+
+
स्थलगत रिपोर्ट :

अघिअघि पर्शुरामको स्कोर्पियो, पछिपछि लालबाबुको ‘साइकल’

बसन्त बस्नेत हरि अधिकारी बसन्त बस्नेत, हरि अधिकारी
२०७९ कात्तिक २ गते २२:२०

२ कात्तिक, मोरङ । पर्शुराम बस्नेत नआउँदासम्म कञ्चनबारीमा लालबाबु पण्डितको कार्यक्रम ठिकठाक चलिरहेको थियो । नेकपा एमालेको स्थानीय कमिटीले दशैं–तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । मधेशी र पहाडी समुदायका कार्यकर्ता सराबरीजसो आएका थिए । मोरङ क्षेत्र नम्बर–६ मा पर्ने विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा निवर्तमान प्रतिनिधिसभा सांसद लालबाबुले आफ्नो बितेको कार्यकाल सम्झना गरे ।

मन्त्री छँदा गरेका सुशासन, राष्ट्रियता संरक्षणलगायत काम अब्बल भएको स्वमूल्यांकन गरे । सांसदकै रूपमा आफूले सिंगिया खोला र केशलिया खोलाको तटबन्धदेखि विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा उन्नति गर्नेलगायत काम अघि बढाइरहेको भन्दै त्यसलाई पूर्णता दिन फेरि आफू आउनुपर्ने बोले । आफू वंशले दिएको, अंश पाएको नेता नभएको भन्दै आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई कटाक्ष गरे ।

केही राजनीतिक कुरा समेत गर्दै यी स्थायी कमिटी सदस्यले समग्रमा कार्यक्रमलाई एमालेकै शैलीको रूप दिए । समग्रमा लालबाबु कार्यक्रममा जमे । धीमा शब्द, तिखो आवाज । यही परिचित शैलीमा आफूलाई व्यक्त गरे । ताली पाए, फेरि ताली पाए । तालीहरूकै गुन्जनमा उनले भाषण सके ।

उनले सामान्य जीवनशैली र प्रगतिशील आचरणका कुरा पनि गर्न छुटाएनन् । साइकल चढेर राजनीतिमा चर्चित लालबाबुको तार्किकतासँगै सादगी जीवनशैलीको पनि उल्लेख्य चर्चा हुने गर्छ । आज बुधबारको कार्यक्रममा आउँदा भने जीप चढेर उनी आएका थिए ।

स्थानीय मानिसहरूमा उनको साइकलप्रतिको लगाबबारे अझै छाप रहेछ । कञ्चनबारीमा लालबाबु सधैं साइकल चढेर संगठन गर्न आउने गरेको प्रसंग सुनाउँदै स्थानीय रामप्रकाश कामतीले भने, ‘अहिले पनि कहिलेकाहीं उहाँ साइकलमै आइराख्नुभएको हुन्छ । साधारण मान्छे हो लालबाबु, अरू जस्तो भड्किलो लाग्दैन हामीलाई ।’

तिनै लालबाबुले अनलाइनखबरसँग आफ्नो साइकल प्रेमबारे बोले । हिजोआज सम्पत्तिमा बढोत्तरी भयो भन्छन् नि भन्ने प्रश्नमा उनले भने, ‘बखरीको घरमा गएर हेर्नुहोस्, काठमाडौंको डेरामा हेर्नुहोस् । मेरो सम्पत्ति के छ र ? भएको २०७० सालमा सार्वजनिक गरिदिएको छु । मन्त्री हुँदा साइकल चढ्ने कुरा भएन । सरकारको काम गर्दा सरकारी तेल लिएको छु । अरु बेला म त यस्तै साधारण मान्छे ।’

