+
+
स्थलगत काठमाडौं–२ :

गठबन्धन र एमालेलाई सोविताको डर

रामकुमार डिसी रामकुमार डिसी
२०७९ कात्तिक २७ गते ८:५९

घरदैलो दृश्य–१

‘पोहोर जिताऔं, परार जिताऔं, बाटोको कामै भएन !’ बुधबार दिउँसो काठमाडौंको डाँछी क्षेत्रमा मत माग्न पुगेका नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालसमक्ष एक जना मतदाताले गुनासो पोखे । फुँयालले ‘बन्छ, बन्छ’ भन्ने जवाफ मात्रै फर्काए ।

यस्तै गुनासो उनले अर्को ठाउँमा पनि सुन्नु पर्‍यो । फुँयाललाई सयपत्रीको माला पहिर्‍याउँदै र कालोपत्रे हुन बाँकी सडक देखाउँदै अर्का मतदाताले सुनाए, ‘यो धुलो पहिले पनि त्यस्तै थियो, अहिलेसम्म त्यस्तै छ ।’ फुँयालले ती मतदातालाई थपथप्याउँदै भने, ‘यो गुनासो तपाईंले मलाई नै सुनाउने हो । यो स्वाभाविकै छ ।’

स्थानीय र यसअघिका यही क्षेत्रका प्रदेश सांसद समेत भइसकेकाले फुँयालप्रति मतदाताले गुनासो सुनाएका थिए । सँगै केहीले ‘जितिन्छ’ भन्दै उनलाई हौस्याइरहेका पनि थिए ।

मणिराम फुँयाल

घरदैलो दृश्य–२

बिहीबार बिहान साढे ८ बजेतिर काठमाडौं बत्तीसपुतली क्षेत्रमा घरदैलोमा हिंडिरहेकी भेटिइन्, सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती । यहाँ चाहिं ग्रामीण भूभागको भन्दा अलि फरक दृश्य देखियो । यहाँका मतदाताले चुनावप्रति उतिसारो चासो लिएको पाइएन । घरदैलो गर्दै हिंडेको घर्तीको टोलीतिर मतदाताले खासै ध्यान दिएनन् । घरमै बोलाएर शुभकामना दिने र सामान्य ‘हाइहेलो’ गर्नेहरूले घर्तीप्रति गुनासो गरेको पनि सुनिएन ।

घर्ती रोल्पाबाट पहिलो पटक यो क्षेत्रमा आएकाले पनि गुनासो पोख्ने गरी उनीहरू नखुलेको हुन सक्छ । शहरी क्षेत्र भएकाले ग्रामीण भेगको भन्दा यो क्षेत्रको गुनासो कम भएको हुन पनि सक्छ । तर गुनासो नै नभएको भने पक्कै होइन ।

ओनसरी घर्ती

घरदैलो दृश्य–३

ओनसरीको घरदैलो पछ्याएर लगत्तै हामी थली क्षेत्रमा पुग्दा साढे १० बजेको थियो । घण्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम मत मागिरहेकी थिइन् । ठूला दलका उम्मेदवार भन्दा उनको शैली अलि फरक थियो । ठूलो दलबलसहित हिंड्दै गर्दा उनी प्रत्येक घर–घरमा छिरेर मत मागिरहेकी थिइन् । र, उनले गुनासो भन्दा पनि कतै–कतै आशा र अपेक्षा गरेको कुरा मतदाताबाट सुनिरहेकी थिइन् ।

केही मतदाताले यसपालि मत परिवर्तन गरेर भोट दिन्छौं पनि भनिरहेका थिए, उनलाई । ‘तपाईं आउनुभयो धेरै राम्रो’ एक मतदाताले गौतमलाई हौस्याउँदै भने, ‘ढुक्क हुनुहोस्, अहिले हामी मत परिवर्तन गर्छौं ।’ उनले आफ्नो श्रीमतीले पनि पुराना पार्टीलाई मत नहाल्ने अडान लिएर बसेको सुनाए । अनि जाँदाजाँदै सोवितालाई सचेत गराउँदै ती मतदाताले यो पनि भने, ‘अहिले जसरी आउनुभएको छ, पछि पनि हेलाँ नगर्नुहोस् !’

