+
+

‘मतदाताले नयाँ अनुहार खोजिरहनुभएको छ’

सोविता गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी सोविता गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी
२०७९ कात्तिक २७ गते ९:०१

घरदैलोको माहोल कस्तो पाउनुभएको छ ?

आजको प्रतिक्रिया तपाईंले हेरिहाल्नुभयो । जहाँ गए पनि यस्तै प्रतिक्रिया पाइरहेका छौं । तपाईंलाई पर्खिरहेका छौं भन्ने प्रतिक्रिया दिनुहुन्छ । कतिपय पार्टीमा आवद्ध हुनुभएकाले हामी खुल्न त मिल्दैन तर यसपालि मत परिवर्तन गर्ने हो भनिरहनुभएको छ । सबैतिर माहोल एकदमै राम्रो छ ।

नयाँ पार्टीको नयाँ उम्मेदवार हुनुहुन्छ, एजेन्डा के बनाउनुभएको छ ?

संसदको काम भनेको नीति, नियम, कानुन बनाउने हो । राष्ट्रिय मुद्दाहरू त छँदैछन् जुन हामीले उठाएका छौं । विशेषगरी काठमाडौं-२ को कुरा गर्दा यहाँ खानेपानी, ढल, सडकको समस्या छ । यहाँ खेतीपाती हुने ग्रामीण क्षेत्र पनि भएको हुनाले मल र बीउको एकदमै समस्या छ । बेरोजगारी र सर्वसुलभ शिक्षाको कुरा छ । यिनै स्थानीय आवश्यकतालाई मध्यनजर गरेर नीति बनाउने पहल गर्छु जसलाई यहाँको स्थानीय तहको निकायले कार्यान्वयन गर्न सक्ने होस् ।

हामी रिपोर्टिङमा जाँदा चाहिं सडकको बेहाल अवस्था रहेको पनि पाएका थियौं, तपाईंले कस्तो पाउनुभयो ?

एकदमै धेरै छ । यो क्षेत्रमा हिंडिरहँदा एकदमै धेरै ठाउँमा सडकको समस्या छ । पिच भएको ठाउँमा पनि धुलो छ । पिच नभएको ठाउँमा धुलो हुने भइहाल्यो । स्थानीयको माग हुने भइहाल्यो, सडकको । तर, हामीले हाम्रो काम, कर्तव्य, अधिकारको सीमिततामा टेकेर अब सडक बन्दा ५० वर्षका लागि ढुक्क बनोस् । र, पाँच-पाँच वर्षमा चुनाव आउँदै गर्दा यसरी फेरि सडक बनाइदेऊ भनेर उहाँहरूले पनि भन्न नपरोस् । हामी त्यसरी नीति बनाउने हो । अर्थतन्त्रले भ्याउने गरी सबै वडाबाट मूल सडक छुने बाटो बनाउनुपर्छ ।

यसअघि यो क्षेत्रको सांसद पूर्वप्रधानमन्त्री समेत रहनुभएका माधवकुमार नेपाल हुनुहुन्थ्यो । सडक बनेनन् भनेर उहाँको पनि आलोचना भइरहेको थियो । उहाँले पनि गर्न नसक्नुभएको काम तपाईंले कसरी गर्न सक्नुहोला ?

अहिले सदनको बैठक लाइभ हेर्न मिल्छ । हामीले सदन कतिपटक भरिएको देखेका छौं ? एमसीसी, नागरिकता जस्ता जब राजनीतीकरण भएका मुद्दा आउँछन्, तब मात्रै हाम्रो सदन भरिन्छ । हाम्रो बाटो बनेन, हाम्रोमा खानेपानी आएन, ढल पस्यो भन्ने कुरा कहिल्यै सदनको मुद्दा बन्यो ? हामीले त्यो देखेनौं । हामी सदनका हरेक बैठकमा ती कुरा उठाइरहन्छौं ।

यो क्षेत्रबाट धेरै उम्मेदवार हुनुहुन्छ । र, तपाईंलाई नै चाहिं यहाँका मतदाताले किन भोट दिनुपर्‍यो ?

