+
+

टिकटकमा अब १८ वर्षमुनिकाले लाइभ गर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १६:२१
सिरियाली शरणार्थी शिविरमा बालबालिकालाई राखेर टिकटकमा लाइभ गर्दै एक महिला

लोकप्रिय भिडियो प्लेटफर्म टिकटकमा लाइभ गर्नका लागि अब १८ वर्ष पुगेको हुनुपर्नेछ । टिकटकले लाइभस्ट्रिमिङको लागि न्यूनतम उमेर १६ वर्षबाट बढाएर १८ वर्ष बनाएको छ । यो नियम आगामी महिनाबाट लागू हुनेछ ।

हालै बीबीसीले गरेको खोजका क्रममा सिरियाली शरणार्थी शिविरहरुबाट सयौंको संख्यामा बालबालिकाले टिकटकमा लाइभ गरेर आर्थिक सहयोग मागिरहेको तथ्य पत्ता लगाएको थियो । त्यसरी लाइभ आए सहयोग माग्नेहरुले घण्टामै एक हजार डलरसम्म कमाउने गरेका थिए । तर उनीहरुले त्यसरी संकलन गरेको रकम झिक्ने क्रममा टिकटकले ७० प्रतिशतसम्म रकम लिएको थियो ।

टिकटकका अनुसार अब अर्को महिनादेखि टिकटकमा केवल बालिगहरुले मात्रै लाइभस्ट्रिमिङ गर्न, भर्चुअल गिफ्ट पठाउन वा अकाउन्टलाई मनिटाइजेसन गर्न सक्नेछन् । साथै भविष्यमा बालिगहरुले मात्रै देख्न सक्ने गरी समेत लाइभ स्ट्रिमिङ गर्न सकिनेछ । यद्यपि टिकटकले उमेरमा लगाएको उक्त पावन्दी कसरी कार्यान्वयन गर्छ भन्ने कुरा प्रष्ट भएको छैन ।

स्मरण रहोस्, फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा र युट्युबको गुगल कम्पनीले प्रयोगकर्ताका लागि लाइभ स्ट्रिमिङ गर्न पाउने न्यूनतम उमेर १३ वर्ष तोकेका छन् । त्यस्तै प्रयोगकर्ताले उमेरको हदबन्दी लगाउने गरी सामग्री अपलोड गर्न समेत पाउँछन् ।

बीबीसीको ग्लोबल डिसइन्फर्मेसन युनिटले पछिल्लो पाँच महिना उत्तर–पश्चिमी सिरियाबाट सञ्चालित ३०० टिकटक अकाउन्टको निगरानी गरेको थियो । टिकटकको नियमानुसार टिकटक लाइभमा आएर सिधै गिफ्ट वा रकम माग्न पाइँदैन र बालबालिकाको दुरुपयोग गर्ने, हानि गर्ने वा खतरामा पार्ने काम पनि गर्न पाइँदैन । तर सिरियाली शरणार्थी क्षेत्रका ती टिकटक अकाउन्टहरुमा बच्चाहरुलाई माग्न लगाइएको थियो । टिकटकले त्यस्ता अकाउन्टमाथि प्रतिबन्ध समेत लगाइसकेको छ ।

त्यस्ता खालका सामग्रीहरुलाई टिकटकमा अनुमति नदिइने भन्दै डिजिटल गिफ्टबाट कम्पनीले असुल गर्ने कमिसन ७० प्रतिशत भन्दा निकै कम रहेको टिकटकले दाबी गरेको छ । तर डिजिटल गिफ्टबाट आफूले असुल्ने कमिसन रकम चाहिं टिकटकले खुलाएको छैन ।

विश्वको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको सोसल मिडिया एप टिकटक हालसम्म ३ अर्ब ९० करोड पटक डाउनलोड भइसकेको छ । सन् २०१७ यता टिकटकले एपभित्रै गरिएको खर्चबाट ६ अर्ब २० करोड डलर आम्दानी गरिसकेको छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?