+
+

राजनीतिले सही बाटो समाउने संकेत

मतदाताहरू सचेत हुँदै गएका छन् । स्वनिर्णय गर्ने क्षमता बढ्दो छ । उनीहरूमा पार्टी र नेता के गर्छन्, के बोल्छन् त्यो छुट्याउने क्षमता बढेको छ । यो राजनीतिले सही बाटो समाउने संकेत हो ।

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०७९ कात्तिक १२ गते १२:०३

देश चुनावमा होमिएको छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो । तर, चुनाव हुनु, चुनावबाट जनताका प्रतिनिधि छानिनु र अरू पाँच वर्ष यस्ता प्रतिनिधिले शासन गर्नु मात्रै चुनावको उद्देश्य हुनुहुँदैन । चुनाव एउटा प्रक्रिया हो र प्रतिनिधि छानिनु प्रक्रियाले दिने नतिजा हो ।

जसरी पनि नतिजा आफ्नो पक्षमा पार्ने ध्याउन्नमा रहेका पार्टी र उम्मेदवारले चुनावको मर्म र प्रक्रियाका सीमाहरू मिच्न सक्छन् । त्यसैले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भनेर बारम्बार भन्ने गरिन्छ । चुनाव गराउन स्वतन्त्र निकायको रूपमा निर्वाचन आयोग हुन्छ, सरकारमा बसेर चुनाव गराउन चाहनेहरूबाट निर्वाचनमा धाँधलीको सम्भावना बढी हुन्छ । शक्तिको दुरुपयोग बढ्न सक्छ ।

त्यसैले निर्वाचनको मिति नजिकिएसँगै सरकार, राजनीतिक दल, शिक्षक, कर्मचारी, निर्वाचित जनप्रतिनिधिलगायत सरकारी सुविधा प्राप्त गर्ने कसैलाई पनि राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार गर्न नपाउने व्यवस्था गरेको छ ।

निर्वाचन खर्चिलो भएको, सामान्य मानिसले धान्न नसकिने भएको भनेर व्यापक आलोचना भएपछि निर्वाचन प्रचारको क्रममा हुने भड्किलो प्रचार रोक्न केही उपाय अवलम्बन गरिएका छन् । ठूला आकारका पार्टीका झण्डा, चुनाव चिहृन अंकित तुल, ब्यानर, झण्डा, तोरण, पोष्टर आदिमा रोक लगाइएको छ ।

त्यति मात्रै होइन, प्रचारमा गाडीको ताँती, मोटरसाइकल र्‍याली, भोजभतेर, नगद तथा जिन्सीको वितरण, प्रलोभन आदि गर्न नपाइने गरी आचारसंहिता बनेको छ । त्यसैगरी सार्वजनिक स्थलमा मात्रै होइन घर र प्रतिष्ठानहरूमा पनि ब्यानर, झण्डा, पोष्टर आदि राख्न नपाइने नियमले चुनावलाई कम खर्चिलो बनाउने कोसिस भएको छ । प्रचारका लागि चुनाव चिह्न र पार्टीका झण्डा अंकित भेष्ट, टोपी, गम्छा आदि प्रयोग गर्न वञ्चित गरिएको छ ।

त्यसैगरी सवारी साधनको प्रयोग गरेर ठूलो स्वरमा माइक, डिजे बजाउने, हूल बाँधेर नाचगान गर्दै सडकमा जुलूस निकाल्ने कुरा रोकिएको छ । प्रचारमा जाँदा उम्मेदवारसहित बढीमा पच्चीस जनासम्मको समूहलाई मात्रै मतदातासँग पुग्ने गरी घरदैलोमा जान पाइने नियम बनाइएको छ । अनि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । खर्च बैंकिङ प्रणालीबाट गर्न र निर्वाचन सकिएपछि खर्चको विवरण अनिवार्य बुझाउन भनिएको छ ।

यी भए निर्वाचनलाई कम खर्चिलो र भड्किलो हुन नदिन बनेका नियम । निर्वाचन खर्चिलो र भड्किलो हुँदा त्यसले भ्रष्टाचारलाई बढावा दियो भन्ने भनाइ एकदमै मनासिब छ । पैसा खर्च गर्न नसक्ने तर जनताको सेवामा समर्पित र आवश्यक मानिसले चुनावमा भाग लिनै नसक्ने अवस्थाको अन्त्य गर्ने प्रयास सराहनीय छ । तर यो नियमको पालना भएमात्रै यसको औचित्य हुन्छ । सचेत मतदाताहरू उम्मेदवार र पार्टीहरूले निर्वाचन आधारसंहिताको पालना गरे/नगरेको हेरिरहेका छन् ।

