+
+
उम्मेदवार प्रोफाइल :

प्रेम सुवाल : विजुक्छेका उत्तराधिकारीको सहज अंकगणित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २०:३७

एक सिटे भए पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई संसदमा बलियो गरी चिनाउने निवर्तमान सांसद हुन्, प्रेम सुवाल । २०७० सालदेखि विधायिकामा आएका उनले प्रखर सांसदको परिचय बनाए ।

२०१७ मा जन्मिएका सुवाल २०५४ मा भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । भक्तपुरको चर्चित ख्वपः कलेजका संस्थापक अध्यक्ष समेत रहेका उनी २०७० सालमा समानुपातिकबाट दोस्रो संविधानसभामा गएका थिए । त्यसपछि २०७४ मा भक्तपुर–१ बाट सांसद निर्वाचित भए ।

वृद्ध हुँदै गएका पार्टी अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो उत्तराधिकारीका रूपमा अगाडि बढाएका सुवाल यसपटक भक्तपुर-१ बाटै प्रतिनिधिसभा सदस्यमा उठेका छन् । पछिल्लो समय नेमकिपा खुम्चिंदै गएको छ ।

२०५१, २०६४ र २०७० को चुनावमा संसदमा चार सिट जितेको यो दल अहिले एक क्षेत्रमा सीमित हुन पुगेको छ । यसले भक्तपुर–२ पनि गुमाइसकेको छ । भक्तपुर–१ भने नेमकिपाको खास गढ रहँदै आएको देखिन्छ ।

यो क्षेत्रमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका समेटिएको छ । यसका पनि भक्तपुर नगरपालिकाभित्रको बलियो पकडकै कारण नेमकिपाले स्थानीयदेखि संघीय चुनावसम्ममा सहजै विजय बन्ने गरेको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा नेमकिपाका सुवालले ३३ हजार ७६, नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार र वाम गठबन्धनबाट उठेका माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३७४ मत पाएका थिए ।

गत स्थानीय चुनावमा नेमकिपाले भक्तपुर नगरपालिकामा ‘क्लिन स्वीप’ गरेको थियो । नेमकिपाका सुनिल प्रजापति २९ हजार २५२ मतका साथ मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका रामप्रसाद कसुला ३ हजार २०७ मत पाएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।

शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक सेवाका सबै क्षेत्रमा राम्रो काम गरेकाले भक्तपुर–१ मा आफ्नो पकड बलियो बनेको नेमकिपाको भनाइ छ । अरू दलले भने नेमकिपाले यहाँ ‘उत्तरकोरियाको शासन लादेको’ आरोप लगाउने गरेका छन् ।

भक्तपुर नगरभित्रै ३० हजारजति परम्परागत मत रहेकाले सबै प्रतिस्पर्धामा नेमकिपा अरूमाथि हावी हुने गरेको छ । यही कारण सत्ता गठबन्धनको सिट बाँडफाँटमा भक्तपुर प्राथमिकतामा परेन ।

र पनि, माओवादी केन्द्रका सुनिल गोठे, एमालेका नवराज गेलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भरतबहादुर खड्का भक्तपुर-१ मा प्रतिस्पर्धी छन् । २०४८ सालयताका चुनावी नतिजा र गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मत हेर्दा यसपटक पनि भक्तपुर–१ मा सुवाल नै सहज जितको अवस्थामा रहेको देखिन्छ ।

गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेमकिपाले ३३ हजार ८९५, एमालेले १४ हजार ११९, कांग्रेसले १३ हजार १३, राप्रपाले ६ हजार २८६ र माओवादी केन्द्रले १ हजार ३८८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?