+
+
सर्वेन्द्र खनालको घरदैलो :

पूर्वप्रहरी प्रमुखलाई नेताका रुपमा चिनाउँदै एमाले कार्यकर्ता

गौरव पोखरेल गौरव पोखरेल
२०७९ कात्तिक २३ गते १६:५३

२३ कात्तिक, काठमाडौं । निधारमा रातो टीका, खैरो जम्पर, कालो पाइन्ट र टिलिक्क टल्किने सेतो जुत्ता । भीडभाडमा पनि टाढैबाट नजरमा पर्छन्, सर्वेन्द्र खनाल ।

काँधमा नेकपा एमाले लेखिएको सूर्य चिह्न अंकित गलबन्दी भिरेका उनको अघिअघि प्रहरी सहायक निरीक्षक (असई) र हवल्दार छन् भने चार म्यादी प्रहरी पनि पछि–पछि ।

यो सेवानिवृत्त भएको तीन वर्ष नपुग्दै एमाले प्रवेश गरेर काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका खनालको घरदैलो अभियानको दृश्य हो ।

घरदैलोका क्रममा उनी धेरै बोल्दैनन् । श्रद्धापूर्वक हात जोड्छन् । बेलाबेला घरका छततिर रहेका मतदातालाई हात हल्लाउँछन् । एमाले कार्यकर्ताले उनलाई मतदातासँग चिनापर्ची गराउँछन् । युवा पुस्ताका मतदातालाई खनाललाई चिनाइराख्नु परेको देखिएन ।

प्रहरी महानिरीक्षक (आईजीपी) बन्नुअघि नै खनाल ‘दबङ’ छविका प्रहरी अफिसर थिए । राष्ट्रिय फुटबल टोलीको म्याच फिक्सिङ प्रकरणले उनी धेरैको नजरमा परेका थिए । कुमार घैंटे मूठभेड प्रकरणपछि गुण्डागर्दी विरुद्ध आक्रामक अफिसरको छवि बनाए । महानिरीक्षक बनेपछि चाहिं सर्वेन्द्रको छवि विवादित बन्यो ।

पूर्वसांसद महेश बस्नेत, किसान श्रेष्ठसँगै मिलेर सांसद अपहरण गरेको आरोपमा मुछिए ।

****

धर्मस्थली, सानोबाइपास क्षेत्रमा घरदैलो टोली हात हल्लाउँदै एउटा पसल अगाडि अडियो । राजाराम महर्जन मुस्कुराउँदै निस्किए । खनालले हात अघि बढाए ।

‘पहिले सलाम खाएको मान्छे, अहिले जनतालाई सलाम गर्नुपर्छ’ महर्जनले ठट्टा गरे । सर्वेन्द्र बोलेनन्, कार्यकर्ता फिस्स हाँसे ।

‘पुलिसमा जस्तो कहाँ सहज हुन्छ’, टोली अघि बढेपछि महर्जनले अनलाइनखबरसँग भने, ‘सबैको सलाम खाएर बसेको मान्छे ।’

उनका अनुसार एक दिनअघि मात्रै नेपाली कांग्रेसका भीमसेनदास प्रधान भोट माग्न आएका थिए । ‘भाइ दोहोर्‍याएर आएँ, जिताउनु पर्‍यो है’, प्रधानले बोलिनसक्दै महर्जनले जवाफ फर्काए, ‘दोहो¥याएर होइन, तेहर्‍याएर आइसक्नुभो !’

महर्जन पछिल्लो १० वर्ष वडामा भएका कामबाट सन्तुष्ट छैनन् । त्यसैले उनले पूर्वसांसद प्रधानलाई प्रश्न सोधेका थिए, ‘यत्रो समय के गर्नुभो हाम्रा लागि ?’

प्रधानले टोलमा ट्यांकी बनाएको भन्दै फकाउन खोजे । महर्जनले ‘१० वर्षमा ट्यांकी मात्र भन्न लाज लाग्दैन’ भनिदिए । २०६४ मा पहिलो पटक चुनाव लडेका प्रधानले पछिल्लो दुई वटा चुनाव जिते ।

लगातार चुनाव जितेका उनीप्रतिको असन्तुष्टि र एमाले संगठनको बलमा चुनाव जित्ने खनालको दाउ छ ।

****

घरदैलोका क्रममा खनाललाई चिन्नेजति चाहिं एकपटक भए पनि हात मिलाउन अघि सरिहाल्थे ।

‘नमस्कार है, नमस्कार’, खनाल अर्को घरतिर पसे । कार्यकर्ताले पनि थपे, ‘काम गर्नेलाई है भोट ।’

खनाल धेरै बोलेनन् । धुलो उडिरहेको सडकबाट मुख छोपेर हिंड्न खनाल आफैं असजिलो मानिरहेका थिए ।

