+
+
पुस्तक–चर्चा :

प्रारब्ध र कर्मयोगले जेलिएको जीवनलीला “कृष्ण”

जयदेव गौतम जयदेव गौतम
२०७९ कात्तिक १९ गते ७:२९

पुराणहरूले दैवीकरण र दानवीकरण गरेका पात्रहरूलाई मानवीकरण गर्ने सतत् प्रयासको प्रतिफलका रूपमा देखिएको बृहत् उपन्यास हो, ‘‘कृष्ण’’ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा प्राध्यापनरत पाल्पावासी शङ्करप्रसाद गैरेले सिर्जना गरेको यो उनको दोस्रो उपन्यास हो । यसअघि, पछिल्ला करिब पन्ध्र वर्षदेखि कविता, गजल, कथा, समालोचना, अनुसन्धान र भाषा–विज्ञानको क्षेत्रमा निरन्तर कलम चलाउनेँदै आएका उनको पहिलो उपन्यासका रूपमा ‘उज्यालोतिर’ (विसं.२०७४) प्रकाशित छ । पछिल्लोपटक उनको अनुसन्धानमूलक कृति ‘साहित्यमा बगनासकाली’ (विसं. २०७९) बजारमा आएको छ ।

आफ्नो नयाँ उपन्यास ‘‘कृष्ण’’ का सन्दर्भमा लेखक गैरेले भनेका छन्, “भन्न खोजेको कुरा मानव र दिव्य मानवबीचको अन्तर हो । प्रेमको उच्चता हो, त्याग हो, समर्पण हो र स्वाभिमान हो । सायद मलाई यो कथा रोज्न र यी कुराहरू भन्न अन्तश्चेतनामा अवस्थित ईश्वरले प्रेरित ग¥यो ।”

रमाइलो के महसुस हुन्छ भने लेखक आफैँ अन्तश्चेतनामा अवस्थित ईश्वरद्वारा प्रेरित भएका छन् ! अर्थात्, “ईश्वर” लाई “मानव” वा “दिव्यमानव” बनाउने प्रयासमा लेखक आफैँ ईश्वरको शरण परेका छन् ! यही कुराको छाप उपन्यासमा सर्वत्र पाइन्छ । खासगरी कृष्ण र उनका दाइ बलरामले सम्पादन गर्ने वा गराउने तमाम क्रियाकलापमा उनीहरूमा देखिने अमानवीय शक्ति, अद्भुत क्षमता, दैवीय सत्ताले ओतप्रोत देखिने चामत्कारिक गुण, विलक्षणता एवं स्वभाव आदिले कतै पनि उनीहरूलाई सामान्य वा आम मानिस बोध गराउँदैनन् । उपन्यासकार स्वयंले पनि कृष्णको जन्मलाई ‘युगपुरुष’ को जन्म भएको संकेत गरेका छन् (पृ.७५–७६) ।

पौराणिक मिथकलाई आधार बनाइएको उपन्यास ‘‘कृष्ण’’ को कथानक सुरु हुन्छ, पहिलो अध्याय ‘कथारम्भ’ बाट, जसमा लेखकले श्वैरकल्पनाको मीठो प्रयोग गर्दै अष्ट–चिरञ्जीवीमध्येका एक र अशोभनीय एवं अस्वस्थकर व्यवहारका कारण श्रीकृष्णद्वारा अभिशापित अश्वत्थामाका कुनै पछिल्लो पुस्ताका वृद्ध प्रतिनिधिलाई कुनै गुफामा भेटेको र उनै वृद्धले सुनाएको कथा जस्तो गरी वर्णन अगाडि बढाएका छन् । तर पठन अगाडि बढ्दै जाँदा त्यही कल्पना र श्वैरकल्पना चाहिँ भेटिँदैन । उपन्यासको पटाक्षेप हुन्छ ‘कथान्त’ नामाकरण भएको अन्तिम अध्यायबाट । यो बीचमा अर्को अध्याय ‘अपदस्थ’ देखि अगाडि बढेको उपन्यासमा ‘युगपुरुष’, ‘गोकुल’, ‘लीला’, ‘प्रणय’, ‘सङ्गठन’, ‘प्रेमोत्कर्ष’, ‘राजनीति’, ‘वधशाला’, ‘गुरुकुल’, ‘परराष्ट्र सम्बन्ध’, ‘विवाह’, ‘लक्ष्यभेदन’, ‘परीक्षा’, ‘हस्तिनापुर’, ‘मित्रता’, ‘मित्र मिलन’, ‘ईष्र्या’, ‘शान्तिदूत’, ‘युद्ध’, ‘कुरुक्षेत्र’ र ‘निष्कर्ष’ समेत सानाठूला गरी जम्मा २४ अध्याय छन् ।

