
काठमाडौं । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् । अष्ट्रेलियामा रहेका दूतराजले आज (मंगलबार) एकाबिहानै लेखेका छन्, ‘म केहीछिन हराउनु म मर्नु हैन नि !’
आफू कहिलेकाहीं त्यत्तिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् ।
‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘यसलाई रोग भनु या मेरो विशेषता ?’ यही कारणले पनि आफूले आफैंलाई दु:खी बनाउने गरेको उनको भनाइ छ ।
उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘उनले अगाडि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो- सानो दु:खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू !’
गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई ?’
अहिले गायक दूतराज सांगीतिक कार्यक्रममा अष्ट्रेलियामा रहेका छन् । उनी अष्ट्रेलियामै रहेका बेला होटेलमै आत्महत्या प्रयास गरेको समाचार आएको थियो ।
प्रतिक्रिया 4