+
+

गाउँमा चुनाव : किसानलाई मलको चिन्ता, नेतालाई मतको

हरि अधिकारी हरि अधिकारी
२०७९ कात्तिक २५ गते २०:१२
शिवकुमार मण्डलसँग आफ्ना समस्या राख्दै अशोक मण्डल ।

२५ कात्तिक, विराटनगर । रंगेली नगरपालिका– ५ का अशोक मण्डलको घर भारतीय सीमा क्षेत्र नजिकै पर्छ । दशगजा छेउमै खेती गर्ने उनले धानबालीमा चाहिएको बेला रसायनिक मल हाल्न ठूलो संघर्ष गर्नुपर्‍यो ।

नेपालमा मल नपाएपछि भारतबाट महँगोमा ल्याएको मल हालेर फलाएको धान भित्र्याउँदै छन् उनी ।

तर पनि उनलाई मल अभावकै चिनल सताइरहेको छ । धानबाली उठाएपछि लगाउने हिउँदे बालीका लागि मल कहाँबाट कसरी ल्याउने भन्ने उनलाई चिन्ता छ ।

उनी मात्रै होइन्, छिमेकी देवनारायण मण्डल र वेदाकान्त झाको पीडा पनि उस्तै छ । ‘भारतबाट मल ल्याउन पनि धेरै गाह्रो छ,’ सीमावर्ती गाउँका देवनारायणले भने, ‘उता महंगो पर्छ, नाकामा पुलिसले पनि रोक्छ ।’

उनीहरुको घरसम्म पुग्ने सडक कालोपत्रे भएको छ । जनप्रतिनिधिकै पलमा सडक कालोपत्रे भए पनि मुख्य समस्या (मल नपाउने) समाधान नगरेको उनीहरुको गुनासो छ ।

देवनारायणका अनुसार नेपालमा २ हजार २०० रुपैयाँमा पाउने एक बोरा मल भारतमा २ हजार ३०० भारतीय रुपैयाँ तिर्न पर्छ । ‘पारी मल धेरै महंगो पर्छ, खोजेको बेला पाइँदैन पनि,’ उनले भने, ‘नेपालमा आएको मल हामीलाई पुग्दै पुग्दैन्, अरुले नै लगिहान्छ ।’

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा घरदैलोमा आएका उम्मेदवारलाई उनीहरु मलका बारेमा सोध्छन् । क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका माओवादीका शिवकुमार मण्डललाई घरदैलोका बेला रोकेर मलका बारेमा सोधिखोजी गरे । ‘हामीलाई मल चाहियो, सधैं भारतबाट ल्याएर कसरी सक्ने ?’ अशोकले शिवकुमारलाई प्रश्न गर्दै भने, ‘हामीले मल नपाउने ?’

माओवादी केन्द्र नेता समेत रहेका शिवकुमारले सम्झाउने प्रयास गरे । ‘अहिले समस्या छ, सरकारको आफ्नो उद्योग छैन, विदेशबाट किनेर ल्याउनुपर्छ, देशको व्यवस्था त बदलियो अवस्था बदलिएन्,’ उनले भने, ‘हिजो कर्मचारीको कमजोरीका कारण मल समयमा नै आएन, म संसदमा कुरा उठाउँछु, समस्या सामधान गर्छु ।’

मोरङ क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई नगरपालिका–५ गोबिनपुरका अब्दुल आलम कुर्सीमा पुगेपछि सबैले किसालाई बिर्सिने गुनासो गर्छन् । ‘खेती मरिमरी गरेका छौं, तर यहाँ मल पाइँदैन्, भारतबाट ल्याए पनि प्रहरीले नाकामै खोसेर लैजान्छ,’ उनले भने, ‘नेतालाई कुर्सीमा बस्न पाएपछि भयो, किसानलाई कसले हेर्छ, हेर्ने भए हालत यस्तो हुन्थ्यो र ?’

दुई विगाहा खेती गर्ने उनी चुनावी बेला मल सहज रुपमा दिने वाचा गर्ने नेता चुनाव जितेपछि नफर्किएको गुनासो गर्छन् ।

सुनबर्सी नगरपालिका ७ का किसान नेमनलाल गनगाईं पनि नेताले जनताको समस्या सुने पनि सामधान नगर्ने बताउँछन् । साना समस्या पनि साधान गर्न चासो नदिने नेताले ठूला आश्वासन दिने उनको गुनासो छ ।

मोरङको क्षेत्र नम्बर २ र ५ मात्रै होइन्, ग्रामीण क्षेत्रमा घरदैलोमा जाँदा उम्मेदवारलाई किसानले मलको समस्या राख्छन् ।

समयमै मल पाए उब्जनी राम्रो हुने भए पनि नेताकाले चासो नदिदा दुःख पाइरहेको उनीहरुको गुनासोे छ । नेताले किसानलाई मलको समस्या सामधान गर्ने आश्वासन दिन्छन् । तर पटक पटक आश्वासन पाएका किसान ढुक्क भएका छैनन् ।

अर्काे समस्या नागरिकता

क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवकुमार मण्डलका अनुसार क्षेत्रमा नागरिकताको समस्या ठूलो हो । जन्मका आधारमा नागरिकता पाएका बुबा आमाका सन्तानले नागरिकता नपाएका कारण उम्मेदवारहरुलाई प्रश्न गरिरहेका छन् ।

आफ्नो क्षेत्रमा सडक स्तरउन्नतीको काम प्रसस्तै भएको बताउँदै उनी अब मल र नागरिकताको समस्या सामधान गर्ने बताउँछन् । क्षेत्र नम्बर ५ मा एमाले जसपा गठबन्धन उम्मेदवार राजकुमार यादवलाई पनि सर्वसाधारणलाई चुनाव पछि नागरिकताको समस्या सामधान हुने बताउँदै आएका छन् ।

