+
+
चितवन ३ मा त्रिपक्षीय प्रतिस्पर्धा :

चितवन-३ मा कांग्रेसको जनमत बढी भएका वडा निर्णायक

प्रचण्डले छाडेको क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा, ठूला दलको मत छरपस्ट

सुवास पण्डित सुवास पण्डित
२०७९ कात्तिक १५ गते २०:५९
वायँबाट– डा. भोजराज अधिकारी, दिनेश कोइराला र विक्रम पाण्डे

१५ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । प्रचण्ड गोरखा गएपछि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । चिकित्सकीय पेशा छाडेर राजनीतिमा आएका उनलाई सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन छ ।

कांग्रेसकै बागी उम्मेदवार बनेर उठेका दिनेश कोइरालालाई नेकपा एमालेको समर्थन छ भने राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक्लै चुनावी मैदानमा छन् ।

चुनावी मैदानमा १९ जना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा भने भोजराज, दिनेश र विक्रमबीच हुने देखिन्छ । जबकी स्थानीय तह निर्वाचन २०७९ को मतअनुसार यो निर्वाचन क्षेत्रमा एमाले पहिलो र कांग्रेस दोस्रो शक्ति हुन् । तर दुबै दलको आफ्नै उम्मेदवार नभएकाले मतपत्रमा सूर्य र रूख दुबै चिह्न हुने छैन ।

तेस्रो ठूलो दल माओवादीलाई कांग्रेसको मूल नेतृत्वले समर्थन गरेको छ, तर त्यसप्रति असन्तुष्ट बनेर बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई एमालेले बोकेको छ । राप्रपाका विक्रम पाण्डे भने ठूला दलहरुको आफ्नै उम्मेदवार नहुनुको लाभ लिन चाहन्छन् । उनी यही भूगोलबाट पाँचौपटक निर्वाचन लडिरहेका छन् । २०७४ को चुनावमा त पाण्डेलाई कांग्रेसले समर्थन गरेको थियो । यसपटक पाण्डेलाई कसैले ‘बोकेको’ छैन, अघिल्लो पटक उनलाई समर्थन गरेको कांग्रेसले काँध फेरेर माओवादीलाई जिताउन हिँडेको छ ।

तर कांग्रेसबाट दिनेश कोइराला मात्र होइन, पूर्वसांसद एवम् भरतपुर महानगरपालिकाको मेयर पदमा बागी बनेर तेस्रो भएका जगन्नाथ पौडेल र तारा पौडेल बागी उम्मेदवार छन् । उनीहरुले काट्ने मत कांग्रेसकै हुनेछ । अर्थात कांग्रेसको मत स्थानीय चुनावमा भन्दा पनि थप तितरवितर हुने देखिन्छ ।

चितवनका तीन निर्वाचन क्षेत्रहरुमध्ये सबभन्दा धेरै मतदाता क्षेत्र नं. ३ मा छन् । अघिल्लो निर्वाचनमा १ लाख २५ हजार ८१८ मतदाता थिए । यसपटक १८ हजार ४ सय ६५ मतदाता थपिएर १ लाख ४४ हजार २ सय ८३ पुगेको छ ।

माडी नगरपालिकाका ९ र भरतपुर महानगरका २९ मध्ये १९ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् । भूगोलका हिसाबले भरतपुर महानगर केही सहज छ भने चितवन राष्ट्रिय निकुञ्ज पारी माडीका आफ्नै खाले समस्या छन् । सत्ता गठवन्धनले विभिन्न वडामा आफ्नो सम्पर्क तथा प्रचार कार्यालय खोलेको छ भने राप्रपाका विक्रम पाण्डे केही अलमलमा नै देखिन्छन् । तर भित्री रणनीतिमा उनी सक्रिय छन् ।

फाइनल खेल कांग्रेसका बढी मत भएको वडामा हुने देखिन्छ । अर्थात् जसले कांग्रेसको मत आफूतिर बढी तान्न सक्छ, उसैले चितवन–३ मा चुनावी बाजी मार्ने सम्भावना छ ।

