+
+
विचार :

‘नो नट अगेन’ले निम्त्याएको परिदृश्य

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०७९ कात्तिक १८ गते १४:२३

स्वतन्त्र रूपमा ‘नो नट अगेन’ नामक अभियानको अभियन्ता को हो भन्ने स्वतन्त्र रूपमा पुष्टि नभए पनि उक्त अभियानले छेडेको ‘यक्ष प्रश्न’को चर्चा निर्वाचन नजिकिंदै जाँदा पुनः सतहमा उठ्न पुगेको छ ।

निर्वाचन आयोगको समेत खोजी विषय बन्न पुगेको उक्त अभियान उठानको समय ठिक–बेठिक आफ्नो ठाउँमा होला, तर, ‘नो नट अगेन’ जसप्रति लक्षित थियो उनीहरूका लागि भने उक्त अभियान नै निर्वाचन जित्नका निम्ति ‘वरदान’ सावित बन्ने निश्चितप्रायः देखिन्छ ।

अभियन्ताले उमेर, विचार र समयले ‘नेटो’ काटिसकेका ‘प्रम तथा पूर्वप्रम’हरू लक्षित उक्त अभियान समयअगावै चलाइदिनाले मुलुकको निर्वाचनमा दलहरू एक्लाएक्लै तथा स्वतन्त्रपूर्वक जाने आँट समेत गर्न सकेनन् ! अर्कातिर शारीरिक तथा मानसिक रूपमा गतिशून्यताका कारण ‘जड’ वस्तुमा रूपान्तरण भइसकेका ‘प्रौढ’ नेताहरू नै भावी प्रधानमन्त्रीका दावेदारका रूपमा जनताबीच अनुमोदनका लागि गएका छन् ।

त्यति मात्र होइन, युवा भनिएका शंकर पोखरेल, घनश्याम भूसाल, योगेश भट्टराईहरू परम्परागत राजनीति प्रणालीभन्दा माथि उठ्न नसकेकै कारण उनै प्रौढ नेतालाई ‘भावी प्रम’ त्यो पनि संस्थागत निर्णय गरेरै तथा कांग्रेस र माओवादी केन्द्रका ‘प्रौढ’ नेताले समेत आ–आप्mनो नेतृत्वमा भावी सरकार निर्माण हुने बताएयता फेरि पनि ‘युवा राजनीतिकर्मी’का भूमिका बारे एकपटक बहस गर्नै पर्ने भएको छ ।

‘नो नट अगेन’ नामक अभियान जुनस्तरमा र जुन कोणबाट चलाइए तापनि ‘प्रम तथा पूर्वप्रम’ लगभग सबैजसो ‘गठबन्धन’कै कारण निर्वाचित भएर आउने र आगामी दिनमा पनि राज्य संचालनको जिम्मेवारी उनीहरूकै हातमा जाने पूर्वानुमान लगाउन कठिन छैन । गठबन्धन गर्दा र निर्वाचनमा जाँदा विजय हासिल गर्ने मनसुवाले ‘नो नट अगेन’ले निशाना बनाउन खोजेका नेता क्षेत्र परिवर्तनदेखि ‘म्याच फिक्सिङ’को शैलीबाट गठबन्धन नामक ‘मत फिक्सिङ’ गरेकै कारण पनि ‘सुरक्षित जोन’ उन्मुख भइसकेका छन् ।

निर्वाचित भएर राज्य संचालनमा पुग्नै पर्ने युवालाई समेत एकातिर निर्वाचित हुने विषयले पिरोलेको छ भने अर्कातिर ‘टेस्टेड’ नेतालाई पन्छाएर मुलुक संचालनको ‘सीट’ मा पुग्ने विषय चुनौतीको पहाड भएर उभिएको छ । समर्पण गर्ने बाहेक ‘आँट’ गर्ने युवाका लागि असल नियतले तर, खराब समयमा सञ्चालित ‘नो नट अगेन’ नामक अभियान समेत अर्को चुनौती बन्न पुग्यो ।

चुनौती यस कारण पनि बन्न पुग्यो– दलहरू गठबन्धन विनै स्वतन्त्र रूपमा जनताबीच जाने वातावरण निर्माण भएको भए ‘नो नट अगेन’ले सार्थकता एकातिर पाउन सक्थ्यो भने अर्कातिर दलभित्रै पनि ‘युवा नेता’ले ‘प्रौढ नेता’लाई राजनीतिक रूपमा चुनौती दिने स्थिति सहज बन्न सक्थ्यो । तर, अब गठबन्धनले मूर्तता पाएकै कारण समय घर्किन पुग्यो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्ष नेता केपी शर्मा ओली दुवै पक्षबाट ‘स्वार्थ प्रेरित’ गठबन्धन भई नै सकेकाले यो बीचमा कुनै ठूलै चामत्कारिक घटना भएन भने निर्वाचन परिणाम पनि गठबन्धनकै आकार र रूपरेखा अनुसार आउने पूर्वानुमान लगाउन सकिन्छ ।

