+
+
मोरङ-२ :

सुजाता भन्छिन् : गिरिजाकी छोरी हुँ, ऋषिकेशको आरोप : पाहुना हुन्

हरि अधिकारी हरि अधिकारी
२०७९ कात्तिक २२ गते १९:१७

२२ कात्तिक, विराटनगर । मोरङ-२ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार सुजाता कोइराला हिजोआज मतदाता भेट्न घरदैलोमा छिन् । घरदैलोका क्रममा उनले नछुटाउने नाम हो गिरिजाप्रसाद कोइराला ।

सुजाताका बाबु नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले २०४८, ०५१ र ०५६ मा मोरङ–१ बाट चुनाव जितेका थिए, त्यतिबेलाको मोरङ–१ हाल मोरङ–२ मा पर्छ । त्यसैले सुजाताले आफू गिरिजाको उत्तराधिकारी बनेर आएको बताउने गरेकी छन् ।

सुजाताले बुबाले सुरु गरेका काम पूरा गर्ने र नयाँ योजना ल्याउने आश्वासन दिने गरेकी छन् । ‘क्षेत्र नम्बर २ मा बुबाले एउटा पूर्वाधार बनाइदिनुभयो, विकासका सबै योजना पूरा भइसकेका छैनन्’, मतदातासँग उनले भन्ने गरेकी छन्, ‘अब हामी आएका छौं, हामी पूरा गर्छाैं ।’

मोरङको यो क्षेत्र झापासँग जोडिएको छ । रतुवा खोला पारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाव क्षेत्र झापा–५ पर्छ । रतुवा खोलामा निर्माणाधीन पुल तयार नभएका कारण दुबै जिल्लाका वासिन्दाले बर्षायाममा डुङ्गाबाट वारपार गर्नुपर्छ भने हिउँदमा पैसा तिरेर बाँसको पुल तर्नुपर्छ ।

रतुवामाई नगरपालिका–३ का व्यापारी पत्लु मियाँ पुल नबन्दा पैसा तिरेर खोला वारपार गुर्नपरेको दुखेसो गर्छन् । ‘हिँडेर सकिदैन, वारपार गर्ने काम परिरहन्छ’, उनले भने, ‘पुल त १० वर्षदेखि जस्ताको तस्तै छ ।’

उनका अनुसार रतुवा खोलामा भारतको फुलबारी भन्ने ठाउँमा र मोरङमा एकै पटक पुल निर्माण सुरु भएको हो । ‘भारतको पुल पुरानो भइसक्यो, हाम्रो आधा मात्रै बनेको छ’, पत्लुले भने, ‘बनाउँछन् भन्ने सुनेको धेरै भयो, तर जस्ताको तस्तै छ ।’

यो निर्वाचन क्षेत्रमा पर्ने मोरङको दक्षिणी क्षेत्रका अधिकांश सडक कच्ची छन् । सुनबर्सी नगरपालिका–७ चैतास्थित चैतेश्वर शिवमन्दिर परिसरमा भेला भएका सर्वसाधारणलाई सुजाताले सडक कालोपत्रे गर्ने आश्वासन दिइन् । सुजातासँगै मोरङ–२ (क) बाट प्रदेशसभाका उम्मेदवार गणेश उप्रेती पनि घरदैलोमा छन् ।

गठबन्धनका उम्मेदवार एक अर्कालाई भोट मागिरहेका छन् । सत्तारुढ गठबन्धनबाट २ को (क) मा उप्रेती र (ख) मा विनोद कार्की उम्मेदवार छन् । नेकपा एमालेबाट २ को (क) मा डिबी कार्की र ख मा लिलाबल्लभ अधिकारी उम्मेदवार छन् ।

पाहुुना उम्मेदवारको आरोप

चुनावी अभियानका क्रममा कोणसभामा पुग्दा सुजाता फोटो खिच्नका लागि उनकै भाषामा ‘लोकल मान्छे’ खोज्छिन् । नेकपा एमालेले कोइरालाको यही शैलीलाई समातेर उनीविरुद्ध प्रचार गरिरहेको छ । चुनावी अभियान र कोणसभाहरुमा एमाले उम्मेदवार ऋषिकेश पोखरेल सुजातालाई पाहुना भनेर सम्बोधन गर्छन् ।

२०७४ सालमा पनि उनले डा. मिनेन्द्र रिजाललाई पाहुना नै भनेका थिए । पोखरेल रतुवामाई नगरपालिका– ५ का बासिन्दा हुन् । आफू गाउँकै भएका कारण जनताको समस्या बुझेको उनले बताए । ‘३० वर्ष अरुलाई अवसर दिँदा यहाँ केही परिवर्तन भएन, अब गाउँकै मान्छेलाई अवसर दिनुहोस् भनेको छु’, पोखरेलले भने, ‘मैले गाउँको समस्या बुझेको छु ।’

भोट माग्दै गर्दा उनले २०७० सालको संविधासभामा सदस्य निर्वाचित भएपछि गरेका कामको पनि चर्चा गरेका छन् । ‘यो क्षेत्रले देशको देशको कार्यकारी ठाउँमा पटक–पटक पुर्यायो, तर नेतृत्वले क्षेत्रलाई केही गरेको छैन’, उनले भने, ‘शिक्षा स्वास्थ्यको अवस्था सुधार भएन, पूर्वाधार पनि छैन ।’

आफूलाई जनताले जिताए सडक पूर्वाधार, शिक्षा स्वास्थ्य, नदी कटान र कृषिलाई व्यावसायीकरणका लागि नीतिगत तहमा बसेर काम गर्ने बताए ।

