+
+

अंकमा नवौं राष्ट्रिय खेलकुद

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक ७ गते १७:२४
टिम च्याम्पियन आर्मी ट्रफीका साथ । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

७ कात्तिक, काठमाडौं । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता बृहत नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा सम्पन्न भएको छ । गण्डकीका ८ जिल्ला तथा ललितपुर र काठमाडौंमा समेत नवौं अन्तर्गतका खेल प्रतियोगिता आयोजना भए ।

नियमित समयअनुसार अघिल्लो वर्ष नै आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद कोरोना महामारीका कारण पछि धकेलिएको हो । अघिल्ला संस्करणको तुलनामा भद्रगोल र अव्यवस्थित रुपमा आयोजना गरिए पनि खेलाडी र खेलकर्मीले प्रतियोगिता आयोजना हुनुकै आधारमा खुसी थिए ।

२०३८ सालदेखि हरेक दुई वर्षमा आयोजना हुने गरी सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ४१ वर्ष अन्तरालमा नौपल्ट आयोजना भयो । यस संस्करणमा अहिलेसम्मकै सबैभन्दा धेरै ३६ खेल र ४०४ स्पर्धा समावेश गरिएको थियो । कम्तिमा चार टिम पनि नभएकाले ८ स्पर्धामा नै प्रतिस्पर्धा भएन ।

संख्यामा हेर्दा यस्तो देखियो नवौं खेलकुद :

पहिलो रनिङ ट्रफी

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बृहत राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक रनिङ शिल्ड निर्माण गरेको हो । १० लाख रुपैयाँ लागतमा निर्माण भएको चाँदीको ट्रफी उचाल्ने पहिलो टिम त्रिभुवन आर्मी बन्यो ।

आर्मीले सर्वाधिक १७२ स्वर्ण जितेको हो । लगातार तीन पटक राष्ट्रिय खेलमुदमा च्याम्पियन बनेमा टिमले उक्त ट्रफी राख्न पाउनेछ ।

२ स्वर्ण जित्ने कर्णाली

नवौं राष्ट्रिय खेलकुदमा सबैऐन्दा कम स्वर्ण जित्ने टिम बनेको कर्णालीले २ स्वर्ण ४ रजत र १२ कास्यसहित कूल १८ पदक जितेको थियो ।

एथलेटिक्सको ३००० मिटर स्टिपलचेसमा दुर्गाबहादुर बुढा र उसुका दीपक हमालले कर्णालीका लागि स्वर्ण जितेका हुन् ।

दुई वर्षपछि दशौं राष्ट्रिय खेलकुदको आयोजना अधिकार पाएको कर्णाली नवौं संस्करणको सबैभन्दा कमजोर टिम हो ।

कर्णालीले २९ खेलका लागि ५१७ जना खेलाडी गण्डकी ल्याएको थियो ।

तेश्रो पटक च्याम्पियन बनेको आर्मी

त्रिभुवन आर्मी क्लबले बहिस्कार गरेको छैटौं राष्ट्रिय खेलकुद (२०६८–धनगढी)सम्म बृहत राष्ट्रिय खेलकुदमा मध्यमाञ्चल विकास क्षेत्र (सुरुवाती तीन संस्करण वागमती अञ्चल) हावी हुँदै आएको थियो ।

सातौं राष्ट्रिय खेलकुद (२०७३–इटहरी)मा आर्मी पहिलोपल्ट टिम च्याम्पियन बन्यो । आठौं संस्करण (२०७६–नेपालगञ्ज)मा पनि आर्मीको सोही सफलता दोहोरियो ।

यसपल्ट स्वर्णसहित सर्वाधिक पदक जितेर आर्मी तेस्रोपल्ट लगातार च्याम्पियन बनेको हो । आर्मीले नवौं खेलकुदमा १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित ३७१ पदक जित्यो ।

पछिल्ला तीनै संस्करणमा आर्मीले १०० भन्दाबढी स्वर्ण पदक जितेको छ । आर्मीले सातौं राष्ट्रिय खेलकुदमा ११३ स्वर्ण, ६५ रजत र ४८ कांस्यसहित २२५ पदक जितेको थियो । आठौं राष्ट्रिय खेलकुदमा १४१ स्वर्ण, ८२ रजत र ६७ कांस्यसहित २९० पदक जित्यो ।

आठौंमा दोस्रो भएको नेपाल पुलिस यसपल्ट तेस्रो भयो । नवौंमा फुटबलको स्वर्णसहित एपीएफले ६५ स्वर्ण जितेर दोस्रो हुँदा ६१ स्वर्णसहित पुलिस तेस्रो भयो ।

