+
+

१० वर्ष जेल बसेर छुटेको एक महिनामै अर्को हत्या !

साथीकै हत्या आरोपमा सुरेश पक्राउ

सुवास पण्डित सुवास पण्डित
२०७९ कात्तिक १२ गते १९:५२

११ कात्तिक, चितवन । २०६९ कात्तिक ११ गते नवलपुरको गैंडाकोटमा आफ्नै हजुरआमा र काकीको हत्या गरेका सुरेशबहादुर कुमाल ठीक १० बर्षपछि २०७९ कात्तिक ११ गते राति आफ्नै साथी जीवनबहादुर नेपालीको हत्या आरोपमा पक्राउ परे ।

गैंडाकोट नगरपालिका–७ घर भएका ३४ बर्षका सुरेशले शुक्रबार राति साढे १० बजे माडी नगरपालिका–४ शीतलपुर घोसरीका जीवनबहादुर नेपालीको हत्या गरेको प्रहरीको भनाइ छ । जीवनको हत्या भएको ७ घण्टामै उनी पक्राउ परेका हुन् । जीवनको श्रीमती तिहार मान्न माइत गएको मौकामा उनको हत्या भएको छ ।

सुरेश एक महिनादेखि जीवनको घरमा बस्दै आएका थिए । भाइटीकाको दिनमा टीका लगाएर दुबै जनाले मदिरासमेत सेवन गरेको प्रहरीको भनाइ छ । जीवनको हत्यापछि सुरेश नजिकै रहेको रुपा नेपालीको घरमा पुगेका थिए । सुरेशले रुपाको घाँटी बेस्सरी अठ्याए ।

‘बेस्सरी घाँटी अठ्याएपछि रुपा बेहोस भइछन्, उसले मरी भनेर छाड्यो र कानमा लगाएका सुनको गहाना लोती नै च्यातिने गरी लुछेर भाग्यो’ चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले भने, ‘उसले रुपालाई पनि मार्न खोजेको रहेछ । ठीक १० बर्ष अगाडि कात्तिक ११ गते नै २ जनाको हत्या गरेको सुरेशले ठीक १० बर्षपछि पनि दुई जनालाई मार्न खोजेको देखियो, एक जना भाग्यवश बाँचिन् ।’

अभियुक्त सुरेशले रुपाले जीवनलाई मारेको देखेकोले उसलाई पनि मार्न खोजेको वयान प्रहरीलाई दिएका छन् । रुपाको अवस्था अहिले सामान्य छ ।

घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयको टोलीले घटनामा संलग्न भएका सुरेशको तीव्र खोजी गर्‍यो । सुरेश झण्डै ५ किलोमिटर वर माडी नगरपालिका–३ बसन्तपुरको भित्री सडकमा शंकास्पद अवस्थामा हिडिरहेको बेला पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक सन्तोष खड्का नेतृत्वको टोलीले पक्राउ गरेर सुरेशलाई जिल्ला प्रहरी कार्यालय चितवनमा पठाएको छ ।

चितवनका प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार जीवनको घरमा बस्दै आएका सुरेश खाना पकाउने र खुवाउने काम गर्थे । कात्तिक ११ गते मदिरा सेवन गरेपछि आफूलाई जीवनले जिस्क्याएको, ओठ टोकिदिएकोले हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

एक महिना ७ दिन अगाडि छुटेका थिए सुरेश

२०७९ असोज ३ गते संविधान दिवसको दिनमा आचरणमा सुधार आएको भनेर छुटेका थिए सुरेश । आफ्नै हजुरआमा र काकीको हत्या गरेर कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत नवलपरासीबाट जन्मकैदको सजाय पाएका सुरेश घटनाको १० बर्ष पनि नपुग्दै भीमफेदी कारागारबाट कैद मिनाहा भई छुटेका थिए ।

सुरेश र जीवनको भेट भीमफेदी कारागारमा भएको थियो । उनीहरू कारागारमा मिल्ने दोस्ती भएका थिए । केही महिना अगाडि मात्रै छुटेका जीवनलाई खोज्दै गत असोज ३ गते छुटेका सुरेश गैंडाकोटबाट माडी पुगेका थिए ।

माडीमा जीवनको दाइको फर्निचर उद्योगमा दुबै जना काम गर्दथे । जीवनको दुई विघा जग्गामा खेती लगाउन पनि सुरेशले सघाउँदै आएको प्रहरीको भनाई छ । तर, उनीहरुबीच पछिल्लो समयमा खाना पकाउने र खाने विषयमा झैझगडा हुने, राति मदिरा सेवन गर्ने क्रम चलेको थियो ।

तिहारको टीका लगाउन जीवनकी पत्नी माइत गएपछि जीवन र सुरेश मात्रै घरमा थिए । जीवनका दाइहरुसमेत कोही नभएको मौका पारेर सुरेशले उनको हत्या गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले सर्वश्वसहित जन्मकैदको फैसला भएको ब्यक्ति १० बर्षमा, त्यो पनि संविधान दिवसको दिनमा छुटेर छुटेको १ महिना पुग्दा नपुग्दै थप दुई जनाको हत्या गर्न खोज्नु दुःखद र बिडम्वना भएको बताए ।

अभियुक्तमा रक्तिभर पनि हिनतावोध वा गल्ती गरेको महसुस नै नभएको प्रहरी प्रमुख अधिकारी बताउँछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?