
२४ कात्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचनसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्म स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवम् राष्ट्र बैंकको चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न देशभरका मातहतका व्यवसायीहरुलाई विज्ञप्ति मार्फत आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपूर्ण संघर्षका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्ने छ, त्यतिन्जेलसम्मका लागि संघर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ ।’
बैंक तथा वित्तिय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परेपनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन् समस्या उत्पन्न हुने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धरासायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुदाँ समेत सरकारले व्यवसायीको मागलाई सुनुवाइ गरेको छैन । निर्वाचन लगत्तै संघर्षमा उत्रनुको विकल्प छैन ।’
चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्र्दभिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्रबैंकलाई विभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो ।
‘बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ’ विज्ञप्तिमा भनिएको छ ।
कर्जा प्रवाह र नविकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत अध्यक्ष मल्लले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4