+
+
प्रारम्भिक गणना :

उपत्यकाले स्वीकारेन माओवादी र एकीकृत समाजवादी

उपत्यकामा माओवादी केन्द्रले सबै महिला नेता पम्फा, ओनसरी, मानुषी र कल्पनालाई उम्मेदवार बनाएको थियो । तर सबै जना प्रतिस्पर्धामा पछाडि छन् । माओवादी केन्द्रले भागमा पाएको भक्तपुर–१ अग्रता लिने संभावना नै छैन । माओवादी केन्द्रकै जस्तो अवस्था एकीकृत समाजवादीको पनि छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ मंसिर ५ गते १९:०२

५ मंसिर, काठमाडौं । मतगणनाको प्रारम्भिक नतिजा हेर्दा राजधानी उपत्यकाका मतदाताले सत्तारुढ दलहरुबीचको गठबन्धनलाई नरुचाएको देखिएको छ ।

विशेष गरी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार रहेको क्षेत्रमा नयाँ दल र स्वतन्त्र उम्मेदवारले उल्लेख्य मत पाएका छन् । कांग्रेसका उम्मेदवार रहेका ८ मध्ये काठमाडौं–६ बाहेकको अरु क्षेत्रमा अग्रता लिइरहेकै छ ।

काठमाडौं–१ मा ह्याट्रिक जित निकालेका कांग्रेस नेता प्रकाशमान सिंह बलियो प्रतिस्पर्धामा छन् । राप्रपाका रवीन्द्र मिश्रसँग आलोपालो अग्रता लिइरहेका छन् । काठमाडौं–३ मा एमालेका कृष्ण राईसँग कांग्रेसका सन्तोष चालिसेले अग्रता आलोपालो गरिरहेका छन् ।

काठमाडौं–४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजन केसीले लगातार अग्रता लिइरहेका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार रहेको क्षेत्रमा भने गठबन्धनका उम्मेदवार पछाडि परेका छन् ।

माओवादी केन्द्रका नेता उम्मेदवार रहेका काठमाडौं-२, ७ र ९ मा गठबन्धनविरुद्धका उम्मेदवारले अग्रता लिइरहेका छन् । काठमाडौं–१० मा गठबन्धनभित्रै मैत्री प्रतिस्पर्धा गर्ने सहमति थियो । कांग्रेसका राजन केसीले अग्रता लिइरहदा माओवादी केन्द्रकी अञ्जना विशुंखे निकै पछाडि छन् ।

काठमाडौं–२ बाट उम्मेदवार रहेकी पूर्व सभामुख ओनसरी घर्तीमगर, ७ नम्बर क्षेत्रबाट उम्मेदवार रहेकी मानुषी यमी भट्टराई र ९ नम्बर क्षेत्रमा उम्मेदवार रहेकी कल्पना धमला प्रतिस्पर्धामा पछाडि परेका छन् । माओवादीको भागमा परेको काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठसँग राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल प्रतिस्पर्धामा छन् ।

ललितपुर ३ मा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसाललाई दोस्रो स्थानमा समेत आउन मुस्किल परिररहेको छ । सत्ता गठबन्धनको समर्थन रहेपनि भुसाललाई एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछाडि पार्दै आएका छन् ।

उपत्यकामा माओवादी केन्द्रले सबै महिला नेता पम्फा, ओनसरी, मानुषी र कल्पनालाई उम्मेदवार बनाएको थियो । तर सबै जना प्रतिस्पर्धामा पछाडि छन् । माओवादी केन्द्रले भागमा पाएको भक्तपुर–१ अग्रता लिने संभावना नै छैन ।

माओवादी केन्द्रकै जस्तो अवस्था एकीकृत समाजवादीको पनि छ । काठमाडौं–८ मा गठबन्धनबाट साझा उम्मेदवार रहेका जीवनराम श्रेष्ठले अग्रता लिन सकेका छैनन् । पर्यटन मन्त्री श्रेष्ठले चौथो स्थानका लागि संघर्ष गरिरहनुपरेको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका सुमन सायमीबीच अग्रताको होड चलिरहँदा एमाले उम्मेदवार शिवसुन्दर राजवैद्य तेस्रोमा छन् ।

ललितपुर–२ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन सोमबार साँझसम्म पाँचौं स्थानमा छन् । निवर्तमान सांसद महर्जन गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रारम्भिक मतगणनाको प्रवृत्ति विश्लेषण गर्ने हो भने उपत्यकामा तीन दललाई मात्रै प्रतिस्पर्धी हुनेगरी मत खसेको देखिन्छ, कांग्रेस, एमाले र नयाँ दलहरु ।

कांग्रेसले काठमाडौं–३, ४, ५, १० र भक्तपुर– २ मा अग्रता लिएको छ । ललितपुर १ र २ मा एमालेको अग्रता छ । काठमाडौं–९ मा घण्टीसँग प्रतिस्पर्धा भइरहेको छ । तर अप्रत्यासित प्रारम्भिक मत पाउँदा घण्टीले काठमाडौं–२, ६, ७, ८ र ललितपुर–३ मा अग्रता बनाइरहेको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?