+
+
स्थलगत : भैरहवा :

रूपन्देहीमा जे पनि जिन्दावाद !

रूपन्देही क्षेत्र ३ मा पर्ने शुद्धोधन गाउँपालिका–४ फर्साटिकर गाउँमा पुग्दा काठमाडौंबाट लादिने गठबन्धन र तालमेलले गाउँका कार्यकर्ता र समर्थकको मनोविज्ञानलाई कसरी विकृत बनाएको छ भन्ने एउटा दृश्य हेर्न पाइन्छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ कात्तिक १८ गते २१:०१

‘तालमेल जिन्दावाद !’

एमाले मतदाता फकाउन भाषणको सुरुमै यसो भने पूर्वगृहमन्त्री निरञ्जन थापाले । दर्शकदीर्घाबाट चाहिनेजति आवाज नपुगेको भन्दै उनले अझै जोड दिएर कराए, ‘तालमेल जिन्दावाद !’

कार्यकर्ताहरूले कन्दै कराए, ‘जिन्दावाद !’

पाँच वर्षअघि यिनै थापा फर्साटिकरमा कांग्रेस कार्यकर्तालाई भन्न आएका थिए, ‘तालमेल जिन्दावाद !’

उसैगरी : ‘आवाज पुगेन, तालमेल जिन्दावाद !’

रूपन्देही क्षेत्र ३ मा पर्ने शुद्धोधन गाउँपालिका–४ फर्साटिकर गाउँमा पुग्दा काठमाडौंबाट लादिने गठबन्धन र तालमेलले गाउँका कार्यकर्ता र समर्थकको मनोविज्ञानलाई कसरी विकृत बनाएको छ भन्ने एउटा दृश्य हेर्न पाइन्छ ।

फर्साटिकर गाउँमा दीपक बोहराका लागि मत माग्दै पूर्वगृहमन्त्री निरञ्जन थापा ।

बिहीबार दिउँसो त्यहाँ एउटा ठूलो सहभोज चल्दैथियो, एमाले, राप्रपा र जसपाको । खानाको क्याटरिंग खुल्नुअघि राप्रपा उम्मेदवार दीपक बोहरा गाडी चढेर निस्किए । उनको पछिपछि निस्किए, पञ्चायतकालका शक्तिमान खेलाडी तथा पूर्वगृहमन्त्री यिनै निरञ्जन थापा ।

अघिल्लो २०७४ को चुनावमा एमाले उम्मेदवार घनश्याम भूसालसँग रूपन्देहीको यो क्षेत्रमा पराजित बोहरालाई त्यसबेला कांग्रेसले उम्मेदवार बनाएको थियो । उनलाई योपल्ट एमालेले आफ्नो उम्मेदवार बनाएको छ । एमाले, राप्रपा, जसपाको राष्ट्रवादी गठबन्धनबाट उठेका बोहराले बहालवाला गृहमन्त्री बालकृष्ण खाँणसँग प्रतिस्पर्धा गर्दैछन् ।

‘तब त दीपक बोहरा यो क्षेत्रमा सबै पार्टीको तर्फबाट साझा उम्मेदवार बन्नुभएको छ’ फर्साटिकरमा भेटिएका थापाले अनलाइनखबरसँग भने, ‘उहाँलाई पाँच वर्षअघि कांग्रेसले विकासपुरुष, साझा नेता भन्दै भोट मागेको थियो, यसपालि अचानक कांग्रेसलाई के भो ? उहाँलाई नै सघाएको भए हुँदैनथ्यो ?’

थापाले आश्चर्य प्रकट गरेझैं हामीसँग कुरा गरे पनि खासमा त्यो आश्चर्य स्वयं राजनीतीकरण भइसकेको छ । थापाले कार्यकर्ताहरूसँग भने, ‘कांग्रेसका उम्मेदवार यो बीचमा समानुपातिकमा बसेर सांसद बनिसक्नुभयो । दीपक बोहरा त सांसद उठ्नुभएको मात्रै हो, जित्नुभएको थिएन । अनि कसरी उहाँ विकास नगर्ने मान्छे हो भनेर कांग्रेसले यो बेला आएर भन्न पाउँछ ?’