एमालेको साथ पाएका दिनेश कोइराला कांग्रेसभित्र आफ्नो उम्मेदवारीको विषयमा प्रस्ट पार्न प्रयत्नशील छन् । उनले एमालेसँग लय मिलाउन बाँकी नै छ । एमाले कार्यकर्ता तथा मतदाता पर्ख र हेरको मुडमा देखिन्छन् भने केही उनको पक्षमा लाग्न थालेका छन् । केही भने विक्रम पाण्डेसँग नजिक हुने छनक देखिन्छ ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने भने दिनेश कोइरालाको चुनावी अभियानलाई एमालेले नै नेतृत्व गर्ने बताउँछन् । ‘उहाँको बोन भनेको कांग्रेसका नेता कार्यकर्ता र मतदातासहित एमाले हुन्छ,’ न्यौपाने भन्छन्, ‘कात्तिक २० गतेसम्म सबै एमाले एकठाँउमा उभिएर चुनावमा जान्छ, कार्यकर्ताहरुमा कुनै दुविधा रहँदैन, हामी दिनेश जिताउन जुट्छौं ।’

४ पटक माडी पुगेका राप्रपाका विक्रम पाण्डे अहिले भरतपुरका विभिन्न वडामा केन्द्रित बनेका छन् । राप्रपाले माडी र पश्चिम चितवनलाई विषेश प्राथमिकतामा राखेको छ । राप्रपाको भोट बैंक भएको ठाउँलाई भन्दा अहिले वडा नं. १५, १६, ८, ९ र ६ लाई बढी प्राथमिकतामा राखेर प्रचार प्रसार गरिरहेको राप्रपा भरतपुर महानगर कमिटीका सचिव सुलभ सिग्देलले बताए ।

उनका अनुसार राप्रपाले कात्तिक १७ गते वडा नं. १६ को नारायणी नदी किनारबाट चुनावी प्रचारप्रसारको काम थाल्ने छ । पश्चिम चितवनको मेघौलीसहितका क्षेत्रमा राप्रपाका दुई केन्द्रीय सदस्य दिलिप पाण्डे र मिना न्यौपाने तथा महानगर अध्यक्ष दीपक थापामगरलाई पाण्डेले परिचालन गरेका छन् ।

जनताका बीचमा सबैभन्दा बढी पुग्नेमा सत्ता गठवन्धनका उम्मेदवार भोजराज अधिकारी पर्छन् । ‘म धेरै ठाउँमा गएँ, जनतामा उत्साह देखेको छु,’ डा. अधिकारी भन्छन्, ‘चुनाव जित्ने आधार स्पष्ट छ, अब मंसिर ४ पर्खिनु मात्रै छ ।’ माओवादी कार्यकर्ताले ‘प्रचण्डको उत्तराधिकारी, भोजराज अधिकारी’ को नारा दिएका छन् । तर प्रचण्डलाई जसरी भोट ल्याउन उनलाई सहज छैन ।

होला के ?

निर्वाचन क्षेत्र–३ अन्तर्गत पर्ने २८ वटा वडामध्ये कांग्रेसले एक्लैले १० वडा जितेको छ । माओवादी केन्द्र ७ र एमालेले ४, एकीकृत समाजवादीले ४, राप्रपाले २ वटा वडा जितेको छ भने एउटा वडामा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् ।

३० वैशाखको स्थानीय तहको निर्वाचन परीणामलाई हेर्दा सत्ता गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरुको मत ४५ हजार १७२ छ । एमाले उम्मेदवारले ३० हजार ६०९ र राप्रपाका उम्मेदवारले ७ हजार ४५४ मत पाएका थिए । त्यसबेला भरतपुरमा कांग्रेसका बागी मेयर उम्मेदवार पौडेललाई मत दिनेले समेत वडाध्यक्षमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिएको देखिन्छ । अर्थात कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले पाएको मत यो पटक एकठाउँमा जाँदैन । किनकी दिनेश, जगन्नाथ र तारा पनि त्यही मत तान्ने प्रयत्नमा छन् ।