४ स्वर्ण जित्ने अभिलाषा विष्ट

लनटेनिस खेलाडी अभिलाषा विष्टले नवौं राष्ट्रिय खेलकुदमा आफूले प्रतिस्पर्धा गरेको चारवटै इभेन्टमा स्वर्ण पदक जितिन ।

उनले महिला सिंगल्स, महिला डबल्स, मिक्स डबल्स र महिला टिममा स्वर्ण जितिन ।

आफू सहभागी सबै इभेन्टमा शतप्रतिशत सफलता पाउने सीमित खेलाडीमा उनी पर्छिन् ।

५ स्वर्ण जित्ने जयरानी थारु

आफू समावेश सबै इभेन्टमा शतप्रतिशत प्रदर्शन गर्ने अर्की खेलाडी हुन्– जयरानी । सातौं र आठौं राष्ट्रिय खेलकुदमा देखेको स्वर्ण सपना नवौं संस्करणमा पूरा गरिन् उनले । एथलेटिक्सको ट्रयाक र फिल्ड दुवैमा अब्बल देखिएकी जयरानीले यसपल्ट आफ्नै नाममा रहेको तीन राष्ट्रिय कीर्तिमानसमेत सुधारिन् ।

त्रिभुवन आर्मी क्लबकी २१ वर्षीया जयरानीले महिला ४०० मिटर १०० मिटर हर्डल्ससँगै लङजम्पमा कीर्तिमानसहित स्वर्ण जितिन् । ४ गुणा १०० रिले र ४ गुणा ४०० रिलेमा आर्मी टिममा रहेर स्वर्ण जितिन् । अन्तिम स्पर्धा ४ गुणा ४०० मिटर रिलेमा आर्मी टिम एपीएफसँग पछि परेको थियो । तर, एपीएफकी एक खेलाडीले नियम विपरीत ट्र्याक परिवर्तन गरी दौडिएको पुष्टि भएपछि एपीएफको स्वर्ण खोसियो र जयरानीसहित आर्मीको टिमलाई विजेता घोषणा गरियो ।

६ वटा राष्ट्रिय खेलकुदमा सहभागी

अर्ध व्यावसायिक खेल गतिविधि हुने नेपालमा झण्डै तीन दशकसम्म खेलकुदलाई निरन्तरता दिने खेलाडी कमै भेटिन्छन् । नवौं राष्ट्रिय खेलकुदमा फरक खेलका दुई जना यस्ता खेलाडी थिए जो लगातार छैटौंपल्ट राष्ट्रिय खेलकुदमा सहभागी थिए ।

टेवलटेनिसका शिवसुन्दर गोथे र भारोत्तोलनकी तारादेवी पुन । भारोत्तोलनको ८१ केजी तौलसमूहमा स्वर्ण जितेर ताराले आफू सहभागी सबै राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने नयाँ कीर्तिमान बनाइन् । २०५५ मा आयोजित चौथो राष्ट्रिय खेलकुदमा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको टिमका लागि भलिबल खेलमा स्वर्ण जितेकी थिइन् ।

तीनपटकका राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथे पनि चौथो राष्ट्रिय खेलकुददेखि नै प्रतिस्पर्धामा छन् । २०६५मा आयोजित पाँचौं राष्ट्रिय खेलकुदमा पुरुष एकलतर्फ स्वर्ण जितेका उनले यसपल्ट स्वर्णको स्वाद लिन पाएनन् । पुरुष एकलमा उनी क्वाटरफाइनलमै पराजित रहे ।

७ वर्षकी खेलाडी

नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कान्छी खेलाडी रितिका भूमि जम्मा ७ वर्ष २२ दिनकी हुन् । पौडीमा प्रतिस्पर्धा गरेकी उनले पोखरामा कुनै पदक भने जित्न सकिनन् ।

८ इभेन्टमा टिम पुगेन

सहभागी ११ मध्ये कम्तिमा चारवटा टिमबाट खेलाडी नभएमा सो स्पर्धा सन्चालन नहुने राष्ट्रिय खेलकुदको निर्देशिकामै उल्लेख छ । राखेपले यसपल्ट ३६ खेलका ४०४ स्पर्धा निर्धारण गरे पनि ८ स्पर्धामा टिम पुगेन ।

आर्चरी, पौडी र प्याराग्लाइडिङमा २–२ तथा स्कवास र सफ्ट टेनिसमा १–१ इभेन्टमा प्रतिस्पर्धा भएन ।

यसैगरी नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको ८ जिल्लामा आयोजना भएका थिए । पूर्वाधारका कारण शुटिङ ललितपुर र प्रतियोगिता जुधेका कारण पुरुष क्रिकेट काठमाडौंमा आयोजना भएको थियो ।

९ स्वर्ण जित्ने जलपरी डुवाना

नवौं राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै पदक जित्ने खेलाडी बनिन्– पौडीकी डुवाना लामा ।

