+
+

बीच भलिबलः राष्ट्रिय टिमको छनोट सकियाे, चुनावपछि बन्द प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १६:४४

२३ कात्तिक, काठमाडौं । नेपाल भलिबल संघले आसन्न सेन्ट्रल एसियन महिला तथा पुरुष बीच भलिबलका लागि राष्ट्रिय टिम छनोट गरेको छ ।

कीर्तिपुरस्थित बीच भलिबल कोर्टमा तीन दिनसम्म चलेको प्रतियोगितामार्फत पुरुषतर्फ ४ र महिलातर्फ ४ जना खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

बुधबार पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दीलबहादुर सुनारको टिमले एपीएफका राजकुमार निरौला र लक्ष्मण रानाको टिमलाई पराजित गरी छनोट प्रतियोगिताको उपाधि जितेको छ । फाइनलिस्ट दुवै टिमका खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा प्रवेश पाउनेछन् ।

यसअघि महिलातर्फ मंगलबार नै फाइनल भएको थियो । नेपाल पुलिसका कोपिला उप्रेती र कमला पुनसम्मिलित टिमले एपीएफका निरुता ठगुन्ना र रेश्मा भण्डारीसम्मिलित टिमलाई पराजित गरेको थियो । फाइनलिस्ट चारै खेलाडी बन्द प्रशिक्षण सुरु गर्नेछन् ।

छनोट प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ५ टिमको सहभागिता थियो । छनोट भएका सबै खेलाडी विभागीय टिमका भएकाले मंसिर ४ गते हुने निर्वाचनपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु हुनेछ ।

भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार बन्द प्रशिक्षणपछि मात्र महिला र पुरुषको राष्ट्रिय टिम घोषणा गरिनेछ । एसियन सेन्ट्रल जोन बीच भलिबल बंगलादेशको ढाकामा पुस ११ देखि १६ गतेसम्म आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?