कार्यकर्ताको एउटा पक्षले मज्जाले थपडी बजायो । अर्को ठूलो पक्ष भने चुप बस्यो । एमालेका नेताहरू किरण नेपाल, तुलसी चौधरीले बोल्दा भीडले हल अटाई–नअटाई भयो । राप्रपाका नेताहरू बोल्ने क्रममा भने श्रोताहरू लाखापाखा लागे । यति हुँदाहुँदै पनि थापाले तितरबितर कार्यकर्ताको मन राख्न थपे, ‘यही तालमेलले खड्गप्रसाद ओलीजीलाई प्रधानमन्त्री बनाउँछ । बहालवाला गृहमन्त्री हराएपछिको स्थितिमा दीपक बोहरा पनि मन्त्री नै बन्ने हो ।’

उनले फेरि भने, ‘तालमेल जिन्दावाद ! हलोमा छाप हान्ने बेला ओलीजीको अनुहार सम्झेर मत दिनुहोला । राप्रपाका साथीहरूले पनि सूर्यमा छाप हान्ने बेला हाम्रा अध्यक्ष लिङ्देनजीको अनुहार सम्झेर मत दिनुहोला ।’

प्रिय पाठक, यतिन्जेल निरञ्जन थापाको कुरा चलिसक्यो । स्वयं उम्मेदवार दीपक बोहरा के भन्छन् त ? उनी कालोचश्मा लगाएर कार्यक्रममा जान्छन् । घाँटी बसेको कारण दिंदै यति बेला बोल्न सकिरहेका छैनन् । आँखामा पनि केही समस्या छ । उनी घरीघरी मञ्चमा निरञ्जन थापासँग कानेखुसी भने गर्र्दै रहे । बोहराका सहयोगीका अनुसार १५ मंसिरसम्म उनलाई नबोल्नु भनेका छन् रे, डाक्टरले ।

नयाँ संविधानले अंगीकार गरेको निर्वाचन प्रणालीले एउटै दललाई सामान्यतया बहुमत दिन कठिन छ । त्यसैले तालमेल र गठबन्धन एक किसिमले बाध्यकारी भइसकेको छ । तर यसलाई मतदाताको वैचारिक भावनाविरुद्ध प्रयोग गर्न नहुने तर्क बलशाली बन्दैछ ।

फर्साटिकरमा भेटिएका एमालेको भ्रातृ संगठनका एक नेताले भने, ‘सूर्यमा भोट हाल्दै आएका मतदातालाई हलोमा भोट देऊ भन्दा उल्टै गाली खाइरहेका छौं । जसका विरुद्ध लडियो, तिनैलाई भोट माग्दै आउने भनी आक्रोश पोख्छन् ।’ उनले केन्द्रमा नेताहरूले जे सहमति गरे पनि चुनावका बेला त्यो निर्णय मतदातामा लाद्न नहुने तर्क गरे । ‘तर यही कुरा हाम्रो पार्टीभित्र अहिले भन्ने अवस्था छैन, खासगरी चुनावका बेलामा त भन्नै भएन’, उनले अप्ठेरो मान्दै भने ।

एमाले नेता कार्यकर्तालाई जुन समस्या छ, राप्रपाका कार्यकर्तालाई पनि त्यही समस्या छ । पाँचै वर्षअघि त हो, उनीहरूले घनश्याम भूसालका विरुद्ध दीपक बोहरालाई भोट मागेको । अहिले भूसाल एमालेमा छैनन् । एमालेका मतदाता भने सूर्य चिह्नकै अर्को उम्मेदवारको खोजीमा ।

यस्तोमा अघिल्लो पटकको कांग्रेस छाडेर यसपल्ट एमाले किन त ? जवाफ दिने क्रममा राप्रपा नेताहरू २०७२ को नाकाबन्दीको प्रसंगमा पुग्छन्, जुन बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र राप्रपाका तत्कालीन अध्यक्ष कमल थापा परराष्ट्रमन्त्री थिए ।

राप्रपा नेताहरू यति बेला कमल थापाको नाम नलिएरै भन्छन्, त्यस बेला ओलीजी र हाम्रा पार्टीको तर्फबाट नेतृत्व गर्ने परराष्ट्रमन्त्रीले राष्ट्रिय स्वाधीनता जोगाउन जुन काम गर्नुभयो, त्यसै कारण हाम्रो गठबन्धन छ । अहिले पनि देश बचाउनुपर्ने अवस्था छ ।