लालबाबु बोलिसकेपछि सभाध्यक्षले कार्यक्रम समापन गर्न मात्रै के लाग्दैथिए, दर्जनौं साइकल र मोटरसाइकलको बीचमा झ्याप्प रोकियो, पर्शुरामको स्कोर्पियो । कुनै दक्षिण भारतीय सिनेमाको दृश्यांश सम्झाउने गरी कसैले त्यसको दोस्रो ढोका खोलिदियो । पहिले पर्शुरामको बायाँ खुट्टा ओर्लियो । दायाँ खुट्टा ओर्लियो । मफलरमा सजिएका सांसद प्रत्याशी गाडीबाट ओर्लिए । दुईचार युवा स्कोर्पियोबाट उनीसँगै फुत्त–फुत्त निस्किए ।

जसै अर्को क्षेत्र अर्थात् ६ (ख) का प्रदेशसभा उम्मेदवार पर्शुराम गाडीबाट फुत्त ओर्लिए, सभाध्यक्षले तुरुन्त बोली सच्याए । ‘कार्यक्रम झन्डै झन्डै सकिएको भनेर मैले घोषणा गरे पनि यहाँ भर्खरै…’ उनले यसो भन्दा दर्शकदीर्घामा हल्का हाँसो फैलियो । त्यसपछि उनले के बोले माइकमा एकछिन राम्रो सुनिएन । भेलामा आएका एकजना कार्यकर्ताले कटाक्ष गरे, ‘पहिलेका प्रमुख अतिथि ढिलो गरी आउँथे, अब त कार्यक्रम सकिएपछि आउन थाले !’

लालबाबुले बोलिसकेपछि लाखा–पाखा लाग्न आँटेका कार्यकर्ता पनि पर्शुरामलाई देखेपछि नजिक, नजिक गए । बिदा मागिसकेका उद्घोषक फेरि मञ्चमा आए । पर्शुरामलाई लालबाबु पण्डितकै लहरमा सँगै आसन ग्रहण गराए । लालबाबुको बायाँतर्फ रीता न्यौपाने बसेकी थिइन् । लगत्तै पर्शुरामको बोल्ने पालो आइहाल्यो । केही क्यामरा र भिडियोहरू उनीतिरै सोझिए । हामी संवाददाताहरूका लागि पनि यो नयाँ परिदृश्य बन्न पुगेको थियो— प्रदेशसभा उम्मेदवारका अघिल्तिर प्रतिनिधिसभा उम्मेदवार छायाँ परेको ।

प्रदेश–१ को प्रदेशसभा सदस्यमा मोरङबाट टिकट पाएका पर्शुराम (कृष्ण बस्नेत) स्थानीय गुण्डा अभिषेक गिरीसँगको प्रतिद्वन्द्विताका कारण चर्चामा आइराख्छन् । बसको खलासीबाट काम थाल्दै ठेकेदारीमा जमेका पर्शुरामलाई एमालेका तत्कालीन वरिष्ठ नेता केपी ओलीको राजनीतिक छहारी मिल्न गयो । तत्कालीन युवा संघ अध्यक्ष महेश बस्नेतअन्तर्गत उनले आफूलाई भ्रातृसंस्थाको राजनीतिमा उकास्दै लगे । ओलीसँग नजिकपनको फाइदा पर्शुरामले निर्वाचनमा लिए । चुनावी तालमेल गर्दा जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको क्षेत्र खोसेर ओलीले पर्शुरामलाई टिकट दिए ।

ओलीले पर्शुरामलाई च्याप्दा आफ्नो भागमा परेको क्षेत्र खोसिएको भन्दै जसपा मोरङका नेता असन्तुष्ट छन् । गुण्डागर्दीको साम्राज्यमा पर्शुरामका डेढ दशकयताका प्रतिस्पर्धी अभिषेक गिरी जेलमा छन् । जेलभित्रैबाट उनले गरेका कर्तुतबारे मनग्गे रिपोर्टिङ भइसकेका छन् । कैदीबन्दीलाई यातना दिएर पैसा असुल गर्नेदेखि बजार क्षेत्रमा फिरौती असुलीमा उनको नाम जोडिन्छ । दुई महिनाअघि उनका सहयोगी विजय दाहाल फिरौती माग्दै गर्दा समातिएका थिए । उनीसँग लफडामा परिरहने पर्शुरामलाई पनि बढ्ता चिनाइराख्न परेन ।

