+
+

पहिलो चौमासिकमा ६३ अर्ब बढी बजेट खर्च, राजस्व संकलन ६६ अर्ब कम

अच्युत पुरी अच्युत पुरी
२०७९ मंसिर १ गते १८:२६
फाइल तस्वीर

१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६३ अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च भएको छ । आम निर्वाचनले चालु प्रकृतिको खर्च ह्वात्तै बढाउँदा सरकारको कुल बजेट खर्च नै उल्लेख्य वृद्धि भएको हो । चालु प्रकृतिको खर्च बढ्दा पूँजीगत प्रकृतिको खर्चमा भने ठूलो प्रगति हुन नसकेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्म बजेट खर्च ३ खर्ब ५० अर्ब ९८ करोड रुपैयाँ भएको छ । २०७८/७९ मा यसै अवधिमा भने बजेट खर्च २ खर्ब ८७ अर्ब ५३ करोड रुपैयाँ बराबर भएको थियो । यस आवको पहिलो चौमासिकमा कुल बजेट खर्च लक्ष्यको १९.५७ प्रतिशत भएको छ । यस आवमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

चालु खर्च पौने ३ खर्ब

चालु आवको पहिलो चौमासिकमा चालु प्रकृतिको खर्च २ खर्ब ८१ अर्ब ३८ करोड रुपैयाँ बराबर भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ४८ अर्ब रुपैयाँ भन्दा बढी हो । सो आवमा चालु आवमा २ खर्ब ३३ अर्ब रुपैयाँ मात्र चालु प्रकृतिको खर्च भएको महालेखा नियन्त्रकको तथ्यांकमा उल्लेख छ । यस आवमा भएको चालु खर्च लक्ष्यको २३.७८ प्रतिशत हो । यस आवमा सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखेको छ ।

पूँजीगत खर्च सामान्य वृद्धि

यस आवको पहिलो चौमासिकमा २६ अर्ब २९ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ६.९१ प्रतिशत हो । यस आवमा अघिल्लो आवको तुलनामा ६ अर्ब रुपैयाँ मात्र बढी पूँजीगत खर्च भएको छ ।

गत आवको समीक्षा अवधिमा २० अर्ब ७९ करोड रुपैयाँ मात्र पूँजीगत खर्च भएको थियो । यो लक्ष्यको ५.५ प्रतिशत हो । वित्तीय व्यवस्थामा यस वर्ष ४३ अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको छ । यो लक्ष्यको १८.८१ प्रतिशत हो । अघिल्लो आवको यसै अवधिमा वित्तीय व्यवस्थामा ३३ अर्ब २३ करोड रुपैयाँ खर्च भएको थियो ।

राजस्व संकलन ६६ अर्ब कम

उता राजस्व संकलन भने अघिल्लो आवको यसै अवधिको तुलनामा ६६ अर्ब रुपैयाँले खुम्चिएको छ । यस आवको पहिलो चौमासिकमा २ खर्ब ६८ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको समीक्षा अवधिमा ३ खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको थियो ।

राजस्व संकलन प्रभावित हुनुमा भन्सार तथा आन्तरिक राजस्व दुबैको उत्तिकै भूमिमा देखिएको छ । आन्तरिक राजस्वलाई आयकर तथा भ्याटले बढी प्रभावित पारेको छ । यसो हुनुमा पूँजी बजार तथा घरजग्गामा आएको मन्दीलाई प्रमुख कारण मानिएको छ । भन्सार बिन्दुबाट संकलन हुने राजस्व भने सरकारले आयातमा गरेको कडिकडाउका कारण प्रभावित बनेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको पहिलो चौमासिकसम्म लक्ष्यको ८८.४३ प्रतिशत मात्र आन्तरिक राजस्व उठेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ४१ अर्ब १५ करोड राजस्व उठाउने लक्ष्य राखेकोमा १ खर्ब २४ अर्ब ८२ करोड रुपैयाँ मात्र संकलन गरेको छ ।
यसमा लक्ष्यको आयकर ७८.३० प्रतिशत, भ्याट ८२.१९ प्रतिशत र अन्तःशूल्क ११२.९० प्रतिशत संकलन भएको देखिएको छ । आन्तरिक राजस्व गत आवको तुलनामा ९७.७२ प्रतिशत कम उठेको हो । यस वर्ष राजस्वभन्दा बाहेक अनुदानबाट ३ अर्ब ४१ करोड र अन्य प्राप्ति २३ अर्ब ९० करोड रुपैयाँ आम्दानी सरकारले गरेको हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?