+
+
सुनसरी-३ :

भावुक विजय गच्छदार, आक्रामक भगवती चौधरी

हरि अधिकारी हरि अधिकारी
२०७९ कात्तिक २२ गते १८:२६

२२ कात्तिक, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ संगीत चोकमा मंगलबार दिउँसो सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनले कोणसभा गर्ने पूर्व निर्धारित कार्यक्रम थियो ।

एमालेले दिउँसो १२ कोणसभा गर्ने तयारी गरेपछि उक्त चोंकमा सत्तारुढ गठबन्धनले ११ बजे नै कुर्सी राखे । तर खासमा उनीहरुको कोणसभाको तालिका भने दिउँसो १ बजे मात्रै थियो ।

करिब १२ बजे कोणसभा गर्न एमाले उम्मेदवार भगवती चौधरीले त्यहाँ पुग्दा सत्तारुढ दलहरुको झण्डा देखेपछि कोणसभा स्थल परिवर्तन गरिन् । उनी त्यहाँबाट इटहरी बसपार्क गइन् ।

संगीत चोंकमा भने सत्तारुढ गठबन्धनकै कोणसभा भयो । त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ४० मिनेट जति बोले । त्यसमध्ये झण्डै आधा समय उनले आफूले सात दशकमा गरेको काम सम्झाउन खर्च गरे ।

२०४८ सालबाट निरन्तर सुनसरी-३ बाट विजयी हुँदै आएका गच्छदारले इटहरीको इतिहास बताएर आफूमाथि राज्यसत्ताले ठूलो अन्याय गरेको दुखेसो सुनाए । आफ्नो ५० वर्षे राजनीतिक करियरलाई राज्यसत्ताले नामेट पार्न खोजेको गच्छदारको तर्क थियो ।

इटहरीको विकासमा आफ्नो पनि योगदान रहेको बताएका उनी सम्बोधनका क्रममा बेला बेला भावुक बने । भाषणका क्रममा पटक पटक आफूलाई जिउँदो शहीद भन्दै चिनाएका उनले राज्यसत्ताले अन्याय गरेपछि न्याय माग्न जनताको अदालतमा आएको बताए ।

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा आफूलाई नियोजित रुपमा फसाइएको दाबी गरेका उनले न्यायका लागि चुनाव जिताइदिन आग्रह गरे । गच्छदारले प्रतिस्पर्धी उम्मेदवार भगवती चौधरीबारे धेरै टिप्पणी गरेनन् ।

‘विजय गच्छदारले ६ चोटी जितेर के गर्‍यो सुनसरी जिल्लामा भन्छन्’, उनको प्रष्टोक्ति थियो, ‘त्यही बाटोमा हिँडेर, त्यही पुलमा तरेर गाडी गुुडुडु पारेर आउँछन्, झण्डा फहराउँदै । अनि गरिब जनतालाई विजय गच्छदारले ६ पटक चुनाव जित्यो, के गर्‍यो भन्छन् ।’

आफ्ना विरुद्ध निरन्तर प्रहार भएको गुनासो गर्दै उनले न्याय दिन आग्रह गरे । ‘६ चोटी होइन, सात चोटी तपाईंसँग न्याय माग्न आएको छु’, गच्छदारले भने, ‘विकास गर्दिन्छु नोकरी लगाइदिन्छु भन्न आएको होइन, मलाई ठूलो अन्याय भएको छ, तत्कालिन सरकारले जबरजस्ती ५० वर्षको राजनीतिक करिअरलाई समाप्त पार्न ललिता निवास जग्गा प्रकरणमा जबरजस्ती मुद्दा लगाएको छ, राजनीति सक्नका लागि ।’

एक लाल पैसा आफूले नखाएको बताउँदै उनले अदालतबाट न्याय पाउने बताए । उनले फेरि भने, ‘जनताको अदालतमा आएको छु सातौ चोटी, ममाथि अन्याय भएको छ, न्याय दिनू ।’ २०७४ सालको भन्दा बढी मतान्तरले विजयी गराए आफूले न्याय पाउने उनले बताए । ६ पटक चुनाव जितेपछि क्षेत्रमा धेरै काम गरेको र धेरैलाई रोजगारीको अवसर सिर्जना गरेको गच्छदारले बताए ।

भगवतीले गरिन् गच्छदारको आलोचना

संगीत चोकमा गच्छदार भावुक सुनिदै गर्दा त्यहाँबाट करिब तीन किलोमिटर पश्चिम इटहरी बसपार्कमा भगवती चौधरीले आक्रामक भाषण गरिन् । ६ पटक चुनाव जितेका व्यक्तिले क्षेत्रको विकासका लागि केही नगरेको बताउँदै उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गरिन् ।

