News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको च्यासलमा सोमबार भएको ५ ‘ए’ साइड महिला फुटसलको फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले हराउँदै उपाधि जितेको छ।
- उपाधिसँगै पेसएक्सले ५५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने स्टुडेन्ट एफसीले २५ हजार रुपैयाँ पाएको छ।
- व्यक्तिगत विधातर्फ पेसएक्सकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक र क्रिजल एफसीकी रेनुका हमाल सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।
५ असोज, काठमाडौं । पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा सम्पन्न ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ ।
ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सोमबार भएको फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै च्याम्पियन बन्यो ।
तेस्रो स्थानका लागि भएको खेलमा क्रिजल एफसीले नखिपोट एफसीलाई २–१ गोलले हरायो ।
उपाधिसँगै पेसएक्सले ५५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता स्टुडेन्ट एफसीले २५ हजार तथा तेस्रो भएको क्रिजल एफसीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो। याक्थुङ एफसी फेयर प्ले टिम घोषित हुँदै ३ हजार १ सय रुपैयाँसहित ट्रफीबाट सम्मानित भयो ।
व्यक्तिगत विधातर्फ पेसएक्सकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन् भने क्रिजल एफसीकी रेनुका हमाल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी चुनिइन्। दुवैले जनही ३ हजार १ सय रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे ।
फाइनल समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
खेलकुदले महिलामा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक सशक्तीकरण बढाउने भएकाले यस्ता प्रतियोगिता निरन्तर हुनुपर्ने उनको भनाइ थियो ।
पेसएक्स स्पोर्ट्स एकेडेमीकी संस्थापक तथा अध्यक्ष संगीता कर्णले महिला खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन् ।
आगामी दिनमा पनि महिला फुटसलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पेसएक्सले निरन्तर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतियोगितामा १२ महिला टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4