+
+
अन्तर्वार्ता :

‘देउवा अभिभावक भएर बस्नुपर्छ, नयाँलाई बाटो खोल्नुपर्छ’

लिलु डुम्रे लिलु डुम्रे
२०७९ मंसिर १ गते ९:१२

१ मंसिर, काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापा हिजोआज बिहानदेखि राति अबेरसम्म घरदैलोमा नै हुन्छन् ।

मंगलबार राति सवा ११ बजे अनलाइनखबरको टोलीले भेट्दा उनी चुनावी छलफलमै व्यस्त थिए । मध्यरातमा पार्टीका २० भन्दा बढी उम्मेदवारका लागि मत माग्दै भिडियो क्लिप बनाउनुअघि उनी छोटो कुराकानी गर्न तयार भए ।

काठमाडौं-४ का उम्मेदवार थापासँग उनले आँटेको मिसन पीएम अभियान र चुनावको सन्दर्भमा अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीको सम्पादित अंश:

निर्वाचन क्षेत्रमा आफ्नो स्थिति कस्तो पाउनुभयो ?

मतदातालाई भेट्नुअघि अलिअलि डर थियो, भेटेर अन्तरक्रिया गरेपछि त्यो डर हराएको छ । मैले भेट्ने १०० मतदातामध्ये ९५ जनाले तपाईं अब संसदीय दलको नेता बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ भन्नुभएको छ । त्यहाँ गएर दायाँ-बायाँ गर्ने होइन नि भनी सतर्क गराउनुभएको छ । मतदातामा आक्रोश र निराशा हुँदाहुँदै पनि म बागडोर सम्हाल्छु भन्दा सद्भाव राख्नुभएको छ ।

पहिलेका चुनाव र अहिले के फरक पाउनुभयो ?

२०७० र २०७४ मा घरदैलो गर्दा मेरो उम्मेदवारीलाई लिएर उत्साह र सकारात्मकता थियो । अहिले पनि त्यो उत्साहमा रत्तिभर कमी छैन । तर जब म मतदातासँग अन्तरक्रिया गर्छु, तब थाहा हुन्छ कि उहाँहरूमा देशको स्थितिप्रति एकदमै आक्रोश छ । निराशा छ, एक खालको छटपटाहट छ, आश मर्दै गएको हो कि जस्तो देखिन्छ । अघिल्लो निर्वाचनमा यस्तो निराशा थिएन ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा संविधानसभा असफल होला कि भन्ने चिन्ता थियो, तर नागरिकले आशा मारेका थिएनन् । २०७४ सालको निर्वाचनका बेला अब देशमा राम्रै राम्रो हुन्छ भन्ने आशा देखिन्थ्यो । यो पटक धेरै मतदातामा एक प्रकारको आक्रोश देखिएको छ ।

तपाईंहरू त कानुन बनाउने ठाउँमा जान लागेको हो, तर मतदाताले विकासको अपेक्षा राखेका हुन्छन् । उम्मेदवारहरू पनि त्यसरी नै आश्वासन बाँड्छन् किन ?

दोस्रो जनआन्दोलनपछि हामी राजनीतिक दलहरूले मतदातासँग व्यवस्था बदल्छौं भनेर मत माग्यौं । शासन प्रणालीमा परिवर्तन ल्याएपछि अवस्थामा परिवर्तन हुने बतायौं । त्यतिबेला हामीले थिति बस्छ भनेर भन्यौं । संविधान बनेपछि हाम्रा समस्या समाधान हुने प्रतिबद्धता गर्‍यौं । त्यो चरण अहिले छैन । जनआन्दोलन, नयाँ व्यवस्था, संविधान सबै भयो । अब थिति बस्छ, नागरिकको जीवन सुधारिन्छ भन्ने ठाउँ बाँकी छैन ।

अर्कोतिर, स्रोत-साधनले सम्पन्न स्थानीय सरकार आइसक्यो । कतिपय अवस्थामा स्थानीय सरकारले गर्ने कामको भारी समेत संघीय सांसदलाई बोकाइदिने गरिएको छ । सांसदको काम, कर्तव्य, अधिकार के हो पटक्कै नहेर्ने प्रवृत्ति छ । पद्धति र प्रणालीको विषय गौण भएका छन्, तत्काल आफ्नो वरिपरि के हुने वा गर्ने भन्ने विषय नै प्रधान हुने गरेको छ ।

सांसदको दायित्व विधि निर्माणमा भन्दा स्थानीय मुद्दाहरूसँग जोडिने प्रवृत्ति झन्-झन् बढेकोे पाउँछु । हामीले पनि सांसदको भूमिका र स्थानीय जनप्रतिनिधिको भूमिका मतदातालाई बुझाउन सकेका रहेनछौं । बुझाउनतिर लाग्नुभन्दा पनि सकेसम्म त्यसलाई ढाकछोप गर्ने प्रवृत्ति उम्मेदवारहरूमा देखियो ।

यसपटक तपाईं आफ्नो चुनाव क्षेत्रबाहेक अन्यत्र प्रचारमा जानुभएको छैन, आफ्नै क्षेत्रमा बढी मिहिनेत गर्नुपरेकाले हो ?

