 
																			२३ कात्तिक, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ बजार टोल नजिक एउटा पसल अगाडि ६/७ जना गफिंदै थिए । गएको हप्ता हामी त्यहाँ पुग्दा उनीहरूको हात–हातमा शरतसिंह भण्डारीको चुनावी पर्चा थियो । हामीले यहाँको चुनावी माहोल बुझ्न खोज्यौं । बीचबाट एकजनाले भने, ‘भर्खरै शरतसिंह पश्चिमतिर लाग्नुभयो । केही पर मात्र पुग्नुभयो होला । जानुस् न भेट भइहाल्छ !’ तर हामी भण्डारीलाई भेट्नपट्टि नलागेर उनीहरूकै कुरा सुन्न थाल्यौं ।
भण्डारी सत्ता गठबन्धनको एक दल लोसपाबाट महोत्तरी–२ मा उम्मेदवार छन् । यस क्षेत्रका निवर्तमान सांसद रहेकाले उनको भूमिका र उनले गरेका कामबारे हामीले स्थानीयसँग जिज्ञासा राख्यौं । ‘केही होइन, गरिबका लागि उनले केही गरेनन्’, भन्दै त्यहाँ उभिरहेकी ६० वर्षीया एकल महिला फुलकुमारी देवी हामीतिर आइन् ।
भण्डारीप्रति आक्रोश मिश्रित भाव उनको अनुहारमा सहजै देखिन्थ्यो । हामीले चुरो कुरा बुझ्ने प्रयास गर्यौं । २०७९ जेठ महिनामा उनका ६५ वर्षीय पति हुसेनी साहु बितेका रहेछन् । ग्यास्टिकको बिरामी थिए हुसेनी । एकल महिला फुलकुमारीले नजिकैको आफ्नो घर देखाउने आग्रह गर्दै हामीलाई त्यता लिएर गइन् । हामी उनको पछि लागेर गयौं ।
सम्पत्तिको नाममा पाँच धुर घडेरी । त्यसमै दुईवटा साना ओत लाग्ने टालीले छाएका छाप्रा । एउटा वर्षातमा पूरै चुहिन्छ । अर्को उनी सुत्ने छाप्राको एउटा छानो भासिएर भुइँ छुने अवस्थामा छ । निसन्तान भएको कारण उनलाई साथ दिने कोही छैनन् ।
घरको अवस्था देखाउँदै आफ्नो पीडा सुनाइरहँदा उनको गहभरि आँसु छचल्कियो । ‘जेठमा पति बित्नुभयो । वर्षात्मा डुबानले मेरो घर खस्यो । यी हेर्नुस् त बस्न सक्ने अवस्था छैन । अर्काकोबाट पानी ल्याउँदा कहिलेकाहीं कराउँछन् । कहिलेकाहीं नदीमा पुग्छु । अरूले दिए खान्छु । मेरो त यो संसारमा कोही छैनन्’, उनले भनिन् ।

२०७४ को चुनावमा उनले भण्डारीलाई मत हालेकी थिइन् । यस्तो आपतविपतको बेला जनप्रतिनिधिबाट उनले एउटा कल र घर मर्मत गरिदिने अपेक्षा राखेकी थिइन् । तर, केहीबेर अघि मात्रै चुनावी प्रचारप्रसारको क्रममा भेटिएका भण्डारीले उनको सपना चकनाचुर पारिदिए । ‘मैले दुवै हात जोडेर बिन्ती गरें । उनले पहिला भोट दिनुस् भने । जितेपछि घर र कल दिन्छु भनेर आफ्नो बाटो लागे’, उनले विलौना गरिन् ।
गएको चुनावमा पनि कल दिने आश्वासन दिएका थिए भण्डारीले । चुनावमा आउँदा आश्वासन दिने र आपत् परेको बेला मतलबै नगर्ने नेताहरूको व्यवहारबाट दिक्क छिन् उनी । तर फेरि पनि उनले आशा मारेकी छैनन् । फुलकुमारीले भनिन्, ‘अब जसले मेरो घर बनाइदिन्छ र मलाई कल दिन्छ म उसैलाई भोट दिन्छु ।’
नेताको चाला देखेर विरक्त हुनेमा अर्का थिए बलवा नगरपालिका–११ रौजाका प्रेम राउत । उनी पेशाले किसान हुन् । हामीसँग भेट्दा उनी हातमा हँसिया बोकेर खेततिर जाँदैथिए । अघिल्लो चुनावमा भण्डारीलाई नै मत हालेका थिए ।

