+
+

पहिलो एकदिवशीयमा नेपाल ८४ रनले पराजित, युएईलाई शृंखलामा अग्रता

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक २८ गते १६:४४

२८ कात्तिक, काठमाडौं । युवा स्पनिर आयन अफ्जल खानले एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) डेब्यू खेलमै उत्कृष्ट बलिङसहित ४ विकेट लिएपछि पहिलो ओडीआई खेलमा नेपाल टिम युएईसँग ८४ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा घरेलु टोलीलाई पराजित गरेपछि युएईले तीन खेलको शृंखलामा १(० को अग्रता बनाएको छ ।

२६४ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ५० ओभर खेले पनि ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । मनोज प्रभाकर प्रशिक्षक बनेपछि केन्या भ्रमणमा केही आशा देखाएको नेपालको ब्याटिङ घरेलु मैदानमा धर्मरायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र अर्जुन साउदले अर्धशतक बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । दीपेन्द्रले ५४ र ओडीआईमा डेब्यू गरेका अर्जुनले ५१ रन जोडे ।

नेपालको इनिङ्स धरासयी बनाउने क्रममा आयन खानले ४ विकेट लिए । यसै खेलबाट नेपालका रोहित पौडेल र युएईका सिपी रिजवानले ओडीआईमा कप्तानी डेब्यू गरे । तर, दुवैका लागि सुदख भएन । आआफ्नो इनिङमा रोहित १ र रिजवान २ रनमा आउट भए ।

आयनको स्पनि जादू, नेपालको कमजोर ब्याटिङ

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन । यसै खेलमार्फत ओडीआईमा डेब्युमा गरेका युएईका युवा स्पीनर आयन अफजानले उत्कृष्ट बलिङ गरेपछि नेपालले सातौं ओभरमा पहिलो विकेट गुमायो ।

आयन खानले आफ्नो पहिलो ओभरमा नेपालका ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्ललाई आउट गरेका थिए । त्यसपछि उनले नेपालका कप्तान रोहितलाई बोल्ड गरे ।

ओपनर आसिफ शेख १२ रन बनाएर आउट भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २ बल खेल्दा खाता खोल्न सकेनन् । रोहित १ रन बनाएर आउट भए ।

यसै खेलबाट ओडीआईमा डेब्यु गरेका हरिशंकर शाहले २१ बल खेल्दै ८ रन बनाए । अर्का डेब्युट्यान्ट ओपनर अर्जुन साउदले एक छेउबाट नेपालको इनिङ्स सम्हालेका थिए ।

अर्जुन र दीपेन्द्रको अर्धशतक

४१ रनमै ४ विकेट गुमाएको नेपालका लागि अर्जुन र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे । यी दुईले नेपालको इनिङ्सलाई सम्हालिरहेका थिए । तर, अर्जुन अर्धशतक पूरा गरेको अर्को ओभरमै आउट भए । रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअघि उनले ५१ रन बनाए । ७९ बल खेलेर ५ चौका प्रहार गरे ।

अर्जुन नेपालका लागि ओडीआई डेब्यूमा अर्धशतक बनाउने ज्ञानेन्द्र मल्ल र कुशल मल्लपछि तेस्रो खेलाडी हुन् । अर्जुनले गत सेप्टेम्बरमा केन्या भ्रमणमा टी(२० अन्तर्राष्ट्रियमा डेब्यू गरिसकेका छन् ।

अर्जुन आउट भएपछि दीपेन्द्र पनि अर्धशतक प्रहार गरे । तर, विकेट जर्ने क्रम रोकिएन ।

पछिल्लो पटक केन्या भ्रमणमा टिममा नपरेका कुशल भुर्तेलले यसै खेलबाट पुनरागमन गरे । सातौं नम्बरमा ब्याटिङ गरेका कुशलले १३ बल खेल्दै जम्मा ६ रन मात्र बनाउन सके । आयन अफ्जल खानको बलिङमा रिजावनले कुशललाई आउट गर्न उत्कृष्ट क्याच गरेका थिए ।

सोमपाल कामी ३ रनमा आउट भए । ३९औं ओभरमा अहमद राजालाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्र अर्को ओभरमा आउट भए । दीपेन्द्रले ८४ बल खेल्दै ६ चौका मद्दतमा ८४ रन बनाए ।

करण केसीले ३ रन बनाएर आउट भए । गुलशन झाले ३४ बल खेल्दै १ चौका र १ छक्का सहयोगमा अविजित १९ रन बनाए । ललित राजवंशी ६ रनमा अविजित रहे ।

युएईका युवा बलर आयन खानले १० ओभरमा ४ मेडन राख्दै १४ रनमात्र खर्चेर ४ विकेट लिए । बसिल हमिदले २ तथा जहुर खान, रोहन मुस्ताफा र अहमेद राजाले समान १ विकेट लिए ।

मुस्ताफाको अर्धशतकमा युएईको २६३ रन

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । युएईका लागि रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे । मुस्ताफाले ७३ बल खेल्दै ७ चौका प्रहार गरी सर्वाधिक ५३ रन बनाए ।

ओपनर मुहमम्द वासिमले ४४ र वृत्य अरभिन्दले ४० रन बनाए । अलिशान शारफुले २९ र बसिल हमिदले १४ रन जोडे । आयान अफजल खानले २६ रन बनाए ।

वासिम र अरभिन्दले पहिलो विकेटका लागि ७५ रनको साजेदारी गर्दै युएईलाई राम्रो सुरुवात दसलाएका थिए । तर, गुल्शन झा ले १५औं ओभरमा वासिमलाई बोल्ड गर्दै उक्त साझेदारी तोडे ।

वासिमले ४१ बल खेल्दै ६ चौका १ छक्का मदतमा ४४ रन बनाए । सोही ओभरमा गुलशनले युएईका कप्तान सिपी रिजवानलाई कुशल भुर्तेलबाट गराए । रिजवानले २ रन जोडे ।

दुई विकेट एकै ओभरमा गुमेपछि अर्का ओपनर भृत्य अरविन्दले रोहन मुस्ताफा मिलेर इनिङ्स अघि बढाए । अरभिन्द र मुस्ताफाले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २६.५ ओभरमा वृत्यलाई एलबीडब्लु गर्दै साझेदारी तोडे । वृत्यले ८२ बल खेल्दै ६ चौका मद्दतमा ४० रन बनाए ।

मुस्ताफाले चौथो विकेटका लागि अलिशा शारफुसँग ५३ रनको साझेदारी गरे । शारफुले २९ रन बनाए । आयान अफजल खानले २६ रन बनाए । उनी अन्तिम ओभरमा रनआउट भए ।

अहमेद राजाले १६ बलमा अविजित २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

नेपालका लागि गुलशन झाले २ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दा २६ रन खर्चिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए । युएईका तीन खेलाडी रनआउट भए ।

नेपाल र युएईबीचको दोस्रो ओडीआई बुधबार हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?