+
+

पूर्व च्याम्पियनहरु भन्छन्- नेपालगन्ज म्याराथनको रुट नेपालकै उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १६:५७

२५ कात्तिक, काठमाडौं । नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर २४ गते आयोजना हुँदैछ । हरेक वर्ष मंसिरको पहिलो शनिबार हुने म्याराथन यसपल्ट निर्वाचनका कारण तीन साता पछि सारिएको हो ।

एशोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिस्टेन्स रेसेस (एम्स)ले आधिकारिक मान्यता दिएपछि पहिलो प्रतियोगिता हुन लागेको छ । एम्सले आफ्नो वार्षिक क्यालेण्डरमै समावेश गरेपछि यसको प्रतिष्ठा बढेको आयोजक क्रिएटिभ ह्याण्ड्सको दावी छ ।

एम्सका प्रतिनिधिले दुई महिनाअघि नेपालका तीन म्याराथन रुट (काठमाडौं,पोखरा र नेपालगन्ज)लाई आधिकारिकता प्रदान गरेको थियो । तर, एम्सको वार्षिक क्यालेन्डरमै स्थान पाउने नेपालगन्ज नेपालको पहिलो र एकमात्र म्याराथन प्रतियोगिता बनेको छ ।

आयोजक संस्थाले म्याराथन सन्चालन हुने बाँकेका नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका प्रमुखसमेतको उपस्थितिमा काडमाठौंमा कार्यक्रम गरी मोफसलमा राष्ट्रिय प्रतियोगितालाई प्रतिष्ठित र स्थापित बनाएको सन्देश दिएको छ ।

छैटौं संस्करणको म्याराथनका विजेता गोपीचन्द्र पार्कीले नेपालमा सबैभन्दा सजिलो रुटका रुपमा आफूले नेपालगन्ज म्याराथन पाएको अनुभव सुनाए । काठमाडौं, पोखरा, प्रधानसेनापतिलगायत नेपालका शीर्ष म्याराथनमा प्रतिस्पर्धा गरिसकेका गोपीले कार्यक्रममा भने, ‘मैले नेपालमा आयोजना हुने सबै म्याराथन, हाफ म्याराथन, १० किमि दौडमा सहभागी भइसकेको छु । गत वर्ष बर्लिनमा पनि गएर दौडिएँ । मेरो अनुभवमा नेपालगन्जको रुट बर्लिनको भन्दा पनि राम्रो छ ।’

छैटौं नेपालगन्ज म्याराथनमा गोपीले २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा दूरी पूरा गरी कोर्ष कीर्तिमान बनाएका थिए । सोही नतिजाका आधारमा नेपाल एथलेटिक्स संघले उनलाई ओलम्पिकमा पठाउने निर्णय गरे पनि पछि उनले सहभागिता जनाउन पाएनन् ।

एम्सले मान्यता दिनु र आफ्नो क्यालेण्डरमा राख्दा प्रतियोगिताको प्रतिष्ठा अझै बढेको गोपीको भनाई छ । ‘हामी अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रतियोगिताहरुमा दौडिने सपना बनाएका हुन्छौं । नेपालमा त्यो सम्भव नहुँदा विदेश जानुपर्ने र धेरै खर्च हुने अवस्था थियो । अब एम्स र अन्तर्राष्ट्रिय एथलेटिक्स फेडेरेसन –एआईएफएफ)को मान्यताको प्रतियोगितामा हरेक खेलाडीको पहुँच मिल्नेछ,’ गोपीले भने ।

गत संस्करण हाफ म्याराथनको उपाधि जितेकी सन्तोषी श्रेष्ठले पनि प्रदर्शन सुधार्न नेपालगन्जको रुट नेपाली खेलाडीहरुका लागि सबैभन्दा उत्तम रहेको बताइन् । उनले भनिन्, ‘हामी राम्रो प्रदर्शनका लागि कम उचाइ भएका स्थानमा प्रशिक्षण गर्नेदेखि समुद्री सतहको उचाइमा आयोजित प्रतियोगिता खेल्न मन पराउँछौं । अब हामीले नेपालमै त्यो सुविधा नेपालगन्ज म्याराथनमा पाउनेछौं ।’

कार्यक्रमका प्रमुख अतिथि राजेश हमालले नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यलाई एम्सको प्रमाणपत्र हस्तान्तरण गरे । नेपालगन्जका नगरप्रमुख विष्टले नेपालगन्ज म्याराथनलाई स्थापित बनाउन स्थानीय सरकारले अपनत्व लिएको बताए । विष्टले संसारभर शहरको नामबाट स्थापित म्याराथनजस्तै नेपालगन्ज म्याराथनलाई पनि प्रतिष्ठित बनाउनले संकल्प गरेका छन् ।

कोहलपुरका नगरप्रमुख आचार्यले आगामी दिनमा बाँकेका सबै स्थानीय तहलाई एकबद्ध बनाएर नेपालगन्ज म्याराथनको स्तरोन्नत्तिका लागि हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?