+
+

शंकर पोखरेलको पराजयले एमालेमा सन्नाटा

एमाले–माओवादी एकताको आलोचनामा कडा मत राख्ने वरिष्ठ नेता ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल दुवै पराजित हुन पुग्दा पार्टीभित्र सन्नाटा छाएको छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ मंसिर ८ गते १२:०५

एमाले-माओवादी मिलेर शक्तिशाली नेकपा बन्दा विष्णु पौडेल महासचिव बन्दै गर्दा दोस्रो पुस्ताको उत्तराधिकारी उदय भएको ठानिएको थियो । एमाले-माओवादी एकता भत्किएसँगै पौडेलको महासचिव पद पनि गयो । ठिक यही विन्दुमा उदय भएको थियो, शंकर पोखरेलको ।

विष्णु पौडेललाई पछि पारेर शंकर पोखरेललाई महासचिव बनाउने विषय एमाले नेता पंक्तिका लागि केवल व्यक्तिगत परिघटना थिएन । माओवादीसँग सहकार्यका लागि लिएका अथक अग्रसरताको प्रतिदान पाएका थिए, पौडेलले । उनलाई अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल दुवैको विश्वास थियो । जेटका दुई पाइलटबीच दरार वा दिशाभ्रम हुँदा समन्वय गर्न पौडेलको खाँचो पर्थ्यो । ईश्वर पोखरेल, शंकर लगायत नेताहरु छायाँमा थिए ।

दुई कम्युनिस्ट पार्टीहरुबीच एकताको त्यो परीक्षण असफल भएपछि पौडेलको पनि उपादेयता सकिएको थियो । माओवादीलगायत साना दलको औचित्यमाथि प्रश्न उठाउँदै शंकर पोखरेलले बलियो राष्ट्रिय शक्तिको वकालत गरेका थिए । चुनावअघि यो पंक्तिकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘माओवादीको औचित्य छैन। यो कांग्रेसको सहयोगी मात्रै हो, पार्टी होइन । देश अब कांग्रेस र एमाले रहेको दुई दलीय प्रणालीमा जानुपर्छ ।’

माओवादीको औचित्यमाथि प्रश्न उठाउँदै उदाएका पोखरेल माओवादीकै उम्मेदवार रेखा शर्मासँग पराजित हुन पुगेका छन् । आज बिहान सकिएको मत गणनामा उनी शर्माभन्दा १९७ मत पछि परे ।

०७४ सालको चुनावमा सँगै वाम गठबन्धन बनाएर लडेका एमाले र माओवादी यसपल्ट अलग कित्तामा छन् । एमालेले अहिलेसम्म प्राप्त गरेको समग्र सिट संख्या हेर्दा निराश हुनुपर्ने किसिमको छैन । स्वयम् अध्यक्ष ओली ठूलो मतान्तरका साथ झापा-५ बाट विजयी बने । तर एमाले–माओवादी एकताको आलोचनामा कडा मत राख्ने वरिष्ठ नेता ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल दुवै पराजित हुन पुग्दा पार्टीभित्र सन्नाटा छाएको छ ।

अघिल्लो चुनावमा ठूलो अन्तरले जितेका ईश्वर यसपल्ट कांग्रेस उम्मेदवार प्रदीप पौडेल सामू टिक्न सकेनन् । माओवादीको साथ यसपल्ट गठबन्धनका कांग्रेस उम्मेदवार पौडेललाई नै हुने भयो । यसै क्रममा पोखरेलसमेत पराजित बन्न पुगे । एमालेका दोस्रो तहका अरु नेताहरु पनि जितका लागि कठिन संघर्षमा छन् ।

यो नतिजासँगै एमालेमा ओलीका उत्तराधिकारी अनि मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’का पछिल्ला व्याख्याता भनेर अघि बढाइएका पोखरेल फेरि एकपल्ट संसदीय राजनीतिमा पछि परेका छन् । उनको पराजयसँगै एमालेको भावी नेतृत्वबारेमा कोण-प्रतिकोणबाट छलफल हुन सक्नेछ ।

बढ्तै अन्तर्मुखी पोखरेल वैचारिक रुपमा सुदृढ मानिन्छन् । संसदीय मोर्चामात्रै नभएर एमालेको आन्तरिक संगठनमा समेत उनको पकड बलियो छैन । नवौं महाधिवेशनमा आफ्नो समूहका नेता केपी ओलीले अध्यक्षमा जित्दा पनि शंकर उप-महासचिवमा घनश्याम भुसाल र विष्णु पौडेलसँग हार्न पुगेका थिए ।

पोहोर मंसिरमा चितवन आयोजित दसौं महाधिवेशनमा उनलाई महासचिव बन्ने अभूतपूर्व अवसर उनै ओलीको कठिन प्रयासका कारण सम्भव भएको थियो । ओलीले उनलाई महासचिवमा ‘सर्वसम्मत’ गराउनैका लागि आकांक्षीहरुबीच प्रतिष्पर्धाको ढोका बन्द गरिदिएका थिए । यही प्रयासका लागि सौराहाको महाधिवेशन बन्दसत्र हल डेढ दिनसम्म बिना कार्यसूची अलपत्र परेको थियो ।

