+
+
स्थलगत :

सर्लाही ४ : छोरीको नाममा चुनाव लडिरहेका शिवपुजनको दौडधुप

रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुछिएका शिवपुजनले ०७४ मा माओवादीबाट पाएको उम्मेदवारी सर्वाेच्चले खारेज गरिदियो, त्यसपछि पाँच वर्ष गुमनामजस्तै भएका उनले छोरीलाई उम्मेदवार बनाएर भोट माग्न हिँडिरहेका छन् । श्रीमती समानुपातिकको बन्दसूचीमा छिन् भने छोरा गाउँपालिका अध्यक्ष ।

बिनु सुवेदी शैलेन्द्र महतो बिनु सुवेदी, शैलेन्द्र महतो
२०७९ कात्तिक ५ गते १८:३७

५ कात्तिक, सर्लाही । शिवपुजन राय यादव अक्सर रामनगर गाउँपालिका, गोरैया नजिकैको शिव मन्दिरमा भेटिन्छन् भनेर सुनाए गाउँलेहरुले । विहानभरि त्यही मन्दिरमा लामो पूजापाठ गरेर नास्ता गरेपछि उनको दौडधुप सुरु हुन्छ ।

यादव भेटिने मन्दिर पुग्न बाँसको कच्ची पुल तरेर जानुपर्ने रहेछ, त्यसैले उनका लागि ठिक्क पारिएका दर्जनबढी भारतीय नम्बर प्लेटका गाडीहरु वारी नै पर्खिबसेका हुन्छन् । जसै यादवले आफ्नो पूजा पाठ सक्छन्, त्यसपछि सुरु हुन्छ चुनावी दौडाह ।

यादवको दौडधुप देख्दा लाग्छ, अन्त चुनाव सुरु भइरहँदा सर्लाही ४ मा महाचुनाव छ । सर्लाही ४ का मतदाता यो चुनावमा शिवपुजन र कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंहबीच नै कडा प्रतिस्पर्धा हुने आकलन गर्छन् ।

मतदाताले बलियो प्रतिस्पर्धी मानेका शिवपुजन उम्मेदवार नै छैनन् । तैपनि उनको चटारो कुनै उम्मेदवारको भन्दा कम छैन । नहोस् पनि किन, आफू सत्ता गठबन्धनमा रहँदा रहँदै पनि उनले छोरी मधुमाला यादवलाई प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनाएका छन् । वीर अपस्तालमा स्टाफ नर्स रहेकी छोरीलाई सर्लाही बोलाएर चुनावी मैदानमा होमेपछि शिवपुजन आफैं उम्मेदवार झैं तनमनले भोट माग्न व्यस्त देखिन्छन् । छोरी मधुमाला पछिपछि लागेर मतदातासमक्ष हात जोड्छिन् ।

भन्न चाँहि उनले पनि आफूलाई सर्लाहीका जनताले बोलाएकाले नर्सिङ छोडेर चुनावमा प्रतिस्पर्धा गर्न आएको भनिन् । तर यसो भन्न पनि उनले आफ्नो पिताबाटै सिकेकी हुन् भन्नेमा कुनै सन्देह छैन ।

‘स्वतन्त्रपूर्वक बाँच्न पाउने सबै नेपालीको अधिकार हो । म स्वतन्त्रपूर्वक उम्मेदवारी दिएकी हुँ’, २६ वर्षीया मधुमालाले भनिन्, ‘परिवर्तनको चाहना छ, परिवर्तनकै लागि युवाहरुले मलाई उम्मेदवार बनाएका हुन् ।’ उनले यति भनिसकेपछि लामो ताली बज्यो । प्रत्येक पटक यस्तै हुन्छ, त्यो भीडमा ।

मधुमालाले जति लामो भाषण गर्छिन्, त्यो भन्दा लामो ताली बज्छ । तर सर्लाही ४ का मतदाताको भनाइ छ, शिवपुजनले छोरीलाई उम्मेदवार बनाएर आफू चुनाव लडेका हुन् । स्थानीयको कुरा एक हदसम्म सही पनि हो । किनकी उनले छोरीको जितहारलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

देशको राजनीतिलाई अलि पर राखेर हेर्ने हो भने एउटा बाबुले छोरीलाई अविछिन्न डोर्‍याइरहेको यो दृष्य साँच्चिकै गजब देखिन्छ । तर कानुनी अड्चनका कारण आफूले हालीमुहाली गर्नसक्ने अवस्था नभएपछि राजनीतिभन्दा सयौं कोष टाढा रहेका सन्तानलाई जबर्जस्ती राजनीतिमा तान्नु र सकिनसकी भाषणबाजीमा अभ्यस्त गराउनु राजनीतिक अभिष्टभन्दा अर्काे केही होइन । शिवपुजनको हकमा पहिलोभन्दा दोस्रो कारण नै धेरै मिल्छ ।