सरकार, राजनीतिक दल, उम्मेदवार र आचारसंहिता पालना गर्नुपर्ने व्यक्ति र निकायले संयमतापूर्वक नियमको पालना गर्नु आवश्यक छ तर यो सीमालाई पूर्व प्रधानमन्त्री भइसकेका पुष्पकमल दाहाल र माधवकुमार नेपालले नै खुल्लमखुल्ला उल्लङ्घन गरेर निर्वाचन आयोगको स्पष्टीकरणको सामना गर्नु परेको अवस्था छ ।

उल्टो उनीहरू भूलवश गल्ती भएछ अब गरिने छैन भनेर स्वीकार्नभन्दा गल्ती नै नगरेको भनेर पन्छिएका छन् । आजको प्रविधियुक्त समयमा उनीहरूले बोलेको र गरेको कामको रेकर्ड छोपेर छोपिंदैन । यस्ता कुरा भाइरल भइसकेका हुन्छन् तर ढाँट्ने बानी परेकालाई यस्ता कुरा अझै सामान्य लाग्छ ।

मौका पाउनासाथ देश लुट्ने, आफन्त पोस्ने, जसरी पनि सत्तामा पुग्न जनताको मत लुट्न आउनेलाई प्रश्न गरेर र्‍याखर्‍याख्ती पारौं र आफ्नो मत विकास, अग्रगमन र समृद्धिको पक्षमा मतदान गरौं

निर्वाचन जनतालाई भ्रममा पारेर मत आफ्नो पोल्टामा पार्ने र बाँकी अवधि आफूले रजगज गर्ने अभियान होइन । निर्वाचन भनेको जनतालाई राजनीतिक हिसाबले सचेत बनाउने, विश्वासमा लिने, समस्याका बारेमा छलफल गर्ने, सम्भावना र भविष्यमा गरिने काम एवम् योजनाको बारेमा बताउने अभियान हो ।

त्यसैगरी यो अरूलाई गालीगलौज गरेर नीच र होचो देखाउने, आफू महान अरू सबै निकम्मा हुन् भनेर गफ चुट्ने अभियान पनि होइन । आफ्ना सत्कर्महरूको प्रचार गर्न पाइन्छ तर अरूलाई गाली नगरी र नहोच्याइकन । त्यस्तै अरूको आलोचना पनि गर्न पाइन्छ तर तथ्यमा आधारित भएर ।

कुनै समय यस्तो थियो कि आम मतदाताले सूचनामा धेरै पहुँच राख्न सक्दैनथे । रेडियो, टेलिभिजनका कुरा सुन्नु, हेर्नु र पत्याउनुपर्ने अवस्था थियो । नेताका कुरा सुनेर धारणा बनाउने वा आफ्नो गाउँ, टोल, छिमेकी, समूहका अगुवाले भनेको विश्वास गर्नुपर्ने अवस्था थियो । त्यही आधारमा धारणा बनाएर मतदान गर्नेहरू धेरै थिए ।

तर अहिले प्रविधिको पहुँचले सूचनाको बाढी नै आएको छ । मतदाताहरू सचेत बन्दै गएका छन् । अरूको कुरा पत्याएर होइन स्वनिर्णय गर्ने क्षमता मतदातामा बढ्दो छ । पार्टी र नेताका क्रियाकलापलाई आम मतदाताले मसिनो गरी नियालिरहेका छन् । के गर्छन् र के बोल्छन् त्यो छुट्याउने क्षमता मतदातामा बढेको छ । मतदाता सचेत भएर मतदान गर्नु, पार्टी छान्नु, नेता रोज्नु राजनीतिले सही बाटो समाउने संकेत हो ।

यति हुँदाहँुदै पनि राजनीतिमा देखिने अर्थात् चुनावमा पोखिने अतिवादको खतरा कायमै छ । आफूलाई मन परेको नेताको देवत्वकरण गर्ने र मन नपरेका नेता र पार्टीको राक्षसीकरण गर्ने प्रवृत्ति कायम छ । आफू र आफूले मानेको, रोजेको, सोचेको कुरा शतप्रतिशत ठीक र अरू सबै शतप्रतिशत खराबको धारणा बनाउनेहरू अझै धेरै छन् ।

यस्तो सोच भएका दुई खालका मानिस मैले पाएको छु । एकप्रकारका मानिस पार्टीको जिम्मेवारीमा र नेताको नजिकमा भएका हुन्छन् जसले आफ्नो पार्टी र नेताको पक्षमा बढ्तै वकालत गर्छन् । पार्टी पावरमा हुँदा सुविधा र जिम्मेवारी प्राप्त गर्छन् । आफ्नो विश्वास र कर्मलाई उत्कृष्ट मान्छन् । प्रतिस्पर्धी र प्रतिद्वन्द्वीहरूसँग सार्वजनिक खपतका लागि कठोर देखिन्छन् तर व्यावहारिक पक्षको कुरा गर्दा विचार नमिल्नेहरूसँग पनि सहकार्य गर्छन् । यो राजनीतिक चरित्र हो । यसलाई धेरै अस्वाभाविक मान्नुहुँदैन ।