पर्शुरामले आफ्नो भाषण गर्ने पालोमा एमाले अध्यक्ष केपी ओलीलाई किन प्रधानमन्त्री बनाउनुपर्छ भनेर केहीबेर प्रष्ट पारे । त्यसपछि लालबाबुको प्रसंग निकाल्दै जीतको शुभकामना दिए । प्रदेशका प्राथमिकताबारे बोले । अनि बोले, ‘हुन त मेराबारे अनेक अफवाहहरू चलाइएका छन् । कसै–कसैले पर्शुराम बस्नेत क्षेत्रीको छोरो होइन भन्ने हल्ला मच्चाएका छन् । कोही त्यस्तो भ्रममा नपर्नुहोला ।‘

पर्शुरामले जातीय क्षेत्रीय संकीर्णताबाट माथि उठेर वर्गीय नारामा लाग्न अपील गरे । उनले आफू युवा, मजदुर र व्यवसायीतर्फको प्रतिनिधि भएकाले वर्गीय मुद्दा साथै समृद्धिको अभियानमा पनि जोडतोडले लाग्ने कुरो गरे । उनले बोल्दा मन्चका केही प्रतिनिधिले ताली पिटे, प्रदेशकी पूर्वसांसद तथा एमाले केन्द्रीय सल्लाहकार सदस्य यशोदा अधिकारीलगायत भने अर्कोपट्टि मुख फर्काएर बसिरहे ।

खासमा पर्शुराम आउनुअघि नै यशोदाले बोल्ने क्रममा असन्तुष्टि जनाइसकेकी थिइन् । उनले पञ्चायतकालमा आफूलगायत कार्यकर्ता जनताको बीचमा जाँदा ‘यो महिला कहिले मेरा घरबाट जान्छे’ भन्ने किसिमले व्यवहार नभोगेको, बरु सधैं जनताको माया पाएको भन्दै संघर्षका दिनहरूको चर्चा गरेकी थिइन् । उस्तो गुनासो त गरिनन्, बरु नयाँ उम्मेदवारहरूलाई कुनै असहयोग नगरी पार्टीका प्रतिनिधिका रूपमा जिताउन लाग्नुपर्ने अपील गरिन् । भाषणको एक ठाउँमा भने उनले चित्त दुखाउँदै भन्न पुगिन्, ‘हामीलाई त्यसबेला सांसद होउँला, नेता बनुँला भन्ने थिएन । आफू दुःख पाएर पनि जनतालाई सुख दिन हिंडुला भन्ने थियो । तर अहिले जनतालाई भन्दा पनि एउटा समूहलाई रिझाउने, आफ्नो फाइदा ठूलो हो भन्ने चलन आयो । यसले पार्टी र आन्दोलनलाई फाइदा पुग्दैन ।’

प्रष्टै बुझिन्थ्यो, उनको भनाइ पर्शुरामलगायत पात्रहरूमाथि केन्द्रित थियो । हामीले त्यहाँ उपस्थित केही कार्यकर्ताहरूबाट यसको पुष्टि पनि ग¥यौं । स्थानीय मारबाडी समुदायका व्यापारी अरुण राठीलाई समानुपातिकतर्फ राख्दा कतिपय योग्य र अनुभवी पात्रलाई छुटाइएको, प्रदेशसभामा पनि पर्शुराम जस्ता विवादित विगत भएकाहरूलाई प्राथमिकता दिएर नेतृत्वले गल्ती गरेको बुझाइ त्यहाँ व्यक्त थियो ।

