+
+

भाइ अस्तायो, खुसी बोकेर तिहार उदाएन

विमला भुसाल विमला भुसाल
२०७९ कात्तिक ८ गते १८:१६

बाल्यकालमा तिहारमा घर लिप्नलाई चटारो हुन्थ्यो । झिरभरि उनेका फिनी रोटीका लहरा अहिले पनि आँखामा झलझली याद आउँछ । महिनौं दिन अघिदेखिको चहलपहल । घरका भित्ताहरूमा देखिने त्यो सुन्दरता । घर लिप्न सेतो र रातो माटो लिन ३-४ वटा डाडा काटेर जानुपर्थ्यो । कति दु:ले लिपिन्थ्यो घर । लामो बाटो भारी बोकेर हिंड्दा खुट्टामा ठेला उठ्थे । भोग्न गाह्रो तर अहिले सम्झँदा रमाइलो लाग्छ ।

माटोले घर लिपेर सक्दा घरका भित्ता होइन, मनका भित्ता रंगिएझैं खुसी लाग्थ्यो । गाउॅंका सबै घरहरू रंगीचंगी देखिन्थे ।

आजकल ती दिनहरू सम्झँदा पनि पीडा हुन्छ । किनकि म त्यो घरबाट बाहिरिएकी छु । म त्यो घरको सदस्यमा गनिन्न । अब म पाहुना भएकी छु । छोरी भएर जन्म लिँदा मेरा धेरै अधिकार खोसिएका छन् । हिजो मेरो घर मेरो गाउँ थियो । आज माइती घर अनि माइती गाउँ भएको छ । ती पुराना दिन सबै सम्झना बनी मुटुमा गडेका छन् ।

कहिले रहर त कहिले बाध्यता । जीवनका ती तिता र मिठा पलहरू अहिले पनि जीवनका अभिन्न अंग बनिदिन्छन् ।

माटोको भारीले तालुमा कैयौं दिनसम्म पीडा दिन्थ्यो । थाकेको बेला बाटोमा कसैले के बोकेको भन्दा उठ्नुसम्म रिस उठ्थ्यो । त्यो रिस आज सम्झना बन्नको लागि रहेछ । हप्ता दिनसम्मलाई पुग्ने गरी थकान मिल्थ्यो ।

चाडबाडमा त गाउँको माहोल नै बेग्लै हुन्थ्यो । मन पनि त्यसै त्यसै दंग भएर आउने । भोगाइ रोजाइ सधै एकनास नहुँदो रैछ । सबैभन्दा ठूलो कुरा त जिन्दगीलाई सम्झना चाहिँदोरहेछ ताकि तिनै सम्झनाले जीवन चलाउने उत्प्रेरणा मिलोस् ।

अहिले त आज लगाएको लुगा भोलि लगाउँदैनन् । त्यो लुगा त फोटो भिडियोमा आइसक्यो भन्छन् । कति टिकटकमा आइसक्यो भनेको सुनिन्छ । वर्षौंदेखि साँचेर चाडबाडको दिनमा मात्र लगाउने अनि फेरि अर्को चाडको लागि साँचेर राखेको त्यो लुगाले दिने खुसी अहा ! आज ती अतितका सम्झनामा पनि कति रमाइलो महमुस हुने ।

तिहारमा गाउँमा विभिन्न परिकार पाक्थे । सेल रोटी त आम भइहाल्यो । सबैले माया र सम्मान गर्दै रोटी पकाउन आउनु है भन्दै बोलाउनु हुन्थ्यो । घरको बुइँगलमा त रोटीको बिस्तारा नै हुन्थ्यो । तिहारमा पकाएको रोटी माघे संक्रान्तिसम्म खानपाए राम्रो हुन्छ भन्ने बुझाई थियो । अहा ती दिनको रमाइलो ।

तिहारको दिन दाइभाइलाई गाली गर्नुहुन्न, पूरा गर्नुपर्छ भनिन्थ्यो । हुन त आफ्ना दाजुभाइलाई कहिल्यै पनि गाली गर्नुहुन्न । चार दिदीबहिनीपछि जन्मिएका भाइ मुटुका टुक्रा थिए ।

हामीले आफूले आफूलाई संसारको भाग्यमानी ठान्थ्यौं । चार छोरीपछि जन्मिएका भाइको व्याख्या हाम्रो समाजमा मैले कसरी गरौं र ?

