+
+
उम्मेदवार प्रोफाइल :

गोकुलप्रसाद बास्कोटा : कमजोर चुनावी गणितमा दोस्रो विजयको सकस

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २०:३१

पत्रकारिताबाट राजनीतिमा आएका ५२ वर्षीय गोकुल बास्कोटा मन्त्री भएपछि यति चर्चा र विवादमा रहे कि उनले ‘नाम होस् या बदनाम, तर गुमनाम नहोस्’ भन्ने उखान चरितार्थ गरे । गएको पाँच वर्षमा भएका सारा आरोप र विवादको बावजुद उनी काभ्रे–२ बाट प्रतिनिधिसभामा पुग्ने अभियानमा छन् ।

मण्डनदेउपुर नगरपालिका–४, काभ्रेका स्थायी बासिन्दा बास्कोटा २०३९ सालमा अखिल पाँचौंको प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन् । त्यसपछि उनी अनेरास्ववियुको जिल्ला कमिटी हुँदै वागमती अञ्चल कमिटी उपाध्यक्ष र केन्द्रीय कमिटी सदस्य बने ।

विद्यार्थी फाँटबाट आएर नेकपा (एमाले)को काभ्रे जिल्ला कमिटी सचिव र अध्यक्ष चुनिएका बास्कोटा २०७५ मा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा केन्द्रीय सदस्य रहे । हाल उनी एमालेका पोलिटब्यूरो सदस्य छन् ।

राजनीतिक आन्दोलनको क्रममा पटक–पटक प्रहरी हिरासत पुगेका बास्कोटाले डेढदशक पत्रकारिता गरे । पार्टीनिकट छलफल, दृष्टि र प्रकाश साप्ताहिकमा काम गरेका उनी सम्बोधन साप्ताहिकको प्रकाशक÷सम्पादक बने । पार्टी सरकारमा रहँदा रेडियो नेपालमा पनि काम गरे ।

बास्कोटा २०७४ मा काभ्रे–२ बाट निर्वाचित भएर पहिलो पटक सांसद बने । त्यसअघि २०७० को दोस्रो संविधानसभा चुनावमा उनी सोही क्षेत्रमा हारेका थिए ।

दोस्रो प्रयासमा प्रतिनिधिसभा सदस्य भएसँगै उनी केपी ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचनाप्रविधि राज्यमन्त्री नियुक्त भए । केही समयपछि फूलमन्त्रीको हैसियतका साथै सरकारको प्रवक्ताको जिम्मेवारी पनि पाए । मन्त्री तथा सरकारको प्रवक्ता रहँदा बोल्ने ठाडो र अशिष्ट शैलीका कारण उनी चर्चामा रहे ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री हुँदा बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाउने क्रममा आफूले ७० करोड रुपैयाँ पाउनुपर्ने भन्दै बार्गेनिङको अडियो सार्वजनिक भएपछि पदबाट राजिनामा दिए । तर, त्यो प्रकरणको छानबिन भएन ।

आफूमाथि लागेको भ्रष्टाचारको आरोप बोकेरै उनी यसपटक काभ्रे–२ बाटै प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

चुनावी अंकगणित

२०७० को चुनावमा पराजित बास्कोटा २०७४ मा भने वाम गठबन्धनको बलमा भारी मतले विजयी भए । त्यसबेला उनले ५४ हजार ४२७ र निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५७९ भोट पाएका थिए ।

त्यसको पाँच वर्षपछि गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पनि काभ्रे–२ मा वडाअध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको दलगत मतमा एमाले थोरै मात्र अगाडि छ ।

उक्त निर्वाचनमा एमालेले ४५ हजार ५१४, कांग्रेसले ४५ हजार ४५६, नेकपा (एकीकृत समाजवादी)ले ८ हजार ६७६ र माओवादी केन्द्रले ६ हजार ३७० मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ३५४ र स्वतन्त्र उम्मेदवारले ८०० भोट पाएका छन् ।

स्थानीय चुनावको नतिजा र एमाले विरुद्धको गठजोड हेर्दा यसपटक काभ्रे–२ मा एमालेका गोकुल बास्कोटाको जग कमजोर देखिन्छ । त्यसमाथि छानबिन र सफाइ नभएको भ्रष्टाचार आरोपको भारीसहित प्रतिस्पर्धामा छन् उनी ।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईं प्रतिस्पर्धामा छन् । त्यस्तै, राप्रपाकी यशु आले मगर, सिनेमेकर मनोज पण्डित (स्वतन्त्र) लगायत उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् ।

यो अवस्थाबाट विजय निकाल्न बास्कोटाले एमालेको मत जोगाएर मात्र पुग्दैन, स्वतन्त्र मत र गठबन्धनको पनि ठूलै संख्यामा मत तान्न सक्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?