
काठमाडौं । फिल्म ‘महापुरुष’का निर्माताले दुई साताको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जसअनुसार फिल्मले १४ दिनमा ७ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
पहिलो साता चार करोड ५६ लाख रुपैयाँ ग्रस र दोस्रो साता दुई करोड ८३ लाख रुपैयाँ ग्रस कमाइ गरेको जारी विवरणमा उल्लेख छ ।
फिल्मले पहिलो साता काठमाडौं उपत्यकामा तीन करोड ६ लाख र दोस्रो साता एक करोड ८९ लाख ग्रस कमाएको उल्लेख छ । पहिलो साता उपत्यकाबाहिर एक करोड ५० लाख र दोस्रो साता ९४ लाख रुपैयाँ कमाइ गरेको निर्माताले जनाएका छन् ।
तथ्यांकअनुसार फिल्मले काठमाडौं उपत्यकामा बाहिरको तुलनामा दोब्बर कमाइ गरेको देखिन्छ । शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको फिल्मको चुनौती नयाँ रिलिज हलिउड फिल्म ‘वाकान्डा फरेभर’ र बलिउडको ‘उचाइ’को प्रदर्शनमा पनि निर्भर हुनेछ ।
क्यानडामा आजदेखि रिलिज
हलिउड फिल्म ‘वाकान्डा फरेभर’को रिलिजको बाबजुद फिल्मले अमेरिकामा सुखद् कमाइ गरेको निर्माताले जानकारी दिएका छन् । नेपालसँगै फिल्म अस्ट्रेलिया र अमेरिकामा समेत प्रदर्शनमा आएको थियो ।
टेक्सासको डलासमा फिल्म तेस्रो सातामा चलिरहेको छ । त्यहाँका हलमा फिल्मलाई हिजोसम्म ६९ पटक प्रदर्शन गरिएको जनाइएको छ । एटलान्टा, जर्जिया, बाल्टिमोर, मेरिल्याण्ड र नर्थ क्यारोलिनाका हलमा दोस्रो सातामा चलिरहेको छ ।
महापुरुष आजदेखि क्यानडामा समेत रिलिज भएको छ । वितरण कम्पनी इलाभेन इन्टरटेनमेन्टका अनुसार डिसेम्बर अन्त्यसम्म अमेरिका र क्यानडामा फिल्मको ३०० भन्दा धेरै शो हुने जनाइएको छ ।
प्रतिक्रिया 4