महाधिवेशनयता एमालेमा कोही दौडधुप गरिरहेको छ भने ती अध्यक्ष ओली नै हुन् । आन्तरिक संगठनको मूख्य नेतृत्व गर्नुपर्ने महासचिवले भए पनि पोखरेलको सक्रियता अपेक्षाकृत कम थियो । यसपल्टको चुनावमा पनि ओलीकै दौडधुप बेसी थियो । पार्टी प्रचारमा ओलीको एकछत्र ‘ब्रान्डिङ’ थियो । अरु नेताहरु छायाँमा थिए ।

अघिल्लो संसदीय चुनावमा माओवादी नेता कृष्णबहादुर महराका लागि भनेर दाङ २ छाडिदिएका पोखरेल लुम्बिनीको पहिलो मूख्यमन्त्री बन्न पुगे । उनका कतिपय कामलाई त्यहाँका नागरिकले सराहना गरे पनि असंवैधानिक संसद विघटनकै छायाँ प्रदेशसभाहरुमा पनि पर्न गयो । नेकपा विभाजनसँगै पोखरेलको लुम्बिनी सरकार अल्पमतमा पर्‍यो । अल्पमतमा परे पनि प्रदेश प्रमुखलाई मूख्यमन्त्री कार्यालयमै डाकी उनले शपथ लिएको घटना विवादित बन्न पुग्यो ।

उनले त्यसबेला माओवादी पक्षका सांसद पनि आफूसँगै रहेको दाबी गरेका थिए । यद्यपि यी सारा विवादका बीच उनले प्रदेशको अस्थायी राजधानी बुटवलबाट दाङ सार्न सफल भएकामा आफ्नो क्षेत्र र जिल्लाका कार्यकर्ताहरुबाट प्रशंसा पनि पाएका थिए ।

संसद फाप्दैन शंकर पोखरेललाई । अनेरास्ववियूको अध्यक्ष हुँदाहुँदै ०५१ को मध्यावधि चुनावमा सांसद उठ्न पाएका पोखरेलले उक्त चुनाव जितेका थिए । त्यसपछिका चुनावहरु हार्दै आएका उनले बल्ल ०७४ सालमा आएर लुम्बिनी प्रदेशसभा चुनाव जितेका हुन् ।

एमालेलाई गणतन्त्र र संघीयताको बाटोमा लैजान शंकर पोखरेलले अघि सारेका तर्कहरु ६० को दशकमा चर्चामा रहे । मदन भण्डारीकै पालादेखि पोखरेल पार्टी संस्थापनको विश्वासपात्र रहँदै आए । वाक्पटुकताका कारण चर्चामा रहने पोखरेल पार्टी कार्यकर्ताहरुसँग घुलमिल हुनै नसक्ने बानीका कारण आन्तरिक स्पर्धामा भने पछि पर्ने गरेका छन् । यति हुँदाहुँदै पनि पार्टीभित्र बहुपदीय संरचनाको वकालत गर्ने केपी ओलीको नीतिलाई साथ दिएका कारण उनी बुटवलमा आयोजित आठौं महाधिवेशनबाट सचिव बन्न सकेका थिए ।

माओवादीसँग प्रतिद्वन्द्विता गर्दा पोखरेल माओवादीकै उम्मेदवारसँग पराजित हुन पुगेका छन् । उनका प्रतिस्पर्धी मानिएका विष्णु पौडेल पनि रुपन्देही २ मा जित्नका लागि कडा संघर्षमा छन् ।

यो चुनाव नतिजाको एउटा रोचक पक्ष छ । प्रतिष्पर्धी कांग्रेसमा महाधिवेशनले चुनेका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा दुवै यो चुनावमा भारी मतले मतदाताबाट समेत अनुमोदित हुन पुगेका छन् । एमाले र माओवादीका अध्यक्षले छानेका महासचिवहरु शंकर पोखरेल र देव गुरुङ भने मतदाताबाट पराजित हुन पुगेका छन् ।

वाम विश्लेषक झलक सुवेदीका विचारमा एमालेका दुई वरिष्ठ नेताहरु ईश्वर पोखरेल र शंकर पोखरेलको पराजयले एमाले र माओवादीबीच सहकार्य हुनुपर्छ भन्ने मत राख्नेहरुको औचित्य फेरि स्थापित हुने ढोका खोलिदिने छ ।

‘कदाचित् शंकरले आफूलाई परिवर्तन गर्दै मत फेरे भने उनी आफैं यो लाइनका नेता हुन सक्नेछन् । नत्र एमालेभित्र उनको बारेमा छलफल हुन सक्नेछ,’ सुवेदीले भने ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?