+
+
अन्तर्वार्ता :

७ सहर घुमेपछि हरिवंश भन्छन्- देश हाँस्‍ने मुडमा छ

विष्णु शर्मा विष्णु शर्मा
२०७९ कात्तिक २ गते १५:५९

काठमाडौं । देश घुम्नु भनेको के हो ? चाडपर्व र चुनावी माहोलबीच मुलुकको राष्ट्रिय राजनीतिमा अर्थ राख्ने सात सहर घुमेर काठमाडौं फर्किएका अभिनेता हरिवंश आचार्यलाई हामीले यो प्रश्न सोध्यौं ।

‘बलिदान’ अभिनेताले जवाफ दिए, ‘मैले देशको मुड बुझें । जताततै समस्या पाएँ, तर नागरिक खुसी छन् ।’ तर हरिवंश भोट भाग्न ती सात सहर घुमेका हैनन्, रिलिजको तयारीमा रहेको आफ्नो फिल्म ‘महापुरुष’को प्रवद्र्धन गर्न उनी काठमाडौं बाहिरको भ्रमणमा निस्किएका हुन् ।

चिसिन थालेको काठमाडौंमा अनलाइनखबरसँग उनी गफिए । कोरोना महामारीपछि लयमा फर्कन थालेको बजार, चुनावी चटारो र पर्वको छेकोमा हरिवंशले नागरिकको अनुहारमा दुःख र आशाको ‘कोलाज’ देखे र महसुस गरे । रुस-युक्रेन युद्धको साइड-इफेक्टदेखि घरेलु फिल्ममा कमेडी विधाको दबदबाबारे उनले खुलेर कुरा गरे । प्रस्तुत छ, अभिनेता आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

फिल्म प्रचारको लागि देश दौडाहामा निस्किंदा देशको मुड कस्तो पाउनुभयो ?

मान्छेमा आर्थिक अभाव छ अहिले । व्यवसाय धरासायी भइरहेको छ । नेपाली मुद्राको अवमूल्यन, युक्रेन-रुस युद्धले बजारमा चहलपहल छैन । मलहरु खाली-खाली छन् । त्यो एउटा भिन्दै मुड भयो । अर्को छ- चुनावको मुड । यसपालि कस्तो मान्छे छान्ने ? पहिले राम्रो भनेर छानेको मान्छेसँग जे कल्पना गरिएको थियो, त्यसअनुसार देश अघि बढेन भनेर गुनासो पनि छ मान्छेको ।

अर्को मुडको कुरा, ठूलो प्राकृतिक प्रकोप परेको बेलामा पनि नेपालीको विशेषता भनेको हाँसेर हिंड्ने देखियो । यो कुरा भूकम्पको बेलामा विदेशी मित्र राष्ट्रहरुले भनेका छन् । नेपालीहरु हाँसेरै हिंडिरहनुभएको छ । जति दुःख भए पनि मलिन अनुहार छैन । नेपालीको अर्को विशेषता भनेको ऋणधन गरेर भए पनि चाडपर्व मनाउने परम्परा छ । त्योअनुसार भर्खरै दशैं सकियो र तिहारको मुडमा जनता छन् ।

नेपालीको फिल्मी मुड चाहिं कस्तो पाउनुभयो ?

ट्रेलर देखाउँदाखेरि हामी एक-दुईवटा फिल्म हलमा गयौं पनि । विराटनगरमा दुई नम्बरी फिल्म हेर्न मारवाडी समुदायदेखि अन्य स्थानीय बासिन्दा पनि आउनुभएको देखें । नेपाली फिल्मलाई हेर्नुपर्छ भन्ने मुडमा मान्छेहरु छन् । जस्तै, प्रेमगीत ३ लाई पनि हलमा हेर्नुभएको थियो । मूल्यांकन गर्दा हिन्दी र नेपाली फिल्ममा उस्तै-उस्तै संख्यामा दर्शक हुनुहुँदो रहेछ । हलको आकर्षण पनि होला किनभने जाउँ जाउँ लाग्ने हल बनेका छन् । फिल्मको क्रेज पनि हलको कारणले सेलाएको छैन जस्तो लाग्छ मलाई ।

जसले आफूलाई जीवन दियो, दुःखकष्ट गरेर आफूलाई हुर्काए बाउआमाले । तर पछि बाउआमा पनि एक्लै हुने अवस्था छ नि । त्यसकारण मानसिक तनाव र एक्लोपनले सताउँछ मानिसलाई । युरोप र अमेरिकामा छोराछोरी काम गर्न जान्छन्, बुढाबुढी बाउआमा बसिराखेका हुन्छन् ।

तपाईंले ‘महापुरुष’लाई ‘बलिदान’पछिको अर्को गम्भीर र उत्कृष्ट फिल्मको रुपमा उल्लेख गर्नुभएको थियो । किन ?