म पनि यसअघि एउटा मतदाता नै थिएँ, यही क्षेत्रमा बस्ने, यहींको बासिन्दा । हामी सबैले भोगेको समस्या एउटै हो । उहाँहरूलाई हामीले बारम्बार हेर्‍यौं । उहाँहरू नै सांसद भएर आउनुभयो, उहाँहरू नै मन्त्री भएर आउनुभयो । प्रधानमन्त्री पनि हुनुभयो । राष्ट्रपति पनि हुनुभयो । तर, यो क्षेत्र काठमाडौं उपत्यका, काठमाडौं जिल्लाको एउटा अंश हुँदा पनि विकासमा किन पछि छ भन्ने कुरा मलगायत सम्पूर्ण नागरिकलाई थाहा भएको छ । त्यही कुरा चिर्न हामी आएका छौं । यदि हाम्रो पुस्तालाई यो देशभित्र बस्न सक्ने एउटा आशा देखाउने हो भने अब हामीले हस्तक्षेप नगरी हुँदैन भनेर हामी युवा पुस्ता आएका छौं । सबैले त्यो महसुस गरिरहनुभएको छ ।

फेरि म कानुनको विद्यार्थी । मलाई कानुनका छिद्र छिद्र थाहा छ । कस्तो कानुन बनायो भने नीतिगत भ्रष्टाचार गर्न मिल्छ भन्ने कुरा मलाई थाहा छ । त्यसैले म जस्तो कानुन पढेको व्यक्ति सदनमा पुगेर जे काम हो, त्यही काम गर्न नपुगेर को पुग्छ त ? ट्रायल भइसकेका व्यक्ति पुग्ने ?

यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुभएको छ ?

म घरदैलोमा जाँदा लगभग ९० प्रतिशतले नयाँ अनुहार खोजिरहेका छौं भनेर भनेको तपाईंहरूकै कानले सुनेको छ । यहाँ मेरो कोही आफन्त हुनुहुन्न । जति पनि आउनुभएको छ, ती सबै स्वतस्फूर्त अवस्थामा जोडिनुभएको छ । केही गर्छु भन्ने युवालाई साथ दिन्छु भनेर आइरहनुभएको छ । त्यसैले हामीले कसैलाई प्रतिस्पर्धी किटान गरेका छैनौं । उहाँहरूलाई पनि शुभकामना छ ।

तपाईंले जित्ने आधार चाहिं के के हुन् ?

म नयाँ अनुहार, युवा पुस्ता वा महिलाको प्रतिनिधित्व मात्रै गरेर आएको छैन । म एउटा सक्षम उम्मेदवार पनि हो । म कानुन पढेको मान्छे, अधिवक्ता भएर वकालत गरिरहेकी थिएँ । टेलिभिजनमार्फत सामाजिक मुद्दा पनि उठाइरहेकी थिएँ । अब संसदमा जाँदा सांसदको भूमिका के हुन्छ, त्यो निर्वाह गर्न सक्ने एउटा सशक्त उम्मेदवारका रूपमा मलाई सम्पूर्ण नागरिकले हेरिरहनुभएको छ । मेरो जित्ने मुख्य आधार त्यही नै हो ।

अर्को इमानदारीको पनि कुरा हुन्छ । जस्तो म क्लिन मान्छे । म राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्य पनि हो । योभन्दा अगाडि म कुनै पनि राजनीतिक पृष्ठभूमिमा थिइनँ । कुनै पनि राजनीतिक दलमा आवद्ध थिइनँ । यसरी एउटा इमानदार युवा र यही पुस्ताका लागि गर्छु भनेर आएको उम्मेदवारलाई सबैले पत्याइरहनुभएको छ । उहाँहरूको विश्वास र समर्थन नै हाम्रो जितको आधार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?