सोविता गौतम

माथिका दृश्यहरूले काठमाडौं–२ को माहोल मात्रै देखाउँदैन सम्भावित चुनावी नतिजातर्फ पनि संकेत गर्छ ।

सोविताको डर

काठमाडौं–२ मा दुई दर्जनभन्दा बढीको उम्मेदवारी छ । गत स्थानीय तहको चुनावमा प्राप्त वडागत मतका हिसाबले यो क्षेत्रका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनकी घर्ती र नेकपा एमालेका फुँयाल रहेको देखाउँछ ।

वडागत मतका आधारमा यहाँ सत्ता गठबन्धन अगाडि छ । यहाँ सत्ता गठबन्धनको २५ हजार १७० मत छ । नेकपा एमालेको यहाँ १७ हजार ३२८ मत छ भने राप्रपाको पनि ७ हजार २०० मत छ ।

एक–अर्काबीच प्रतिस्पर्धामा आफ्नो जित निकाल्ने रणनीतिमा रहेका सत्ता गठबन्धन र एमालेका उम्मेदवार पहिलो पटक चुनावमा आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौतमलाई पनि ध्यान दिन थालेका छन् ।

गौतमले विशेषगरी असन्तुष्ट मत आफूतिर तान्न सक्ने दृश्य देखिरहेका बेला उनले कसको धेरै मत काट्ने हुन् भन्ने चिन्ता दुवैतिर देखिन्छ । जस्तो अघिल्लो पटकको चुनावमा यहाँका असन्तुष्टहरूको मत विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले पाएका थिए । उनी ७ हजार ४३७ मतसहित तेस्रो स्थान बनाउन सफल भएका थिए । वाम गठबन्धनका माधवकुमार नेपाल २७ हजार ३६६ मत ल्याएर विजयी भएका थिए । नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी दीपकप्रसाद कुईंकेलले १४ हजार ९०३ मत पाएका थिए ।

अघिल्लो पटक आचार्यले जस्तै गौतमले पनि असन्तुष्ट मत पाउने सम्भावना देखिन्छ । गौतम आफैं पनि घरदैलोको क्रममा त्यस्तै प्रतिक्रिया पाएको बताउँछिन् । ‘कतिपय पार्टीमा आवद्ध हुनुभएकाले हामी खुल्न त मिल्दैन तर हामी यसपालि मत परिवर्तन गर्ने हो भन्ने खालका कुरा गर्नुभएको छ’ उनले सुनाइन्, ‘सबैतिर हेर्दा माहोल एकदमै राम्रो छ ।’

गौतमले आफूले जित्नेसम्मको दाबी गरेका बेला सत्ता गठबन्धन र एमालेको घरदैलोमा हिंडिरहेका नेताहरूले भने उनले जित्ने भन्दा पनि मत काट्ने सम्भावना रहेको बताए । यदि उनीहरूको कुरा मान्ने हो भने गौतमले कसको धेरै मत काट्छिन् र कसको पक्षमा जित हार्त पर्छ भन्ने विषय अहिले काठमाडौं–२ को हकमा अन्योलपूर्ण छ । सोविताले ग्रामीण भेग भन्दा शहरी क्षेत्रबाट बढी मत पाउँछिन् भन्ने समान बुझाइ सत्ता गठबन्धन र एमालेमा रहेको पाइयो ।

कसको मत काट्लिन् भन्नेमा भने उनीहरूका आ–आफ्नै आकलन छन् । सत्ता गठबन्धनले सोवितालाई बालेन समूहको पनि भित्रभित्रै समर्थन हुने ठानेको छ । यस्तोमा उनले काठमाडौं महानगरको वडा नंं. ३२ बाट धेरै मत पाउने र त्यो एमालेको धेरै काटिने बुझाइ उसको छ ।

काठमाडौं–२ को यो वडा धेरै मतदाता र निर्णायक वडा पनि हो । गएको स्थानीय चुनावमा पनि बालेनलाई धेरै मत यही वडाबाट गएकाले यसपालि सोवितालाई पनि धेरै मत जाने सत्ता गठबन्धनको आकलन छ । यहाँ एमालेको ८० प्रतिशत र आफूहरूको २० प्रतिशत मात्रै मत काट्ने उनीहरूको बुझाइ छ ।