तर मेरो ठूलो भाइ यो संसारबाट विदा भइसकेको छ । उसको मृत्युपछि हरेक तिहार हामीलाई चोट लिएर आउँछ । मुटु भक्कानिएर आउँछ । भाइको लामो बिदाइपछि तिहार खुसी बोकेर आउन सकेनन् । आँगनमा फुलेका हरेक फूलहरूले उसकै याद आलो बनाउँछ । ‘दिदी मलाई हजारी र मखमली मिसाए माला बनाइदिनु है’ भन्थ्यो । माला उनिरहँदा छेउमै बसेर आफूले लगाउने माला हेरेर बसिरहन्थ्यो । यो मेरो माला छुट्टै राखिदिनु है भन्थ्यो । ती शब्दले आज पनि फूलको माला गाँस्दा आँखाले सहनै सक्दैन ।

अरु बेला जसोतसो सम्हालिए पनि तिहारमा खाउ उकल्चिन्छ ।

वर्षौंदेखिको त्यो मुटुको राप विस्फोटन भएर आउँछ । यति धेरै दिन कसरी बित्छ होला ? अनि आजले किन यति पोल्छ ? एक दिनले जिन्दगी भर पुग्ने गरी चोट दिन्छ । यो सबैलाई पर्ने कुरा हो तर पनि हामी मानव जाति आफूलाई मात्र परेको अनुभव गर्न सक्छौं ।

जब मानिस जन्मन्छ, यही दुईवटा कुरा त सत्य छन् । जन्म र मृत्यु । बाँकी भोगाइको त के कुरा गर्नु । खुसी छर्दै आएको त्यो सत्य पीडा दिँदै समाप्त हुन्छ ।

मृत्यु मात्र सामना गर्न साह्रै कठिन हुन्छ । किनकि सत्यले धेरै पोल्छ अनि सत्यले मानिसलाई जलाई भस्म पारिदिन्छ । यो संसारको नियम नै यस्तै जीवनमा घट्ने सबै कुरा पुनः एकपटक फर्कन सक्छ । जसरी खोलाले बगाएको खेत पुनः बगर बनेर बिस्तारै खेत भए पनि फर्कन सक्छ तर खोलाले बगाएर मृत्युको मुखमा पुगेको मानिस सदा सदाको लागि समाप्त भइदिन्छ । जुन सत्य छ त्यो अत्यन्त पीडा दाइ हुन्छ ।

त्यही सत्यले पोलिरहँदा पनि के गर्नु जिन्दगी जसोतसो चलाउन पर्दोरहेछ । संसारको यो नियम पालना नगरी सुखै छैन । यो संसारको नियतिलाई हेरेर आफूलाई सम्हानु पर्दोरहेछ । तिहार नजिकिंदै गर्दा हजारी र मखमली फूल देख्छु । लाग्छ, ती फूलले मलाई फेरि जलाउन खोज्दैछन् । मेरो अतितलाई पुनः कोट्याउँदै छन् । त्यही दशै तिहारको सम्झना झलझली आँखाभरि आइरहन्छ ।

महिना अघिदेखि त्यो तिहारको चहलपहल बिहान भालेको डाँकोमा उठेर घर लिप्नको लागि माटो लिन जान्थ्यौं र बेलुका बास बस्न आइपुग्थ्यौं । असाध्यै थकान हुन्थ्यो । बाटोमै त्यो भारी फालेर हिंड्नु जसरी गाह्रो हुन्थ्यो । कहिल्यै आउँदिन भन्दै रुँदै घर आइपुग्थ्यौं । यी सबै थकान सेतो र रातो रंगले घर रंगिपछि कतै अलप हुन्थ्यो । अनि अर्को सालको लागि मनमा खुसी बुन्थ्यौं । बाटोमा खाएको रोटी तरकारी खुब याद आउँछ ।

अहिले त माइती गाउँमा सबैका दरबार बनिसके । कहिंकतै मात्र ती घरहरू देखिंदा पुरानो याद जीवन्त बनेर आउँछ । माइती गाउँका सबै घर आफ्नै जस्तो लाग्छ । फिनी रोटी, ठूलो लोहरी लाउन भ्याइनभ्याइ हुन्थ्यो । खाना खाजासहित निम्ता हुन्थ्यो ।

जीवनमा हामीले जे जति कुरा गर्छौं, भोग्छौं, ती सबै भोलिको सम्झनाको लागि बनेको हुँदो रहेछ । बितेका समय पनि मृत्युको अर्को रूप रहेछ, कहिल्यै फर्केन आउन नसक्ने । केवल सम्झनामा मात्र फरक । यति मात्र हो, मृत्युले पोल्ने काम गर्छ तर बितेका ती दिनहरूले मनमा छुटै किसिमको अनुभूति सञ्चार गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?