चुनावलाई म जहिले पनि चुनौतीपूर्ण नै मान्छु । निर्वाचन सजिलो छ भन्दै प्रचारमा लागियो भने लय बिगि्रन्छ । २०७० र २०७४ सालमा पनि यस्तै मिहिनेत गरेको थिएँ । त्यो बेला निर्वाचन आयोगले प्रचारप्रसारमा दिएको समय धेरै थियो ।

यसपटक विगतको जस्तो अवस्था रहेन । पहिलो कुरा त, महामन्त्रीको जिम्मेवारीमा रहेकाले आफ्नो चुनाव क्षेत्रका कतिपय विषयलाई हेर्नका लागि समय अभाव रहृयो । अर्कोतिर, गठबन्धनका दलहरूबीच तालमेलको संख्या र मोडालिटी बनाउने कार्यमा अन्तिम दिनसम्म लाग्नुपर्‍यो । गठबन्धनमा सहमति बनिसकेपछि पार्टीको टिकट बाँड्न केन्दि्रत हुनुपर्‍यो । आफ्नो क्षेत्रमा धेरै ढिलो गरी मात्र समय दिन पाएँ ।

संसदीय दलको नेताका विषयमा निर्वाचनपछि थप छलफल भएर को-को प्रतिस्पर्धामा आउने प्रष्ट होला । त्यो छलफलले धेरै कुरालाई सहज बनाउला पनि । मैले दुईवटा कुराको अपेक्षा गरेको छु । प्रधानमन्त्री शेरबहादुर देउवाले अब मलाई पुग्यो, अभिभावक भएर बस्छु भनेर नयाँलाई बाटो खोलिदिने हो

फेरि मलाई चुनावी सभाका लागि निम्तो कात्तिक ३० र मंसिर १ को लागि मात्रै आयो । अघिल्लो निर्वाचनहरूमा मतदान हुनुभन्दा १२/१५ दिनअघि सभाहरू हुन्थे, समय व्यवस्थापन गर्न सम्भव भएको थियो । अहिले त मौन अवधि सुरु हुनु दुई दिनअघिको सभामा मात्र निमन्त्रणा आएको छ ।

निर्वाचन आयोगले तोकेको समय प्रचारप्रसारका लागि अपुग भएको हो ?

मतदातालाई आफ्नो कुरा भन्ने र उहाँहरूको कुरा सुन्ने समय पुगेको छैन । समयको चाप भएकै कारण टोल-टोलमा भेला गरेर प्रश्नहरू लिने र जिज्ञासा मेटाउने विकल्प सोचेको थिएँ । तर हामीकहाँ घरदैलोको अर्कै बानी बसिसकेछ । आफ्नो घरमा उम्मेदवार नआइकन निर्वाचनको चक्र पूरा भएको मान्न मतदाता तयार छैनन् । त्यसकारण पनि समय अपुग भएको छ ।

यो निर्वाचनमा तपाईंले आफू प्रधानमन्त्री हुने विषयलाई चुनावी मुद्दा बनाउनुको अर्थ के हो ?

प्रत्येक उम्मेदवारलाई जितेपछि के गर्नुहुन्छ भनी मतदाताको स्वाभाविक प्रश्न रहन्छ । म संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्छु भन्ने मेरो जवाफ हुन्छ ।

कांग्रेसको संसदीय दलको विधानले दलको नेता चयन भएपछि सरकारको नेतृत्व गर्ने अधिकार दिएको छ । मैले प्रधानमन्त्री पदमा पुग्न दुई वर्षदेखि तयारी गरिरहेको छु । त्यो पदमा पुगेपछि के काम गर्ने भन्नेमा म स्पष्ट छु । ६० जना विज्ञले ३१ फरक फरक क्षेत्रमा अध्ययन गरी ऐन, नियम, निर्देशिकामा कहाँ कहाँ समस्या छ भनी प्रतिवेदन तयार गर्नुभएको छ । ‘प्रोजेक्ट गभर्मेन्ट’ को अवधारणाले राज्यका हरेक क्षेत्रमा भएका समस्या र समाधान निकाल्ने गरी तयारी गरेको छु ।