मणिराम फुँयाल

एमालेको बुझाइ भने त्यसको ठिक उल्टो छ । एमालेले पार्टीगत मत आफूले ‘होल्ड’ गर्ने र सोविताले गठबन्धनकै धेरै मत काट्ने आकलन गरिरहेको छ ।

कतिपय मतदातालाई चाहिं साना पार्टी र स्वतन्त्र उम्मेदवार धेरै भएकाले असन्तुष्ट मत धेरैतिर बाँडिंदा ठूला दलकै उम्मेदवारले जित्ने चिन्ता पनि छ । यसपटक ठूला पार्टीलाई मत नदिने सोचमा रहेका ७० वर्षीय रामसिंह खड्काले धेरै स्वतन्त्र उम्मेदवार हुँदा कता मत दिने भन्ने अलमल भएको बताए ।

‘म यसपालि स्वतन्त्रलाई मत दिन्छु, ठूला दलका उम्मेदवारलाई दिन्नँ’ खड्काको चिन्ता थियो, ‘यहाँ आफ्नो जित सुनिश्चित गर्न दलले नै स्वतन्त्र भनेर डमी उम्मेदवार उठाएका पनि छन् । नयाँ र धेरै स्वतन्त्र उम्मेदवार हुँदा मत छरिएर ठूला दलकै उम्मेदवारले जित्ने हुन् कि भन्ने चिन्ता पनि छ ।’

चुनावको अर्को पाटो

यो क्षेत्रका मुख्य प्रतिस्पर्धी उम्मेदवारले यहाँको एउटा ‘फ्याक्टर’मा पनि खेल्न खोजेका छन् । सत्ता गठबन्धनभन्दा झण्डै १० हजार मतले पछाडि रहँदा पनि एमाले उम्मेदवार आफूले नै जित्छु भन्ने मनोविज्ञानमा छन् ।

विशेषगरी एमालेले स्थानीय उम्मेदवार हुनुको फाइदा आफूले पाउने ठानेको छ । पटक–पटक बाहिरका उम्मेदवार आएको तर काम नभएको भन्ने भाष्य बनाएर एमालेले स्थानीय उम्मेदवार हुनुको लाभ लिन खोजेको छ ।

अनलाइनखबरसँगको कुराकानीमा पनि एमाले उम्मेदवार फुँयालले त्यो संकेत गरे । ‘एउटा विश्वास, भरोसाले मलाई मत दिनुहुन्छ जस्तो लाग्छ’ आफूले मत पाउने आधार खुलाउँदै उनले भने, ‘आफ्नो गाउँ, ठाउँलाई बुझेको छु । चार दशकदेखि बुझ्दै आएको र भर्खरै सांसद हुने चाहना राख्न यहाँ आउनेबीचको अनुभवको तह निकै फरक हुन्छ ।’

‘बुझेका प्रतिको विश्वास होला कि बुझ्न बाँकी रहेका प्रतिको विश्वास होला भन्ने सन्दर्भमा त त्यो कुरा आइहाल्छ’, उनले थपे ।

ओनसरी घर्तीको घरदैलो

सत्ता गठबन्धनले यो ‘फ्याक्टर’लाई अर्को तरिकाले चिर्न खोजेको देखिन्छ । एमालेले स्थानीय उम्मेदवार भन्दै गर्दा गठबन्धनले विकास निर्माणका लागि सरकारसम्म पहुँच राख्न सक्ने राष्ट्रिय व्यक्तित्व भनेर घर्तीको प्रचार गरेको छ ।

३० असोजको चुनावी कार्यक्रममा ओनसरीका पक्षमा माहोल बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई जिताए विकासे मन्त्री बनाउने वाचा गरेका थिए ।

अनलाइनखबरसँगको कुराकानीमा घर्तीले आफूले ‘जनताको विकास निर्माणको पहुँच सरकारसम्म पुर्‍याउन’ सक्ने भन्दै मत पाउने दाबी गरिन् । घरदैलोमा पनि उनलाई गठबन्धनका कार्यकर्ताले पूर्व सभामुख भनेर चर्को गरी प्रचार गरिरहेका थिए ।

तस्वीर : चन्द्र आले र आर्यन धिमाल

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?