दुई रोचक कुरा । पहिलो, २०७४ को चुनावमा राप्रपाले स्वाधीनता जोगाउनुपर्ने आवश्यकता कम ठान्यो । त्यसैले उसको कांग्रेससँग तालमेल भयो । जबकि ओलीले २०७४ को चुनावमा माओवादीसँग मिलेर झन्डै दुई तिहाइ सीट जित्दा उही राष्ट्रिय स्वाधीनताको कार्ड फालेका थिए । विरोधीलाई उनले लम्पसारवादी भनेका थिए ।

दोस्रो, राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष हारेसँगै कमल थापाले पार्टी परित्याग गरी राप्रपा नेपाल बनाए । उनलाई पनि एमालेले सूर्य चिह्नकै उम्मेदवार बनाएको छ । के उसो भए राष्ट्रिय स्वाधीनताका लागि दुई राप्रपासमेत एमालेले एकठाउँ ल्याउने परिस्थिति बनेको हो ? निरञ्जन थापासँग यसको जवाफ भने छैन । बरु आफूहरूले जनजाति समुदायको युवा नेतालाई पार्टी अध्यक्ष बनाएको सगर्व सुनाए ।

दीपक बोहरा हराउन अस्तिसम्म कस्सिएका एमाले, जसपा कार्यकर्तालाई पनि रातारात उनको पक्षमा तर्क बनाउनुपर्ने बाध्यता छ । जसपा नेता मनिकर कार्कीलगायत नेताहरूले दीपक बोहरा र एमाले रूपन्देही ३ ख का उम्मेदवार तुलसी चौधरीका पक्षमा मत मागे ।

तालमेल र गठबन्धनका लागि एमालेले यहाँ जति गाली पाए पनि यसपल्ट यसको सुरुवात भने कांग्रेस आफैंले गरेको हो । किनभने पाँच वर्षअघि आफूले देशव्यापी तालमेल गर्न नसक्दा, अनि प्रमुख प्रतिस्पर्धी एमालेले माओवादीसँग मिलेर देशैभरि आफूलाई कमजोर पारेको अनुभवबाट ‘शिक्षा’ लिंदै सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन बनाए ।

उनले गठबन्धन बनाउँदै गर्दा माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा साथमा लिए । एमाले सुरुमा ‘ढोडको टेको लगाएर नहिंड्ने, बरु एक्लै ठमठम हिंड्ने’ बताउँदै थियो । पछि, नेतृत्वलाई के लाग्यो कुन्नि ! अन्तिम घडीमा बन्यो, एमाले–राप्रपा तालमेल ।

सिद्धार्थनगर ४ पुग्दा गृहमन्त्री बालकृष्ण खाँण यस्तै अर्को भेलामा थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट क्षेत्रमा पर्ने टोलमा स्थानीयवासीलाई माओवादी, लोसपासहित पाँचदलीय गठबन्धन बनाएर किन कांग्रेस अघि बढ्यो भन्नेमा उनले तर्कहरू दिए ।

लोसपाबाट रूपन्देही–३ ‘क’ बाट उठेका सन्तोष पाण्डेलाई राखेर खाँणले भने, ‘लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि यो गठबन्धन बनेको हो । प्रतिनिधिसभा विघटन गर्ने, संविधानमाथि आक्रमण गर्ने काम कसैबाट हुन नसकोस् भनेर हामी अघि बढेका हौं । चुनाव सकिएपछि पनि हाम्रो गठबन्धन जारी रहन्छ ।’

सिद्धार्थनगर ४ मा मत माग्दै गृहमन्त्री बालकृष्ण खाँण।

खाँणले यसो भन्दैगर्दा यो बिर्से कि, लोसपा त्यही शक्ति हो, जसले ओलीको प्रतिनिधिसभा विघटनलाई सदर गरिदिएको थियो । उनीहरू विघटनपछि ओली क्याबिनेटमा मन्त्री बन्न समेत गएका थिए, जसलाई अदालतले बदर गरिदियो । केही साताअघिसम्म लोसपा स्वयं ओलीसँगै तालमेल गर्ने कोसिसमा थियो ।