यसपल्ट लालबाबु पण्डितका लागि प्रतिनिधिसभा जित्न यही खाले पात्रहरू, अनि त्यसले उत्पन्न गरेका परिस्थिति प्रमुख चुनौती हुन् । बोल्न त केपी ओलीको महत्वबारे लालबाबुले पनि बोले । पर्शुरामले पनि बोले । अरुण राठीले पनि बोले । यशोदा र रीता न्यौपाने पनि बोले । तर भाषण सुन्दा लाग्थ्यो, राष्ट्रिय राजनीतिमा केपी ओलीको महत्व शीर्षकको निबन्ध लेख्न दिंदा यी पाँचै जनाले आ–आफ्नै स्वभाव अनुसारका वाक्य र अनुच्छेद लेखे ।

लालबाबुले राजनीतिक संघर्ष अझै बाँकी रहेको भन्दै ओलीको आवश्यकता महसुस गरे ।

अरुण राठीले उद्योगी व्यवसायीको भावना बुझेर विकास समृद्धिको भिजन दिनसक्ने नेता भनी ओलीको प्रशंसा गरे ।

यशोदाले ओली पञ्चायतकालदेखि नै संघर्षले खारिएर पार्टी तथा देशको नेतृत्वमा पुगेको नेता भनिन् ।

रीताले अरू देशको दाँजोमा नेपाललाई लैजान सक्ने नेता भन्दै ओलीको सम्मान गरिन् ।

पर्शुरामले युवाहरूको भावना बुझ्ने राजनेता भन्दै गुणगान गरे । अरू नेताहरूमा राष्ट्रियता कमी रहेको भन्दै मिलाएर दिए ।

कार्यक्रमस्थल भित्रको माहोल पनि सम्झनलायक थियो । तस्वीरहरू आफैं बोल्दैनथे । त्यसैले शब्दहरूको अर्थ छनोटमा आफ्नै किसिमको राजनीति थियो । भित्ताको माथि मदन भण्डारीको तस्वीर थियो । त्यसमुनि लेखिएको थियो जननेता । छेउमा मनमोहन अधिकारीको तस्वीर थियो । छेउमा थियो, लोकप्रिय नेता । त्यसैसँग ओलीको तस्वीर थियो । लेखिएको थियो, राजनेता ।

त्योभन्दा मुनि अलिक सानो साइजमा माक्र्स, एंगेल्स, लेनिनका तस्बिर थिए । अलिक पर्तिर छुट्टै स्टालिनको तस्वीर टाँसिएको थियो । एमालेका कार्यालयमा स्टालिन नदेखिएको धेरै भएको थियो । अस्तिसम्म माधवकुमार नेपाल समूहमा रहेर ओलीसँग राय बझाएका लालबाबुलाई खडा हुँदै गरेको नयाँ मनोविज्ञान कत्तिको सहज होला, यसको जवाफ भने उनले खुलेर दिएनन् । लालबाबु उनै शेखर कोइरालासँग दोस्रो पटक आमने सामने छन् ।

लालबाबु र शेखर : क्षेत्र नम्बर ६ का मुख्य प्रतिस्पर्धी उम्मेदवार पुरानै भए पनि परिवेश भने फेरिएको छ । तत्कालीन माओवादीको समर्थनमा लालबाबु ३३ हजार ९४१ मत पाएका थिए । शेखरले ३३ हजार २६६  मत प्राप्त गरेका थिए ।

मंसिर ४ गतेको निर्वाचनमा कोइरालालाई सत्तारुढ गठबन्धनमा रहेको माओेवादी केन्द्र र एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन छ । सरकारी सेवामा रहेका कर्मचारीले डीभी, पीआर लिन नपाउने नियम बनाएपछि चर्चामा आएका पण्डितले वाम गठबन्धनको बल र कोइरालासँग असन्तुष्ट कांग्रेसकै नेताको सहयोगमा चुनाव जितेका थिए । २०७४ सालमा निर्वाचित भएपछि मन्त्री बनेका उनी पटक–पटक आलोचित भए । निर्वाचित भएपछि आफ्नो क्षेत्रमा समय नदिएको र आफ्ना कुरा नसुनेका कारण एमालेभित्रैका स्थानीय कार्यकर्ता उनीसँग असन्तुष्ट छन् । पार्टी विभाजन भएका कारण पनि उनलाई यो पटक सहज छैन ।