तर जितेर गएपछि उनले दुईवटा कार्यक्रममा मात्रै भण्डारीको अनुहार देख्न पाएको बताए । ‘रातु नदीको बाढीले बाँध भत्काएर खेतमा लगाएको धान पुरियो । धेरै क्षति गर्यो । आएर हेरेर गए । तर फेरि आएनन् । भोट लिए तर विकास गरिदिएनन् भनेर जनता रिसाए’, उनले भने । अब कसलाई मत हाल्ने विषयमा विचार गरिरहेको उनी बताउँछन् ।
बलवा नगरपालिका–१० धमौराका राकेशकुमार यादव भने भण्डारीको कामप्रति थोरै सन्तुष्ट भेटिए । उनले भने, ‘केही केही विकास त गर्नुभएको छ । ठीकठिकै छ । अब कसलाई मतदान गर्ने अहिले निर्णय लिएको छैन ।’
बलवा नगरपालिका–११ की ६० वर्षीया माको देवी चुनावमा मात्र नेताहरू आउने र मत पाएर गएपछि फर्केर नहेर्ने बानीले दिक्क छिन् । उनी भन्छिन्, ‘यी हेर्नुस् १० वर्षदेखि यो पुल बन्दैछ । तर, अझै सञ्चालनमा छैन । बाढीको बेला हामीलाई आउन–जान निकै समस्या हुन्छ । भण्डारीले केही गर्न सक्नुभएन । बरु वडाअध्यक्षहरूले अलि–अलि सडक बाटो बनाउने काम गरेका छन् ।’

लोहारपट्टी नगरपालिका–४ बगरा बस्ने २२ वर्षीय दिपेश यादव पनि पाँच वर्षमा जनप्रतिनिधिले गरेको कामबाट सन्तुष्ट छैनन् । उनी कांग्रेस समर्थक हुन् । भण्डारीको काम आफ्नो गाउँठाउँमा शून्य रहेको भन्दै उनले असन्तुष्टि जनाए ।
विगतको अंकगणित
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार रहेका भण्डारीलाई २०७४ को निर्वाचनमा यस क्षेत्रका जनताले भारी मतले प्रतिनिधिसभा सदस्यमा विजयी गराएका थिए । फोरम सम्मिलित मधेशी गठबन्धनका उम्मेदवार रहेका उनी १६ हजार ७४८ मतान्तरले विजयी भएका थिए ।
त्यसबेला भण्डारीले ३० हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेतृ किरण यादव १३ हजार ९७४ मतमा सीमित भएकी थिइन् । माओवादी केन्द्रका कासिम नदाफले भने ३ हजार ७३२ मत ल्याएका थिए । अरू उम्मेदवारले एक हजार मत कटाउन सकेका थिएनन् । त्यतिबेला मधेश आन्दोलनको रापताप थियो ।

यसपटक भण्डारी सत्ता गठबन्धन लोसपाबाट चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धा विपक्षी गठबन्धन एमालेका डा. रामपरीक्षण यादवसँग हुने आकलन छ । जनमत पार्टीबाट उमेशकुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शिवचन्दर यादव, तमलोपा डा. विजय सिंह, नेपाल संघीय समाजवादी पार्टी प्रदीपकुमार यादव, जनजागरण पार्टी नेपाल विश्वनाथ पासवान, राष्ट्रिय स्वतन्त्र पार्टी पवनकुमार झा उम्मेदवार छन् ।
यस बाहेक अरू ९ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । तर अहिले पनि मतदातामाझ भण्डारीलाई टक्कर दिने नेता चुनावी मैदानमा नरहेको चर्चा हुने गरेको छ । सत्ता गठबन्धनको हिसाबले भण्डारी फेरि पनि बलिया उम्मेदवार रहेको राजनीतिक वृत्तमा चर्चा छ । तर विपक्षी उम्मेदवार रामपरीक्षण यादव जित निकाल्न कस्सिएर लागेका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तह चुनावमा यस क्षेत्रका वडाअध्यक्षहरूले पाएको मतको आधारमा लोसपा पहिलो शक्ति देखिन्छ । लोसपाले १७ हजार ५७७ मत पाएको छ भने दोस्रोमा कांग्रेसले १६ हजार ९३८, तेस्रोमा जसपाले ८ हजार ५३२, चौथोमा एमालेले ७ हजार ५७ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ । यस्तै क्रमशः माओवादी केन्द्रले ६ हजार ५०६, जनमत पार्टीले ३ हजार ४२५, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले २ हजार ६४ र एकीकृत समाजवादीले १ हजार १९६ मत पाएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4