बुबाले चाहेको क्षेत्रमा छोरी

२०४८ सालमा गिरिजाप्रसाद कोइराला पहिलो पटक प्रधानमन्त्री भएपछि जर्मनीमा घरजम गरेर बसेकी सुजाता नेपाल फर्किइन् । त्यसबेला नै गिरिजाले छोरीलाई मोरङ–२ मा उत्तराधिकारी बनाउन चाहेका थिए । तर भाउजु नोना (शेखर कोइरालाकी आमा) ले रोकिन् । त्यसपछि गिरिजाले छोरीलाई आफैले चुनाव लड्ने अर्को क्षेत्र सुनसरी–५ (हाल ४) मा उठाए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सुनसरीबाट टिकट पाए पनि सुजाताले चुनाव जित्न सकिनन् । चुनाव नजितेपछि सुनसरी केन्द्रित राजनीति छाडेर सुजाता मोरङ आइन् । यसपटक सुजाता कोइराला उम्मेदवार बनेको क्षेत्रबाट २०७४ सालमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल निर्वाचित भएका थिए । यो क्षेत्रबाट मिनेन्द्र नै टिकटको स्वभाविक दाबेदार थिए । तर कोइरालाले टिकट पाएपछि कांग्रेसभित्र असन्तुष्टि देखिएको थियो । सुजाताले कांग्रेसको असन्तुष्टि समाधान भइसकेको बताइन् । ‘मान्छेको साइकोलोजीले विरोधलाई बढी देख्छ, सपोर्टलाई देख्दैन’, उनले भनिन्, ‘मलाई अहिले एक सय प्रतिशत सपोर्ट छ ।’

कोइराला उम्मेदवार बनेपछि कांग्रेसको पुरानो पुस्ता सक्रिय देखिएको यही क्षेत्रको प्रदेशसभा १ का माओवादी केन्द्रका उम्मेदवार गणेश उप्रेती बताउँछन् । ‘बुढापाकाहरु उहाँ (सुजाता) आएपछि स्वतस्फूर्त रुपमा हिँड्नुभएको छ’, उप्रेतीले भने । सुजाताले गिरिजाको छोरी भएको सहानुभूति पाइरहेको बताएकी छन् ।

यो क्षेत्रबाट २०७० सालको संविधानसभाको निर्वाचन जितेका ऋषिकेश पोखरेल सुजाताका प्रतिस्पर्धी छन् । उनले आफू सधैं यसै क्षेत्रमा रहेकाले मतदाताले साथ दिने बताउँछन् ।

यस्तो छ चुनावी इतिहास

मोरङ–२ मा धेरै पहिलेदेखि कांग्रेसको बलियो संगठन रहेको क्षेत्र मानिन्छ । २०४८, ०५१ र ०५६ सालमा गिरिजाप्रसाद कोइरालाले यहाँबाट चुनाव जितेका थिए । २०५६ सालमा पनि कोइरालाले मोरङ १ र सुनसरी ५ बाट चुनाव जितेका थिए । त्यसपछि उनले मोरङ १ छाडेपछि भएको उपनिर्वाचनमा कांग्रेसकै आमोदप्रसाद उपाध्याय निर्वाचित भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि यो क्षेत्रबाट कांग्रेका उपाध्याय नै निर्वाचित भए । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल र २०७४ सालमा कांग्रेसका डा. रिजाल उम्मेदवार बनेका थिए ।

‘देशभर कांग्रेसले जित्दा यहाँ कांग्रेसले हार्‍यो, देशभर कांग्रेसले हार्दा यहाँ जित्यो’, स्थानीय सुवास न्यौपाने भन्छन्, ‘२०६४ को निर्वाचनमा कांग्रेस कमजोर हुँदा यहाँ जित्यो, २०७० मा हार्‍यो, फेरि २०७४ मा कांग्रेसले देशभर हार्दा यहाँ जित्यो, अब यो के हुन्छ हेर्न बाँकी छ ।’

मोरङ–२ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका डा. मिनेन्द्र रिजाल ३५ हजार ८१९ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार पोखरेलले ३४ हजार १४ मत ल्याएर पराजित भएका थिए । सोही निर्वाचन क्षेत्रको प्रदेश ‘क’बाट नेपाली कांग्रेसका शिवनारायण गनगाई १६ हजार ४१८ मतसहित बिजयी हुँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गणेश उप्रेतीले १५ हजार १०७ मत पाएर पराजित भएका थिए ।

प्रदेशको निर्वाचन क्षेत्र ‘ख’ मा वाम गठबन्धनबाट एमालेका लिलाबल्लभ अधिकारी १८ हजार ३८६ मतसहित बिजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार घणिन्द्रबहादुर कुँवरले १७ हजार १२७ मत पाएका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले बलियो देखिन्छ । यो क्षेत्रमा पर्ने रतुवामाई नगरपालिकाको प्रमुखमा कांग्रेस बिजयी भएपनि उपप्रमुख र बहुमत वडा अध्यक्ष एमालेले जितेको थियो । सुनवर्षी नगरपालिकाको बहुमत वडासहित प्रमुख–उपप्रमुख एमालेले जितेको छ । रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकामा अधिकांश वडाहरु एमालेले जितेको थियो ।

क्षेत्र नम्बर २ मा स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्ष उम्मेदवारले ४१ हजार १६१, कांग्रेसले ३७ हजार ६१४, माओवादी केन्द्रको ७ हजार २७१ र जसपाको मत ४ हजार ३४६ पाएको थियो । राप्रपाले २ हजार १ सय र एकीकृत समाजवादी पार्टीले दुई सय मत पनि कटाएको थिएन ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?