
नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि डा. शेखर कोइराला पार्टीभित्र एक समूहको ‘नाइके’ बनेको अवस्थामा छन् । सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवासँग पराजित हुँदा उनले १७ सय २९ मत पाएका थिए ।
कांग्रेसको राजनीतिमा कोइराला परिवारको लामो विरासत छ । कोइराला परिवारबाट बीपीका छोरा शशांक र गिरिजाप्रसादकी छोरी सुजाता राजनीतिमा सक्रिय रहे पनि कांग्रेसमा पकड राख्ने नेता डा. शेखर नै भएका छन् । उनका बुवा केशवप्रसाद कोइरालाले परिवारको रेखदेख गरेर दाजु बीपीको राजनीतिलाई सघाएका थिए । आमा नोना कोइराला भने कांग्रेसको राजनीतिमै सक्रिय थिइन् ।
डा. कोइराला सन् १९६० को दशकमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी राजनीतिमा थिए । त्यसपछि उनी डाक्टरी पढ्न भारत गए । अध्ययन सकेर नेपाल आएपछि उनले पाल्पाको मिसन अस्पतालमा काम थाले । पाल्पाबाट घरपायक मिलाएर विराटनगरको कोशी अञ्चल अस्पताल आए, जहाँ उनले डेढ वर्ष बिताए ।
२०४८ सालमा कान्छा काका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि शेखर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बने, दुई कार्यकाल । त्योसँगै सेवा अवधि पूरा भएपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए ।
पार्टीको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी १३औं महाधिवेशनमा महामन्त्रीको आकांक्षी थिए, तर बीपीपुत्र शशांक पछि नहटेपछि केन्द्रीय सदस्यको उम्मेदवार बने ।
१४औं महाधिवेशनअघि उनी कांग्रेस नेता-कार्यकर्ताको सद्भाव बटुल्न देशभर डुलेका थिए । महाधिवेशनमा सभापति पदको लागि पाँच नेताबीच प्रतिस्पर्धी हुँदा उनी दोस्रो भए । पहिलो चरणमा खसेको मतको ५० प्रतिशत कुनै उम्मेदवारले कटाउन नसकेपछि पहिलो र दोस्रो धेरै मत ल्याउनेबीच प्रतिस्पर्धा हुँदा कोइराला देउवासँग पराजित भए । पहिलो चरणमै बाहिरिएका नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई साथ दिएका थिए ।
लामो समय डाक्टरी पेशामा बिताएर सक्रिय राजनीतिमा आएका शेखर कोइरालाले २०६४ सालबाट चुनावी प्रतिस्पर्धा थालेका हुन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी मोरङ-७ मा उठेर विजयकुमार गच्छदारसँग हारे ।
चुनावअघि मधेशी जनअधिकार फोरममा गएका नेपाली कांग्रेसका प्रभावशाली नेता गच्छदारले दुई क्षेत्रबाट जितेकाले त्यसबेलाको मोरङ-७ छाडेपछि भएको उपनिर्वाचनमा कोइरालाले फोरमका उम्मेदवार चुमनारायण चबदारलाई हराए ।
कोइरालाले गच्छदारलाई नै पराजित गर्ने मौका पनि पाए, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा । त्यसबेला नयाँ पार्टी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बनाएर मोरङ-७ बाट उठेका गच्छदारलाई कोइरालाले ९ हजार ८५० को विरुद्ध ११ हजार ३८६ मत ल्याएर हराए ।
यसपटक डा. कोइराला मोरङ-६ बाट प्रतिनिधिसभा सदस्य बन्न चुनावी प्रतिस्पर्धामा छन् । लामो समय कोइराला परिवार निकट रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य यसपटक शेखर जित नजिक रहेको दाबी गर्छन् ।
‘मोरङमा कांग्रेसले पाएका क्षेत्रमध्ये शेखरले सहजै जित्ने देखिन्छ’ उनी भन्छन्, ‘मोरङ-१ मा डिगबहादुर लिम्बु र ३ मा सुनील शर्मा पनि विजयी हुन सक्छन् ।’ उनका अनुसार, सत्ता गठबन्धनका कारणले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को मत यी तीन उम्मेदवारले पाउने नै छन् ।
डा. कोइरालाले माओवादीको मत पाउने अर्को आधार प्रदेशतर्फ (क) को उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाईं जीवन आचार्य हुनु पनि हो ।
प्रदेश सभातर्फ मोरङ-६ (ख) मा कांग्रेसका केदार कार्की उम्मेदवार छन् । उनी गत निर्वाचनमा पनि प्रदेश सभामा विजयी भएका थिए । मोरङ-६ मा दलका र स्वतन्त्र गरी १५ जना उम्मेदवार छन् ।
चुनावी अंकगणित
संघीय संविधान जारी भएपछि मोरङमा ६ वटा निर्वाचन क्षेत्र कायम भयो । डा. शेखर कोइरालाले २०६४ मा पहिलो प्रतिस्पर्धा गरेको मोरङ-७ मोरङ-६ हुन पुग्यो, जहाँ कोइराला निवास छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन भएको २०७४ को आम निर्वाचनमा डा. कोइराला मोरङ-६ मा एमालेका लालबाबु पण्डितसँग झिनो मतले पराजित भए ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा मोरङ-६ मा कांग्रेस अगाडि छ । कांग्रेसले २७ हजार ८६, एमालेले २४ हजार ५५७, माओवादी केन्द्रले ४ हजार ९९६, एकीकृत समाजवादीले २ हजार ३५५ मत पाएका छन् ।
यसपटक कोइरालालाई सत्ता गठबन्धनको साथ छ । यस हिसाबले उनी एमालेका प्रत्यासी लालबाबु पण्डितभन्दा बढी अनुकूलतामा छन् । यो निर्वाचन जिते पार्टीभित्र उनको ‘स्पेस’ स्वतः फराकिलो हुनेछ । त्यो अवस्थामा गुटको नाइकेबाट वैकल्पिक नेतृत्व बनेर कांग्रेसमा कोइराला परिवारको लिगेसी बलियो बनाउने उनको चाहना पूरा हुनसक्ने देखिन्छ ।
प्रतिक्रिया 4