उपन्यासमा सबैभन्दा लामो अध्याय ‘सङ्गठन’ बनेको छ जुन ७७ पृष्ठसम्म विस्तारिएको छ । यस अध्यायमा उपन्यासका नायक कृष्ण र उनका दाइ बलराम भर्खरै गोकुलबाट वृन्दावन बसाइँ सरेपछि मथुराका अत्याचारी राजा कंसविरुद्ध लड्नका लागि स्थानीय जनहरूलाई युद्धकलाको तालिम दिने र अन्य तयारीमा व्यस्त भएको प्रसङ्ग उल्लेख छ । त्यससँगै राधा र कृष्णबीचको प्रेम–सन्दर्भ पनि विस्तृत रूपमा यसै अध्यायले उजागर गरेको छ । त्यसपछिको लामो अध्याय ‘कुरुक्षेत्र’ हो जुन ५४ पृष्ठसम्म फिँजारिएको छ र जसले महाभारतको १८ दिन लामो युद्धको कथा भनेको छ ।

औपचारिक कथा कृष्णका मावली हजुरबुबा महाराज उग्रसेनको दरबारबाट थालनी हँुदै अगाडि बढ्दै–बढ्दै कुनै व्याधाको तीर दाहिने पैतालामा लागेर एक विशाल वृक्षको छायामुनि पल्टिरहेका कृष्णको मृत्युमा पुगेर टुङ्गिन्छ ।

उपन्यासमा देखाइएको एक प्रमुख प्रसङ्ग राधा र कृष्णबीचको प्रेम उच्च छ, उदात्त छ । उनीहरूको प्रेम आदर्श, निःस्वार्थता, त्याग र बलिदानमा आधारित छ । राधाले पहिलोपटक कृष्णलाई भेट्दा नै उनलाई ‘श्याम’ भनेर सम्बोधन गर्छिन् र एउटा माला अनि मयूरपङ्ख उपहार दिन्छिन्, जसलाई कृष्णले आजीवन धारण गर्दछन् । राधाले एकपटक कृष्णलाई दिएको पत्रमा लेख्छिन्, “यतिबेला मलाई लागिरहेछ तिमी मेरो प्रेम हौ र म तिम्रो पे्रम । एउटा यस्तो पे्रम जुन कहिल्यै समाप्त हँुदैन । हो, श्याम । मलाई यस्तो लाग्दैछ, म समाप्त भएर जाउँला, एकदिन तिमी पनि समाप्त हुन्छौ तर हाम्रो प्रेम युगौंसम्म रहनेछ । मेरो मनमा यस्तो भाव खै कहाँबाट विकसित भयो, म भन्न सक्दिनँ श्याम ।…”(पृ.१८८) ।

अर्को एक ठाउँ राधाले भनेकी छन्, “पे्रम भनेको त्याग हो । जहाँ प्राप्तिको अभिलाषा हुन्छ, त्यहाँ प्रेम हँुदैन । त्यो त स्वार्थ हुन्छ । … प्रेममा सहज रूपमा प्राप्त भए ग्रहण गर्न सक्नुपर्छ र त्याग्नु परे पनि सहज रूपमा त्याग्न सक्नुपर्दछ । प्रेममा आफ्नोभन्दा अरूको भलो चिताउनुपर्छ र त्यही प्रेम अमर हुन्छ, जीवन्त रहन्छ ।” ( पृ.२१३) ।