आठौं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण जितेकी डुवानाले पोखराको फिस्टेल एकेडेमीको पोखरीमा भएको प्रतिस्पर्धामा ९ स्वर्ण र १ रजतसहित १० पदक जितिन् ।

उनले यसपल्ट सुपरस्टार गौरिका सिंहलाई पछि पार्दै चर्चा बटुलिन् ।

१० स्वर्ण जित्ने तीन प्रदेश

नवौं राष्ट्रिय खेलकुदमा तीन टिमले समान १० स्वर्ण जिते । प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कांस्यसहित ८३ पदक जित्यो ।

सुदूरपश्चिम प्रदेशले १० स्वर्ण १० रजत र ४३ कास्यसहित ६३ पदक जित्यो भने एनआरएनएले १० स्वर्ण ९ रजत र ७ कास्यसहित २६ पदक जित्यो ।

११ टिम सहभागी

नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबसँगै गैर आवासीय नेपाली संघ (एनआरएनए)सहित कूल ११ टिमले प्रतिस्पर्धा गरेका थिए ।

एनआरएनए टिमलाई आठौं राष्ट्रिय खेलकुददेखि सहभागी गराउन थालिएको हो ।

१२ दिन सञ्चालित प्रतियोगिता

औपचारिक रुपमा एक साता सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदका खेलहरु गण्डकी प्रदेशमा १२ दिन सञ्चालन भयो ।

२८ असोजमा औपचारिक उदघाटन भए पनि पोखरामा २३ असोजदेखि नै विभिन्न खेल सुरु भइसकेका थिए । क्रिकेटको पुरुष प्रतियोगिता भने भदौ अन्तिममा काठमाडौंमा नै भएको थियो ।

३२ स्वर्णसहित गण्डकीको शानदार प्रदर्शन

ह्याण्डबलमा स्वर्ण जितेको गण्डकी प्रदेशको टिम ।

घरेलु टिमका रुपमा गण्डकी प्रदेशले अहिलेसम्मकै ठूलो सफलता पाएको छ । गण्डकीले नवौं खेलकुदमा ३२ स्वर्ण जितेर प्रदेशको तुलनामा सर्वश्रेष्ठ प्रदर्शन गर्न सफल भयो ।

गण्डकी टिमले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कूल १२० पदक जितेको हो । समग्रमा गण्डकी टिम नवौं खेलकुदमा चौथो भयो ।

३६ खेल समावेश

नवौं राष्ट्रिय खेलकुदमा कूल ३६ खेल समावेश गरिएको थियो । जसमा रग्बी पहिलो पटक समावेश गरिएको थियो । यस बाहेक ¥याफ्टिङ एन्ड कायाकिङ र ठेलो प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो ।

६१ वर्षीय पाका खेलाडी

नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने सबैभन्दा पाका खेलाडी स्क्वासका धनबहादुर घले रहे । उनी ६१ वर्ष ४ महिनाको उमेरमा प्रतिस्पर्धात्मक स्पर्धामा भाग लिए ।

१७२ स्वर्णसहित आर्मी च्याम्पियन

राष्ट्रिय खेलकुदमा लगातार तेस्रोपल्ट च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबले आफ्नो समग्र प्रदर्शनमा पनि लगातार सुधार गरिरहेको छ ।

३५ खेल समावेश सातौं राष्ट्रियमा १४१ स्वर्ण जितेको आर्मीले यसपल्ट १७२ स्वर्ण जित्यो । आर्मीको प्रतिस्पर्धामा रहेका अन्य टोली उसको छेउछाउसम्म पुग्न सकेनन् । दोस्रो भएको एपीएफको स्वर्ण संख्या ६५ रह्यो ।

३९६ स्पर्धामा प्रतिस्पर्धा

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलका कूल ४०४ इभेन्ट समावेश गरिएपनि अन्तिममा ३९६ इभेन्टमा मात्र प्रतिस्पर्धा भयो । बाँकी ८ इभेन्टमा प्रतिस्पर्धा भएन । जिम्न्यास्टिकको एउटा विधामा दुई स्वर्ण वितरण गर्नुपर्दा स्वर्ण संख्यामा एक बढी र रजत संख्या १ कम हुन गयो ।

६१२७ खेलाडी सहभागी

नवौं राष्ट्रिय खेलकुदमा ६ हजार १२७ खेलाडीले प्रतिस्पर्धा गरे । राखेपले ७ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने सुरुवाती प्रक्षेपण गरेको थियो ।

प्रतियोगिताको समापन समारोहमा राखेप सदस्यसचिव टंकलाल घिसिङले कूल ६ हजार १२७ खेलाडी सहभागी रहेको आधिकारिक तथ्यांक दिए । तीमध्ये ३ हजार ४१४ पुरुष र २ हजार ७१३ जना महिला खेलाडी छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?