२४ कात्तिक, गोरखा । बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुले आसन्न निर्वाचनका उम्मेदवारहरुलाई आयोजनाबारे पहिलेका सांसदले जस्तो नझुक्याउन भन्दै खबरदारी गरेका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समिति र बुढीगण्डकी जलासययुक्त आयोजना सरोकार समिति आरुघाट, विशालनगरले संयुक्त रुपमा बिहीबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै डुवानवासीलाई मर्का पर्ने कुनै पनि निर्णयमा साथ नदिने प्रतिबद्धता गर्न उम्मेदवारलाई आग्रह गरेका छन् ।
‘विगतमा पनि निर्वाचित सांसदहरुसँग हामीले सहकार्य गरेर अघि बढ्ने प्रयत्न गर्यौं, तर उनीहरुले डुवानबासीको हितको विपक्षमा राज्यले गरेका निर्णयमा पनि समर्थन जनाएर त्यस्ता निर्णयमा साक्षी बसे’, राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले भने, ‘त्यसैले पहिलेका सांसदले जस्तो नझुक्याउन भनेर अहिले चुनाव हुने बेलादेखि नै उम्मेदवारहरुलाई खबरदारी गर्न चाहन्छौं ।’
निर्वाचित भएपश्चात जनप्रतिनिधिले डुवानवासीको मुद्धा बोकेर संसदमा आवाज उठाउनुपर्ने उनीहरुको माग छ । डुवान क्षेत्रमा विकास निर्माणका योजना पार्न सहजीकरण गर्नुपर्ने पनि प्रभावित क्षेत्रका वासिन्दाले बताएका छन् ।
उनीहरुले दर्ता छुट भएका जग्गाको भोगचलनको आधारमा मुआब्जा दिनुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्ने डुवानवासीलाई मापदण्ड बनाएर मुआब्जा वितरण हुनुपर्ने र सार्वजनिक संघसंस्था, बिद्यालय, मठमन्दिरको पनि सम्बन्धित संस्थालाई मुआब्जा वितरण गर्नुपर्ने लगायतका मागमा जनप्रतिनिधिले सकारात्मक भूमिका खेल्नुपर्ने माग राखेका छन् ।
‘मुआब्जा निर्धारण गर्दा जिल्ला मुआब्जा निर्धारण समितिले मन्त्रिपरिषदलाई सिफारिस गरेका बुँदाहरु हालसम्म कार्यान्वयन भएको छैन, ती बुँदा मन्त्रिपरिषदबाट निर्णय गराउन अब निर्वाचित भएर जाने सांसदहरुले नेतृत्व गर्नुपर्छ’, ढकालले भने । मआब्जा वितरणमा लिइएको पुँजीगत लाभकर फिर्ता गराउन पनि सांसदहरुले सहयोग गर्नुपर्ने प्रभावित क्षेत्रका वासिन्दाको भनाइ छ ।
पुनर्बास र पुनस्र्थापनाको काम तत्काल सुरु गर्न पनि प्रभावितहरुले माग गरेका छन् । सीमानामा भएका घरगोठको मुआब्जा दिने व्यवस्थाका लागि पनि पहल गर्न उनीहरुले उम्मेदवारहरुलाई अग्रिम खबरदारी गरेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4