राधा र कृष्ण दुवैजना एकअर्कालाई हृदयको गहिराइबाट प्रेम गर्छन् तर “सबै कुरा नियतिबाट पहिलेदेखि नै निर्दिष्ट छन्” भन्ने मान्यता व्यक्त गर्ने कृष्णको विवाह भने राधासित कहिल्यै हुँदैन बरु विभिन्न परिस्थितिबीच अन्य तीनजना युवती क्रमशः रुक्मिणी, जाम्बवती र सत्यमाभासित हुन्छ । त्यसो भए पनि र आफू नर्क नै जानु परे पनि कृष्णको हितका लागि जे सुकै गर्न सधैँ तत्पर रहने राधाको समर्पण अनौठो छ र त्यसका अगाडि कृष्ण–पत्नीहरू नतमस्तक हुन्छन् । तर राधा भने आजीवन अविवाहित बस्छिन् । तर उनको उत्तराद्र्ध र शेष जीवनबारे उपन्यास पूर्णतः मौन छ ।

यसैगरी सुदामा र कृष्णबीचको मित्रता अनि सुदामाप्रति कृष्णको सादर स्नेह पठनीय छ । कृष्णको मित्र–प्रेम कस्तो छ भने सुदामाका आँसु कृष्णको आँखामा अटाउन पुगेका हुन्छन् । यद्यपि, स्वाभिमानी ब्राह्मण सुदामाको भक्तियोग र ज्ञानयोग तथा कृष्णकै कर्मयोगबारे पनि अत्यल्प चर्चा मात्र छ । यथार्थमा उपन्यासले त्यसको अलि सविस्तार चर्चाको माग गर्दछ ।

यहाँनिर कृष्णको एउटा अद्भुत स्वभाव पनि उद्बोधित हुन्छ– केही समय कृष्णको संगत गरेको मानिस बिछोडपछि झन्झन् कृष्णप्रेमी र कृष्णभक्त बन्दै गएको हुन्छ । यही कारण हुनुपर्दछ, कृष्णका नजिक रहेका वा उनको संगत गरेका देवकी, नन्दलाल, यशोदा, वसुदेव, सुदामा, गोकुल, वृंदावन, द्वाराका, राधा, रुक्मिणी, सत्यभामा, जाम्बवती सबैजना अजरअमर भए ।

उपन्यासमा कृष्णको माध्यमबाट भन्न खोजिएको छ–जीवन गतिशील छ र यसमा कहिल्यै पूर्णविराम लाग्दैन । जन्म र मरण त सृष्टिको नियम नै हो ।

यस्तै अर्को एक ठाउँमा कृष्णको भनाइ छ, “यो मानवीय स्वभाव हो प्रियव्रत । मान्छे आफ्नो सानो कमजोरी र अभावलाई ठूलो ठान्छ र अर्काको ठूलोभन्दा ठूलो समस्यालाई पनि झिनोमसिनो ।” (पृ.२६९) ।

सबैले जानेकै तथ्य हो, महाभारत आफैँमा एक अत्यन्त लोकप्रिय महाकाव्यात्मक पौराणिक आख्यान हो र ‘‘कृष्ण’’ उपन्यासले त्यसै आख्यानभित्र थुनिएका अनेकानेक पात्रहरूलाई एकपटक फेरि नेपाली पाठकसामु जीवन्त बनाइदिएको छ । त्यसकारण यस उपन्यासभित्र जीवन छ । जीवनका विविध आयाम छन् र प्रत्येक प्राणीले जीवनमा भोग्नुपर्ने तमाम उहापोह एवं आरोह–अवरोहका विशद् शृङ्खला छन् ।