जगन्नाथ पौडेल (वायाँ) र तारा पौडेल

स्थानीय तहको निर्वाचनमा पौडेललाई बागी उठाउन भूमिका खेलेका कांग्रेसका पूर्व जिल्ला पार्टी सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले दिनेशलाई समर्थन मात्रै गरेका छैनन्, जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन दबाव दिएका छन् । तारा पौडेललाई पनि उम्मेदवारी निष्कृय बनाउन दिनेश समूह लागेको छ ।

रोचक हुनसक्छ प्रतिस्पर्धा

कांग्रेसको मत चार तिर बाँडिनुको घाटा गठबन्धनका उम्मेदवार भोजराजलाई नै हुनेछ भने जगन्नाथ र ताराले दिनेशलाई समर्थन गरे भोजराज नै दबावमा पर्नेछन् । तर गठबन्धनका उम्मेदवार डा. अधिकारी एमालेको मत तान्ने रणनीतिमा छन् । एमालेको आफ्नो उम्मेदवार नभएको र विगतमा पार्टीको सक्रिय राजनीतिमा नभएकाले त्यो मत आउने उनको दाबी छ । राप्रपाका उम्मेदवार पाण्डेले पनि एमालेको मततिर नै आँखा लगाएका छन् ।

समग्रमा हेर्दा, माडीमा कांग्रेस, एमाले, माओवादी र राप्रपा हाराहारीका शक्ति हुन् । तर कांग्रेस र एमालेको उम्मेदवार नभएकाले यो क्षेत्रबाट भोजराज र दिनेशले भन्दा बढी मत पाउने पाण्डेको रणनीति छ । त्यो सम्भावनालाई प्रतिस्पर्धी उम्मेदवारहरु पनि स्वीकार गर्छन् । किनकी माडीमा कांग्रेसको मत भोजराजले मात्र पाउने छैनन्, विक्रम पाण्डे र दिनेशतिर जाने देखिन्छ ।

भरतपुर आउँदा पश्चिम चितवनका वडाहरू वडा नं. २४, २६, २७ र २८ मा पनि स्रोत साधनले सम्पन्न पाण्डेले ठूला दलका उम्मेदवार नहुँदाको फाइदा उठाउन सक्छन् । अघिल्लो पटक कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेका पाण्डेलाई चुनावी भोट बैंक र छिद्रहरू कहाँ–कहाँ छन् त्यसको जानकारी छ । ०७४ सालको निर्वाचनमा पाण्डेले कांग्रेसको समर्थन ३८ हजार ९४३ मत ल्याएका थिए । त्यसबेला कांग्रेसले यो क्षेत्रबाट समानुपातिकमा २६ हजारभन्दा बढी मत ल्याएको थियो । अर्थात बाँकी १२ हजार मत राप्रपा (विक्रम पाण्डे) को हो । यो पटक कुनै प्रमुख दलको साथ नभएकाले १२ हजार मतलाई बढाएर ३० हजारमाथि पुर्‍याउन पाण्डेलाई सहज छैन ।

वडा नं. ८, ९, १६, २२ मा सत्ता गठवन्धनको मत बढी आउने देखिन्छ । यद्यपि यो क्षेत्रमा एमाले पनि प्रतिस्पर्धी शक्ति हो । एमालेको सबै मत पाउनुका साथै कांग्रेसको केही मत दिनेशले तान्न सके चुनावी प्रतिस्पर्धा थप रोचक हुनेछ । किनकी वडा नं. ६, १४, १५, २५ तिर दिनेश कोइरालाले बढी मत पाउन सक्छन् भने वडा नं. २१ र २३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ ।

समग्रमा फाइनल खेल कांग्रेसका बढी मत भएको वडामा हुने देखिन्छ । अर्थात् जसले कांग्रेसको मत आफूतिर बढी तान्न सक्छ, उसैले चितवन–३ मा चुनावी बाजी मार्ने सम्भावना छ ।

कांग्रेसको बढी जनमत भएको वडा नं. १६, १७, १८, १९, २० हुन् । स्थानीय निर्वाचनमा वडा नं. १८ र १९ एमालेले जिते पनि कांग्रेसको जनमत राम्रो छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?