कतिपय साथीहरूले संसदीय दलमा प्रतिस्पर्धा गर्ने कुरा बोल्नुहुन्न पनि भन्नुहुन्छ । बोल्यो भने जोखिम हुन्छ भन्नुहुन्छ । तर जोखिम हुन्छ भनेर नबोल्ने हो भने त मतदातालाई ढाँटेको हुन्छ नि ! जोखिम जेसुकै होस्, मतदातालाई सत्य जे हो, त्यही बताउनुपर्छ ।

प्रोजेक्ट गभर्मेन्टको कुरा गर्दा कतिपय मतदाताले आफ्नो विज्ञता मलाई सुनाउनुहुन्छ । सहकार्य गर्न नपाएको गुनासो गर्नुहुन्छ । यो प्रोजेक्टमा हामी पनि काम गर्न चाहन्थ्यौं भन्नुहुन्छ । यसो भन्नेहरूको संख्या ठूलो छ ।

तपाईंले १३औं महाधिवेशनमा महामन्त्रीमा उठेर १४औंमा जित्ने आधार बनाउनुभयो भनिन्छ । अहिले संसदीय दलमा प्रतिस्पर्धा गरेर अर्को चुनावपछि ढुक्क हुन चाहनुभएको त होइन ?

मैले मेरो वशभित्रको कुरा गर्ने हो, त्योभन्दा बाहेकका कुरा मेरो वशभित्र हुँदैन । संसदीय दलको नेतामा लड्ने मेरो वशभित्रको कुरा हो । यसका लागि कसैले रोक्न, छेक्न सक्दैन । त्योभन्दा अघि के हुन्छ, मेरो हातमा छैन । संसदीय दलको नेतामा चयन गर्ने वा नगर्ने जितेर आउने सांसदहरूको हातमा छ ।

रूपान्तरण र परिवर्तन खोज्ने तर अब पनि दाबी नगरे कहिले गर्ने ? कांग्रेस बाहेकका दलमा त दलको नेताका लागि चुनाव पनि हुँदैन । कांग्रेसमा संसदीय दलका लागि चुनाव हुन्छ । त्यो प्रतिस्पर्धामा नउत्रिनु भनेको राजनीतिबाट अनिवार्य विश्राम लिनुपर्ने पुस्तालाई झन् स्वेच्छाचारी बनाउनु हो । उनीहरूलाई झन् बढी अधिकारसम्पन्न बनाउनु हो । मैले लडाईं लडिन भने त्यो परिस्थिति बन्ने भयो । आशाको बत्ती बालिराख्ने कि निभाइदिने भन्ने हो । दियो बलिरहृयो भने त्यसबाट प्रकाशको अपेक्षा गर्न सकिन्छ । दियो नै निभ्यो भने के गर्ने ? मेरो प्रयत्न दियो निभ्न नदिने हो ।

पार्टीभित्रको एउटा पक्षले सभापति शेरबहादुर देउवालाई नै फेरि संसदीय दलको नेता बनाउन चाहन्छ । १४औं महाधिवेशनमा तपाईंको सभापतिको उम्मेदवार नेता शेखर कोइराला हुनुहुन्थ्यो । उहाँले रुचि देखाउनुभयो भने के गर्नुहुन्छ ?

संसदीय दलको नेताका विषयमा निर्वाचनपछि थप छलफल भएर को-को प्रतिस्पर्धामा आउने प्रष्ट होला । त्यो छलफलले धेरै कुरालाई सहज बनाउला पनि । मैले दुईवटा कुराको अपेक्षा गरेको छु । प्रधानमन्त्री शेरबहादुर देउवाले अब मलाई पुग्यो, अभिभावक भएर बस्छु भनेर नयाँलाई बाटो खोलिदिने हो ।

जहाँसम्म शेखर दाइको कुरा हो, उहाँप्रति मलाई शतप्रतिशत विश्वास छ । हाम्रो पुस्तालाई अघि बढाउनुपर्छ भनी उहाँले सार्वजनिक रूपमा भन्दै आउनुभएको छ । राजकीय जिम्मेवारी लिन म अघि बढ्छु भन्दा उहाँको साथ नरहने कुरै हुँदैन ।

तपाईंको योजनामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन जनाउनुभएको छ, तर अरू युवा नेताले बोलेको सुनिंदैन नि ?

अहिले सबै जना निर्वाचनको मैदानमा हुनुहुन्छ । निर्वाचनका बेला धेरै प्रतिकूलता जोडिएर पनि आउँछ । निर्वाचनको प्रतिस्पर्धाको बेला साथीहरूलाई बोल्न पनि गाह्रो छ । चुनाव पछाडि सहज अवस्था पनि बन्छ । तर पछि थुप्रै साथी खुलेर आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?