त्यसमाथि उपन्यासका महानायक श्रीकृष्णका मानवीय तर ‘सुपर पावरयुक्त क्षमता’ ले भरिएका रमाइला, रोचक एवं रोमाञ्चक क्रियाकलापले पठनलाई कुनै बेला पनि बोझिलो हुन दिँदैनन् । शिशु कृष्णलाई मार्न हिँडेकी पूतना कृष्णको समिप पुगेको केहीबेरमा चामात्कारिक किसिमबाट आफैँ मर्नु, कंसकी महत्वाकांक्षी बहिनी पूतना मात्र नभएर कंसले पठाएका तमाम डरलाग्दा एवं महाबलशाली राक्षसगण बालक कृष्ण–बलरामका हातबाट मारिँदै जानु, मथुरामा ती दुई भाइले शक्तिशाली पहलमानहरूका साथै मदमत्त विशाल हात्तीलाई सहजै मार्नु र त्यहीँ अन्ततः उनै बालक कृष्णले आफ्ना अत्याचारी मामा कंसलाई मथुरावासीका अगाडि मार्नु आदि प्रसङ्ग उल्लेख गर्न मिल्छ ।

यसैगरी कृष्णलाई अनैतिक एवं नारीपरस्त भन्दै उनलाई बदनाम र महिमाहीन गर्न खोज्ने स्वभाव बोकेका मानिसहरूलाई नाजवाफ पार्दै उपन्यासकारले कृष्णलाई नारीको उच्च सम्मान एवं सुरक्षा गर्न कटिबद्ध व्यक्तित्वका रूपमा चित्रण गरेका छन् । त्यसका लागि उपन्यासकारले सरोवरमा निर्वस्त्र नुहाइरहेका युवती र कृष्णले उनीहरूका वस्त्र लुकाइदिएको प्रसङ्ग उल्लेख गरेका छन् । त्यसो गरेर कृष्णले ती युवतीहरूलाई खुल्ला सरोवर वा खुल्ला स्थानमा नग्न नुहाउन नहुने पाठ सम्झाएका हुन्छन् । उल्लिखितसमेत तमाम सन्दर्भ र प्रसङ्गहरूले प्रस्ट औँल्याउँछन्– ‘‘कृष्ण’’ सामान्य बाजारु उपन्यास होइन, एउटा गम्भीर एवं अनुपम किताब हो ।

उपन्यासकारले तीन वर्षभन्दा केही लामो प्रयास र अथक परिश्रमपछि मात्र यो उपन्यास लेखिसिद्ध्याएका हुन् । लेखनक्रममा उनले महाभारत र भागवतका अतिरिक्त विष्णुपुराण र पद्मपुराण जस्ता पौराणिक ग्रन्थ अनि नेपाली उपन्यास ‘द्वन्द्वको अवसान’, ‘मोदीआइन’ र ‘राधा’ आदिका साथै कृष्णसम्बन्धी पछिल्लो समयमा प्रकाशित नेपाली र हिन्दी साहित्यका थुप्रै कथा–आख्यानहरूको अध्ययन एवं अनुशीलन गरेको उल्लेख गरेका छन् । यो तथ्यले पनि प्रमाणित गर्दछ, ‘‘कृष्ण’’ उपन्यास आफैँमा एक किसिमको शोधग्रन्थ पनि हो जसले एक लाखभन्दा बढी श्लोक भएको महाभारत मूलग्रन्थ पढ्न नसक्नेहरूलाई छोटकरीमा भए पनि यो महागाथा पढ्न, बुझ्न र सिक्न प्रेरित गर्ने क्षमता राख्दछ । अध्ययनप्रेमीका लागि यो एउटा राम्रो खुराक हुनसक्ने तथ्यमा दुई मत हुन सक्दैन ।

यसो भए तापनि महाभारत–कुरुक्षेत्रबारे जान्ने–बुभ्mनेहरूका लागि उपन्यास ‘‘कृष्ण’’ ले केही नयाँ तथ्य भने दिन सकेको छैन । पहिले कंसको निरन्तर निशृंश व्यवहार र पछि शकुनीको धूर्त्याइँ एवं दुर्योधनको अहंकारका छिटपुट प्रसङ्गबाहेक उपन्यासमा रोमाञ्चक द्वन्द्व छैन, घृणास्पद कुटिलता र जगरका रौँ ठड्याउने क्रूरताको लेपन छैन, बरु छ त एकोहोरो कथानक र सपाट वर्णन मात्र ।

