 
																			६ मंसिर, काठमाडौं । नवलपरासी पश्चिम–१ मा नेपाली कांग्रेसका उम्मेदवार अर्बपति विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच प्रतिस्पर्धा हुने ठानिएको थियो । तर यी दुवैलाई टक्कर दिइरहेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले ।
*मंगलबार दिउँसो यो समाचार तयार पार्दासम्म महेन्द्रले विनोद र हृदयेश त्रिपाठी दुवैलाई उछिनेका छन् । उनले ७ हजार ३९१ मत पाएका छन् ।
चौधरी ६ हजार ८९० मतसहित उनलाई पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा नेकपा एमालेको समेत समर्थन पाएका त्रिपाठी ५ हजार ५८९ मतसहित तेस्रो स्थानमा छन् ।
अनलाइनखबरसँगको कुराकानीमा ठकुरेली मत परिणामले आफू उत्साहित भएको बताए । ‘जित्ने सम्भावना एकदमै छ,’ उनले भने ।
को हुन् महेन्द्र ?
सुस्ता गाउँपालिका–१ का महेन्द्र आफू गाउँमा खासै चिनिएका व्यक्तित्व होइनन् । यद्यपि उनी काठमाडौंमा भएका विभिन्न सामाजिक आन्दोलनमा सक्रिय थिए ।
विवेकशील नेपालीको नेपाल खुल्ला छ भन्ने अभियान, ज्ञानेन्द्र शाहीसँग भ्रष्टाचारविरुद्धको अभियान, सुस्ता अतिक्रमण, उखु किसान र मिटरब्याजी विरुद्धको आन्दोलनमा सक्रिय भएको महेन्द्र बताउँछन् ।
उनी कबड्डीका राष्ट्रिय खेलाडी समेत हुन् । खेलाडीका रुपमा धेरथोर पहिचान गाउँमा भए पनि उनी आफू गाउँका लागि अपरिचत नै भन्छन् । ‘म आफैं पनि त्यो ठाउँका लागि त्यति परिचित होइन,’ उनी भन्छन्, ‘तर राष्ट्रिय अभियानमा जोडिएर काठमाडौंमा केन्द्रित भएर काम पनि गरेको हुँ ।’
४२ वर्षका उनी अहिले समाजशास्त्रमा स्नातक तहको अध्ययन गर्दैछन् । २०५३ मा एसएलसी दिएका ठकुरीले २०५५ मा प्रवीणता प्रमाणपत्र तह पूरा गरे । त्यसपछि उनी वैदेशिक रोजगारीमा गए । यूएईमा ७ वर्ष बिताएर घर फर्केका उनी उज्जल थापा नेतृत्वको विवेकशील नेपालीको अभियानमा संलग्न भएका थिए । उनी गत भदौमा राष्ट्रिय स्वतन्त्र पार्टी खुलेपछि उक्त दलमा आवद्ध भएका थिए ।
‘काठमाडौंले सुस्तालाई सुन्दैन’
नवलपरासीको सुस्तामा सुस्ता बचाउ आन्दोलन, चिनी मिलबाट पीडित उखु किसानको आन्दोलन, मिटरब्याज पीडितको आन्दोलन चलिरहेको छ । काठमाडौंले यी र यस्ता अभियानलाई बेवास्ता गरेको महेन्द्रको गुनासो छ । ‘यहाँ परिवर्तन चाहने आवाज ठूलो हो,’ उनी भन्छन्, ‘तर काठमाडौंले त्यो नजरले कहिले पनि देखेन ।’
काठमाडौंको त्यही नजरलाई उम्मेदवारहरु विनोद चौधरी र हृदयेश त्रिपाठीले पनि सघाइरहेको उनको बुझाइ छ । ‘यी दुई पात्र यो भूगोलमा एकदमै नरुचाइएका पात्र थिए,’ आफूले मत पाउनुको कारणबारे उनले भने, ‘हृदयेश त्रिपाठी पाँच पटक माननीय र करिब त्यति नै चोटि मन्त्री पनि भइसक्नुभयो । तर यहाँका समस्या समाधनका केही पनि काम गर्नुभएको छैन ।’
चौधरीलाई त उनी अर्कै निर्वाचन क्षेत्रमा पर्ने भए पनि पैसाको बलमा अरुको टिकट खोसेर यो क्षेत्रमा आएको आरोप लगाउँछन् ।
उम्मेदवार मनोनयन गरेपछि मात्रै प्रचारप्रसार सुरु गरेको भन्दै उनी आफूले ठूला आमसभा भन्दा कोणसभा र घरदैलोलाई बढ्ता प्राथमिकता राखेको बताउँछन् । ‘मैले आमसभालाई प्राथमिकतामा राखिनँ,’ उनी सुनाउँछन्, ‘मैले कोणसभा र घरदैलोमा विश्वास राखें । ती ठूला दलहरु खाली कार्यकर्ताहरुमा मात्रै गए, मतदाता कहाँ गएनन् ।’
यद्यपि छोटो समय भएकाले सबै भूगोलमा पुग्न नसकेको महेन्द्र बताउँछन् । यद्यपि आफूले उत्साहजनक मत पाइरहेको भन्दै मतदातालाई धन्यवाद पनि टक्र्याउँछन् । ‘मलाई नचिनेको ठाउँमा पनि मतदाताले विश्वास गरेर उत्साहजनक मत दिनुभएको छ,’ उनी भन्छन्, ‘त्यसप्रति म आभारी पनि छु ।’
*यसअघि मत फरक परेकाले सच्याइएको ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4