+
+

एकबहादुर राना : प्रतिकूलताबीच पौडेलसँग पहिलो भिडन्तको मौका

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते १२:४२

२०४८ सालको निर्वाचनमै तनहुँ-१ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भिड्न ठीक्क परेका थिए, एकबहादुर राना । तर, त्यो मौका फुत्कियो । नेकपा (एमाले)बाट टिकट पाएका उनले चुनावी तालमेल हुँदा राष्ट्रिय जनमोर्चालाई छाड्नुपर्‍यो ।

यसपालि सातौं पटक उठेका पौडेललाई रानाले पहिलो पटक चुनावी मैदानमा भेट्दैछन् । सामान्य पहिरन र शालीन स्वभावका उनको पनि पौडेलको जस्तै लामो राजनीतिक संघर्षको इतिहास छ । ‘राजनीतिका खाइखेली खग्गू’ पौडेलसँगको स्पर्धालाई आफ्नो पक्षमा पारेर इतिहास रच्न लालायित छन् उनी । तर, यो सहज भने छैन ।

एक त अहिले एमालेले विभाजनको असर खेपिरहेको छ । त्यसमाथि यो चुनावमा सत्तारुढ दलहरूले गठबन्धन गरेका छन् । र, कांग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धनतर्फका साझा उम्मेदवार छन् । स्थानीय तह चुनावको मतले पनि एमालेलाई गठबन्धनभन्दा कमजोर देखाएको छ ।

अघिल्लो चुनावमा माओवादीसँग मिलेर आफ्नो दलका कृष्णबहादुर श्रेष्ठ -किसान)लाई जिताएका एकबहादुर रानालाई अहिले सत्ता गठबन्धनसँग एक्लै भिड्नुपरेको छ । माओवादीसहित पाँचदलीय गठबन्धनको चुनौती उनका लागि पहिलो प्रतिकूलता बनेको छ ।

६५ वर्षीय राना तत्कालीन नेकपा (माले)का संस्थापक केन्द्रीय सदस्य हुन् । पेशाले शिक्षक उनी २०३५ सालदेखि राजनीतिमा क्रियाशील छन् । २०४५ सालमा शिक्षकको १४ वर्षे जागिर छाडेर पार्टीको काममा पूर्णकालीन भएका थिए उनी ।

रानाले २०५१ सालको निर्वाचनमा तनहुँ-१ मा टिकट पाएका थिए, जहाँ वहालवाला शिक्षामन्त्री गोविन्दराज जोशी नेपाली कांग्रेसका उम्मेदवार थिए । रानालाई पहिलो गाँसमै ढुंगा लाग्यो । २०५६ सालको निर्वाचनमा जोशीका अगाडि राना कमजोर सावित भए ।

जोशीसँग रानाको तेस्रो भिडन्त २०६४ को चुनावमा पनि भयो । त्यतिबेला चाहिं जोशी र राना दुवै पराजित भए । नेकपा (माओवादी)का सुरेश आले मगर विजयी भएर पहिलो संविधानसभामा गए ।

२०७० र २०७४ को निर्वाचनमा एमालेले रानाको नाम समानुपातिक सूचीमा राख्यो, तर अन्तिमतिर । फेरि पनि उनी सांसद बन्न पाएनन् । यसपटक उनलाई त्यो मौका छ, तर अनुकूलताभन्दा बढी चुनौतीका बीचमा ।

गत स्थानीय तह निर्वाचनमा तनहुँ-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा पनि पौडेलको पार्टी कांग्रेस नै अगाडि छ । उक्त निर्वाचनमा कांग्रेसले ३३ हजार १०६, एमालेले २० हजार ८७९, माओवादी केन्द्रले ८ हजार १२४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ हजार ६३० र नेकपा (एकीकृत समाजवादी)ले ८९२ पाएका छन् । त्यस्तै, ३ हजार ९९२ मत स्वतन्त्र उम्मेदवारहरूको पक्षमा खसेको छ ।

यसअनुसार पनि प्रतिकूलतामा रहेका रानाले विजयी बन्न एमालेको मत जोगाउँदै राप्रपा, स्वतन्त्र र गठबन्धनको समेत उल्लेख्य संख्यामा भोट तान्नुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?