+
+

विष्णु पौडेल : प्रतिस्पर्धीको उम्मेदवारी रद्दपछि मैदानमा हाइसञ्चो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २०:०५

२०१६ साल मंसिरमा स्याङ्जाको पुतलीबजारमा जन्मिएका विष्णु पौडेल २०३५ सालदेखि तल्कालीन माले हुँदै एमाले र नेकपाको राजनीतिको शीर्ष तहसम्म आइपुगेका नेता हुन् ।

२०३५ असोजमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माले)को सदस्य रहेका उनी सोही वर्ष मंसिरदेखि पूर्णकालीन सदस्य बने । २०४१ मा तत्कालीन नेकपा (माले) को जिल्ला समिति सदस्य बनेका उनी २०४७ मा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको भूमिकामा पुगे । २०५९ सालदेखि एमाले स्थायी कमिटी सदस्य बनेका उनी २०६५ सालदेखि एमाले केन्द्रीय कमिटी सचिव निर्वाचित भए । २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनपछि एमाले केन्द्रीय कमिटीमा निर्वाचित उनी २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महासचिव र सचिवालय सदस्य बने ।

२०५१ को मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी पहिलो र दोस्रो संविधानसभामा रूपन्देही–४ बाट विजयी बने । संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रूपन्देही–२ बाट निर्वाचित उनी अहिले सोही क्षेत्रबाट एमाले उम्मेदवार बनेका छन् ।

२०५३ सालमा लोकेन्द्रबहादुर चन्दको मन्त्रिमण्डलमा युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका पौडेलले २०६५ मा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाले । २०६७ मा झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा रक्षामन्त्री बनेका उनी २०७२ सालमा केपी ओलीको सरकारमा अर्थमन्त्री बने ।

राजनीतिमा आउनुअघि उनी शिक्षण पेशामा थिए । ११ वर्ष भूमिगत जीवन बिताएका उनले त्यस समयमा पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही आदि जिल्लामा पार्टीको काम गरे । पौडेलले लुम्बिनी र महाकाली अञ्चल कमिटीको पनि नेतृत्व सम्हालेका छन् ।

पौडेलको राजनीतिक चढाव मन्त्री पदमा मात्रै होइन, पार्टी संगठनमा पनि २०४६ सालपछि तीव्र गतिमा भएको देखिन्छ । माओवादीसँग पार्टी एकता हुनुअघिसम्म एमालेको उपमहासचिव रहेका पौडेल तत्कालीन महासचिव ईश्वर पोखरेललाई पछि पार्दै एकीकृत पार्टीको महासचिव बन्न सफल भएका थिए ।

सबै पक्षसँग मिल्न सक्ने, मिडियामा देखिनेभन्दा पनि भित्री काम गर्न सिपालु रहेका पौडेलले पार्टी एकताका क्रममा प्रचण्डको समेत विश्वास जितेर महासचिव बन्न सफल भए ।

चुनावी अंकगणित

दोस्रो संविधानसभामा रूपन्देहीबाट डा. बाबुराम भट्टराईलाई पराजित गरेका पौडलसँग प्रतिस्पर्धा गर्न यसपटक चुनावी मैदानमा प्रमुख दलहरूबाट कोही प्रतिस्पर्धी बाँकी छैनन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।

गत स्थानीय निर्वाचनमा रूपन्देही–२ मा दलगत रूपमा वडाध्यक्षहरूले प्राप्त मत हेर्दा नेपाली कांग्रेस ३४ हजार ५० मतसहित अगाडि देखिन्छ । नेकपा एमालेले ३३ हजार १८७ मत ल्याउँदा राप्रपाले ३ हजार ९२०, माओवादी केन्द्रले ३ हजार १८८, राष्ट्रिय जनमुक्ति पार्टीले २ हजार ७०, स्वतन्त्रले १ हजार ४२२, नेकपा समाजवादीले १ हजार ३८२ र जसपाले १८३ मत प्राप्त गरेको छ ।

पौडेललाई राप्रपा र जसपाको साथ छ । यसरी हेर्दा पौडेलको पक्षमा ३७ हजार २९० मत छ । सत्ता गठबन्धनले आफ्नो उम्मेदवार नभएपछि राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत हुन् ।

पौडेल र गठबन्धनको अंकगणित उस्तै उस्तै रहे पनि थापाले गठबन्धनको मत आफ्नो पक्षमा खन्याउन निकै मिहिनेत गर्नुपर्ने अवस्था छ । यो पौडेलको ठूलो अनुकूलता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?