लोसपाका नेताहरूले एमालेसँग गठबन्धन गर्न राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति नै बनाएका थिए । चुनावमा रातारात तर्कहरू बन्छन् र भत्किन्छन् । जस्तो कि साइकल चिह्न लिई चुनावमा उठेका लोसपाका प्रदेशसभा उम्मेदवार सन्तोष पाण्डेले सजिलै भनिदिए, ‘सूर्यको तापमा साइकल चलाउन गाह्रो भयो, त्यसैले रूखमा फेदमा गई बस्ने निर्णय गरें ।’

अब एकैछिन रूपन्देही–१ मा जाऔं, जहाँ ‘तालमेल जिन्दावाद’ झन् चर्को स्वरुपमा प्रकट हुँदैछ । नेताहरू घनश्याम भूसाल र छविलाल विश्वकर्माबीच प्रतिस्पर्धा हुनेवाला छ । दुई महिनाअघिसम्म उनीहरू एउटै पार्टीमा थिए । पाँचदलीय सत्ता गठबन्धनको साथ पाए पनि अहिले भूसालको उम्मेदवारी स्वतन्त्र हैसियतमा छ । त्यस अर्थमा भूसाललाई आफ्ना सहकर्मी कमरेडसँग लड्न कांग्रेस, माओवादीलगायत पाँचदलीय गठबन्धनका समर्थक फकाउनुपर्ने दबाव छ । विश्वकर्मालाई भूसाल गलत प्रमाणित गर्न तर्कहरू बनाउनुपर्ने बाध्यता छ ।

भूसाल गाउँमा पुगेर भन्दैछन्, ‘हामीले कोसिस गरे पनि एमालेको नेतृत्वले संविधानको रक्षा गर्न सकेन ।’ विश्वकर्मा भन्दैछन्, ‘ओली नेतृत्वमा मात्रै संविधानको रक्षा र विकास सम्भव छ ।’

तिलोत्तमा १५ को वडा कार्यालयमा मत माग्दै घनश्‍याम भूसाल।

यसै मेहरोमा हामी पुग्यौं मणिग्रामस्थित भूसालको घरमा, जहाँ त्रिभूज चिह्नको झण्डा र ब्यानर पोस्टरहरू राखिएका थिए । ‘त्रिभूज चिह्नमा भोट दिई घनश्याम भूसाललाई जिताऔं’ लेखिएका पोस्टरमा उनको तस्वी र पनि लगाइएको छ ।

तिलोत्तमा १५ को वडा कार्यालय उद्घाटन गर्दै भूसालले ओलीको असंवैधानिक कदमको विवेचना गर्दै त्यसको प्रतिरोध गर्न पाँचदलीय गठबन्धन बनेको पृष्ठभूमि कोट्याए । आफूले पाएको चिह्न त्रिभूजलाई समर्थकहरूबीच चिनाउन अतिरिक्त समय दिए ।

क्षेत्र बदलेर, अनि चिह्न बदलेर चुनावमा लड्दाको आफ्नै तनाव त्यहाँ व्यक्त भइरहेको थियो । उनले भने, ‘संविधानको रक्षा भएन भने जनताका अधिकारको रक्षा हुँदैन, ओलीले बिगारेको स्थितिलाई ट्रयाकमा ल्याउन मेरो जुन प्रयास रह्यो, त्यसलाई गठबन्धनले मूल्यांकन गर्दै उम्मेदवार बनाएको छ ।’

कांग्रेसका कार्यकर्ताहरूलाई कम्युनिस्ट पार्टीबाट लामो समय राजनीति गरेका, २०७४ साल बाहेक विगतमा रूपन्देही–१ बाट समेत सूर्य चिह्न लिई लडेका भूसालका पक्षमा भोट हाल्न लगाउन कति सजिलो पर्ला यसै भन्न सकिने अवस्था छैन । उनलाई यहाँ पाँचदलीय गठबन्धनसहित जनमुक्ति पार्टीले समेत सघाउने घोषणा गरेको छ ।