‘बलिदान’ राजनीतिक विषयवस्तुपछि बनेको फिल्म भयो । त्यसमा मैले आफ्नो अभिनयको छुट्टै अनुभूति गर्न पाएँ । हास्यव्यंग्यको छाप लिएर हिंडेको मान्छे त्यसमा हँसाउने दृश्य भनेको चाहिं मान्छेलाई राजनीतिक चेतना जगाउने, योद्धाले गरेको भूमिकामा अभिनय गर्न पाएँ । मैले यो पनि गर्न सक्दो रहेछु भनेर काम देखाउने मौका पाएँ ।

फिल्म महापुरुषको प्रचारका क्रममा अभिनेता हरिवंश आचार्य

पछिल्लो समयमा मैले हास्यप्रधान काम धेरै गरेको छु । ‘महापुरुष’मा ठ्याक्कै यस्तो क्यारेक्टर हो कि जहाँ कथाभित्रै कमेडी छन् । यो सिचुएसनल कमेडी हो । मानवीय संवेदनाका कुरामा पनि कमेडीसँगै आँसु बगाउन सक्ने मिश्रण भएका पात्र मैले पाएको छु । बलिदानपछि राजनीतिक परिवेशमा बनेको र यो सामाजिक परिवेशमा बनेको छ । भूमिका चाहिं दुवै गम्भीर छन् मेरा लागि ।

यस वर्षको ६ महिनासम्मको मूल्यांकन गर्दा रिलिज भएकामध्ये चार फिल्म हिट भए । हिट हुनेमध्ये तीनवटा कमेडी फिल्म हुन् । कमेडीप्रतिको दर्शकको आकर्षणलाई कसरी लिनुहुन्छ ?

विभिन्न टुक्का र प्रसंग जोड्ने पनि कमेडी हुन्छ । महापुरुषमा मुर्छा पर्ने गरेर हाँस्ने दृश्य छैनन् । तर मनमा काउकुती लगाई-लगाई हाउभाउले गम्भीर पात्रले भोगेका हास्यास्पद विषयले पनि मान्छेलाई एउटा हृदयमा हाँसो उठिराखेको हुन्छ र अर्कोतिर गम्भीर महसुस गरिराख्नुभएको हुन्छ । महापुरुषमा हाँसो खोज्नेलाई हाँसो पनि छ र गम्भीर कथा खोज्नेलाई गाम्भीर्य पनि छ ।

हिन्दी फिल्ममा परेश रावलले गर्ने फिल्ममा ह्युमर त छ नि । तर विषय चाहिं गम्भीर हुन्छन् । पहिले-पहिले अमोल पालेकरले गर्नुहुन्थ्यो । उहाँले पनि गम्भीर विषयमा हास्यास्पद हिसाबले गर्नुहुन्थ्यो । चार्ली च्याप्लिनकै कुरा गरौं, उहाँका हरेक कमेडी शोमा गहिरो संवेदना छन् । उहाँले हँसाउने शैलीले प्रस्तुति गर्नुहुन्थ्यो । त्यो कारणले हास्यव्यंग्यको आफ्नो गुणस्तर हुन्छ । यसकारण प्रदीप भट्टराईले महापुरुषमा हाँसो र गाम्भीर्यताको सम्मिश्रण गर्न सफल हुनुभएको छ ।

यसको अर्थ नेपाली फिल्म क्षेत्रलाई कमेडी विषयवस्तुका फिल्मले नै उद्धार गर्ने हुन त ?

होइन, राम्रो फिल्मले । चाहे त्यो कमेडी होस् वा चाहे जुनसुकै होस् । तर सिनेमा राम्रो हुनुपर्छ । त्यसले भविष्य निर्धारण गर्छ ।

पछिल्लो समय महिला संवेदनामाथि फिल्म बने । तर महापुरुषमा चाहिं पुरुष चरित्रको संवेदनालाई लिएर फिल्म बनेको छ । यसको आवश्यकता किन पर्‍यो ?

यसलाई पनि नारीप्रधान फिल्म भनेको भए परम्परागत ढंगमा जसरी फिल्महरु बन्थे । त्यही शैलीमा फिल्म बनेको भन्ने हुन्थ्यो । यो पुरुषप्रधान फिल्म हुँदै होइन । यो कथामा महिलाहरुको अभावकै कारण पुरुष एक्लो भएको कुरा छ । नाम मात्र महापुरुष हो, यो फिल्म चाहिं महानारीको कथा हो ।

विभिन्न टुक्का र प्रसंग जोड्ने पनि कमेडी हुन्छ । महापुरुषमा मुर्छा पर्ने गरेर हाँस्ने दृश्य छैनन् । तर मनमा काउकुती लगाई-लगाई हाउभाउले गम्भीर पात्रले भोगेका हास्यास्पद विषयले पनि मान्छेलाई एउटा हृदयमा हाँसो उठिराखेको हुन्छ र अर्कोतिर गम्भीर महसुस गरिराख्नुभएको हुन्छ ।

पछिल्लो समय नेपालमा समेत मानसिक स्वास्थ्यको समस्या बढिरहेको देखिन्छ । यो समस्यासँग महापुरुष फिल्मको सन्देशको सम्बन्ध कस्तो छ ?