अर्का एक खालका मानिस हुन्छन् उनीहरूमा छिपछिपे बुझाइ हुन्छ । यो पंक्तिमा अधिकांश प्रविधिमा पहुँच भएका युवा छन् । उनीहरूमा अतिवाद अलि धेरै देखिन्छ । सामाजिक सञ्जालमा पोखिन्छन् । अरूलाई गाली गर्छन् । सबैलाई खराब देख्छन् तर विकल्प के हो भन्न सक्दैनन्, देख्दैनन् । उनीहरूको बुझाइ र देखाइ निकै सतही हुने कारणले समस्याको गहिराइलाई राम्ररी बुझ्दैनन् र आक्रोश पोख्छन् ।

यो समूह अलि बढी निराश पनि देखिन्छ । यिनीहरूले आर्थिक र सामाजिक पीडा भोगेका होलान् । विदेशको सम्पन्नता देखेर हामीमा किन भएन भनेर आक्रोश जन्मिएको होला तर यो समूहले राजनीतिक पीडा कम भोगेको छ । यो वर्ग अस्थिर राजनीतिक शक्ति हो ।

हरेक चुनाव यस्तो अवसर हो जसले अस्थिर मतदातालाई राजनीति, इतिहास, समाज, आर्थिक अवस्था, हाम्रो सामर्थ्य, विकासको प्रक्रिया र सम्भावना आदिका बारेमा सुसूचित गराउँछ । वास्तविक नेता ती मात्रै हुन् जसले मतदाताको कमजोर अवस्थालाई बदल्ने साहस गर्छन्, साथमा लिन्छन् र बाटो देखाउँछन् ।

जसले मतदाताको कमजोर अवस्थाको फाइदा उठाएर लोभलालच र भुलभुलैया कुरा गर्छन् ती वास्तवमा नेता हुनै सक्दैनन् । त्यस्ता मानिस हाम्रो मत लुटने लटेरा हुन भन्दा फरक पर्दैन । जबसम्म जनता वास्तविक नेता र लुटेरा नेताको बीचमा फरक छुट्याउन सक्ने हुँदैनन् तबसम्म जनताको भोट लुटिने क्रम जारी रहन्छ ।

यसरी जनता भोट बेच्न तयार हुने र लुटेरा नेता किन्न तयार हुँदासम्म जनताका समस्या, जनताका मुद्दामाथि खासै बहस र छलफल हुँदैन । यो अवस्थाको अन्त्य गरेर जनतालाई सचेत पार्ने अभियानको रूपमा चुनावलाई लिनु आजको आवश्यकता हो ।

मतदातालाई सचेत बनाउने विषय ढुंगा पल्टाए जस्तो होइन । एकपटक बल गरेर पल्टायो पुग्यो । यो त ढुंगालाई फुटाएर धुलो बनाउने जस्तो हो । जुन काम निरन्तर गरिरहनुपर्छ । नेताले जनता झुक्याएर मत लुट्ने र जनताले स्वार्थ एवम् भुलभुलैयमा परेर मत बेच्ने वा सोचविचार नगरी आक्रोशमा मत पोख्ने हो भने परिवर्तन, विकास र समृद्धि टाढिने छ । त्यसैले मौका पाउनासाथ देश लुट्ने, आफन्त पोस्ने, जसरी पनि सत्तामा पुग्न जनताको मत लुट्न आउनेलाई प्रश्न गरेर र्‍याखर्‍याख्ती पारौं र आफ्नो मत विकास, अग्रगमन र समृद्धिको पक्षमा मतदान गरौं ।

यतिखेर देशको आर्थिक अवस्था निकै कमजोर छ । यति मात्रै होइन, बजेट बनाउँदा सीमित घरानाका व्यापारीलाई पोस्ने गरी नीतिगत भ्रष्टाचार गरियो । सुशासन कायम र देश विकासको खाका प्रस्तुत गर्ने विषयमा यो सरकार पनि निकम्मा सावित भयो । आगामी निर्वाचनले मतदाताले यी विकृतिविरुद्ध मत जाहेर गरेमा मुलुकले भोगेका समस्याको समाधान खोज्नुपर्छ ।

लेखकको बारेमा
रामचन्द्र उप्रेती

उप्रेती सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?