+
+
वैदेशिक रोजगारीको पीडा :

विदेशबाट बाकसमा आएको छोरो सम्झेर झस्किरहन्छन् बलदेव

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ मंसिर २ गते १७:१५

२ मंसिर, जनकपुरधाम । ‘नेताहरु चुनाव जितेर जान्छन् । स्वदेशमै रोजगारी दिने वाचा बिर्सिन्छन् । नेताका वाचा पूरा भएको भए म जस्ताको छोरा विदेशी भूमिबाट बाकसमा बन्द भएर आउने थिएन होला,’ ६५ वर्षीय बलदेव साहले भावुक हुँदै भने ।

धनुषाको नगराइन नगरपालिका ५ गंगुली टोल बस्ने बलदेवका आँखामा अहिले पनि बाकसमा बन्द भएर विदेशबाट आएको ४० वर्षे छोराको दृश्य आइरहन्छ । आँखा रसाउँछ । बिर्सिने चेष्टा गर्छन् तर, कहालीलाग्दो त्यो अतित मेटिँदैन ।

चुनावका लागि भोट माग्न आउनेका आश्वासन सुनेर दिक्क भएका उनले अनलाइनखबरसँग भने, ‘यिनीहरुले भनेजस्तो काम गरिदिएको भए मेरो छोराले विदेशमा मर्नु पर्ने थिएन ।’

घरपरिवारको सुखका लागि १७ वर्ष विदेशी भूमिमा पसिना बगाएका जेठो छोरा दशैं साहु पोहोरको साउन अन्तिमतिर बाकसमा फर्किए । आमा ६० वर्षीया यमन देवी र ४० वर्षीया श्रीमती गीतादेवी दशैंलाई सम्झेर घरीघरी भक्कानिएर रुन्छन् ।

घरकै मुख्य पिलर छोराको मृत्युले शोकमा बुवा बलदेवको शरीर वर्ष दिनमै गलेको छ । ‘छोराको मृत्युले परिवारमा ठूलो असर परेको छ । शोकले गलेर मेरो शरीर आधा भयो,’ बलदेव सुनाउँछन् ।

दशैं कतारको दोहास्थित ‘अल रसिद ट्रेडिङ एण्ड कन्ट्रेक्टिङ कम्पनी’मा प्लम्बरको काम गर्थे । मंसिर ४ गतेदेखि सुरु हुन लागेको विश्वकप लक्षित भौतिक संरचना तयार गर्ने क्रममा उनको मृत्यु भएको थियो । सडक छेउ जमिनमा १५-२० फिट तल तार गाड्ने क्रममा माटोको ढिस्कोमा पुरिएर २१ अगस्ट २०२१ का दिन दशैंको मृत्यु भएको थियो । त्यसको नौ दिनपछि बाकसमा बन्द भएर उनको शव नेपाल आयो ।

बुवा बलदेव र आमा यमनका ३ छोरा र २ छोरी मध्ये जेठो थिए दशैं । उनकै कमाइले चार छोरा-छोरीको विवाह गरेको र पक्की घर बनाएको बुबा बलदेव सुनाउँछन् ।

मृतक दशैंका दुई छोरी र एक छोरा छन् । जेठी छोरी रानी १२ कक्षामा पढ्छिन् । लोकसेवा पास गरेर सरकारी कर्मचारी बन्ने चाहना छ उनको । तर बुवाको निधनपछि आफ्नो योजना सफल हुँदैन कि भन्ने चिन्ता छ उनलाई ।

‘राम्रो पढाइ गरेर लोकसेवा पास गरी सरकारी जागिर खाने लक्ष्य थियो, मेरो । तर अब पहिलो जस्तो वातावरण छैन, म पढ्न पाउँदिनँ । बुवा नहुँदा मेरो भविष्य अनिश्चित भएको छ,’ रानीले भनिन् ।

२०७८ को मंसिरमा घर फर्किने योजना थियो दशैंको । गांगुली टोलको घरमा प्लास्टर, रंगरोगन गर्ने र रानीलाई राम्रो केटा खोजेर विवाह गरिदिने सरसल्लाह बुवा बलदेवसँग गरिसकेका थिए । तर, दुर्भाग्य साउनको अन्तिममै अस्ताए दशैं । न त घरको प्लास्टर भयो, न त रानीको बिहे ।

दशै साहुका बुवा बलदेव साह र उनकी छोरी रानी साह ।

‘छोराको बलमा म बुढो बुवाले के-के गर्छु सोचेको थिएँ । छोराले नै बनाएको घर हो यो । हेर्नुस् अहिलेसम्म प्लास्टर पनि गर्न सकेको छैन’, घर देखाउँदै बलदेवले भने, ‘सबै योजना तुहियो ।’

पुर्ख्यौली सम्पत्ति २५ कठ्ठा जग्गाजमिनले घरपरिवार धान्न गाह्रो भएको बलदेवले सुनाए । भोट माग्ने आउनेले विकास गर्ने रोजगारी दिने आश्वासन दिए पनि त्यसमा उनको विश्वास छैन । रोजगारी नपाएपछि केही महिनाअघि मात्रै कान्छो छोरा मनोहरलाई मलेसिया पठाएका उनी स्वदेशमै रोजगारी दिने आश्वासन सुनेर आवेशमा आउँछन् । भन्छन्, ‘यही काम पाएको भए मनोहरलाई तेस्रो पटक किन मलेसिया पठाउँथे ?’

उनका माहिलो छोरा सत्रोहन दुई वर्षदेखि जनकपुरको बाबा पेट्रोल पम्पमा काम गर्दै आइरहेका छन् । ‘यहाँ काम गर्दा बचत छैन । विदेशबाट एकमुस्ट आउँदा कुनै काम हुन्छ,’ बलदेव भन्छन्, ‘सरकारले देशमै रोजगारको वातावरण सृजना गर्नै चाहँदैन ।’

दशैंको मृत्यु पश्चात श्रम विभागबाट दुई किस्तामा २१ लाख रुपैयाँ बीमा बापतको रकम पाएको छ उनको घरपरिवारले । तर मृत्युको डेढ वर्ष हुन लाग्दा पनि दशैंले काम गरेको कम्पनीले क्षतिपूर्ति रकम दिएको छैन । सबै कागजात पूरा गरी राजदूतावासमा दिए पनि अहिलेसम्म प्रक्रियामै रहेको बताउने गरेको बुवा बलदेवले सुनाए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?