समयपूर्व नै चलाइएको कारण ‘नो नट अगेन’ अभियानको असफलता यही देखिन्छ । अभियानकै कारण मुलुकमा गठबन्धन भएर दलहरू दुई ध्रुवमा ध्रुवीकृत भएर निर्वाचनमा जाने बाध्यात्मक परिस्थिति समेत निर्माण हुन पुग्यो ।

गठबन्धन गर्दा र निर्वाचनमा जाँदा विजय हासिल गर्ने मनसुवाले ‘नो नट अगेन’ले निशाना बनाउन खोजेका नेता क्षेत्र परिवर्तनदेखि ‘म्याच फिक्सिङ’को शैलीबाट गठबन्धन नामक ‘मत फिक्सिङ’ गरेकै कारण पनि ‘सुरक्षित जोन’ उन्मुख भइसकेका छन् ।

यो अभियानको औचित्य यो चरणको लागि समाप्त भएको छ । अब मतदाताबीच मतदाताले नै प्रभावकारी रूपमा दबावमूलक हिसाबले लैजानै पर्ने विषय भनेको ‘हामीले उमेर तथा विचारले युवा सांसद छान्दै गर्दा, संसद भवनमा पुगेर तिमीहरूले युवा नेतालाई छान्छौ वा बा र दाइकै पछाडि दौडन्छौ’ भनेर प्रश्न गर्ने बेला आएको छ ।

मतदाताको घरदैलोमा मत माग्न आएका सांसद पदका प्रत्यासीलाई जनताले प्रश्न गर्न सक्नुपर्‍यो र भन्नुपर्‍यो – असीकै हाराहारीका नेतालाई ‘भावी प्रम’ भन्दै मत माग्न किन आयौ ? भोलि संसदीय दलको नेता छनोट गर्दा युवा रोज्छौ कि प्रौढ ? गठबन्धनका नाममा पुनः उमेरले असीकै हाराहारीमा पुगेका नेताकै प्रधानमन्त्रीत्वमा देशलाई घुमाउँछौ कि संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा झैं परिवर्तनको पक्षमा उभिन्छौ ?

यी र यस्ता प्रश्नको उत्तर मतदानपूर्व सिंगो देशले आशा गरेका युवा नेताहरू गगनकुमार थापादेखि योगेश भट्टराई हुँदै शक्ति बस्नेतसम्मसँग मतदाताले जवाफ खोज्ने बेला आएको छ ।

‘नो नट अगेन’ अभियान जुन नियतले चलाइएको भए पनि उक्त अभियानको उद्देश्य नै ‘ब्याकफायर’ हुन पुग्यो । यो अभियानको विषयलाई छाडौं, देशको समृद्धि र स्थिर सरकार तथा सुशासनको चाहना पूरा गर्नका निम्ति निर्वाचनरूपी महासंग्राममा सम्पूर्ण मतदाता सामेल भएर ‘योग्य प्रतिनिधि’ चयन गर्न जरूरी छ । त्यत्तिकै ‘हाकाहाकी’ र ‘हाताहाती’ आफ्ना घर, आँगनमा आउने प्रतिनिधिलाई ‘प्रौढ नेता’ छानेर राज्य संचालनको जिम्मेवारी सुम्पिदैनौं भन्ने प्रतिबद्धता गराउन उत्तिकै जरूरी छ ।

आज राजनीतिमा ‘बा’ र ‘दाइ’सँगै माग्ने प्रवृत्ति ज्यादा देखियो । राज्य संचालनको ‘सीट’मा अब हामी र हाम्रो पुस्ता बस्ने हो भन्ने कांग्रेस महामन्त्री तथा युवा नेता थापाको मनोबल प्रशंसायोग्य छ । यही स्तरको मनोबल माओवादी नेता शक्ति बस्नेतदेखि एमाले नेता योगेश भट्टराईसम्मले देखाउन सक्दा मात्र देशले काँचुली फेर्ने सम्भावना रहन सक्छ ।

प्रधानमन्त्री बन्नका लागि युवाले अवसर पाउँछन् भन्ने प्रश्नमा एक पूर्व प्रधानमन्त्रीले हालै मात्र जवाफ फर्काए– पार्टीको लिडर हुनसक्नेलाई प्रधानमन्त्री बन्न निषेध गरिएको छैन ।
यो व्यंग्यात्मक जवाफ अघि बुभ्mनै पर्ने हुन्छ– टिकट वितरणमा के–के गरियो ! भीम रावलदेखि घनश्याम भूसालहुँदै डा. मिनेन्द्र रिजालदेखि स्वर्णिम वाग्लेसम्मलाई पेलेरै जनताबीच पार्टीको प्रतिनिधि भएर जानबाट रोकिएको विषय सेलाएको छैन । यसैबाट थाहा लाग्छ – प्रौढ नेताको मनोविज्ञान ।