अब हामी पुग्यौं शिवपुर, जहाँ एमाले उम्मेदवार छविलाल विश्वकर्मा एमाले, राप्रपा, जसपाका कार्यकर्ताहरूसँग भेटिरहेका थिए । प्रदेशसभा रूपन्देही क्षेत्र नं १ क तर्फबाट राप्रपा उम्मेदवार थिए आशिष चौधरी । विश्वकर्मा यसअघि एमाले माओवादीको वाम गठबन्धनबाट यही क्षेत्रमा चुनाव जितेका नेता हुन् । उनलाई हराउन यिनै राप्रपाका उम्मेदवार परिचालित थिए ।

एमाले, राप्रपा, जसपाका कार्यकर्ताहरूसँग भेटेर मत माग्दै छविलाल विश्‍वकर्मा।

तर यी पनि विगतकै कुरा भए । तालमेल गरिसकेपछि त्यसैलाई सुहाउने गरी तर्कहरू बनाउनै पर्‍यो । विश्वकर्माले सूर्यको ताप, प्रकाशका अघिल्तिर स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नहुने, स्वतन्त्रले जितेमा देश अराजकता र अव्यवस्थातर्फ जाने तर्क गर्दैथिए । तिलोत्तमा–११ मा पर्ने शिवपुरमा उनले समर्थकहरूसँग भने, ‘स्वतन्त्र नामको हाँगो, न टेक्ने न समाउने । त्यसैले कसैले पनि यस्तो गल्ती गर्नुहुँदैन ।’

विश्वकर्माले राप्रपाका प्रदेशसभा उम्मेदवार चौधरीका लागि हलोमा भोट मागे । यहाँ भने कुनै विचार, सिद्धान्तको कुरा निस्केन । निस्कियो त केवल राष्ट्रियता र स्वाधीनताको । रूपन्देहीमा उम्मेदवारहरूलाई आफ्नै नजिकको साथीबाट डर छ । विगतका दुस्मनहरू सबैभन्दा नजिक छन् । त्यसलाई उनीहरूले तालमेल भनेर हिंडेका छन् । अब दुइटा डर छन् । पहिलो डर, भोट स्थानान्तरण होला त ?

हामीले यो प्रश्न प्रत्येक उम्मेदवारसँग सोध्यौं । उनीहरूसँग स्पष्ट जवाफ छैन । हरेकले हरेकलाई विश्वास गर्नुपर्ने, तर यथार्थमा डराइरहेको दृश्य देखिन्छ यहाँ । दोस्रो डर, बागी र अन्तर्घात । उनीहरूले राष्ट्रियता भने पनि, संविधानको रक्षा भने पनि चुनावमा सबैभन्दा चर्को डर बागीको छ ।

विश्वकर्माविरुद्ध एमालेकै नेता टीकाराम चापागाईंले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् । अरू क्षेत्रमा पनि बागी र अन्तर्घातका सिलसिला जारी छन् । यस्तोमा आफ्नै सहकर्मीहरूबाट अन्तर्घात हुने डरैडरमा उम्मेदवार हिंडिरहेका छन् ।

मतदाताको न्यूनतम राजनीतिक चेतनालाई बेवास्ता गर्दै दलहरूले खडा गरेका गठबन्धन र तालमेलले राजनीतिक मान्यताका सीमारेखाहरू तोडिसकेका छन् भन्ने दृष्टान्त हामीले रूपन्देहीमा देख्यौं ।

कुनै पनि हालतमा चुनाव जित्ने ध्याउन्नमा लागेका यी दल र उम्मेदवारका रंगीचंगी तालमेलले मतदातालाई कत्तिको चित्त बुझाउन सक्ला, त्यो हेर्न दुई साता कुर्नुपर्नेछ । चिन्ताको विषय भने अर्कै छ ।

पाँच वर्षयता उनीहरूले आफ्ना कार्यकर्तालाई जो पायो त्यसैको नाममा जिन्दावाद भन्न लगाएका छन् । सियारी–७ बर्दहवाकी स्थानीय विष्णुदेवी भट्टराईले भनिन्, ‘दलको नाम र चिह्न यहाँ कुनै कामको कुरा भएन । यसपटक तपाईंको चिह्नमा होइन, अन्तै हान्नुपर्ने भयो भन्दै पार्टीका मान्छे आएका आयै छन् । मलाई त्यसरी भोट हाल्न जाँगरै छैन ।’

 तस्वीरहरु: शंकर गिरी 

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?