भाषणको बेला आधा समय गच्छदारको आलोचनामा खर्चिएकी उनले यो क्षेत्रबाट नयाँ उम्मेदवार छान्न आग्रह गरिन् । ‘जो मान्छे पटक पटक बाटो बनाउने मन्त्री हुनुभयो, पुल बनाउने मन्त्री हुनुभो, तर २०३६ सालमा राष्ट्रिय योजनामा परेको दुहबी इनरुवा सडकलाई मैले बनाएको भन्नुहुन्छ’, उनले भनिन्, ।

राज्यको योजनामा बनेको सडक आफूले बनाएको भन्न नमिल्ने भगवतीले बताइन् । यसअघि दुई पटक विजयकुमार गच्छदारसँग पराजित भएकी उनले आफूलाई मतदान गर्न आग्रह गरिन् ।

२०७४ सालको निर्वाचनमा गच्छदारले धाँधली गरेर जितेको भन्दै चौधरीले पुन मतगणनाका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनले दायर गरेको रिट अझै विचाराधीन छ । यो पटक पनि धाँधली हुनसक्ने बताउँदै उनले कार्यकर्तालाई चनाखो हुन र गडबडी देखे प्रतिकार गर्न आग्रह गरेकी छन् ।

‘यो ३ नम्बर क्षेत्रको विकास, भाग्य र भविष्य फेर्नुछ भने एक पटक हामीलाई मौका दिनुहोस्’, उनले भनिन्, ‘३१ वर्षमा उहाँले गर्न नसकेको विकास हामी पाँच वर्षमा गर्न चाहन्छौं ।’

आफूले गरेको काम जनताकै अगाडि रहेको बताउँदै उनले भनिन्, ‘ग्रामीण अर्थतन्त्रदेखि लिएर राष्ट्रिय पुँजीको निर्माणका लागि जुट्ने छौं ।’

यस्तो छ इतिहास

दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी ३ मा गच्छदार र चौधरी नै चुनावी मैदानमा थिए । कडा प्रतिस्पर्धामा दुई पटक नै गच्छदारले झिनो मतान्तरले बाजी मारे । दुवै निर्वाचनमा धाँधली भएको चौधरी पक्षको आरोप छ ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा आफैं अध्यक्ष रहेको पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव उठेका गच्छदारले भगवती चौधरीलाई ३६२ मतान्तरले पराजित गरे । २०७४ सालको निर्वाचनमा गच्छदारले ३८ हजार ९७२ मतसहित निर्वाचित हुँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् । दुईबीचको मतान्तर ३२१ थियो ।

२०७४ को मतगणनामा गच्छदारमाथि चौधरीले धाँधलीको आरोप लगाइन् । निर्वाचन परिणामविरुद्ध पुनः मतगणनाको माग गर्दै २०७४ पुस ११ गते सर्वाेच्च अदालतमा रिट दायर गरेकी थिइन् । रिटको सुनुवाइ नभई तेस्रो पटक दुई नेता प्रतिस्पर्धा गर्दैछन् ।

गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली कांग्रेस, २०६४ को पहिलो संविधानसभा निर्वाचन तत्कालिन मधेसी जनअधिकार फोरम र २०७० को दोस्रो संविधानसभामा आफ्नै नेतृत्वमा रहेको फोरक लोकतान्त्रिकबाट जितेका थिए ।

६ पटक लगातार विजयी भएका उनले यो पटक विकासका एजेण्डा भन्दा बढी आफूमाथि राज्यसत्ताले अन्याय गरेकाले न्याय दिनु भन्दै भोट मागिरहेका छन् । गच्छदार र चौधरीको चुनावी प्रतिस्पर्धा रोचक देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ३ का वडाहरुमा पाएको मतले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएको हो । स्थानीय तह निर्वाचनमा एमाले भन्दा कांग्रेस झिनो मतले अगाडि छ ।

वडामा कांग्रेसले २४ हजार ७३१ मत पाएको थियो । एमालेले २४ हजार ३५४ मत पाएको थियो । एमालेसँग गठबन्धन गरेको जसपाले ५ हजार १९१ मत पाएको थियो । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले २ हजार ८६३ र नेकपा एकीकृत समाजवादी पार्टीले १८२ मत पाएको थियो । सो क्षेत्रमा राप्रपाले एक हजार १७१ मत पाएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?