+
+
Shares

जसलाई आफैं भोट हाल्नुपर्छ भन्ने पनि थाहा छैन

आफ्नो क्षेत्रबाट को-को उम्मेदवार छन् भन्ने कुरा मानसिंलाई पनि थाहा छैन । ‘एक जना त जनक भन्ने सुनेको छु, अरु को छन् थाहा छैन’ उनी भन्छन् ‘हामी गोठमै हुन्छौं, त्यसैले खासै केही जानकारी हुँदैन ।’ उनले जनकको पूरा नाम पनि सुनेका छैनन् ।

रामहरि ओझा रामहरि ओझा
२०७९ मंसिर १ गते २०:२२

१ मंसिर, डोटी । सिलगढी–साँफे पहलमानसिं स्वार राजमार्गको छेवैमा, सिलगढी बजारदेखि करिब ७ किलोमिटर अगाडि केही समान राखिएको छ । समानकै छेउमा दुई महिला र एक पुरुष खाना खादैछन् । उनीसंग दुधे बालक पनि छ ।

बाजुराको बुढीनन्दा नगरपालिका, पाण्डुसैनका उनीहरु भेडा–बाख्राका गोठालो बस्न यहाँ आइपुगेका हुन् । हिमाली क्षेत्रको जाडो छल्न अब चैत्रको आधाआधी यतै बिताउने योजना छ उनीहरुको ।

‘भेडा–बाख्रा आउँदैछन्, अरु साथीहरु भेडा–बाख्रासंगै आउँदैछन्’, ४५ बर्षीय मानसिंह थापा भन्छन् ‘हामी अगाडि ठाउँ रोज्न आएका हौं ।’

आफू गतसाल पनि यसै ठाउँमा बसेकोले यसपालि पनि यही ठाउँ रोजेको उनको भनाइ छ । उनीसँग करिब दुई सय भेडा–बाख्रा छन् ।

चुनाव हुदैछ भन्ने थाहा छ, तर कहिले हुँदैछ भन्ने थाहा छैन उनीहरुलाई । चुनावमा आफ्नो मत अरुले खसाल्न पाउँदैनन् भन्ने समेत जानकारी छैन उनीहरुलाई । मतदाता परिचय पत्र उतै राखेकाले अरुले पनि मतदान गर्न सक्ने बताउँछिन् भेडा–बाख्राको गोठालो बस्न आएकी पाण्डुसैनकी अनिता बोगटी ।

गएको स्थानीय तह निर्वाचनमा मात्रै मतदान गरेकी अनितालाई आफूले भोट दिएको मान्छे जितेको जानकारी छ । उनी भन्छिन्, ‘हामीले कार्ड उतै छोडेर आएका छौं, कसैले भोट हालिदिए पनि हुन्छ ।’ उनलाई निर्वाचनमा आफ्नो क्षेत्रबाट कुन कुन उम्मेदवार उठ्दैछन् भन्ने जानकारी छैन ।

आफ्नो क्षेत्रबाट को-को उम्मेदवार छन् भन्ने कुरा मानसिंलाई पनि थाहा छैन । ‘एक जना त जनक भन्ने सुनेको छु, अरु को छन् थाहा छैन’ उनी भन्छन् ‘हामी गोठमै हुन्छौं, त्यसैले खासै केही जानकारी हुँदैन ।’ उनले जनकको पूरा नाम पनि सुनेका छैनन् ।

सोही समूहमा रहेकी अन्दाजी ३४ बर्षीया लक्ष्मी थापालाई पनि आफ्नो क्षेत्रबाट को को उम्मेदवार छन् भन्ने थाहा छैन । ३० वैशाखको स्थानीय तहको निर्वाचन समेत गरी तीन पटक भोट हालेको उनलाई याद छ । तर, उनले भोट हालेका व्यक्ति जिते कि हारे भन्ने थाहा छैन । उनी भन्छिन् ‘भोट हालेर हामी गोठतिर गइहाल्छौं, कसले पो जित्या ?’

नेताहरुले विगतको निर्वाचनमा गरेका वाचा पूरा नभएका उनीहरुको गुनासो छ । ‘खानेपानी, बाटो, बिजुली बनाइदिन्छौं भन्थे, तर केही गरेनन्’, मानसिं भन्छन् ‘अब केही गर्लान् भन्ने आश पनि छैन ।’ भोट हाल्न जानुहुन्न त ? उनी भन्छन् ‘यति टाढाबाट कसरी जानु ? अब एकैचोटी चैतमा मात्रै फर्किने हो ।’

अछाम, साँफेबगर नगरपालिकाको सिर्कोट नजिकै अर्को समूहमा भेटिएका ३९ बर्षीय देबबहादुर थापा भने भेडा–बाख्राका लागि ठाउँ खोजेर आफू भोट हाल्न गाडीमा फर्किने बताउँछन् । यसअघि तीन पटक भोट हालेका देवबहादुर पनि जनप्रतिनिधिहरुको कामबाट सन्तुष्ट छैनन् ।

उनी भन्छन् ‘वाचा गर्छन्, पूरा गर्दैनन्, तर पनि पाँच बर्षमा एक पटक भोट हाल्न पाइन्छ, त्यसैले हाल्नैपर्‍यो । उनलाई पनि कुन कुन उम्मेदवार छन् भन्ने थाहा छैन, भन्छन् ‘गाउँ जान्ने मान्ने मान्छेले जसलाई भोट हाल भन्यो उसैलाई हाल्छौं ।’

देवसंगै रहेका अन्य तीन जनाले मतदाता परिचय पत्र समेत वनाएका छैनन् । ‘मेरो नागरिकता त छ, अर्को कार्ड बनाएको छैन’ पार्वती थापा भन्छिन् ‘त्यसको आवश्यकतानै महसुस भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?