बाटो अघि बढ्दै गर्दा एउटा बाइक टक्क रोकियो ।

‘ओहो ! सर्वेन्द्र दाइ’ दुई युवा खुशी हुँदै बोले । सर्वेन्द्रले हात मिलाए र भोट मागे । दुवै जनाले मुन्टो हल्लाए ।

अगाडि फर्निचर कारखाना थियो । उर्मिला श्रेष्ठ उभिइरहेकी थिइन् । खनालले दुई हात जोड्दै भोट मागे । उनले ‘हुन्छ’ भनिन् । अनलाइनखबरसँग कुरा गर्दा चाहिं उनले उम्मेदवारहरू आइरहे पनि कसैलाई नचिनेको बताइन् । ‘भोट हाल्ने बेला के हुन्छ, फर्निचरमा काम गर्ने हो हामी त’ श्रेष्ठले भनिन्, ‘खासै राजनीति जानेको छैन ।’

****

घरदैलो टोलीमा ‘भोट केमा सूर्यमा’ भन्ने नारा घन्किरहेको छ । कार्यकर्ता खनालसँग फुस्फुसाउँदैछन्, ‘यहाँ त छिर्नै पर्छ !’

एमाले कार्यकर्ताले खनाललाई एउटा घरभित्र लगे । ‘हाम्रो नेतालाई चिन्नु पर्‍यो नि !’ भित्रबाट एक दम्पती निस्किने वित्तिकै एकजना कार्यकर्ता बोले ।

२०६४ र २०७० मा योगेश भट्टराईलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको एमालेले २०७४ मा वाम गठबन्धनले माओवादीबाट झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनायो ।  यो पटक एमाले नेताका रूपमा सर्वेन्द्रलाई लिएर यो क्षेत्रमा पुगेको छ ।

सर्वेन्द्रले श्रद्धापूर्वक नमस्कार गरे ।

‘उहाँ सगोत्री हो, दायाँ–बायाँ होइन । भोट सीधै उहाँलाई हाल्ने हो’, दुवैजना मुसुमुसु हाँसे । जवाफ फर्काएनन् ।

त्यो खनालकै घर परेछ । ‘तपाईंहरूको दाजुभाइ नै उठ्नुभएको छ, केही भन्नुपर्छ र !’ भीडमा आवाज सुनियो, ‘तिम्सिनाले खनाल–खनालको चिनजान गराइदिनु पर्‍या छ ।’

भीडमा हाँसो गुञ्जियो । दुवै जनाले ‘हुन्छ’ भने ।

अगाडि भेटिएका अर्का वृद्धाले एमालेलाई आफूहरूले जिताउने बताए । उत्साहित हुँदै आएका उनले भने, ‘यसपालि सूर्य हो ।’

तल्लो घरमा सर्वेन्द्र हात जोड्दै छिरे । एकजना कार्यकर्ता बोले, ‘दाइ, के छ खबर ? खाना भयो ?’

‘ए… भाउजु यता आउनु’, उनले दुवै जनालाई बोलाए । सर्वेन्द्र हेरेर मुसुक्क हाँसे ।

कार्यकर्ताले भाउजु, बुहारी र अरूलाई पनि चिनाउँदै लगे । आमाले जितेर आउनलाई सर्वेन्द्रलाई शुभकामना दिइन् ।

****

अगाडि पसलमा खनाललाई देख्नेवित्तिकै एकजना व्यक्ति हात अघि सार्दै आए ।

‘उहाँ रमेश खरेलको साथी होइन ?’

कार्यकर्ता पंक्तिबाट आवाज आयो । ‘हो… हो… ।’

सर्वेन्द्र बोलेनन् । ती व्यक्तिले खनाललाई रमेश खरेलको साथी भन्दै अरूसँग पनि चिनजान गराए ।

सर्वेन्द्रले चाहिं असहज माने, मौन रहे । खासमा आईजीपी बन्ने बेला आफूलाई पन्छाइएको भन्दै खरेलले राजिनामा दिएर संगठन छाडेका थिए ।

जाँदा जाँदै उनले सर्वेन्द्रमाथि ‘नालायक नेतृत्व’को आरोप लगाएका थिए । त्यसयता खरेल र खनालबीच सुमधुर सम्बन्ध छैन । अहिले खरेल सुशासन पार्टी खोलेर काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार छन् ।

जेहोस्, दुई ब्याजीको सम्बन्ध जस्तो भए नि मतदाताले चाहिं जोडेर प्रचार गरिदिए ।

उनले अघि बढेर बोले, ‘अब उहाँ हाम्रो सांसद हो, जिताउनुपर्छ !’ सर्वेन्द्र मुसुक्क हाँसे ।

****

स्थानीय नारायण तिम्सिनाले टोलमा खानेपानीको राम्रो व्यवस्था नभएको बताए ।

‘ट्यांकी छैन, माथि गाउँमा त बाँडेको छ’ उनले अनलाइनखबरसँग भने, ‘१५/१६ दिनमा एक पटक आएजस्तो मात्रै हुन्छ, त्यसपछि फेरि कहिले हो, कहिले… !’