पाँच वर्षमा धेरै काम गरें

घरदैलोका क्रममा रंगेली ५ को सीमावर्ती गाउँमा भेटिएका मण्डलले पाँच वर्षअघिका धेरै समस्या सामधान गरेर फेरि चुनावमा आएको बताए । पाँच वर्षअघिको बाटो र विजुलीको समस्या अहिले समाधान भएको उनले बताए ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महत्वपूर्ण काम भएको उनले बताए । प्राविधिक शिक्षालाई गाउँमा पुर्याएको बताउँदै उनले स्वास्थ्य र पर्यटन क्षेत्रको विकासका लागि उल्लेख्य काम गरेको दाबी गरे ।

अब बेरोजगारीको समस्या सामधान मुख्य एजेण्डा रहेको उनले बताए । आफ्नो क्षेत्रमा उद्योग खोल्ने वातावरण बनाएर रोजगारीको सृजना गर्ने उनको भनाइ छ । ‘हिजोका आधारभूत आवश्यकताहरु पूरा गरेका छौं,’ उनले भने, ‘अब बेरोजगारीको समस्या हल गर्दै किसानको जीवनस्तर उकास्न लाग्छु ।’ जनताले आफूलाई भेट्न नपाएको बाहेक अन्य गुनासो नरहेको उनको दाबी छ ।

उनले रंगेलीमा सडक निर्माणका ठूला योजनाको लागि अब भोट माग्नु नपर्ने बताए । ‘लगभग सबै सडक निर्माण भइसकेको छ । अब बाटो र सडक बनाउने एजेण्डा लगभग सकियो,’ उनले भने, ‘५ वर्ष अगाडि जनताको चाहना धेरै हदसम्म सम्बोधन भयो ।’

राजकुमारको गुनासो : काम भएन

एमाले जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेता राजकुमार यादव दुई कार्यकाल संसद निर्वाचित भएका मण्डलले जनताको चाहाना अनुसार काम नै नगरेको दाबी गर्छन् ।

मण्डलले क्षेत्रको विकासको आश्वासन मात्रै बाँडेको उनको आरोप छ ।

राजकुमार यादव

‘उहाँ एक पटक मनोनितसहित तीन पटक संसद हुनुभयो, तर जनताको जीवनस्तर उकास्ने केही काम नै गर्नुभएन्,’ उनले भने, ‘जनतामा नैराश्यता छ, जनताले उहाँलाई मन पराउँदैनन्, किनकी जितेर गएर क्षेत्रमा उदारणीय काम गर्नु भएन् ।’ जनताको सुःख दुःखमा आफू साथ भएका कारण चुनाव जित्ने दाबी यादवले गरे ।

क्षेत्र नम्बर ५ मा नेकपा एमाले छाडेर योगेन्द्र मण्डलले पनि स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् । उनी पनि चुनाव जित्ने दाबी गर्छन् । वर्तमान राजनीतिक नेतृत्वको विकल्प खोजेको बताउँदै उनले विकल्पको रुपमा आफू आएको बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष रहेका मण्डल जनताले आफूलाई जिताउने दाबी गरे ।

तेस्रो पटक शिव र राजकुमार आमने सामने

क्षेत्र नम्बर ५ मा शिवकुमार मण्डल र राजकुमार मण्डल तेस्रो पटक आमने सामने भएका हुन् । यअसघिका प्रतिस्पर्धामा शिवकुमार नै हाबी भएका छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मण्डल विजयी हुँदा यादव तेस्रो बने ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि मण्डल विजयी हुँदा यादव तेस्रो नै भएका थिए । दुई पटक चुनाव हारेका यादव यो पटक आफू चुनाव जित्ने बताउँछन् । सत्तारुढ गठबन्धनको साथ रहेका कारण चुनाव जित्ने मण्डलको दाबी छ ।

मोरङ क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका मण्डल, प्रदेशसभा १ मा गयानन्द मण्डल र २ मा अमृत अर्याल चुनावी दौडमा छन् ।

शिवकुमार मण्डल र गयानन्द मण्डल यसअघिका निर्वाचनका प्रतिस्पर्धी हुन् । ०६४ सालमा देशैभर माओवादी केन्द्र विजयी हुँदा शिवकुमार मण्डललाई सोही क्षेत्रबाट कांग्रेसका गयानन्द मण्डलले हराएका थिए ।

२०७० सालमा तत्कालीन ४ (हाल ५)बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३ सय ५२ मत पाएका थिए ।

२०७४ सालमा मतान्तर बढाएर अर्याललाई ३ हजार ७९२ मतले पराजित गरे । मण्डलले २२ हजार ९ सय ४५ मत प्राप्त गर्दा अर्यालले १९ हजार १५३ मत पाएका थिए । जसपा उम्मेदवार राजकुमार यादवले १८ हजार ६४९ मत पाएका थिए ।

गत स्थानीय चुनावको मत परिणाम अनुसार यो क्षेत्रमा कांग्रेस अघि छ । मोरङ ५ का स्थानीय तहको निर्वाचनमा वडाहरुमा नेपाली कांग्रेसले १९४९८ मत पाएको थियो । एमाले १५६८०, जसपाले १३२४९ र माओवादी केन्द्रले ११६२८, राप्रपाले १८८७, जनमत पार्टीले १०७८,लोसपा ७५२, नेकपा एकीकृत समाजवादी पार्टीले ६०८ मत पाएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?