आजका मितिमा राजनीति, समृद्धि, सरकार, कतैप्रति पनि मतदाताको भरोसा रहेन । जनसंख्याको आधा भाग २५ वर्ष मुनिकाको छ । ‘फेक डकुमेन्ट’ बनाएरै भए पनि उनीहरू विदेशिन चाहन्छन् । युवाहरूको राजनीतिप्रति मोह देखिनुपर्दथ्यो । सँगै, उमेरले परिपक्व देउवा, ओलीदेखि प्रचण्ड, माधवकुमार नेपालसम्मले युवालाई अगाडि सारेर ‘रोलमोडल’ बनाउन मद्दत गर्न सक्नुपर्दथ्यो । दुर्भाग्य उनीहरू नै युवाका लागि बाधकको ‘पर्खाल’ बनेर उभिएका छन् ।

दलको विधान र पद्धति नै युवामैत्री देखिंदैन । ‘बा’ र ‘दाइ’ चिढ्याउँदा पदीय हैसियतमा पुग्ने सपना नै नदेखे हुने दलीय पद्धति विद्यमान छ । जसका कारण लोकतन्त्रका खातिर ‘कफन’ बाँधेर सडकमा उत्रने पुस्तामा समेत निराशाको बादल मडारिन पुगेको छ । यतिबेला अब सरकार संचालनको ‘सीट’मा म वा मेरो पुस्ता पुग्ने हो भन्ने कांग्रेस महामन्त्री थापाको भनाइमा समर्थन गरेर मात्र विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई उन्मुक्ति मिल्दैन ।

उनीहरू स्वयम् युवाकै पक्षमा माहोल निर्माण गर्नका निम्ति अग्रमोर्चामा देखा पर्नैपर्छ भने जनस्तरबाटै पनि भावी प्रम को ? कुन उमेर समूहको ? र उसको देश चलाउने एजेण्डा के ? या, युवा नेताका पनि नेता तिनै प्रौढ ? यी विषयको छिनोफानो मतदाताले मतदानपूर्व गर्न सक्दा मात्र मतको सदुपयोग हुने मात्र नभई समृद्धि र राजनीतिक स्थिरताको चाहना समेत पूरा हुने हो ।

समग्रमा, देउवा, केपी, नेपाल, दाहाल आदिले पार्टी हाँक्दा हिजोका मितिमा उनीहरू युवा नै थिए । ‘आफू नबासी उज्यालो हुन्न’ भन्ने मनोविज्ञानबाट अब उनीहरू बाहिर निस्कन जरूरी छ ।

भोलिको चाहना र उद्देश्य जे होला, आजका मितिमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाले नेतृ अष्टलक्ष्मी शाक्यले देखाएको ‘राजनीतिमा त्याग हुन्छ भन्ने बाटो’बाट धेरथोर भावी प्रम ‘म’ भन्ने प्रौढ नेताले सिक्न जरूरी छ । हिजो २०६२–६३ मा जन्मिएको ‘नाति पुस्ता’ आज देश चलाउनेहरूलाई नै विचारले च्यालेञ्ज गर्ने हैसियतमा पुगिसकेको छ, जुन पुस्ताको नजरअन्दाज गरिनु आफैंमा एउटा भूल हो ।

यहाँ सन्दर्भ ‘प्रौढ’ले ‘युवा’लाई राजनीतिमा अवसर दिनुपर्ने र युवाले प्रौढबाट लिनुपर्ने भन्ने विषय उठान गर्न खोजिएको होइन । युवाले भिजन प्रस्तुत गर्न सक्नुपर्‍यो, युवा ‘भिजन’का आधारमा हुने हो । कम उमेरका सबैसँग आशा राखिन्न ।

‘भिजन’ भएका युवा नेतालाई मतदाताले मतदान पूर्व निर्वाचन क्षेत्रमै प्रतिबद्धता रूपी कसी स्वरूप – हामी युवामध्येले देश चलाउने हो, हामी निर्वाचित भएर लामबद्ध हुँदै प्रौढका पक्षमा मतदान गर्ने छैनौं । देशमा राजनीतिक स्थिरताका पक्षमा उभिनेछौं ।

यो वा त्यो बहानामा सरकार निर्माण र ढाल्ने ‘म्युजिकल चेयर’को खेल खेल्ने छैनौं आदि विषयको शपथ गराउन जरूरी छ । अन्यथा पुनः देश प्रौढकै हातमा पुग्दा लोकतन्त्र र समृद्धिको सपनाको मात्र दुर्भाग्य नभई देशकै दुर्भाग्यको दिन टाढा रहन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?