शिवपुजन आफैं उम्मेदवार बन्न चाहन्थे । ०६४ मा संविधानसभा सदस्य भएको बेला रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुछिएपछि विशेष अदालतले दोषी ठहर गर्‍यो । त्यही कारण ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीबाट टिकट पाएर दिएको उम्मेदवारी सर्वाेच्चले खारेज गरिदियो । संसदीय राजनीतमा आउने सीधा बाटो बन्द भएपछि यादवले ट्रयाक टू खोजेका हुन् ।

अहिले उनको परिवारका सबै सदस्य राजनीतिमा सक्रिय छन् । उनकी श्रीमती मीनादेवी यादवलाई नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरेको छ । यादवका अनुसार माओवादी अध्यक्ष प्रचण्ड आफैंले मीनादेवीको नाम समानुपातिकको बन्द सूचीमा राखिदिएका हुन् ।

‘सर्लाही ४ मा समानुपातिकमा माओवादीलाई धेरै भोट आउँछ, तर मैले मेरो श्रीमतीको नाम समानुपातिकमा राखिदिनुस् भनेको होइन, अध्यक्षज्यूले आफैं राखिदिनुभएको हो’, यादवले भने, ‘समानुपातिकमा के हुन्छ, मलाई मतलब भएन । प्रत्यक्षतर्फ मेरी छोरीले चुनाव जित्छिन् । माओवादीको भोट छोरीलाई आउँछ, युवाहरुले पनि उसैलाई भोट हाल्छन् ।’

उनी स्वयं चाहिँ सत्ता गठबन्धनमा प्रतिबद्ध छु भन्छन् । गठबन्धनबाट टिकट पाएको कांग्रेसभित्रको भाँडभैलोका कारण आफ्नो घरबाट स्वतन्त्र उम्मेदवारी परेको उनको तर्क छ । आफ्नो छोरीले जितेपछि गठबन्धनकै जित हुने तर्क निर्धक्कसँग गरिदिन्छन् ।

शिवपुजनको भनाइमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई बोलाएर छोरीले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न पनि भनेका रहेका छन् । तर उनले सर्लाही ४ को अवस्थाबारे आफ्नो पार्टीका अध्यक्ष प्रचण्डसँग लामै विमर्श गरे ।

‘अहिले स्वतन्त्रबाट जिते पनि छोरी हुने त माओवादी नै हो,’ उनले भने, ‘गठबन्धनको राम्रो अवस्था छैन, बरु छोरीलाई जिताउँछु भन्नेमा अध्यक्ष कमरेड सहमत हुनुभएपछि उम्मेदवारी दिन लगाएको हुँ ।’

शिवपुजनका कान्छा छोरा राजाबाबु यादव सर्लाहीकै रामनगर गाउँपालिकाका अध्यक्ष छन् । २२ वर्षका राजाबाबु ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित सबभन्दा कम उमेरका पालिका अध्यक्ष भएका हुन् । माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएर चुनाव लडेका राजाबाबु जिताउन पनि शिवपुजनले यसैगरि दौडधुप गरेका थिए ।

‘पहिले छोरालाई जिताउन यसैगरि लागे, भाइलाई वडाअध्यक्ष बनाएका छन्, श्रीमतीलाई समानुपातिक सूचीमा राखेका छन्’, शिवपुजन रायको चुनाव प्रचार हेरिरहेका एक स्थानीयले भने, ‘शिवपुजन आफू उम्मेदवार बन्न नमिलेपछि राजनीतिलाई परिवारको कब्जामा ल्याउन लागिपरेका छन् ।’

जबकी शिवपुजनको आफैं राजनीतिक इतिहास त्यति बिघ्न लामो छैन । ०६३ को मधेश आन्दोलनसँगै राजनीतिमा सक्रिय भएका हुन् । ०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्र (तत्कालीन सर्लाही–६) मा मधेसी जनअधिकार फोरमबाट विजयी भएका थिए । ०७० को चुनावमा उनी किसान छापबाट प्रतिस्पर्धा गरे, तर पराजित भए ।

२०७४ मा माओवादी पार्टीमा प्रवेश गरेसँगै शिवपुजनले सर्लाही २ माओवादीबाट टिकट पाएका थिए । तर रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुछिएका कारण उनको उम्मेदवारी सर्वाेच्च अदालतले खारेज गरिदियो । पाँच वर्ष चुपचाप बसेका उनै रायले यसपाली श्रीमती, छोरा र छोरीलाई अघि सारेर पृष्ठभूमिमा राजनीति गरिरहेका छन् ।

सर्लाही ४ का मतदातालाई पनि स्पष्टै छ, नाम जसको भएपनि राजनीति शिवपुजनकै हो ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?