एक्लोपन सबैभन्दा ठूलो मानसिक तनाव हुने कारण हो । त्यसमा परिवारको मृत्यु नै हुनुपर्छ भन्ने छैन । परिवारको विछोड पनि कारण हो । अवसर खोज्न छोराछोरीलाई बाउआमाले सधैं मसँगै बसिराख भनेर दबाब पनि दिन मिल्दैन । उनीहरुको पनि आफ्नै संसार हुन्छ । त्यो संसारमा उनीहरुलाई स्वतन्त्र छाडिदिनुपर्छ ।

अभिनेता हरिवंश आचार्य । फाइल तस्वीर

जसले आफूलाई जीवन दियो, दुःखकष्ट गरेर आफूलाई हुर्काए बाउआमाले । तर पछि बाउआमा पनि एक्लै हुने अवस्था छ नि । त्यसकारण मानसिक तनाव र एक्लोपनले सताउँछ मानिसलाई । युरोप र अमेरिकामा छोराछोरी काम गर्न जान्छन्, बुढाबुढी बाउआमा बसिराखेका हुन्छन् । बुढाबुढीमा पनि एक जना नहोला । सात-आठ दिनपछि लास गन्हाएपछि मात्र त्यहाँभित्र मान्छे थियो भन्ने पत्ता लाग्यो भन्ने कथा युरोपमा धेरै छ ।

विकाससँगै यस्तो समस्या पनि आउँदैछन् अहिले । विकास एकातिर छ, मानवीय संवेदना र सामाजिक परिवेश अर्कोतिर छ । यो कुरालाई नछोडौं भन्ने सन्देश महापुरुषको छ ।

सुरुमा सेलिब्रिटी दर्शकमाझ जाने ट्रेन्ड थिएन । तर यतिबेला स्टारहरु दर्शकमाझ जानुपर्ने परिस्थिति छ । के पब्लिसिटीको ट्रेन्डमा बदलाव आएकै हो ?

त्यो गर्न नपरे हुन्थ्यो । तर यति धेरै प्रतिस्पर्धा छ कि हाम्रा फिल्मसँग मात्र होइन, संसारकै फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति छ । त्यसमध्ये एक-दुई कुनै फिल्मले कृत्रिम हाइप पनि सिर्जना गरिराखेका हुन्छन् । त्यो कारण त्यसपछि आउने फिल्म पनि छायाँमा परिराखेका हुन्छन् । फिल्म बनिसकेपछि जसरी पनि चलाउन पाए हुन्थ्यो र मान्छेको कान-कानमा पुर्‍याउन पाए हुन्थ्यो भन्ने सबैको उद्देश्य त्यही नै हो ।

यो भीडमा आफ्नो फिल्म कसरी चलाउने र मान्छेलाई यसबारे कसरी थाहा दिने भन्नका लागि नै मोफसल यात्रा गरिएको हो । त्यसको नगर्नका लागि हाम्रो मिडिया असाध्यै बलियो हुनुपर्छ । अहिले सामाजिक सञ्जाल मान्छेको हातहातमा पुगेको छ, तर घरका गृहिणी हिन्दी सिरियलबाट असाध्यै प्रभावित हुनुहुन्छ । त्यो हुलबाट चुँडाएर ल्याएर हाम्रो फिल्म देखाउन यात्रा गरेका हौं ।

महसञ्चारका आगामी योजना के छन् ?

हामीले अहिले दुईवटा काम गरेका छौं । एउटा डायबिटिजको विषयमा टीभी सिरिजको सेकेन्ड पार्ट बनाइसक्यौं । अस्ति भर्खर प्रकाश अमात्य भन्ने राम्रा युवा व्यक्तित्वलाई हामीले गुमाउनुपर्‍यो । उहाँकै मेहनतको कारण हामीले जलपरी र ढलमती फिल्म बनाएका थियौं । यी दुई फिल्म महसञ्चारका दुई ठूला सम्पत्ति हुन् । अहिले स्वयम्भू र पाटनमा राम्रो शौचालय बनेका छन् । यस्ता शौचालय पनि नेपालमा बन्न सक्छन् भन्ने बारेमा फिल्म बनाएका छौं ।

यो फिल्म केही सातामा युट्युब र टीभीमा हेर्न पाइन्छ । महापुरुष फिल्मपछि महसञ्चारले सय रुपैयाँमा पढाउने स्कुल समता निकेतनको प्रवद्र्धनको लागि हामीले अमेरिकामा सातवटा कार्यक्रम गर्दैछौं । यसका लागि हामी अमेरिकामा जाँदैछौं । फर्केर आइसकेपछि विद्युत प्राधिकरणको बिजुलीको उत्पादन जति रुपमा भइराखेको छ, त्यसको उपभोग बढाउनुपर्छ भनेर सन्देश दिन एउटा सिरियल बनाउँदैछौं ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?