+
+

लिग च्याम्पियन प्रशिक्षकले राष्ट्रिय टिममा पाएको अवसर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक १६ गते १०:३५

१६ कात्तिक, काठमाडौं । झापाका प्रवेश कटुवालले नेपालको सिनियर फुटबल टिमबाट कहिले पनि खेल्न पाएनन् । उमेर समूहमै सिमित भए ।

खेल्दा खेल्दै प्रशिक्षक कोर्ष गरेका उनले घरेलु फुटबलमा भने प्रशिक्षकको रुपमा सबैभन्दा ठूलो सफलता हात पारे दुई पटक शहिद स्मारक ए डिभिजन लिग जितेर । त्यो पनि लगातार जित्नु चानचुने कुरा थिएन ।

खेलाडी जीवनमा पनि घरेलु फुटबलमा उनी अब्बल नै थिए । सन् २००० को एसियाली यू-१६ च्याम्पियनसिप छनोट चरण पार गरेर खेलेका प्रवेश यू-२३ सम्म राष्ट्रिय टिममा रहे । तर राष्ट्रिय टिममा पर्न भने उनलाई संयोग जुरेन ।

अहिले उनै प्रवेश कटुवालले सबैभन्दा ठूलो अवसर पाएका छन् नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण दिने ।

नेपालले कात्तिक ३० गते काठमाडौंको दशरथ रंगशालमा पाकिस्तान विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ र त्यसका लागि प्रवेश नेपाली टिमको प्रशिक्षक नियुक्त भएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानसँगको खेल पक्का भएसँगै मंगलबार ४२ वर्षीय प्रवेशलाई प्रशिक्षक नियुक्त गर्दै नियुक्ति पत्र समेत दिइसकेको छ । प्रवेशले ३० सदस्यीय प्रारम्भिक सूची सार्वजनिक गर्दै प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् ।

३० सदस्यीय टिममा अनुभवी र युवा खेलाडीहरु समावेश गरिएको छ । मिडफिल्डर विशाल राई भने चोटका कारण टिममा नरहेको प्रशिक्षक प्रवेशको भनाइ छ ।

राष्ट्रिय टिम चुनौतीपूर्ण

राष्ट्रिय टिमको प्रशिक्षक महत्वका साथै छोटो तयारीकै बीच पाकिस्तानसँग खेल्नुपर्ने चुनौतीबारे प्रवेश जानकार छन् । त्यसैले उनले प्रशिक्षक नियुक्त भए लगत्तै मंगलबारै मिश्रित प्रतिक्रिया दिए ।

प्रवेशले एन्फा मिडियासँगको कुराकानीमा राष्ट्रिय टिम हेर्नु चुनौतीपूर्ण भए पनि आफू यो अवसरलाई गुमाउन नचाहेको बताए । ‘मलाई थाहा छ राष्ट्रिय टोली एक चुनौतीपूर्ण काम हो र समयको कमीका कारण पाकिस्तानविरुद्ध खेल्न पनि गाह्रो हुनेछ तर यो त्यस्तो चीज हो जुन म मिस गर्न चाहन्न । म यो काम अझ राम्रो गर्न चाहन्छु’, कटुवालले भने ।

प्रवेशले पाकिस्तान लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्के पनि त्यहाँका खेलाडी विदेशमा खेलेकोले पाकिस्तान विरुद्ध खेल्न कठिन हुने पनि बताए ।

‘हामीलाई थाहा छ पाकिस्तान वर्षौपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किरहेको छ तर तिनीहरूका खेलाडीहरू विदेशमा खेलिरहेका छन् । उनीहरू बलियो टोली हो र निश्चित रुपमा हामी तिनीहरूलाई हराउन चाहन्छौं,’ उनले भने ।

गत जुनमा मात्र फिफाको निलम्बनबाट छुटकार पाएको पाकिस्तानले भने नेपालसँगको खेलबाटै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ । पाकिस्तानले नेपालसँगको खेलका लागि नै एक महिना अघि देखि प्रशिक्षण गर्दै आएको छ । नेपालले भने जम्मा दुई साताको तयारीपछि नै खेल्नुपर्ने अवस्था छ ।

लगातार लिग च्याम्पियन प्रशिक्षक

राष्ट्रिय टिमबाट खेल्न नपाए पनि घरेलु फुटबलमा भने खेलाडीदेखि प्रशिक्षकसम्म नै उनले सफलता हात पारे ।

खेलाडीका रुपमा उनले २०६१ सालमा थ्रीस्टारबाट लिग जितेका थिए । त्यसपछि उनले मनाङ मर्स्याङ्दी, आरसीटी र मछिन्द्रबाट पनि खेले । उनले झापा ११ बाट राष्ट्रिय लिग खेले ।

एएफसी ए लाइसेन्स कोर्स पूरा गरेपछि उनले २०७६ को लिगमा ए डिभिजनका क्लबबाट प्रशिक्षक बन्न अफर आएको थियो । तर उनले आफूले पछिल्लो पटक लिग खेलेको मछिन्द्र नै रोजे ।

मछिन्द्रले लिग जित्ने महत्वाकांक्षासहित ११ जना नाम चलेका खेलाडी अनुबन्ध गर्दै प्रशिक्षकमा क्लबकै पूर्व खेलाडी प्रवेश कटुवाललाई भित्र्याएको थियो ।

कटुवालसँग त्यसअघि ए डिभिजन लिग खेलेको अनुभव मात्र थियो । ए लिगको प्रशिक्षण अनुभव थिएन । तर उनले मोफसलको झापा ११ को प्रशिक्षक भएर काम गरिसकेका थिए । एएफसी ए लाइसेन्स प्राप्त गरिसकेपछि प्रवेश कटुवालले ए डिभिजन लिगमा ठूलो अवसर पाए ।

स्टार खेलाडीको भिड भए पनि मछिन्द्र र प्रवेशले त्यसलाई राम्रोसँग व्यवस्थापन गर्दै उपाधि यात्रा तय गरेको थियो ।

प्रशिक्षकको पहिलो सिजन उनले मछिन्द्रमा एक अंक ऋणबाट लिग सुरु गरेका थिए र अन्तिम खेलमा आर्मीलाई १-० ले हराएर लिगको उपाधि दिलाएका थिए ।

त्यसपछि कोभिड १९ का कारण एक वर्ष लिग भएन र २०७८ मा मछिन्द्रले अझै केही नाम चलेका खेलाडी भित्र्याएर टिम बलियो बनायो । प्रशिक्षकमा प्रवेशले नै निरन्तरता पाए । अनी मछिन्द्रलाई अपराजित राख्दै लिगको च्याम्पियन बनाए । यस्तो उपलब्धि पाउने मछिन्द्र पाँचौ क्लब हो ।

यसअघि एनआरटी,  थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले यस्तै उपलब्धीसहित लिग जितेका थिए । मछिन्द्रले मैदान भित्र र मैदान बाहिर दुवैमा चुस्त व्यवस्थापन गर्दा टिमलाई च्याम्पियन बनाउने रणनीतिकार भने उनै प्रवेश थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?