सायद सम्पादनको क्रममा यथेष्ट ध्यान पुग्न नसकेकाले हुनुपर्छ, केही नमिल्दा प्रसङ्गसित पनि जम्काभेट हुन पुग्दछ, जस्तो– नवजात कृष्णलाई लिएर वसुदेव गोकुल आइपुग्नै लाग्दा सुत्केरी–व्यथा लागेकी यशोदाले शिशुलाई जन्म दिन्छिन्, त्यसलाई पहिला ‘बालक’भनिएको छ तर लगत्तै केही पंक्तिपछि ‘बालिका’ भनी सम्बोधन गरिएको छ (पृ.७८) । … कृष्ण चार महिनाको हुँदा चार खुट्टाले टेकेर दौडिन थालेका थिए लेखिएको छ (पृ.१०३) । यस्तै अर्को एक ठाउँमा भनिएको छ… केही क्षणपछि पानी कोखिलामा हालेर यशोदा घरभित्र पस्दै थिइन् (पृ.१२९) । ठाउँठाउँमा यस्ता कतिपय उदाहरण छन् ।

यस्तै एक प्रसङ्गमा– गुरु द्रोणाचार्य, पितामह भीष्मलगायतले अर्जुनसँग प्रतिस्पर्धा गर्नबाट कर्णलाई रोक्दा स्पष्टीकरण माग्ने दुर्योधन नै थियो (पृ.४२६) । (त्यो कुन प्रतिस्पर्धा हो भन्नेबारे अन्यत्र कतै उल्लेख नै छैन) ।

महाभारत युद्धका कतिपय प्रसङ्गहरू पनि प्रश्न उठाउनुपर्ने किसिमका छन्–

– जुवामा पहिले युधिष्ठिरले आफूलाई बाजीमा राखेको र त्यो दाउ हारेपछि भीमले आफूहरू चार भाइलाई पनि दाउमा राख्न आग्रह गरेपछि युधिष्ठिरले त्यो दाउ पनि खेलेको र हारेको प्रसङ्ग (पृ.४७५) ।

– पासा जुवामा पाँच पाण्डव हारिसकेको समाचार दासीबाट सुनेपछि द्रौपदीले आपूmलाई पनि दाउमा थाप्न स्वीकृति दिएको प्रसङ्ग (पृ.४७६) ।

– महाभारतभित्रको एउटा प्रमुख मुद्दा चिरहरण प्रसङ्गको उल्लेख नै नभएको प्रसङ्ग । बाह्र वर्षको वनवास र एक वर्षको गुप्तवासको धृतराष्ट्र प्रस्तावलाई सर्वप्रथम द्रौपदीले स्वीकार गरेको प्रसङ्ग (पृ.४७९) ।

– भीम एक–एक गर्दै दुर्योधनका भाइहरूको हत्या गरिरहेका थिए र दुर्योधनका अन्ठानब्बे भाइहरूको एकै दिन अन्त्य भयो भन्ने प्रसङ्ग । (यथार्थ त्यस्तो नभएर दुर्योधनका आठ भाइहरू युद्धको चौथो दिन, सत्र भाइहरूको आठौं दिन र त्यसपछि पनि क्रमशः दिनहुँ मारिँदै गएर अन्तिम अर्थात् अठारौं दिन स्वयं दुर्योधन मारिएको हो) ।

– गान्धार राजकुमार शिखण्डी लेखिएको प्रसङ्ग (यथार्थमा शिखण्डी राजा द्रुपदका पुत्र र पाञ्चाल देशका राजकुमार थिए) ।

– महाभारत युद्धको चौथो दिन भीमपुत्र घटोत्कच विनाशकारी पहिरो बनेर कौरव सेनामा प्रलय मच्चाइरहेको थियो… । कर्णले घटोत्कचलाई मार्न ब्रम्हास्त्र प्रयोग गरेको आदि प्रसङ्ग ।

