+
+

गठबन्धन सभा : घर सरिनसक्दै क्षेत्र छाड्नुको कारण बताउने प्रचण्ड मौका

सुवास पण्डित सुवास पण्डित
२०७९ कात्तिक २६ गते २०:२१

२६, असोज, चितवन । कुनै बेला अब चितवन छाडेर अन्यत्र जिल्लाबाट चुनाव नलड्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक चुनाव लड्न एकाएक गोरखा २ मा पुगे ।

गत असोज १० गते प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ मा बनाइएको घरमा झमझम पानी परिरहेका बेला छाता ओढ्दै सरे । उनी त्यतिबेलासम्म चितवनबाट नै चुनाव लड्ने मनस्थितिमा देखिन्थे । तर, कांग्रेसभित्रकै एउटा पक्ष उनलाई हराउन एमालेसँग साँठगाँठ गर्ने सूचना चुहिएपछि उनी एकाएक सुरक्षित क्षेत्र खोज्दै गोरखा पुगे ।

तर, उनले चितवनप्रतिको सद्भाव र माया भने यथावत रहेको देखाउन शनिबार भरतपुरमा आयोजना गरिएको सत्तारुढ गठबन्धनको सभाको उपयोग गरे । प्रचण्ड नै चितवन छाडेर गोरखा पुगेकोले गठबन्धनका शीर्ष नेताको उपस्थितीमा चितवनमा सभा हुन्छ कि हुँदैन भन्ने आशंकाका बीच प्रचण्डकै जोडबलमा भरतपुरमा सभा गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभामा जाँदा नै प्रचण्डले चितवनमा सभा गर्ने प्रस्ताव गरेका थिए । सभामा प्रचण्डभन्दा पछाडि बोलेका कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रचण्डको निर्वाचन क्षेत्र र घर चितवन नै भएको बताए । ‘उहाँ अहिले गोरखा गए पनि उहाँको निर्वाचन क्षेत्र चितवन नै हो, यहाँ उहाँको महत्वपूर्ण लगाव छ’ देउवाले भने, ‘म पनि उहाँले भनेर नै यहाँ आएको हो ।’

प्रचण्डले चुनाव लड्न गोरखा गए पनि चितवनको विकासमा आफू निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाए । उनले अघिल्लो चुनाव जिताएकोमा मतदाताप्रति आभार ब्यक्त गरे । गठबन्धनको महत्व बुझाउन जति समय खर्चिएका थिए, प्रचण्डले त्यो भन्दा बढी समय चितवन छाडेको भनेर ‘चित्त दुखाएका’ मतदातालाई आश्वस्त बनाउन खर्चिए । ‘गोरखा जानुको अर्थ चितवन छाडेको भन्ने हैन, कारण छ, यहाँहरुले बुझ्नुभएकै छ’, प्रचण्डले थपे, ‘चितवनसँगको सम्बन्ध हिजो पनि थियो, आज पनि छ भोलि पनि रहनेछ ।’

चितवनमा विकासको मोडल दिएको बताएका प्रचण्डले पछिल्लो ५ बर्षको अवधिमा धेरै काम गरेको दावी गरे । उनले सम्बोधनका क्रममा गोरखा पनि विकास र समृद्धिको मोडल दिने बताए । चितवन ३ छाड्दै गर्दा आफूलाई कस्तो उत्तराधिकारी दिने होला भन्ने विषयले मनमा दुविधा उत्पन्न गराएको भन्दै उनले डा. भोजराज अधिकारी उम्मेदवार बनेकामा खुशी व्यक्त गरे ।

‘इनरजेटिक, डाइनामिक, सिर्जनशील कसैको पनि आँखामा राख्दा नबिझाउने डा. भोजराज अधिकारीलाई उत्तराधिकारी बनाएको छु’ प्रचण्डले भने, ‘एउटा क्षेत्रमा नाम कमाएको समाजसेवी जसले राजनीति क्षेत्रमा आएर जोखिम उठाएको छ, त्यस्तो गतिशील नेतालाई छाडेर जान पाएकोमा मलाई गर्व छ ।’

चितवनमा थालिएका ठूला परियोजनालाई पूर्णता दिने विश्वास दिलाएका प्रचण्डले प्रधानमन्त्री देउवाप्रति इंगित गर्दै भने, ‘यसलाई पूर्णता दिने प्रतिवद्धता प्रधानमन्त्रीकै अगाडि म गर्छु ।’

प्रचण्डले चितवनमा सभा गर्नुको अर्को उद्देश्य चितवनको कांग्रेसभित्र देखिएको विवाद मिलाउने प्रयास पनि भएको उनले संकेत गरे । ‘कांग्रेस भित्र अलिकति जटिलता आउँदा चिन्ता लाग्न थालेको छ, समाधान भइदिए हुन्थ्यो जस्तो लाग्छ’, प्रचण्डले भने, ‘म र प्रधानमन्त्रीजी पटकपटक कुराकानी पनि गर्छौं, मलाइ विश्वास छ प्रधानमन्त्रीजीले सहज वातावरण बनाउनको लागि नै उहाँ पनि आउनुभएको छ, म पनि आएको छु ।’

टिकट वितरणमा कांग्रेसको देउवा पक्षले स्थानीय तहदेखि प्रदेश र संघमा एकलौटी गरेको शेखर कोइराला पक्षको दुखेसो छ । त्यसको असर गठबन्धन र कांग्रेसकै कतिपय उम्मेदवारमाथि पर्न सक्ने चिन्ता गठवन्धनका नेतालाई परेको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?