट उद्योगको सन्चित मुनाफा हाल ५६ करोड छ । ‘आर्थिक वर्ष २०७७/७८ मा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अन्तर्गत वित्तीय विवरण तयार गरी सो वर्षसम्मको ५ अर्ब ५० करोड नोक्सानी कट्टा गर्दा रु. ५६ करोड सञ्चित मुनाफा कायम भएको छ’ प्रवक्ता पोखरेलले भने ।

उत्पादन वृद्धि गरी बिक्री बढाए अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३० करोड नोक्सानी भएकोमा आर्थिक वर्ष २०७८/७९ मा खर्च मित्यव्ययी गरी धेरै वर्षपछि उद्योग नाफामा गएको उद्योगको दाबी छ । २०७८ असोजसम्म अवकाश प्राप्त कर्मचारीले १५ करोड रकम प्राप्त गरिसकेका छन् ।

पछिल्लो समयमा उद्योग भित्रका क्रियाशिल ट्रेड युनियनहरुले उद्योग सन्चालनको नियमितता लगायत केही माग राखी पेस गरेको ज्ञापनपत्रको बारेमा समेत महाप्रबन्धक न्यौपाने आफैं बसी छलफल गरी सहमति भएको छ ।

२०७७ माघ अघि बन्द रहेको उदयपुर सिमेन्ट उद्योग गोपीकृष्ण न्यौपाने महाप्रबन्धक भएर आएपछि नियमित सन्चालन हुँदै आएको छ । दशैं बिदा पछि पनि मर्मतसम्भार गरी असोज ३० गतेदेखि उद्योग नियमित सन्चालित छ ।

यसबीचमा कच्चापदार्थ लगायत अन्य थुप्रै समस्याहरु पनि समाधान गरेको न्यौपाने बताउँछन् । ‘संगठन तथा व्यवस्थापन सर्भे, कम्पनीको १५ वर्षको साधारणसभा सम्पन्न, प्लाण्ट मर्मतसम्भार, आन्तरिक तथा बाह्य लेखापरीक्षण, कम्पनी स्थापना हुँदादेखिको कम्पनी रजिस्ट्रारको कार्यालयमा रेकर्ड अद्यावधिक गर्ने जस्ता महत्वपूर्ण कार्यहरु सम्पन्न भएका छन्,’ महाप्रबन्धक न्यौपाने भन्छन्, ‘सुशासनका दृष्टिले यी कामहरु निकै महत्वपूर्ण थिए ।’

साथै उच्च अदालतको आदेशले आपूर्तिकर्ताको पक्षमा गरेको फैसला बमोजिम १९ बिगाह जग्गा रोक्का राखी २ कठा १७ धुर जग्गा लीलाम भैसकेको अवस्थामा सर्वोच्च अदालतको निर्णय बमोजिम उक्त जग्गा फुकुवा तथा लिलाम बदर भई उद्योगकै नाममा फिर्ता ल्याउनुलाई पनि महत्वपूर्ण उपलब्धि मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?