+
+

राजेन्द्र लिङ्देनले ‘आर्ज्या’ को शक्ति

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ मंसिर ८ गते १८:४४

८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गर्दै लिङ्देन दोस्रो पटक सांसद बनेका हुन् ।

यो चुनावमा लिङ्देन आफू मात्र जितेनन्, प्रत्यक्षतर्फ अरु तीन जनालाई जिताएका छन् । राप्रपाकै दुई उम्मेदवार भारी मतका साथ अग्रता लिइरहेका छन् भने समानुपातिकतर्फ बिहीबार साँझसम्म १ लाख ८० हजार कटाइसकेको छ ।

जबकी २०७४ मा राप्रपाले एक सिट मात्र जितेको थियो भने थ्रेस होल्ड कटाउन सकेको थिएन । अहिलेकै अनुपातमा भोट आउने हो भने राप्रपाले समानुपातिकमा करिब ८ प्रतिशत मत पाउनसक्छ, जसले ९ जना सांसद पाउने सम्भावना हुनसक्छ । अर्थात् नयाँ संसदमा राप्रपा १४-१५ सिटको दल बन्नसक्छ ।

ठीक एक वर्षअघि लिङ्देनको अवस्था फरक थियो । वर्ष मंसिरमा भएको पार्टी महाधिवेशनबाट अध्यक्षमा चुनिएलगत्तै लिङ्देन संकटको सम्मुखमा देखिएका थिए । अध्यक्षमा प्रतिस्पर्धा गरेका पूर्वअध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै विवाद मात्र झिकेनन्, अलग पार्टी बनाए । राप्रपा पदाधिकारीमा जितेका धेरै जना लामो समयदेखि थापासँगै निकट भएकाले राप्रपामा विभाजन आउने ठूलो जोखिम थियो ।

तर लिङ्देनले सम्भावित दुर्घटना टारे । केही केन्द्रीय सदस्य थापातिर गएपनि लिङ्देनले महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीलाई टिममा राख्न सफल भए । ‘यदि हामीले इन्टरभेन गर्न (फुट ल्याउन) सकेको भए चुनावमा असर गथ्र्यो होला’ कमल थापा निकट एक नेता भन्छन्, ‘तर नाउ डुबेपनि पटला डुब्दैन भनेजस्तै अवस्था आयो । राप्रपा अहिले त्यही अवस्थामा छ ।’

हुन पनि राप्रपा नेपाल बनाएका कमल थापा एमालेकै चुनाव चिह्नबाट लड्दा पनि सांसद बन्न सकेनन् । मकवानपुर–१ मा राप्रपाकै दीपक सिंहसँग पराजित हुन पुगे भने प्रतिनिधि मात्र होइन, सात वटै प्रदेशसभामा राप्रपा नेपालको उपस्थिति छैन । राप्रपाको चाहिँ संघमा मात्र होइन, प्रदेश सभाहरुमा राम्रै उपस्थिति हुने भएको छ ।

एमालेसँग रणनीतिक साझेदार

सत्तारुढ दलहरुले गठबन्धन बनाएका कारण राप्रपालाई यो चुनाव एक्लै लड्न सहज थिएन । कुनै ठूलो दलसँग देशभर गठबन्धन गर्ने अवस्था पनि थिएन, किनकी देशभर गठबन्धन गर्दा समानुपातिकतर्फ मत घट्ने सम्भावना हुन्थ्यो ।

राप्रपाले खोजेजस्तै सहकार्य गर्न एमाले तयार भयो । सत्तारुढ गठबन्धनसँग एक्लै लड्ने भाष्य बनाउन एमाले, राप्रपा झापा, बाँके र रुपन्देहीमा मात्र तालमेल गर्न तयार भयो । प्रतिनिधिसभाको ३ सिटमा समर्थन लिएको राप्रपाले ११ सिटमा एमालेलाई साथ दियो । अन्यत्र सबैतिर उम्मेदवार उठायो ।

लिङ्देनको यो रणनीति सफल देखिएको छ । एमालेको समर्थनमा झापा–३ मा लिङ्देन आफैं जिते भने बाँके–२ बाट महामन्त्री धवलशमशेर जबरा निर्वाचित भए । एमालेको समर्थन पाएका दीपक बोहरा भने रुपन्देही ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार बालकृष्ण खाँणसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

मकवानपुर–१ मा दीपक सिंह दुबै (कांग्रेस र एमाले) गठबन्धनलाई हराएर प्रतिनिधिसभा सदस्य चुनिए भने जुम्लाबाट ज्ञानेन्द्रबहादुर शाही भारी मतका साथ निर्वाचित भएका छन् । चितवन–३ मा बिक्रम पाण्डे र नवलपरासी–२ मा ध्रवबहादुर प्रधानले पनि एकल रुपमा लडेर अग्रता लिइरहेका छन् ।

एजेण्डा अस्वीकृत, नयाँ नेतृत्वको अनुमोदन

यो चुनावी परिणामले ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रप्रति मतदाताको असन्तुष्ट प्रष्ट पारेको छ । तर प्रतिनिधिसभामा त्यसको लाभ राप्रपाले भन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पायो । किनकि मतदातालाई मुद्दाका कारण राजतन्त्र, हिन्दु राष्ट्रजस्ता मुद्दाका कारण ठूला दलका समर्थकलाई राप्रपालाई भोट हाल्न सहज छैन । ठूला दलहरु र राप्रपाको बीचबीचको नारा लिएर रवि लामिछाने नेतृत्वमा रास्वपा दल खुल्यो ।

भ्रष्टाचार विरोधी नारा र प्रदेशको संरचनामा हेरफेरको मुद्दा लिएको यो दलले युवा उम्मेदवारहरुलाई उठाए । शहरी क्षेत्रका मतदाताले पनि उनीहरुलाई नै रोजे । समानुपातिकतर्फ पनि रास्वपाले उल्लेख्य मत पाएको छ । त्यसका बाबुजद राप्रपाले प्रतिनिधिसभामा चार सिट जितिसकेको छ भने समाजुनुपातिकतर्फ राम्रै मत पाएको छ ।

प्रदेशसभा निर्वाचनमा रास्वपा सहभागी नभएकाले अझ राम्रो गरेको छ । प्रदेश १, बागमती र लुम्बिनीमा प्रत्यक्षतर्फ सिट जितेको छ भने समानुपातिकमा बागमती, गण्डकी र लुम्बिनीमा सुरुवाती रुझान हेर्दा सिट पाउने सम्भावना देखिन्छ ।

यो चुनावमा राप्रपाले पाएको सफलताको मुख्य श्रेय अध्यक्ष लिङ्देनलाई नै जान्छ । किनकी टुटफुटका कारण अस्तव्यस्त बनेको राप्रपाको पार्टी संरचनालाई सम्हाल्दै चलायमान मात्र बनाएनन्, भ्रष्टाचार विरोधी नारा दिए । नेतृत्वमा आएको पुस्तान्तरणलाई जनस्तरमा स्थापित गर्ने प्रयास गरे ।

राप्रपाका नेता निरञ्जन थापा पनि ठूला दलप्रति मतदातामा वितृष्णा रहेको र कांग्रेस, एमाले, माओवादीमा आएको विकल्पका रुपमा आफूहरुलाई मत दिएको बताउँछन् । उनले अघि भने, ‘त्यसमा हाम्रो अध्यक्ष राजेन्द्रजीले खेलेको भूमिका, गतिशीलता र पार्टीको राष्ट्रवादी अडानले ठूलो भूमिका खेलेको छ ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?