(यथार्थमा घटोत्कच महाभारतमा सुरुदेखि सहभागी भएको नभई चौधौं दिन द्रोणाचार्यको हत्यापश्चात् कौरव पक्षबाट रात्रि–युद्ध गर्दै राक्षस–योद्धा अलम्बसलाई मैदानमा उतारेपछि कृष्णको सल्लाहमा भीमले आह्वान गरेपछि घटोत्कच युद्धमा सहभागी भएको र कौरव सेनामा हाहाकार मच्चाउँदै सर्वत्र भय सिर्जना गरिरहेको बेला दुर्योधनको आग्रहमा कर्णले आफूसित भएको दिव्यास्त्र ‘वासवी शक्ति’ को प्रयोग गरेपछि घटोत्कचको मृत्यु हुन्छ) । यस्तै अन्य सन्दर्भ पनि छन् प्रश्न उठाउन मिल्ने ।

श्रीकृष्णका विविध पक्षबारे जान्नेसुन्नेहरूलाई थाहा छ– कृष्णका अनेक नाम छन् (ती सबै त उपन्यासमा उल्लेख छैनन्) । उनका त कन्हैया, मनोहर, श्याम, मनमोहन, माधव, मुरलीधर, केशव, गोविन्द, जनार्दन, मुरारी, वासुदेव, नन्दलाला, यशोदानन्दन, देवकीनन्दन, राधेश्याम, पार्थसारथी आदिआदि अनेक नाम छन् ।

कृष्णको वर्ण कालो छ, उनी दुनियाँको दुःख आपूmले हरण गर्दछन् । कालो रंगमाथि अरू कुनै रंगको प्रभाव पर्दैन र कृष्णले सबै रंगको प्रभाव आफूभित्र समेटेका छन् । त्यसकारण पनि उनी काला छन्, श्याम रंगका छन् । निष्काम कर्मयोगी उनी नियति वा प्रारब्धलाई सबै कुराको आधार पनि मान्दछन् । उपन्यासमा, देह त्याग गर्नुभन्दा पहिले कृष्णले आफूमाथि तीर चलाउने सिकारीसित बोलेका छन् । कृष्णका अन्तिम शब्दहरू हुन्, “तिमी निमित्त हौ व्याधा, निमित्त । यो पूर्व निर्धारित थियो । तिमी विधिको विधानबाट निर्देशित छौ । त्यसकारण क्षमा माग्नुपर्ने औचित्य छैन ।”

उपन्यासमा प्रयुक्त कागज र छपाइ सुन्दर छ भने भाषा–शैली सटीक, सुललित, प्राञ्जल र मर्मस्पर्शी छ । ठूला, जटिल र अबोध्य शब्द अनि लामा–लामा एवं दुर्बोध्य पंक्तिहरूको प्रयोग लगभग छैन जसले गर्दा भाषा नदी जसरी बेरोकटोक बगेको छ । यसले गर्दा समेत भाषा आफुनै किसिमको मिठासले भरिएको छ ।

त्यसो त उपन्यासकारले पढेको हिन्दीभाषाको छाप पनि बेलाबखत प्रस्ट देखिन्छ जतिबेला उनी माखन, मकरा, मैया, सैतान, आसपास, हाय राम, हाय कन्हैया, सौगन्ध, चाँद आदि जस्ता शब्दहरू ठाउँठाउँमा प्रयोग गरिरहेका हुन्छन् । यसो भए तापनि उपन्यासमा प्रयुक्त भाषिक आभाले गर्दा एकपटक होइन, पटकपटक पढे पनि मन बोझिल बनाउँदैन ।

यद्यपि महाभारत युद्ध सुरु हुनुअघि कृष्णले अर्जुनलाई सुनाएको गीतासारको भाषा भने यही किसिमको छैन । गीतासार लेख्ने क्रममा उपन्यासकार हतारिएको आभाष हुन्छ, त्यसकारण त्यो निकै संक्षिप्तमा मात्र उल्लेख मात्र गरेका छन् । लाग्छ, समष्टिलाई वेष्टिमा समाहित गर्ने प्रयासमा उपन्यासकार वर्णन–शृङ्खलामा यताउति रुमल्लिएका छन् ।

यस्तो प्रतीत हुन्छ, मानौं समग्रमा ५६५ पृष्ठ लामो किताबका पानाहरूभन्दा बाहिर सुन्न नमिल्ने कृष्ण–बाँसुरी–धुनले उपन्यासकार शंकर गैरेलाई पनि मुग्ध तुल्याइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?