उनले बोरिङ वा ट्यांकीको पानी किन्नु विकल्प नभएको बताए । ‘बोरिङ पनि प्रायः सुकिराख्छ’ नारायणका छोरा कुमार पनि बोल्न अघि सरे, ‘बाटो देखिहाल्नुभो, ढल पनि छैन ।’

पूर्वआईजीपी खनाल भोट माग्न आउँदा चाहिं दुवै उत्साहित देखिए । ‘चिन्नुभएको हो ?’ सोध्न नपाउँदै नारायण बोलिहाले, ‘मज्जाले… किन नचिन्नु ?’

‘समाचारमा देख्नुभएको हो ?’

उनले बेलिविस्तार गराए, ‘घरमा पनि आउनुभएको छ, मेरो छोराको साथी हो ।’

‘मतदान त गोप्य हो, तर उहाँ हाम्रो रोजाइको मान्छे हो’, उनले भने । सर्वेन्द्रले दुवैसँग केहीबेर भलाकुसारी गरे ।

****

छोरीसहित बिहान ७ बजेबाट घरदैलोमा निस्किएका १० बजेतिर थकित देखिए । जिनिस स्कुल देख्ने वित्तिकै भित्रतिर छिरेर एकछिन बसिहाले ।

‘स्कुलतिर त नछिरे हुन्थ्यो’, कार्यकर्ता कानेखुशी गर्न थाले । भित्र गइसकेका सर्वेन्द्रसम्म त्यो आवाज पुग्ने कुरै थिएन । केहीबेरमा उनी निस्किए । फेरि टोली अघि बढ्यो ।

शैली उही थियो, छतमा हुनेलाई हात हल्लाउने, बाटोमा भेटिनेलाई हात जोड्दै नमस्कार गर्ने । पृष्ठभूमिमा एमालेको चुनावी गीत घन्किरह्यो ।

सानो बाइपास चोकमा रीता अर्यालले बन्दाबन्दी भन्दा अघिदेखि बिग्रिएको बाटो अहिलेसम्म उस्तै रहेको गुनासो सुनाइन् । ‘चुनाव लागेको होला, बल्ल पिच गर्ने भनेर लागेका छन्, पानी हालेका छन्’, अर्यालले थपिन् ।

खनाल भोट माग्दै आउँदा उनले विगतमा एमाले र कांग्रेस दुवैलाई भोट दिएको बताइन् । ‘हामीलाई गर्नुपर्ने त्यस्तो खासै केही थिएन, बाटो र पानीको राम्रो सुविधा थिए हुन्थ्यो’ अर्यालले भनिन्, ‘यसपालि त म स्वतन्त्रलाई दिने हो, पहिल्यै भनेकी छु ।’

‘स्वतन्त्र नि धेरै खाले रै’छन् नि !’

अर्याल बोलिहालिन्, ‘घन्टीलाई दिने हो यसपालि ।’ घन्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)बाट शिशिर खनाल उम्मेदवार छन् । बालेनले जित्दा काठमाडौंमा राम्रो भएको बताउँदै उनी भन्छिन्, ‘बुढाखाडालाई हुँदैन, भर्खरको केटा रहेछ, त्यसलाई दिने हो ।’

एमाले टोली अरूतिर गए । सर्वेन्द्र चाहिं धेरै बोलेनन् ।

काठमाडौं–६ बाट उम्मेदवार बन्दा उनले राष्ट्रिय सुरक्षाका विषयमा दीर्घकालीन नीति, रणनीति, कानुन निर्माणदेखि प्रहरी–प्रशासनलाई चुस्त बनाउन भूमिका खेल्ने एजेण्डा अघि सारेका छन् ।

खनालले जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट समुदायलाई सुरक्षा र पर्यावरणको संरक्षण गर्न विकास र वातावरणीय सन्तुलन कायम गर्न हरित विकासलाई प्रवद्र्धन गर्ने पनि बताएका छन् । काठमाडौं–६ लाई धुलो र हिलोमुक्त बनाउने पनि उनको एजेण्डा छ ।

काठमाडौं–६ भित्र पहिलो चरणमा कम्तीमा एक वडा एक सार्वजनिक शौचालय बनाउने भन्दै उनले भनेका छन् ।

तस्वीरहरूः चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?