गत स्थानीय तह निर्वाचन–२०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा क्षेत्र नम्बर ६ मा कांग्रेसको २७ हजार ८६ मत देखिन्छ । एमालेको २४ हजार ५५६, माओवादी केन्द्रको चार हजार ९९६ छ । जसपाको तीन हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तीन हजार ११५ र एकीकृत समाजवादीको दुई हजार ३५५ मत छ । सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थन पाउँदा शेखर अगाडि देखिएपछि पार्टीभित्रको आन्तरिक असन्तुष्टि र गठबन्धनप्रतिको शंका उनका लागि चुनौतीका रूपमा आएका छन् ।

क्षेत्र नम्बर ६ को प्रदेशसभा ‘क’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्य उम्मेदवार छन् । प्रदेशसभा ‘ख’ मा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की उम्मेदवार छन् ।

मजदुर संगठनबाट राजनीति सुरु गरेका पण्डित २०४८ सालयता चुनावी राजनीतिमा छन् । २०४८ सालको आम निर्वाचनमा उनी तत्कालीन मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । जन्मथलो सर्लाही भएका उनी राजनीति सुरु गरेयता मोरङमा छन् । २०४८ सालको निर्वाचनमा उनले कांग्रेस उम्मेदवार बद्रीनारायण बस्नेतलाई पराजित गरेका थिए । तर २०५१ सालको मध्यावधि निर्वाचनमा सोही क्षेत्रमा बस्नेतसँग पराजित भए ।

२०५६ को निर्वाचनमा उनी फेरि उम्मेदवार बने । २०५६ सालको निर्वाचनमा उनले कांग्रेस उम्मेदवार गोपाल राजभण्डारीलाई पराजित गरे । २०६४ सालमा समानुपातिक सांसद बनेका पण्डितले दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा टिकट पाएनन् । २०७४ को निर्वाचनमा मोरङ–६ बाट टिकट पाउँदा उनले डाक्टर शेखर कोइरालालाई पराजित गरे ।

सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका बेला कर्मचारीले डीभी र पीआर लिन नपाउने व्यवस्था गरेपछि राष्ट्रिय राजनीतिको चर्चामा रहेका उनले सोही चर्चा र बाम गठबन्धनको बलमा कोइरालालाई  पराजित गरेका थिए ।

दुईपटक मन्त्री बन्ने मौका पाएका उनी एमालेभित्र माधवकुमार नेपाल समूहमा थिए । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन गरेपछि उनले कित्ता परिवर्तन गरेर ओली पक्षमा लागे । उनी एमालेको स्थायी कमिटी सदस्य छन् ।

पुनः स्थापित हुने ध्याउन्नमा चुनाव लड्दै गरेका लालबाबुका लागि देखिने प्रतिस्पर्धी शेखर भए पनि नदेखिने प्रतिस्पर्धी भने उनै पर्शुराम हुन् भन्ने कुरा आजको कार्यक्रमले प्रतिविम्बित गरेको छ ।

लालबाबुलाई चिन्ता थपिएको छ : सादा जीवन बाँच्ने कि, बाहिर सादा छु भनेर देखाउने, तर अर्थोक गर्न थाल्ने ? किनकि असली प्रतिस्पर्धा ती युवा सँग हुँदैछ, जोसँग पहिल्यै स्कोर्पियो छ । अनि खडेखडे तन्नेरीहरू हरक्षण तैनाथ छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?